सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सगरमाथामा भ्यू टावर !

पहिला पहिला चाकरीका लागि मालिकको शालिक बनाइन्थ्यो अहिले मालपानीका लागि साँढेको शालिक त कतै गिद्धको प्रतिमा बनाउन थालिएको छ ।

Nepal Telecom ad

हिजो आज भ्यूटावर बनाउन सके राजनीतिमा पावर बढाउन सकिन्छ भन्ने विकासको नयाँ मोडल विकसित भएको छ यसलाई टावर मोडेल अफ डिभालोपमेन्ट पनि भनिन्छ रे ।

बारौँ सताब्दीमा अफगानिस्तानको जाम मिनारबाट प्रभावित भएर दिल्लीका पहिला मुस्लिम शासक कुतुब्बसद्दीनले दिल्लीको मेहरौलीमा कुतुब मीनार (टावर) बनाएका थिए रे ! त्यस्तै भारतकै हैदराबादमा कुतुब खानदानकै राजाले सोह्रोँ सताब्दीमा चार मिनार बनाए रे । एक जमानामा भारतमा दरबानी गर्न गएका हाम्रा काइँलाबाले चारमिनार मार्का सिगरेट तानेर अच्छा लेकिन बोलेको मैले सानै देखिन सुनेको थिएँ । त्यै बेलादेखि यो टावरको पावर ठूलै हुँदोरहेछ भन्ने लागेको थियो ।

एक पटक यी दुबै मिनार हेर्ने धोको मेटाउन भारततिर पसेको त त्यहाँ त त्यस्ता टावर कति हो कति ! सम्म ठाउँमा टावर बनाएर यसो वरपर हेर्न त ठीकै हो जस्तो लाग्छ तर आफैमा टावर भन्दा धेरै अग्ला पहाड भएको डाँडाको टुप्पामा टुसुक्क उभ्याइएको टावर बनाउनेहरू नेपाली पोलिटिक्समा पावरफुल भएर ताउर माउर गरेको देख्दा यो बज्रस्वाँठ अष्टाबक्रे बाहुन बाजे तीन छक्क मात्र हैन ट्वाँ नै परेको छ ।
त्यसोत भिमसेन थापाले धरहरा बनाउन लगाएको समय र फ्रान्सको आइफेल टावरको निर्माण समय एउटै रहेछ सन् १८८९ । फ्रान्समा फ्रान्सेली क्रान्तीको सम्झनामा निर्माण गरिएको रहेछ भने धरहरा महारानीलाई खुसीपार्न

अब भन्नै पर्दा काठमाण्डौ सम्म ठाम भएकोले धरहराको काम त लाग्ने भनेर नै बनाइएको रहेछ तर के गर्नु भूइँचालोलाई यो पटक्कै मन परेको रहेनछ ! त्यसैले त नब्बे सालको भूइँचालोेले दुई तल्ला ठनक्कै भाँचेर हब्बे न कब्बे पारेको थियो । पछि घटाएर नौ तल्लामा झारेको फेरि बहत्तरको भूइँचालोले मान्छे सहित पोको पारेको । अहिले राजाका मुख्तियारले ११ तल्ले बनाउँदा दुई पटक भूकम्म रिसाएर बबण्डर मच्चाएको थियो । गणतन्त्रको मुख्तियारले उखानको बखान गर्दै कोरोनाको कहरमा धरहराको टुप्पाबाट बिगुल बजाउँदा हिन्दी भाषाको भनाई जस्तै आगे आगे देखो होगा क्या ! हुने पो होकि !

हुनता अर्का भूतपूर्व मुख्तियारले धरहरा फलानोले बनाएको हो ? त्यो त कालीगढले बनाए नि भनेर व्यंग्य गर्दा फेसबुकमा भाइरल पनि भएको थियो नि ।

उता भूपूले व्यंग्य गर्दैगर्दा काग कराउँदै गर्छ टावर निर्माणले समृद्धि ल्याएर सुखी नेपाली बनाउँछ भनेर झापाली मुख्तियारले दमकमा अरब खर्च गरेर अर्को भ्यूटावर उभ्याइदिए । तर अरु जे जे भए पनि भ्यू टावरलाई नेताले चिन्छन्, डोजर चलाउने चिन्छन्, त्यो विकासको जालोमालोमा माखेसाङ्लोमा बेरिएका सबैले चिन्छन् । भलै टावरले कसैलाई चिन्दैन । टावर मुनितिरका पावरहीन जनतालाई भने यसले केही पनि दिँदैन । त्यो कुरा लकडाउनले सहर छाडेर गाउँ लागेका श्रमिकहरूलाई न धरहराले भोक टारेको देखियो न रानीपोखरीले तिर्खा मारेको देखियो त्यसैले त यो बाङ्गो दिमागले यस्तो कविता लेखियो :

सहर उजाड भएको छ

रोजीरोटीको खोजीमा
सहर पसेका श्रमिकहरूलाई
शिक्षार्थ राजधानी छिरेका
नौजवानहरूलाई
संकटको बेला
महामारीको बेला
घनघोर विपतको बेला
न राजधानीले आश्रय दिने
न सहरले सहानुभूति दिने ।

महामारीको बेला
सहरबाट गाउँ फर्कनेहरूको लर्कोले
झिटीगुण्टा र कुम्लो कुटुरो बोक्नेको ताँतीले
संकेत गरिरहेको छ-
अरुबेलामा रहरलाग्दो सहर
दुखपरेको बेलामा भरलाग्दो रहेनछ
बरु डरलाग्दो पो हुँदो रहेछ !!

रानीपोखरीको पानीले
भोको पेटको अग्निज्वाला ननिभ्ने !
आफू भोकले ढले पछि
धरहरा ठडिएको बालै नहुने !

सर्वहाराबाट अर्ब आहारी बनेका
मुठ्ठीभर अभिजात्यहरूलाई
सहर स्वर्ग भए पनि
सामल सकिएका निमुखा सर्वहाराहरूलाई
करदाता र मतदाता मात्र ठानिएका
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका
आम मानिसहरूका लागि
आज सहर उजाड भएको छ
सरकार अन्जान भएको छ ।

हुन त अब जसोजसो काठमाडौंका सिंहदरबार उसोउसो गाउँसरकार भनेझैं आजभोलि गाउँगाउँमा सिंहदरबार आएको बषौँ हुन लाग्यो । अब केन्द्रमा टावरले पावर देखाउन थालेपछि गाउँमा पनि यसो टावर बनाएर पावर र पाइन पाप्रो गोजीमा हाल्ने काइदा सिकेर डाँडा डाँडामा भ्यू टावर मात्र हैन कतै माछाको प्रतिमा, कतै सुँगुरको शालिक बनिरहेको पाइन्छ । पहिला पहिला चाकरीका लागि मालिकको शालिक बनाइन्थ्यो अहिले मालपानीका लागि साँढेको शालिक त कतै गिद्धको प्रतिमा बनाउन थालिएको छ ।

विकासको स्थानीयकरण भएपछि केन्द्रको विकास विनास, राजनीतिक दाउपेच, पिर्के सलामीदेखि भ्रष्टाचारले समेत राम्रो आकार पाउनु अस्वाभाविक हैन । पेट भएपछि यसो भेट त गर्नै पर्ने, यसो साँझ परेपछि रमरस पनि गर्नै पर्ने अनि यसो टावर बनाउने, डोजर कुदाउन अनुगमन गर्ने भ्रमण आदेश भर्ने अनि यसो छरछार गर्ने गर्नु परेन ?

दुवईमा ८सय २८ मिटरको बुर्जखालिफा नामक संसारको सबभन्दा अग्लो टावर बनाएछन् । यो बाउँठोकुरा लेख्ने बकमफुसेले पनि एकपटक चढेको थियो त्यो खालिफा । उता फ्रेन्च रिभोलुसनको संझनामा बनाइएको टावर आइफेल उढ्न धाइफाल हान्ने मेसो मिलेको छैन । स्थानीय चुनाबमा जित्न पाए त यसो फ्रान्सेली भ्यू टावर मोडेल अफ डिभालोपमेन्ट अध्ययन भ्रमणको योजना मिलाएर जान हुन्थ्यो । चुनाब जित्न टिकट पाउनै मुस्किल, टिकट पाए जित्नका लागि खर्च गर्ने पैसाले आइफेल टावर हैन अन्तरिक्ष यात्रा गर्दा पनि नसकिने पैसा खर्च गर्न पर्छ र पो मार्यो ।
उता रोल्पाली कमरेडहरूले पनि हामी रोल्पाको डाँडाको टुप्पोमा जनयुद्ध स्मारक भ्यू टावर बनाएर नौलो जनवादी मोडेलको विकास ल्याएछन् । भलै त्यो इल्लरी बिल्लरी टुप्पीमा तिलहरी किन नहोस् ।

जनयुद्धका सिपाहीहरूलाई पीर परेकै भए पनि रोल्पाली कमरेडहहरू दंग छन् । एक जना रोल्पाली संमाननीय कमरेडको आफ्नै टावर काण्डले पावर पनि चट भएको धेरै भएको छैन ।

त्यसलै विकासबादीहरूलाई यौटा सुझाब जाबो ८ सय २८ मिटर लामो बुर्ज खलिफा टावर बनाएर पावर देखाइरहेको दुबईलाई माथ खुवाउन सगरमाथाको टुप्पोमा भ्यूटावर बनाऔँ । त्यसो भयो भने हाम्लाई माथ गर्न कसको आँट ? कि कसो त तीनै तहका सरकार ?

२०७८ । १२ । १४
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे