बागमती प्रदेश सञ्चार कार्यालय लामो

पशुपतिको जात्रा कात्रोको बेपार

कात्रोको ठेकेदार, बेपारी आदि चुनावमा प्रतिनिधि भए भने चुनाव चिन्ह पनि कात्रो नै पाउलान् । नाराहरू बन्लान्- सात छाप कात्रोमा लगाउँ ।

कात्रो भन्नाले “मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्या इदिने लासपोस भन्ने जनाउँछ ।” हुन त घाट अनि कात्रो हेरेर कसैलाई मरूँ मरूँ पनि लाग्दो हो । समयअनुसार मान्छेले जे बढी रुचाउँछ उसैको बेपार हुने नौलो परम्परा पनि होइन ।

कात्रेप्रसाद अहिलेका चर्चित व्यक्ति हुन् । पेशाले कात्रो बेच्छन् । बुढाबुढी भएको घरमा पुगेर केही न केही त छोडेर जानैपर्छ भन्दै कात्रो बेच्छन् यिनी । बुढाबुढी पनि होमा हो लगाएर किनिदिन्छन् चार भाग बढी मूल्य तिरेर । तीर्थयात्रामा जाँदा पनि कात्रो किनाउन लिएर जान्छन् उनी । कात्रो बेचेर लाद्रो भर्ने हुनाले होला उनलाई कात्रोको बेपारले लाद्रोको ठेकेदार बनाएको प्रष्ट हुन्छ । जाडो महिना लागेपछि लेक छिर्छन् त गर्मी लागेपछि बेसी झर्छन् । लेकमा पुग्दा बुढाबुढी माघलाई भन्दै आफ्नो बेपार जमाउँछन् त बेसी झरेपछि दुईखुट्टे, चारखुट्टे, छखुट्टे अनेकबाट रोगको प्रकोप बढेको भन्दै अपारको बेपार गर्छन् । आज मरे भोलि दुई दिन भन्दै भोलिपल्ट कात्रो के काम भन्ने उनी सरकारको स्वास्थ्य बीमा कार्यक्रमविपरित हरेक घरपरिवारका लागि एक एक सेट कात्रो लिन लगाउँछन् ।

लाश अड्डामा पुगेर होस् कि शव दाहस्थलमा पुगेर होस् अरुले किनेका त नक्कली कात्रो परेछ भन्दै आफ्नोचाहिँ पात्रो हेरेर किनेको कात्रो भन्न भ्याउँछन् । यिनलाई सेवामुखी काम गरेको भनेर कसैले सम्मान गर्यो भने पनि खादा र दोसल्लाको सट्टामा कात्रो नै माग्दाहुन् भनेर टोलमा चर्चा हुने गरेको छ । तर पनि कसैले यिनलाई कात्रोमा खल्ती सिलाउन नलगाएकामा चित्त दुखाउँछन् ।

कात्रोबाट कपडा सिलाउने चलन किन नआएको होला ? कात्रोको कोट हुँदो हो त पाइन्ट पनि हुँदो हो । पाइन्ट हुँदो हो त कात्रोकै जुत्ता पनि हुँदो हो । जुत्ता हुँदो हो त मोजा पनि कात्रोकै हुँदो हो । कात्रोमा खल्ती हुँदो हो त खल्तीमा हाल्ने रुमाल पनि कात्रोकै हुँदो हो । यस्तै कोटको भित्री हुँदो हो त बाहिरी पनि हुँदो हो । बाहिरी हुँदो हो त जगेडा पनि हुँदो हो । जगेडा भएपछि आफ्नो कमाई तगडा हुँदो हो ।

कात्रोको सर्वत्र चर्चा भएपछि लेखकहरूले पनि कात्रोकै बारेमा लेख्दा हुन् । किताब पनि यस्ता यस्ता नामका छापिँदा हुन्- ‘कात्रो परिचय’, ‘कात्रोको इतिहास’, ‘कात्रोमा सत्र वर्ष’, ‘कात्रोतिर बरालिँदा’, ‘कात्रो हराएको मान्छे’, ‘कात्रोको अंश’, ‘कात्रोको कारोबार कसरी गर्ने’, ‘कात्रोकी स्वास्नी र म’ आदि ।

कात्रो व्यापारका लागि फूटपाथदेखि ठूला ठूला सपिङ मल खुल्दा हुन् । चोक चोकमा यस्ता पसल खुल्लान् ‘बाजेको कात्रो पसल’, ‘सक्कली बाजेको कात्रो पसल’, ’पुरानो बाजेको कात्रो पसल’ । त्यहाँसम्म ठीकै मान्न सकिएला यस्ता पसल पनि खुल्लान्- ‘हाम्रो कात्रो पसल’, ‘कात्रो एण्ड कात्रो ब्रदर्श’, ‘कात्रो सप्लायर्स’, ‘कात्रो एण्ड सन्स’ ।

कात्रोको ठेकेदार, बेपारी आदि चुनावमा प्रतिनिधि भए भने चुनाव चिन्ह पनि कात्रो नै पाउलान् । नाराहरू बन्लान्- सात छाप कात्रोमा लगाउँ । कात्रो चिन्हमा आफ्नो अमूल्य मत प्रदान गरौं । चुनावअघि मासुभात, पेट्रोल छोडेर कात्रो वितरण कार्यक्रम तय होलान् । कात्रो लगाएर, कात्रोकै झण्डा बोकेर रयालीको भिड चल्दा हुन् । आन्दोलन गर्दा पनि टायर छोडेर कात्रो बाल्दा हुन् । कात्रोलाई लिएर प्रतिनिधिले घोषणा पत्रमा लेख्दा हुन्- हामी मृतकहरूलाई निशुल्क कात्रो वितरण गर्दछौं । हामी हरेक युवालाई कात्रो बनाउने तालिम दिन्छौं । हामी कात्रो देखेर सात्तो जानेहरूको निशुल्क उपचारको व्यवस्था गर्नेछौं । हामी कात्रोमा भएको व्यापक मूल्यवृद्धि घटाउँछौं । अघिल्लो पटक पालिकामा रहँदा फलाना पार्टीले कात्रोमा लगाएको कर मिनाहा गर्नेछौं । कात्रो सबैको साझा अधिकार हो भन्नेमा हामी विश्वस्त छौं । कात्रोमा भोट हाल्नोस्, सँधैका लागि मुक्ति पाउनोस् ।
जय सिस्नुपानी ।

(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)
२५ बैशाख २०७९

बागमती प्रदेश सञ्चार कार्यालय लामो
हाम्रो नेपाल

हाम्रो नेपाल

संप्रस पाैडेल
होमवर्कको होहल्ला

होमवर्कको होहल्ला

पिँडालु पण्डित
जुम्रेको डायरी

जुम्रेको डायरी

नन्दलाल आचार्य
अञ्चलाधीशको आतंक

अञ्चलाधीशको आतंक

चूडामणि वशिष्ठ
भ्यागुता सम्मेलन र बाँकी सम्मेलनहरू !

भ्यागुता सम्मेलन र बाँकी...

डा.हरिप्रसाद सिलवाल