बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

उडाउनेसँग उड्दा उड्दै

सत्ताको शयनमा विराजमान हुन नपाउँदा मुलुकमा सङ्कटै सङ्कट देख्ने, विराजमान भएपछि सङ्कटको नामोनिसान क्यै नदेख्ने ! यो उडुवा र उडन्ते दर्शन हो । ...कोरिया भनेर कतार र युएसए भनेर मलेसिया उडाउनु उनीहरूमा रहेको विशेष खुबी हो ।

Nepal Telecom ad

इलामको कुरा भो अब नगरौँ । बरु अलिकति कुरो गरौँ इलमको । मानिसले जीवन निर्वाह गर्न अनेक इलम र व्यवसाय गर्दै आएका छन् । कोही के गर्छन् कोही के गर्छन् । थरीथरीका मानिस र थरीथरीका इलम । नेपाल कृषिप्रधान देश हो, धेरै मानिसको इलम कृषिमै केन्द्रित छ । समयमा मल र बिउको व्यवस्था गरिदिनु पर्नेहरूको इलम घाम ताप्ने मात्रै भए पनि इलमीहरू यहाँ धान फलाउने छन्, कोदो मकै र गहुँ फलाउने छन् । फलफुल र तरकारी फलाउने पनि प्रशस्तै छन् । केही अल्छीखालका मानिसहरू फलाउने भन्दा खेलाउने इलममा खप्पीस देखिन्छन् । भद्रभलाद्मी जुवाडेलाई आफ्नै घरमा आमन्त्रण गरेर तास वा जुवा खेलाउन इलममै मस्त भेटिन्छन् कोही ।

एक थरी मानिसको भने इलमनै अरूलाई उडाउनु बनेको छ । गाउँघरतिर भेटिने यस्तो प्रवृत्तिका मानिस आजकल दुई चार अक्षर पढेर शहर पस्छन् । जो कसैलाई उडाउन यतातिर धेरै सजिलो पनि छ । माध्यमहरू धेरै छन् र जसलाई पनि बेफ्वाँकमा उडाउन सहज पनि छ । बुरूक्क उफ्रेर गाली गरे पनि ताली पड्काउनेहरूको केही कमी छैन शहरतिर । घरमा श्रीमती हुँदाहुँदै साली च्यापेर हिँडे पनि समाजका माली नै ठहरिने ठाउँ हो यो । त्यसकारण उड्दैउड्दै आएका यी उडन्तेहरूको मूल इलम नै अरूलाई बेपर्वाहसँग खसी खुइल्याएर भुत्ला उडाए झैं उडाउनु रहेको छ । इलमै जो कसैलाई उडाउने भएपछि यसैमा उनीहरूको दिनचर्या बित्नु स्वाभाविकै हो ।

यो लखरठ्याक पनि सुदूर गाउँमै खाइखेली हुर्केको लठुवा हो । गाउँमा आफूभन्दा निकै बढी उमेर भएका एकजना जवाँमर्द थिए- थर चाहिँ नभनी हालौँ, उनको नामै ‘उडुवा’ थियो । निकै पछिसम्म उनको नाम ‘उडुवा’ कसरी रह्यो भनेर मैले थाहा पाएको थिइनँ । सामाजिक जीवनका घटना परिघटना बुझ्नसक्ने भएपछि मात्रै मलाई थाहा भो- उडुवाको बानी गजबकै रहेछ । उनको आफ्नै घरमा दुहुनु भैँसी थियो, आजकालको जस्तो बजारमा लगेर दुध बेच्ने चलन पनि थिएन । दुध दही र घिउको छेलो भए पनि ती ‘उडुवा’ भने छरछिमेकीको घरतिर लुसुक्क पसेर दही भेटे दही, दुध भेटे दुध र घिउ भेटे घिउनै उडाइदिँदा रहेछन् । घर करेसातिर घरीमा पाकेको केरा वा बोटमा पाकेको मेवा पनि ‘उडुवा’को नजर परेपछि त्यो उड्यो । दाउ हेरेर कुन सड्को उडाउँथे कसैलाई पत्तो हुँदैनथ्यो ।

उडुवाको यस किसिमको आनीबानीबाट आजित भएर उनलाई सबैले उडुवा नाम जुराइ दिए । उरन्ठेउलो उमेर नाघेर घर गृहस्थी गर्ने पाको भइसक्दा पनि उनको उडाउने बानी कायम रहेको कुरा उनका छिमेकीहरू बताउँछन् । यस्ता उडुवाहरूको बिगबिगी अहिले गाउँघरतिर त्यति छैन । अधिकांश उडुवाहरू भुरूरू उडेर कोही मलेसिया पुग्छन् त कोही कोरिया । रहलपहल रहेकाहरू चाहिँ शहर पसेका छन् र मान्छे उडाउनमै व्यस्तभै बसेका छन् ।

उड्ने उडाउने एउटै व्यवसाय भए पनि यसमा लागेका उडन्ते र उडुवाहरूको प्रकृति एवम् उडाउने कार्यको क्षेत्र भने अलि फरक देखिन्छ । कोही एक दुई वर्ष खाडी मुलुकतिर उडेर फर्केकाहरू छन् । उनीहरू राजधानीमै अखडा बनाउने र विदेशतिर मान्छे उडाउने गर्छन् । गाउँतिरका घरखेत र बारी बुकुरो सस्तैमा उडाउन लगाई दामजति आफैं कुम्ल्याई ठिटाहरूलाई नाङ्गो पारेर विदेश उडाउने र उनीहरूले तिरेको मोटो रकमले आफूचाहिँ महँगा महँगा पजेरो गुडाउने इलममा मस्त छन् । कोरिया भनेर कतार र युएसए भनेर मलेसिया उडाउनु उनीहरूमा रहेको विशेष खुबी हो । कोही चाहिँ बालबालिका र कलिला युवतीलाई फस्ल्याङफुस्लुङ पारी विदेशका कोठीतिर उडाउनमै व्यस्त छन् ।

