सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वरिस्ट सुँगुरको सहर भ्रमण

सहर नजिकै पुगेर मूल सडकमा चढ्यो सुँगुर समूह । कतैबाट टेँ टेँ, कतैबाट पाँ पाँ, कतैबाट भाँ भीँ आवाजले सुँगुरको कानै खान थाल्यो ।

Nepal Telecom ad

गाउँ गाउँमा शौचालय बन्न थालेपछि सुँगुरलाई मर्का पर्नु स्वाभाविक हो । अझ कतिपय गाउँ वा सहर नै खुला दिसामुक्त हुन थालेपछि सुँगुरहरू आत्तिएका थिए ।

कुनै जमानामा पृथ्वीलाई पाताललोकबाट उद्धार गर्ने भगवानका अवतार मान्छन् आफूलाई सुँगुरहरू । वंश परम्परासँगै अंश परम्परा रहेको समाजमा नेताको सन्तान नेता, धनीका सन्तान धनी, माग्नेका सन्तान माग्ने हुँदै आएको छँदै छ । अनि भगवानका सन्तान भगवान भइहाल्छन् नि पृथ्वीलाई आफूहरूले बचाएपछि पृथ्वीमा आफूहरू पनि बाँच्नुपर्छ माग
माग तिनीहरूको छ । पृथ्वीलाई बचाउनेले पृथ्वीमा बाँच्न नपाउने ?

बगरमा सुँगुर सम्मेलन तोकियो । तीन जिल्लाको सङ्गमस्थल भएको बगरमा थप दुई जिल्लाका आगन्तुक सुँगुर पनि थिए । सुँगुरमाथि आइपरेका समस्याबारे छलफल चल्यो ।

एउटाले नाक फुलाउँदै भन्यो मेरो गाउँलाई पनि पूणर् खुल्ला दिसामुक्त घोषणा गरिएको छ तर हाम्रा शुभचिन्तकहरू धेरै छन् । धेरै नरनारी नारायणलाई मान्दै थिति मानेका छन् । बिहान उज्यालो नआउँद खेत, फूलबारी र नदी किनारमा निर्धक्क निस्कन्छन् दिसा बस्न ।

भुत्ला सेतै भइसकेको बूढो सुँगुरले डिँच्च दाह्रा देखाउँदै बोल्यो- ए, तँमा सुँगुरको सामान्य संस्कार पनि छैन ? पैले अधेक्षता ग्रहण हुन्छ, बोल्ने पालो दिन्छ अनि न बोल्ने हो । आफ्नो जातको परिचय पैले दिन थाल्छ । असभ्य ।

नाक फुलाउने सुँगुरको नाम खुम्चियो । रौंमा देखिएको फूर्ति पनि सेलायो बूढो सुँगुरले देख्यो कि आफ्नो वर्चस्व सुँगुरसभामाथि कायम भयो । आफ्नो नातेदारलाई सिस्टमअनुसार बोल्न अह्रायो ।

एउटा सफासुग्घर सुँगुरलाई वंशावली सुनाउन लगायो उल्ले । भगवानको अवतारदेखि अहिलेसम्मको बिर्तान्त यसरी सुनायो कि संसारका सप्पै चौपायामध्ये सर्वश्रेष्ठ साबित गरिहाल्यो । नाक ठूलो र कान ठाडो पारेर उसले जब बतायो कि हात्ती र गैंडा, भालु आफ्नै सन्तान हो तब उसको नाक हात्तीभन्दा पनि ठूलो भएको भान भयो । सारा सुँगुरहरू ऊप्रति हो कि आफैँप्रति गर्व गर्न थाले ।

उदघोषकले स्वागत गर्न लगायो । स्वागतकर्ताले यत्तिमात्र भन्यो अ‍ैले याँ स्वागतको लागि केइँ बेबास्था छैन, बल्लतल्ल यौटा नालीको पानी पिउने बेबास्था भाको छ, खाजा खाना नजिकको सहराँ डुलेर गरम्ला ।

तेसपछि सप्पैले समस्या राखे, सप्पैको समस्या मान्छे नै देखियो । समाधान गर्न सुगुर एकता समिति बन्यो । सुँगुर एकता समूहमा पनि दुई विचारधारा देखियो शान्तिकारी र कान्तिकारी । शान्तिकारी गुटको भनाइ थ्यो कि मानव समाज जसरी परिवर्तित हुँदै छ, त्यसरी नै परिवर्तित परिवेशमा समायोजन गरिनुपर्छ कान्तिकारी गुटको भनाइ थ्यो कि मानिसलाई पाठ पढाउनुपर्छ ।

पैलो सम्मेलन भएकोले धेरै विवाद नगरी त्यै बूढोलाई राजा र सप्पैभन्दा पैले बोल्नेलाई मन्त्री तथा सुँगुर वंशावली सुनाउनेलाई सलाहकार बनाएर तीनतिरका तीनजनाकै तीन मत मिलेर एक भएको कुरालाई सप्पैले सुइकार गर्ने गरी सभा सकियो । सभाबाट सहरतिर प्रस्थान गर्नुभन्दा पहिले सप्पै सुँगुरले एक स्वरमा किरिया खाए अबको सम्मेलनअघि सुँगुर साम्राज्य स्थापित गर्ने ।

अब सप्पै सहर हेर्ने रहरको लहरमा लागे । स्वागतकर्ता अघिअघि र अन्यान्य पछिपछि अगाडि बढ्न थाल्दा मञ्चमा उभिएर एउटाले भाषण सुरु गर्यो । उसको भाषण सुन्दै सप्पै अगाडि बढ्दै गए । अगाडि बढ्दै गर्दा सप्पैको कानमा पर्दै थ्योः “हामी क्रान्ति गरेर पनि सुँगुर अधिकार स्थापित गर्नुपर्छ । बूढापाकाले पद ओगटेर हुँदैन । जस्ले सुँगुर अधिकार स्थापित गर्छ उस्लाई पद दिनुपर्छ अबको सम्मेलनमा । म पदमा नरहेर नै काम गर्ने किरिया खान्छु । म कतैबाट पनि सुँगुर अधिकारमाथि हस्तक्षेप सहदिनँ । सुँगुरको कान्तिकारी इतिहास कायम गर्छु । हात्ती, गैंडा र भालुलाई पनि आफ्नो पक्षमा मिलाउँछु । सुँगुरको एकल जातीय साम्राज्यभन्दा हात्ती, गैंडा र भालुसमेतको बृहद् स्वजातीय स्वायत्ततायुक्त साम्राज्यको पक्षमा रहनुपर्छ ।”

सहर नजिकै पुगेर मूल सडकमा चढ्यो सुँगुर समूह । कतैबाट टेँ टेँ, कतैबाट पाँ पाँ, कतैबाट भाँ भीँ आवाजले सुँगुरको कानै खान थाल्यो । यस्तै गाडीले फालेको धुँवाले भित्रैबाट वान्ता गराउला जस्तो पनि हुन थाल्यो कतिलाई । छेउछेउमा हिँड्दा गाडीले किच्ने डर भएकोले सप्पै सुँगुरले सिधा पूरा सडक नै कब्जामा लिए । सयौँको सङ्ख्यामा अनगिन्ती सुँगुर व्यवस्थित भएर सडकमा हिँड्न थालेपछि सडकको अनुशासन नमान्ने गाडीहरूले डरले केही गर्न सकेनन् । अगाडि बढ्दै जुलुस एउटा चेकपोस्टमा पुग्यो । त्याँ गाडी रोकेको देखेर सुँगुरहरू डराए तर अगाडि हिँडेको सुँगुर सरासर चेकपोस्ट पार गरिहाल्यो । कसैले लाइसेन्स, पासपोर्ट वा ब्लुबुक केही चेक गरेन । सयौँको सङ्ख्यामा रहेको सुँगुर रैली देखेर सडक आफैँ खाली हुँदै गयो ।

गन्हाउने गलीमा एउटा चोक छ, सुँगुरको लागि त्याँ संबथोक छ । त्याँ पुगेर एकछिन आराम गरी सुँगुरको हुल सालिकतर्फ लम्कियो । झन्डै मध्यभागमा सयौँको जुलुस देखेर कसैले केई गर्ने आँट किन गरेन भने यदि सुँगुरमाथि कसैले लाठीचार्ज गर्दा भाग्ने क्रममा धेरैको घर, पसल वा गाडीमा पस्न सक्थ्यो । बरु जुलुसको अदप सबले मानेर जान दिइरहेका थिए । एक छिन त यस्तो पनि लाग्थ्यो, मेरो सहर सुँगुरको कब्जामा छ ।

खुद्राखाद्री नास्ता होटलनेर पुग्यो जुलुस । त्यहाँ नाली तेसै गनाउने थ्यो । एउटा सुँगुरले खप्न सकेन । नालीमा थुतुनु डुबाइ हाल्यो । भाग्य उसको बलियो थ्यो । कसैले आधा खाएर फालेको कुखुराको मासुको टुक्रो भेट्टाइहाल्यो । इफेमलेभन्दा सारा सुँगुरमा खबरको सञ्चार भइहाल्यो । एउटा वरिस्ट सुँगुरले त नालीमा हाम्फाली नालीको सुगन्ध सहरभरि फैलाइदियो । पूरा थुतुनु डुबाएपछि नालामा च्याप्यो एउटा जेरी गालामा । फेरि डुबायो भेटायो जेरी । अर्को वरिस्टले एउटा स्याउ फेला पारो । यसरी कसैले सुन्तला, कसैले भर्खर फालेको भात फेला पारो । कसैले अँध्यारोमा विसर्जन गरेको मानव मल पनि फेला पार्‍यो । यसरी सहरको बीचमा सुँगुरहरूले अनौठा, नौला र परम्परागत सप्पै किसिमका परिकार खान पाउँदा धन्य भएको अनुभूति गरे । खुल्ला दिसामुक्त घोषणा गरेर के भो ? सहर त सुँगुरप्रिय बन्दै गएको छ नि ? आहालको आनन्दसँगै नौला परिकारको स्वाद गाउँमा काँ पाउनु ? भोकलाई मीठो भोजन ज्युनार दिएपछि सुँगुरको हुल अनुशासित भएर निस्कन खोज्दै थ्यो । एउटाले काँबाट हो कुन्नि लट्ठी भेट्टाएर एउटा सुँगुरमाथि बजारिहाल्यो ।

अनेकौँ सुँगुरले उसमाथि धावा बोले । जुन पसल नजिकबाट सुँगुरमाथि हमला भएको थियो, तेसमा कैयौँ सुँगुर पसिहाले । पसलमाथि नै सुँगुरको कब्जा भयो । लट्ठी हान्नेलाई सुँगुरहरूले चारैतिरबाट घेरेर पछार्‍यो । भुइँमा लडायो । कुस्ती खेले झै गर्‍यो । थुतुनु र दाह्राले जिउभरि हालत पुऱ्यायो । यसलाई मरेको भन्ठानेर सुँगुर एकता जिन्दावादको नारा लगाउँदै सालिकतर्फ बढ्यो ।

सालिकमा सुँगुरको जुलुस एकछिन रोकियो । चौबाटोमा एक छिन कसैले बन्द गरिदिँदा सडकको हालत कस्तो होला ? तर धेरै बेर नरोकी सोझै अगाडि बढ्यो जुलुस । एउटाले फिलिमको पोस्टर देख्यो । “हाम्रो जातको फोटो नै रहेनछ । यसको विरोध गर्नुपर्छ” एउटाले भनेपछि होमा हो सप्पैले मिलाउँदा पनि ढिलो भइहाल्यो । अलिक अगाडि बढेपछि यस्तो चोक आयो जहाँ सम्पूणर् वातावरण सुँगुरप्रिय थियो । त्यहाँका बासिन्दालाई हृदयले धन्यवाद दियो जुलुसले । त्यैँ एकजना भन्दैथे- “सुँगुरको कुनै देश र भेष हुँदैन । खोरमा पालुञ्जेल पनि गन्हाउने कुरै खाने हो । सफासुग्घर खानेकुरा र ठाउँ दिने हो भने बिरामी परिहाल्छ सुँगुरलाई स्वतन्त्रता दिने हो भने गुहुँ नै खान्छ ।“

लामो समय सुँगुर पालेका एकजनाले त्यसको भावानुवाद सुँगुरबोलीमा अर्को एकजनाले भन्दिएछन् । तेसपछि सुँगुरलाई हेप्नेलाई जुलुसले लखेट्न थाल्यो । ऊ अझै पनि भाग्दै छ ।

तेस दिनदेखि कतिपय सुँगुर जाँ देखे नि तेइँ हो भनेर कसै कसैलाई लखेट्न सुरु गर्दिहाल्छ ।

भरखरै प्रकाशित ‘व्यङ्ग्यम्’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे