
असफल दाम्पत्ते जीवन
पत्रपत्रिमा पढ्छु, टेलिभिजन हेर्छु, जताततै कस्तो अग्रगामी दाम्पत्य जीवन चलिरहेको छ, आफ्ना भने सर्वनाशै भएछन् पन्ध्रपन्ध्र वर्ष !

‘थुक्क पातकी बूढा, म हुँदाहुँदै त्यो नखरमाउलीलाई च्यापेर हिँड्न लाज लागेन ?’ भनेर मेरो नैतिक चरित्रमाथि ठाडो आक्षेप लगाउने मौका बिचरी मेरी श्रीमतीले कहिल्यै पाइनन् ।
‘मुख छाड्छेस् लबस्तरी ? हाब्रो साब्रो च्यातिदिउँला अनि थाहा पाउँछेस् ! दिनभरि लुती कुकुर्नी जस्तो लखर लखर लखर लखर गाउँ चाहार्छे, थाकेर आएको लोग्नेलाई जे पायो त्यही भन्छे । त्यो फलानो भुसतिघ्रे म नभएका बेलामा यो घरमा किन आइरन्छ, भन् त ?’ भनेर पत्नीको सतित्वमाथि शङ्का गर्ने एकथोपो ठाउँ पनि कहिल्यै पाइन म अभागीले ।
‘तिमीजस्ता हुतिहारा नामर्द लोग्नेमान्छेसँग म एक बस्तिन, दुई बस्तिन, तीन बस्तिन । मेरै माइतीको सम्पत्ती खाएर उल्टै मैमाथि शासन गर्न खोज्ने ? सँगैमा सेते सुब्बाले सात तले घर ठड्यायो । मसाने मुखियाले छ सात पुस्तालाई पुग्ने सम्पत्ति लुँड्यायो । यो चाहिँ जहिल्यै जोगीका जोगी । यस्ता फुस्रा जोगीसँग को बस्छ ? हिँडेॅ म !’ भन्दै सारीको सप्को कम्मरमा फनफनी बेरेर सचिव मामा वा डिएसपी दाजुको धक्कु लगाएर माइततिर जाने सुअवसर पनि कहिल्यै आएन बिचरी मेरी जहानलाई ।
‘जा न त जा ! माइत मात्रै किन, नर्कै गए पनि जा ! तँ जाँदैमा म भोकै मर्छु भन्ठान्याछेस् ? खुट्टा भएपछि जुत्ता नाथे कति पाइन्छ कति ! लोग्नेमान्छे हुँ, लोग्नेमान्छे, बुझिस् ? तँ हिँडेको तीनदिनभित्रमा तेइसवर्षे तरुनी भित्र्याइनछु भने म पनि तीलबहादुरकी तेश्री स्वास्नीको झड्केलो छोरै होइन ल जा !’ भनेर धरमपत्नीलाई आफ्ना बाबुको पुरुषार्थ सुनाएर धक्कु लगाउने सुवर्ण अवसर पनि कहिल्यै आएन म बबुरालाई ।
‘छिः छिः छिः ! कति धोक्न सक्या होला त्यो कुकुरको झोल पनि । त्यो गनाउने थुतुनु लिएर मेरो ओछ्यानमा आएर मर्छौ ? पर जाऊ !’ भन्दै मलाई खाटबाट घँचेटेर पर पुर्याउन पाउँदा कस्तो हुन्थ्यो होला, त्यो सुखद् अनुभव एकचोटी पनि गर्न पाइनन् बिचरी मेरी अर्धाङ्गिनी बबुरीले ।
‘ओए, हात छाड्छेस् ? लोग्नेलाई हात हाल्छेस् ? तँलाई नर्क गइन्छ भन्ने डर छैन ? पख् तँलाई, तेरा हाडकरङ् नगनी त किन छाडौॅला र !’ भन्दै रक्सीले लड्खडाएको ज्यान बल्लतल्ल उठाएर दाउरो खोज्न पनि कहिल्यै जान पाइन म लन्ठुले ।
‘ला मर् ! ला मर् ! जस्तो बाबु उस्तै छोरो । तँलाई कथाको किताप चाहियो हैन ? ला कथाको किताप ! ला पढ् ! ला पढ् !’ भन्दै कुपोषणले धराप भएको छोरालाई झापडका झापड हान्ने रहर पनि कहिल्यै पूरा भएन मेरी बुढीको ।
कस्तो निस्कृय, कस्तो द्वन्द्वहीन, गतिहीन र प्राणहीन दाम्पत्य जीवन बितेछ गॉठे हो मेरो ! थोरै हो, पन्ध्रपन्ध्र वर्ष यस्तो निरस, खल्लो र यथास्थितिवादी दाम्पत्य जीवन भोगेॅछु मैले ! अस्ति मेरी जहानले हाम्रो बिहे भएको पन्ध्र वर्ष पुगेको खुसियालीमा भन्दै छरछिमेकमा लड्डु बाँडेको देखेर पो एसो बिचार गरेॅ एउटै पुरुषार्थ नदेखाई पो गएछन् गँठे हो पन्ध्रपन्ध्र वर्ष, थुक्क !
म आफ्ना वरिपरि देख्ने गर्छु, बिहे भएको पहिलो बर्षमै लोग्नेले स्वास्नीलाई क्या मज्जाले ठट्टाउँछन् डुङडुङ पारेर । हाम्रा छिमेककै घटना त हो नि, एउटी स्वास्नीले बिहे गरेको तीन दिनमै लोग्नेको गोप्य अङ्ग काटिदिएर अर्कैसँग गएको ।
पत्रपत्रिमा पढ्छु, टेलिभिजन हेर्छु, जताततै कस्तो अग्रगामी दाम्पत्य जीवन चलिरहेको छ, आफ्ना भने सर्वनाशै भएछन् पन्ध्रपन्ध्र वर्ष !
सितलपाखा, कीर्तिपुर