अर्काथरी ‘उडुवा’ छन् अलि टाठाबाठा खालका । उनीहरू केही पढेलेखेका छन् । कुखुराको पोथीले फुल पारेझैं कुराको फुल पारी पारी कुरा लेख्न सिपालु छन् । लोकतन्त्रसँगै हलक्क हुर्केको पत्रकारितातिर छिरेर कालोलाई सेतो र सेतोलाई कालै हो भनेर फुलबुट्टा भरी मान्छे उडाउनु उनीहरूको इलम बनेको छ । राज्यको चौथो अङ्ग भनेर स्वीकारिएको पत्रकारितामा छिरेका यी उडन्तेहरूको दिनचर्या मान्छे उडाउनमै बेफुर्सद । पालिस लाएर आफ्नो कुरोलाई टलक्क टल्काउन र गाँठवालाहरूलाई पल्काउन अभ्यस्त यिनका कुरा नपत्याई धरै पाइन्न । राष्ट्रिय स्तरका अखबारमा भँगेरा टाउके अक्षरमा यिनले लेखेपछि होइन कुरो पनि हो, हो नै ठहर्छ ।

उडाउने इलममा संलग्न यी उडुवाहरू पात्र छनोटमा विशेष ध्यान दिन्छन् । हरेकको तीनपुस्ते विवरण उनीहरूलाई कन्ठस्थ छ । कुन बेला, कसलाई, कसरी खुइल्याउने र कसलाई कसरी हावामा उडाउने भनेर उनीहरू बिरालोले मुसो ढुके झैं ढुकिरहेका हुन्छन् । उडाउनु पर्ने पात्रले कुन ठाउँमा, के अवसरमा, कता फर्केर के बोल्यो भन्नेसम्मको जानकारी उनीहरूको पहुँचमा हुन्छ । बस्, वक्ताको त्यही बोलीलाई अलिकति रड्काउने, अलिकति पड्काउने, अलिकति छिमल्ने छाँस्ने र थोरैतिन तास्ने, कताकति गाँस्ने गरेपछि बिचरो वक्ता त बेलुन बनिहाल्छ । अनि अक्षर, शब्द र वाक्यमा थोरै चास्नी घोलेर मिडियामा घचेटेपछि मान्छे उड्न थालिहाल्छ । वा ! कति सजिलो मान्छे उडाउन ! न रकेट चाहियो न हवाइजहाज । पखेटा विहीन मानिसलाई काइदासँग आस्मानमा उडाउन सक्ने यी कलाकारहरूको खुबी ढङ्ग देखेर यो लखरठ्याक पनि दङ्ग पर्ने गरेको छ ।

सङ्कटको अर्को नाम नेपाल हो । आर्थिक र समाजिक सङ्कट छँदैथियो, आर्थिक र राजनीतिक सङ्कटले यो मुलुकलाई कहिल्यै छाडेन । ‘मुलुक अहिले अकल्पनीय सङ्कटमा छ’ राजनीतिक उडुवाहरू नै यसो भनिरहेका छन् । सत्ताको शयनमा विराजमान हुन नपाउँदा मुलुकमा सङ्कटै सङ्कट देख्ने, विराजमान भएपछि सङ्कटको नामोनिसान क्यै नदेख्ने ! यो उडुवा र उडन्ते दर्शन हो । लोकतन्त्रमाथि आउने हरेक सङ्कट ‘निर्वाचन’ बाट पार लगाइन्छ पनि भन्ने अनि त्यही निर्वाचनबाट उत्पन्न सत्तासङ्कटले अर्को महासङ्कट निम्त्याउनु त्यही उडन्ते दर्शनको परिणति हो । फेरि पनि उडुवाहरूको लागि यो कुनै सङ्कट र समस्या नै होइन ।

उसले उसलाई उडायो, उसले उसलाई उडायो ! उडुवाहरू उडाउनमै मस्त छन्, व्यस्त छन् । कुरा कथुरेर फुलबुट्टा भर्दै उडन्तेहरू एकले अर्कोलाई उडाउनमै अभ्यस्त छन् । बस् उनीहरूको खेतीपाती भनूँ वा इलम व्यवसाय यसरी नै चलिरहेको छ । भुइँजनता, राष्ट्र, राष्ट्रियता र स्वाभिमान भन्ने कुराको हेक्का नराख्ने यी उडुवाहरूको दानापानी यसरी चलिरहेको छ !

एजेन्ट नामका उडन्तेहरूले घरजग्गा जायजेथा उडाउन लगाइ खाडीमुलुकतिर उडाइएकाहरूको रेमिटेन्स मफतमा उडाउँदै तलब भत्ता र सेतो सत्ता उडाइरहेका महामहिमहरू ! कुनै दिन आक्रोशको आँधी मडारियो भने यहाँहरूको उडिरहेको उडनखटोला यसै गरी सानसँग उडिरहला ? यो लखरठ्याकलाई त हेक्का भइसक्यो । कि त्यसबेला यो मुलुक नै छिमेकीहरूलाई ठेक्का दिने मुडमा हुनुहुन्छ हँ ?

०००
कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
अधिकारको सदुपयोग

अधिकारको सदुपयोग

हेमराज पाैडेल
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं