सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आनु

किसिम मान्छेको किसिम कुरा । सबै डाक्टर । एक एकजनाको एकेकवटा सजेशन । सबै बाठाे...नजान्ने कोही छैनन् । कसको कुरा सुन्नु कसको नसुन्नु ।

Nepal Telecom ad

पोहोर-परारको सालभन्दा यो साल नयाँ वर्षको उपलक्ष्यमा मलाई ‘नव वर्षको शुभकामना’ चढ़ाउनेहरूको सङ्ख्या धेरै थियो । मेरो सुस्वास्थ्यको कामना नै सबैको शुभकामनाको मुख्य बुँदा थियो । तर जनवरी महिना आधा पनि बित्दा नबित्दै मलाई आनुले थला पाऱ्यो । त्यो पनि देब्रे आँखाको आँखीभौँभित्र । एउटा मात्र होइन एकैचाटि पाँच-पाँचवटा । निकै दिन थलिनुपर्‍यो । जिन्दगीमा कहिल्यै कसैलाई आँखा नझिम्काउने मान्छे म ! तर यी पाँचवटा आनुले मेरो देब्रे आँखा आफै झिम्केको जस्तो देखिएको थियो । मेरो देब्रे आँखा डम्मै सुन्निाएको देखेर धेरैले सोधेका प्रश्नको उत्तर दिँदा कसैले पनि ‘आहा ! सरलाई आनुले साट्ठो पारेछ’ नभनेर सोझै ‘कसलाई ढाँटनुभो होला’ भन्नो मन्तव्य पाएँ । मैले कसैलाई ढाँटेकै छैन । ढाँट्दा आँखामै आनु निस्किन्छ भन्ने कुरा मलाई पक्कै ढाँट लाग्यो । कसैलाई ढाँट्दा साँच्चै आँखामा आनु निस्कन्छ भने यी नेताहरूले पनि ता जनतालाई कति ढाँट्छन् खोई ता ती मोराहरू कसैलाई आँखामा आनु निस्केर मजस्तै थलो परेको मैले अद्यावधि सुनेको छैन न ता देखेको नै छु ।

आनु (कतथ) को शब्दकोशीय अर्थ हुन्छ- अन्नो, आँखाको डिलमा हुने एक किसिमको खटिरो । मेरो देब्रे आँखाको डिलमा होइन तर आँखीभौं भित्रका आनु हेर्दै कसैले यो आनु हो अनि कसैले चाहिँ यो आनु होइन यो ता चरी पिलो हो भनी आ-आफ्नो विद्वतापूर्ण मन्तव्य छाँटे । जति मान्छे उति कुरा ।

पिलो पनि किसिम-किसिमका हुँदारहेछ- एउटै मात्र आँखा हुने साधारण पिलो एक किसिमको खटिरो, अन्धो पिलो (आँखै नहुने), चाल्नी पिलो (एकैचाटि चार-पाँचवटा आँखा हुने) अनि चरी पिलो (एकै खेपमा बिफिराजस्तो पाँच-पाँचवटा आफ्नै लय र शैलीमा निस्किने) सोंचें हामी पाहाड़ेहरूलाई मात्र अन्धो पिलो, चरी पिलो र चाल्नी पिलोजस्ता नाना थरीका पिलो निस्किँदोरहेछ । मधेशमा बसेको युग बितिसक्यो । तर यहाँका मधिशे तथा अन्य जातकाहरूलाई यस्तो अन्धो पिलो, चरी पिलो वा चाल्नी पिलो निस्केको मैले अहिलेसम्म सुनेको छैन न ता देखेको नै छु । ‘लङ्गड़ा आँप’ भनेजस्तै यहाँका मधेशी तथा अन्य जातकाहरूलाई ‘लङ्गड़ो पिलो, डुँढे़ पिलो, थोते पिलो, घिउ पिलो, डाल्डा पिलो, खुसामदी पिलो, मागुर पिलो, नेता पिलो आदि पिलाहरू निस्किएर मर्नु न बाँच्नु बनाएको मैले सुनेको छैन । मलाई यति थाहा छ उनीहरू यस्ता पिलो आदिलाई ‘फोड़ा’ भन्छन् । तर हाम्रो पाहाड़ेको पिलो जस्तो ‘फोड़ा’को नाम भने सुनिएको छैन ।

मेरा शुभचिन्तकहरूमध्ये कसैले दैलोको कुनामा काठ कोइलाले दुइवटा ठूल्ठूला आँखाको नक्शा बनाएर बिहान उठ्ने बित्तिकै हेर्ने सुझाव दिए । काठ कोइला कहाँ पाउनु अचेल? आनु निको हुन्छ भनेर छेवैको श्मशानघाटमा गई लाश जलाएको काठ कोइला ल्याएर दैलोको कुनामा ठूल्ठूला आँखाको नक्शा बनाएर बिहान कति चोटि हेरें हेरेँ भनेर साध्य छैन । कतिले सातवटा बयेरको पात धागोमा उनेर आनु निस्केको ठाउँमा राख्ने सुझाव दिए…त्यसै गरें । बयेरको पातले पनि साथ दिएन ।

एकजनाले आनुको आँखा भएको ठाउँमा ढुङ्गा दलेर डाँड़ा कट्टाउनुपर्छ भने । त्यसै गरें । आनुमा ढुङ्गा दलेर ढुङ्गालाई डाँड़ा कट्टाउनु ता कट्टाएँ नि…तर त्यो ढुङ्गा कसैको छानुमाथि परेको मैले छ्याङ्ङै सुनें । एकक्षणपछि घरका मालिक बाहिर निस्केर ढुङ्गा हान्नेलाई कोकलेकी आमाले चामेलाई सरापेजस्तो सराप्नुसम्म सरापे (परालको आगो) । म चुपो लागि घरभित्र लुकेर बसिरहें । तर उनको गनगन भने निकैबेरसम्म सुनिरहेको थिएँ ।

कसैले बिहानै कुखुराको खोरमा गएर पोथीको आँखामा दल्नु भने । फेरि अचम्मको कुरा ता के भने, पोथी पनि खाँटी घरमै पालिएको हुनुपर्ने, पोल्ट्रीको चल्दैन । पोल्ट्रीको कुखुराको पोथी कन्ये भएकोले यस्तो कन्ये पोथीको चल्दैन अरे । के गर्नु ? मलाई ता आनु बिसेक पार्नु छ । दुःखेर बसिनसक्नु पारिसक्यो । जुत्ताले कहाँ चेप्दैछ सो ता जुत्ता लाउनेलाई मात्र थाहा हुन्छ । आनुले दुःखेर मलाई कतिसम्म उखरमाउलो लाइसक्यो त्यो ता मलाई मात्रै थाहा छ । यसैकारण, सुलसुलेको परवाह नै नगरी एकाबिहानै कुखुराको खोरमा पोथी च्याप्पै च्याप्पै समात्न पुगें । खोरभित्र आफ्ना भालेहरूसित रोमान्सेली गफ गरिरहेका पोथीहरूमध्ये एउटालाई समातेर आनु भएको आँखामा दल्नु ता दलें । पोथीको मुटु ढुकढुक भइरहेथ्यो । भनौं त्यसको सातोपुत्लो उडि़सकेको थियो । मेरो हातबाट आफू उम्किनुलाई त्यसले मरूञ्जेल कोशिस गरिरहेकी थिई । ‘अब ता मलाई यो व्याभिचार मान्छेले न्याकेट पार्छ’ भनेर हो वा ‘यो मान्छेले मेरो जिउमा हात लाएर कुखुरा समाजमा मेरो बेइज्जत गर्छ’ भन्ने आशयले हो वा आत्तिएर त्यो पोथीले मेरो आँखाभरि सुली बौछार गरिदिई । तातो सुली आनु भएकै आँखामा पस्दा एकक्षण ता आँखा न्यानो भयो । पोथीलाई छेरौटी चलेको रहेछ…छेरौटीसुली माथि आँखाबाट बगेर नाकको डिल-डिलसम्म आइपुग्दा मात्र त्यसको गन्धले मलाई झण्डै वाक्-वाक् आयो र पोथीलाई खोरभित्र फ्याँकेर वाथरूमतिर पसें । त्यसपछि तमाम कुखुराका भालेहरू र पोथीहरूको कोट्कोट्कोट्यास् र चल्ला-चिङ्नाहरूको हल्लीखल्लीले पक्षी समाजमा आतङ्क फैलिएछ कि क्या हो को‘नि कागहरू पनि ‘काग…काग‘ गरेर गाँवै थर्काउने गरी कुखुराको समर्थनमा एक झुरूप्प भएर कराउन थाले ।

बारी वा अन्त कतैतिर चर्दै गरेको चिङ्नालाई टपक्क टिपेर रूखमाथि लगी भुत्लाई-भुत्लाई खाने काग त्यही हो । सोहीपरी पोथीलाई भुत्ल्याएर न्याकेट पार्ने उद्देश्यमा पोथी समात्न खोरभित्र पसेको ठ्याम्मै होइन । तर आज सबै समवेत् भएर मेरो विरूद्धमा हल्लीखल्ली गरेको देख्ता म बिलखवन्द परें । कागको निम्ति चिङ्नाहरू कागको प्रिय भोजन भए पनि कुखुराको निम्ति काग कट्टर शत्रु हो । यिनीहरू एकाअर्कामा कहिल्यै मिल्न सक्तैनन् । कुखुरा समाजमा कागहरू बदनाम छन् । कैयौँ चिङ्नाहरू अपहरण गरी हत्या गरिसकेका छन् यी कागहरूले…कति पोथीहरूलाई रूवाउनुसम्म रूवाएका छन् ।

भर्खर भर्खर पिताको पगरी गुँथेर फुर्के हुने कति भालेहरूलाई निराश बनाई चिङ्नावियोगमा तड़पिन लाउने यिनै कागहरू हुन् । मेरो आनु निको पार्नलाई कुखुराको खोरबाट एउटा पोथीलाई समात्दैमा यी शत्रुहरू एक भएर गाँवै थर्काउनु यो कस्तो अचम्म र उदेकलाग्दो कुरो हो? कट्टर शत्रु मित्रु भएको देख्ता म तीनदाङ् परें । यतिबेला मलाई कस्तो अनुभव भयो भने, भाले पनि कागहरूजस्तै उड़्न सक्दो हो ता त्यतिबेला भुर्र उड़ी रूखमाथि बसेर कागसित मुस्कुराउँदै ‘ह्याण्ड सेक‘ गर्ने थियो र वशमा चल्दो हो ता कुनै प्रेसलाई बोलाएर क्यामेरा अघि दारा ङिचाउँदै यी पक्षीद्वयले शायद प्रेसलाई सम्बोधन गर्नेथिए-‘लु…जमानाको कट्टर शत्रु हामी मिल्यौँ मिल्यौँ । अब यो मान्छे भन्नो जनावरले हाम्रा पोथीहरूलाई हात लाउन आयो भने त्यसको आँखा ठुङेर त्यसलाई ठहरै पार्नेछौँ ।’

यसरी एकाबिहानै पोथी समात्नु जाने हुँदा खोरको छेउमा पुग्ने बित्तिकै भालेहरू आतप्रित भएर कराएर गाँवै हल्ला गर्नु मात्र होइन पोथीको जिउमा त्यो पनि कहाँ कहाँ आँखा दल्ने गुण्डा मान्छे आयो भनेर तर्सिनु थालेका छन् । साँच्चै यो कुखुराहरूको पनि युनियन हुँदो हो ता मलाई पोथीको जिउमा हात लाएको आरोपमा यतिञ्जेल ठ्याङ्ग्रोमा थुनिसक्ने थियो कि चाहिँ गाउँनिकाला पक्कै गर्नेथ्यो, यसमा शप्रा नै छैन । मलाई देख्ने बित्तिकै हाम्रा गाउँका सबै पोथीहरू तर्सेर कोट्कोट् कोट्याँस गर्दै भुर्र भुर्र उडे़र घरको धुरीमाथि बस्न थालेका छन् । आन्दोलनको समयमा सीआरपीले रेड गर्छ भनेर घरका पुरूषहरू जङ्गलतिर पसी रात बिताए झैँ हाम्रा गाउँका पोथीहरू उनीहरूको सेक्सी अझै मेरो आँखामा दलिनुपर्छ भन्नो डरले अचेल खोरमा होइन रूखमाथि निदाउन थालेका छन् । पोेथीको दल्यो भने आनु चट्टै हुन्छ भनेर फेरि एकदिन एकाबिहानै रूखमाथि चढ़्नु कोशिस गरें ।

रूखमाथि पोथीहरू एउटा खुट्टा लुकाएर मस्त सुतिरहेका देखें । चितुवा रूखमा चढ़ेको चालमा चढ़ें । आधासम्म के चढ़ेको थिएँं…रूखभरि रोटे कमिला रहेछ…चिलेर सखाप पार्‍यो । जिउभरि डाम्रै डाम्रा… । एकातिर आनुले देब्रे आँखा डम्मै सुन्निाएको अनि अर्कोतिर रोटेले चिलेर अर्को आँखा, ओंठ, गाला सुन्निाएर बेकिङ पाउडर हालेको मोमोजस्तो भएछ । मलाई रोटे कमिलाले चिलेकोमा एक रत्ति दुखमन भएन । तर यी पोथीहरूले रोटे कमिलासित लुकीछिपी सम्झौता गरेजस्तो लाग्यो । कारण रोटेको चिलाइले म भोगटेजस्तो झर्दा पनि खोरभित्रको कुनै भाले न ता करायो न कुनै विरोध नै गर्‍यो । रोटेले चिल्दा मेरो अवस्था कस्तो भएको थियो त्यो ता मलाई मात्र थाहा छ । मेरो गति देखेर भालेहरू खोरभित्रै खुच्चिङ मचाएको जस्तो लाग्यो । यो केही होइन साँठगाँठकै करामति हो । अचेल ता जे कुरामा पनि सजिलैसित मिल्न सकिँदोरहेछ । नमिल्दो कुरो के रहेछ र ? सबै ता मिलिहाल्दो रहेछ । मिल्नेहरूले ‘हामी मिल्यौं मिल्यौँ यो हाम्रो पर्सनल म्याटर हो‘ भनिहाल्यो भने गर्नु र भन्नाु केही छैन । तर मेरो आनु निस्केको आँखा पोथीको सित नमिल्नुमा चाहिँ के त्यस्तो ठूलो अपराध हो र ?

काठ कोइला पनि काम लागेन । श्मशानघाटबाट ल्याइएको नाथे इत्रु काठ कोइलाले रातभरि श्रीमतीलाई खेद्यो भनेर ‘यो काठ कोइला जहाँबाट ल्याउनुभएको छ अहिल्यै त्यहीँ पुर्‍याएर आउनुहोस्’ भनी श्रीमतीले उखरमाउलो लाइन् । श्माशानघाटबाट ल्याएको काठ कोइलाले भित्तामा कोरिएका ठूल्ठूला दुइवटा आँखा पनि काम गर्ने केटीले बिहान घर पुछ्दाहुँदी सबै मेटिदिई श्रीमतीकै आदेशमा । बयेरको पात टिप्नु जाने हुँदा काँड़ाले कोतरेर सखाप पारîो । पोथीको एकपल्ट मात्रै दल्नु पाइयो । दोस्रो दिनदेखि ता दल्नु ता के छुनु नै पाइएन ।

किसिम मान्छेको किसिम कुरा । सबै डाक्टर । एक एकजनाको एकेकवटा सजेशन । सबै बाठे…नजान्नो कोही छैनन् । कसको कुरा सुन्नु कसको नसुन्नु । पोथी समात्न खोरभित्र पस्दा जिउको कुनाकाप्चाभरि सुलसुले पसेर अनि रूख चढ़्ने हुँदा रोटेले चिलेर झण्डै मार्‍यो । एकदिन ता झन् अचम्म र उदेक के भएको छ भने, बारीमा झार उखाल्दै थिएँ, चल्लाहरू बारीमै चर्दै रहेछन्…मलाई देख्ने बित्तिकै हाम्रा आमाहरूलाई समातेर के-के उपद्रो गर्ने यही राउडिज मान्छे हो भनेर अनि हामीलाई पनि समातेर त्यसको आँखामा हाम्रो भक्कु दल्छ कि भनेर हो‘कि क्या हो को‘नि अरू चल्लाहरू साइसुत्तै भए पनि एउटा चाहिँ त्यहीँ बेहोश भई । हेर्नु ता ! यो नाथे आनुले कुखुरा समाजमा म कति बदनाम भइसकेको रहेछु ।

जे होस् म आनुको पीरले थलिएको छु । मलाई विश्वास छ मेरो यो आनु एकदिन अवश्यै बिसेक हुनेछ । तर मेरो आनु बिसेक नहुञ्जेल तमाम् पोथी र भालेहरू सञ्चले बाँच्ने छैनन् । कुनै पनि समयमा म रेड गर्न उनीहरूको खोरभित्र पस्नेछु अनि उनीहरूका स्वीटीस्वीटी पोथीहरूको जिउमा हात लगाई उनीहरूको आब्रुसित खेलवाड़ गर्नेछु भन्नो त्राहीत्राहीमा उनीहरू बाँचिरहेका हुनेछन् भन्नो मलाई पूरा थाहा भइसकेको छ । मेरो चर्तीकलाप्रति निराश हुँदै कुनै भाले कसैको घरको धुरीमाथि बसेर यसरी गीत गाउला हो-

नसम्झ आज कुखुराजाति
सञ्चोले यहाँ बाँचेको
मान्छेको आनुले लौ यहाँ
पोथीको इज्जत लुटेको
मान्छेको जातसित बाँच्नलाई
कागसित मिलेको…
नसम्झ मतलबी कुखुराजातिलाई
रोटेसित मिलेको…

सिलिगुड़ी (भारत) ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
आज मेरो जन्मदिन

आज मेरो जन्मदिन

कृष्ण प्रधान
नब्बे दिन कारावास !

नब्बे दिन कारावास !

कृष्ण प्रधान
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
फुर्लुङ

फुर्लुङ

भोलानाथ सुबेदी
कमिसन नगर

कमिसन नगर

ढाकामाेहन बराल