बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

चटक जारी छ

कुरा त्यही हो, पात्रहरू उनै हुन्, जसले रत्नपार्कमा चटक देखाउने गर्थे, अहिले अन्तै सरे । उता फेरि गाउँका केही उरन्ठेउला ठिटाहरू कुखुरा र काँक्रा सुन्तला चोरेर हैरान पार्थे, गाउँ त सुरक्षित भयो । जब यिनले गाउँ छोडे, शहरमा झन चर्को हैरानी दिन थाले ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

आजभोलि रत्नपार्कमा चटकेहरू देखिँदैनन् । तर पनि रत्नपार्कमा दृश्यावलोकन गरेको चटकको स्वाद मेरो मानसपटलमा घरिघरि आइरहन्छ । गत महिना काठमाडौं गएको बेला चटक हेर्नकै लागि म रत्नपार्क छिरे पनि त्यहाँ उहिले जस्तै चटक देखाउने गरिएको रहेनछ । चटक हेर्नै भनेर जाँदा चटक हेर्न नपाएपछि मन रमाउने कुरा पनि भएन । जब समयले नै बिताएपछि मनले चिताए जस्तो नहुने रहेछ । जमानामा देखे जस्तै चटक देख्न पाए पो झटक हुन्थ्यो । दूर्भाग्य, पहिले जस्तै चटक हेर्ने अवसर पाइएन ।

कसैलाई सोध्न मनलाग्यो, अचेल यहाँ चटक किन देखाइँदैन ? मलाई रहस्य पत्ता लगाउने तीव्र इच्छा जाग्यो । हातमा एक एक थान मोबाइल साक्षी राखेर परेवाका जोडी जसरी बसेकाहरूसँग मेरो प्रश्नको उत्तर हुने कुरै भएन । यदि उत्तर रहेछ भने तिनीहरूसँग समय हुँदैन, यो कुरा त मैले पनि राम्रोसँग बुझेको छु ।

त्यसैले म एकजना पाको मान्छेको खोजीमा रत्नपार्कको कुना काप्चामा हेर्न लागेँ । जसले मेरो प्रश्नको उत्तर सहजै दिन सक्नेछन् । नभन्दै ७५- ७६ को हाराहारीमा पुगेका एकजना वृद्ध देखिए । हातमा मोबाइल लिएर हाँस्दै, खुशी हुँदै कुरा गरिरहेका तिनै वृद्ध नजिक पुगेपछि थाहा पाएँ, तिनी फोनमा कसैसँग जरुरी कुरा गर्दै थिए । जब यिनको मोबाइल संवाद सुनें, यिनीसँग पनि समय रहेनछ भन्ने स्पष्ट बुझिन्थ्यो ।

यिनी भन्दै थिए “होइन होइन छ ! तर अमेरिकातिर । कुरो एक दुई दिनको होइन कम्तिमा पनि पाँच छ महिनाका लागि हो । पैसा मनग्य दिउँला त्यसको चिन्ता लिनु पर्दैन ।”

यिनको कुरा सुनिसकेपछि मलाई लाग्यो, जसरी म रत्नपार्कमा चटके किन छैनन् भन्ने प्रश्नको उत्तर खोजिरहेको छु, यिनी त्यो भन्दा पनि महत्वपूर्ण  प्रश्नको उत्तर खोजिरहेका रहेछन् । मलाई लाग्यो अब मेरो प्रश्नको उत्तर यिनले पनि दिन सक्दैनन् । अब म अर्को कुनै पात्रको खोजिमा थिएँ । जसले मेरो प्रश्नको उत्तर सहजै दिनसक्छ । यसै बिच अल्लि पर एउटा बेन्चमा एक्लै बसिरहेका एउटा ख्याउटे अनुहारका मान्छे देखिए, जसको हातमा मोबाइल होइन एउटा कलम र कपी मात्र थियो । म अब उनीसँग आफ्नो जिज्ञासा मेटाउने प्रयास गर्न लागेँ । यिनी नाम चलेका कवि रहेछन् । यिनलाई देख्नासाथ मैले भनेँ, “आजभोलि यहाँ चटक देखाइन्न ? चटकेहरू कता हराए होलान ?”
उनले हाँस्दै भने “चटके मात्र किन ? अचेल गाउँमा कुखुरा हराएको थाहा पाएका छौ ? उखु, काँक्रा र बोडी बारीबाटै गायब भएको देखेका छौ ?”

कुरो यथार्थ थियो । अचेल यी सबै घटनाबाट गाउँ सुरक्षित छ । गाउँमा मान्छे बसे पो हराउने चोरिने घट्ना हुनु ! न चोर्ने वस्तु नै पर्याप्त मात्रामा पाइन्छ ? मैले केही सम्झे जस्तै गरेर, हो भन्ने भावमा मुन्टो हल्लाएँ ।

“जब, केही पढेलेखेका युवा र तिनका पछि लागेर केही मान्छेहरूले युरोप अमेरिकालाई लाहुर सम्झिए, केही त्यही लाहुर जाने तयारी गर्दैछन् । त्यसपछि, पहिले पहिले रत्नपार्कमा चटक देखाउनेहरू नै राजधानीमा सर्वेसर्वा भए । कतिलाई त हामीले नै छनौट गरेका हौँ ।” कविजीले थप सुनाउँदै थिए ।

“आजभोलि यिनीहरू यहाँका दरवार, सभाहलहरूमा भेला हुन्छन् । पहिले जस्तो व्यक्तिगत रुपमा होइन, अचेल सामुहिक रुपमा चटक देखाउँछन् । संस्थागत रूपमा दर्शकलाई जिल्याउँछन् अनि गोजी चिल्याउँछन् । यिनै चटकेहरूले अचेल त हेर्दाहेर्दै काठमाडौं उपत्यकालाई सिङ्गापुर बनाइदिन्छन् । हेर्ने र सुन्नेहरू परर ताली बजाउँछन् । जब तालीको समर्थन पाउँछन् , यिनको उत्साह झनै बढ्छ । त्यसपछि त पहिले रत्नपार्कमा देखाइने चटक भन्दा अहिलेका चटक निकै स्तरीय हुनथालेका छन्। रत्नपार्कमा चटक देखाउँदा रक्सौलको गाडी ल्याउन सक्दैन थिए, अचेल सिगात्सेको रेल सिधै बेनी बजारमा गुडाएर देखाइ दिन्छन् ।

बलभद्र कुँवरले नालापानीमा शत्रुका टाउका काटेको खुकुरी एकताका चटक देखाएरै यतैको जङ्गलबाट उठाएका थिए ।
यी तिनै चटके हुन्, जसले रत्नपार्कमा रङ्गिन कागजलाई परेवा बनाएर उँडाउने गरेका थिए । अचेल नेपालीलाई भुटानी बनाएर उँडाउछन् । फरक यतिमात्र हो । उनीहरूले चटक देखाउन भने छोडेका छैनन्, चटक जारी छ । बरु झनै स्तरीय र अपत्यारिला खालका पो चटक देखाउन थालेका छन् त ! यता दर्शकहरू जोड जोडले ताली बजाइ रहेकै हुन्छन् ।

चटक प्रथा बन्द भएको भने होइन, चटक देखाउने पात्र पनि पलायन भएका छैनन् । बस् चटकको रुप फेरिएको हो । चटक देखाउने स्थान परिवर्तन भएको हो । रत्नपार्कमा चटक देखाउँदा अवलोकन गर्ने दर्शकको पनि अभाव हुन थाल्यो । मुख्य कुरा पैसा निकै कम उठ्ने रहेछ । त्यसैले यिनीहरूले स्थान परिवर्तन गरे । अहिले एउटा गतिलो चटक देखाउनु पर्छ, पैसा त पुस्तक सरी हात पर्छ । चटक देखाएरै नुनलाई सुन बनाइन्छ । अमूल्य वस्तु मूल्यहीन र मूल्यहीन वस्तु अमूल्य बन्छ । चटक देखाउन खप्पिस भएपछि कसको के लाग्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा पहिले चटक देखाउनेहरूले आफ्ना परिवारजन र सन्तानलाई चटके नबनून् भन्ने सोच राख्थे र चटक सम्बन्धी सिपमुलक तालिम पनि दिँदैन थिए । अचेल त चटकेका सन्तानहरू बाबु चटके भन्दा बिच्छी पो निस्किएका छन् त ! सायद राम्रोसँग तालिम दिने गरिएको छ । आशा गरौँ, चटक देखाउने प्रथा निरन्तर कायमै रहिरहने छ । हामी संसारमा चटकेहरूको देश भनेर चिनिने छौँ ।

“कुरा बुझ्यौ ? कविजीले एकसुरमा कारण बताउँदै थिए, म ध्यानपूर्वक सुनिरहेको थिएँ ।
“पहिले पहिले चटक हेर्दा हाँसो, रमाइलो र उत्सुकता लाग्थ्यो । दर्शकलाई समेत यसैगरि चटके बनूँ बनूँ लाग्ने गर्थ्यो । अचेल भने हाँसो र लाज शरम बराबर लाग्ने गरेको छ । चटके देख्यो कि मन भित्रदेखि डर, रिस र घृणा एकैचोटी उत्पन्न हुन्छ । कुरा त्यही हो, पात्रहरू उनै हुन्, जसले रत्नपार्कमा चटक देखाउने गर्थे, अहिले अन्तै सरे । उता फेरि गाउँका केही उरन्ठेउला ठिटाहरू कुखुरा र काँक्रा सुन्तला चोरेर हैरान पार्थे, गाउँ त सुरक्षित भयो । जब यिनले गाउँ छोडे, शहरमा झन चर्को हैरानी दिन थाले । हरेक परिवर्तनसँगै भएको यो परिवर्तन पनि महत्वपूर्ण परिवर्तन हो । नआत्तिनु भाइ, चटक यथावत चलिरहेको छ, ठाउँ मात्र फेरिएको हो ।” रत्नपार्कमा चटक देखाउन किन छोडिएको रहेछ, मैले बल्ल बुझेँ । कविजीलाई धन्यवाद दिएर म आफ्नो बाटो लागेँ ।

०००
कालिका ६, चितवन ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिथ्या पुराण

मिथ्या पुराण

चिरञ्जीवी दाहाल
झुट बोल्न छुट

झुट बोल्न छुट

चिरञ्जीवी दाहाल
निकम्मा हाकिम र दास प्रवृत्ति

निकम्मा हाकिम र दास...

चिरञ्जीवी दाहाल
स्तुतिगान

स्तुतिगान

चिरञ्जीवी दाहाल
भन्न पनि हुन्न

भन्न पनि हुन्न

चिरञ्जीवी दाहाल
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
अधिकारको सदुपयोग

अधिकारको सदुपयोग

हेमराज पाैडेल
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं