सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्यागुता सम्मेलन र बाँकी सम्मेलनहरू !

कोठे सम्मेलन, गोठे सम्मेलन, ओठे सम्मेलन, चोटे सम्मेलन, ठेक्का सम्मेलन, पट्टा सम्मेलन, ठट्टा सम्मेलन, मुक्का सम्मेलन र तुक्का सम्मेलनहरू दिन दुगुना रात चौगुना भइरहेका छन् ।

Nepal Telecom ad

छक्क पर्नुछ देखेर भ्यागुता, गँगटा र सर्प सम्मेलनहरू
बाङ्गा मनका धनीलाई बाङ्गा साहित्यले नछोएसम्म
शक्ति उपासकका मन महाशक्तिका आशीर्वादले नधोएसम्म
चलिरहन्छ किर्ना, बिच्छी र अरिङ्गाल सम्मेलनहरू !

काउकुती निबन्ध सङ्ग्रहमा नेपाली हास्यव्यङ्ग्य निबन्धकारश्री भैरव अर्यालले हकी, आँटी र नढाँटीकन अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनको निबन्धात्मक साहित्यिक चित्रण सम्प्रेषण गरेर धित मरुन्जेलको काउकुती लगाए । तर त्यस्ता सम्मेलनधारीलाई आजसम्म खोई काउकुती लागेको ? मनमा पो सम्प्रेषण हुन्छ, मन सबै बेचेर वन बनाएपछि कहाँ छुन्छ र काउकुती लाग्ने ! उनको अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनको मर्म नेपालका भ्यागुताहरूलाई मात्र होइन, अन्तर्राष्ट्रिय पदाशक्तहरूलाई पनि हो । तर न यता न उता हाम्रो शरम गएन बेइचिङ र कोलकत्ता !

म पनि भैरवको भर परेर उनकै लयमा आजका सम्मेलनको पुराण सुरु गरी भैरवको स्मरण गर्दछु । यो उनको निबन्धको रिमिक्स निबन्ध त हैन, तर आजका सम्मेलनधारीको चाहिँ राम्रै रिमक्स रिल प्रस्तुति हो ।

आज सम्मेलनका पारखी र पौरखी भ्यागुताहरू गरिब, बेघरबार, शरणार्थीहरूलाई चन्द्रमा र अन्य ‘स्वर्गीय’ (कल्पानन्द) वा कल्पीय स्थान (कल्पस्थान) मा कसरी बसाईँ सार्न सकिन्छ भनेर सम्मेलन गरिरहेका छन् । आजका भ्यागुता सम्मेनमा श्रेष्ठ प्राणीहरूका तर्फबाट सभ्य जनमानसको यो भव्य विश्वमा कसरी सहज नाफादारी भ्रमण गर्न सकिन्छ भनेर सम्मेलन भरिरहेका छन् । हरिया क्याँटले प्रियालाई फरिया किन्न नसक्नेहरू सम्मेलन गरेर सात पुस्तालाई घर र चार छाकै खानामा बोसोको तर मारिरहेका छन् । अनि महङ्गा भ्यागुतालाई सस्ता रोग किन लाग्थ्यो ? रोगै ठूला, शोकै ठूला कुर्सीका छेउका लेउ लागेर मोटाएका छन् र त छोटाएका छन् । आरिसे भाषामा भन्नु पर्दा तिनका सात कोसे नातासम्म सबै पुक्क पुक्क पोटाएका छन् । अहिले यी भ्यागुताहरू क्यारेम बोर्डका गोटी हैनन्, सिङ्गै कुवालाई क्यारेम बोर्ड बनाएर त्यसमा चार ओटा हैन चाहेजति प्वाल पार्दै गोटीहरू छिराइरहेछन् फुत्त फुत्त ! त्यसैले सम्मेलन स्थल प्वालैप्वालको झ्याङप्वाल बनेर पारदर्शीको दसी भएको छ । भ्यागुताहरूको मोटोपन, लम्बाइ, चौडाइ, तेर्साइ, उक्लाइ, ओर्लाइ, कद र हद नाप्ने कसी भएको छ ।

भ्यागुता सम्मेलन आज बढी घरेलु भएको छ । विश्वका भ्यागुता सम्मेलनधारीले चाहिँ गाजा, अफगान, अरब, कोरिया, हाइटी, लिबिया र कास्मीरको विवाद मिलाउन कुन कुवाका कति भ्यागुताहरूलाई निम्तो दिने भनेर टर्टराइरहेका छन् । ‘ठूला’ भ्यागुते सम्मेलनबाट नेपालका विभाजित भ्यागुताहरूलाई तह लगाउन र कुवाको अंश लाइदिन ब ारम्बार ‘कूट’ सम्मेलनहरू चलिरहेका छन् । कहिले मेलम्चीसित पिरती गाँस्न त कहिले नालापानी र कालापानीमा अनि कहिले कालापत्थरमा पुगेर राष्ट्रियता र जलवायुको मितेरी लाउने सम्मेलन गरिरहेका छन् । लिम्पियाधुरा र लिपुलेकको नक्सा मिलाउन कस्तो सम्मेलनको खाजा खाएर साझा कुरा मिलान गर्ने हो ? जलवायुको सम्मेलन गर्दा गर्दा बैठकमा जम्मा भएका भ्यागुताहरूको मलमुत्र निष्कासनमा भुइाचालो नै गएको छ । त्यसको दुषण र प्रदुषणले जलवायुबाट ढलवायु चौपट भएको छ । खास कुरो यो सब मन वायुबाट उत्पन्न विकारादि परिणामका खेल हुन् । सम्मेलन केवल विकार मनको भेल र नमिलेको बखत हल्का बल प्रयोग गर्दा हुन आएको ठेलमेल मात्रै हुन् । दिव्योपदेशमा नेपाल नामक साझा फूलबारीका ‘माली’ पृथ्वीले उहिल्यै भनेका थिए- “यहाँ त खेलखाल र ठेलठाल मात्र हुने रहेछ ।” त्यसमा हल्का थपिएको कुरा खेलखालमा झेलझाल र ठेलठालमा पेलपाल न हो । कोठे सम्मेलन, गोठे सम्मेलन, ओठे सम्मेलन, चोटे सम्मेलन, ठेक्का सम्मेलन, पट्टा सम्मेलन, ठट्टा सम्मेलन, मुक्का सम्मेलन र तुक्का सम्मेलनहरू दिन दुगुना रात चौगुना भइरहेका छन् । आजका यहाँका वरिष्ठ भ्यागुताहरू मनुवा दीन दुखी जनको हित गर्न गोल सम्मेलन, मोल सम्मेलन, भोट सम्मेलन, रोक सम्मेलन, ठोक सम्मेलन, टोक सम्मेलन, बोक सम्मेलन गरेर भ्यागुते मांशबाट धार्नी पुर्‍याउँदै सहमतिको घिउ काढिरहेछन् । अनेक अनेक मुद्दा सुकाएर सम्मेलनको सान्दर्भिकताको निहुँ बाँडिरहेका छन् । तिनका सम्मेलनको मुहान कहिले ह्वाङग्हो ‘उत्तर कुवा’ हुन्छ भने कहिले गंगाजीको ‘दक्षिण कुवा’ छुन्छ ।

यी सम्मेलनले रसुवाको उवा र धुन्चेको हावा चिन्न भने पटक्कै सकेन पनि भनि हाल्न मिल्दैन । हाम्रो जिन्दगीमा पानी परेन भने यिनै भ्यागुताको बिहे गराइदिएपछि वर्षा भइहाल्छ । यी जलदाता जीवलाई जतन गर्नु नै हाम्रो मुख्य कर्तव्य हो । अनि तिनका सम्मेलनका महान् मूल मतलब राख्ने महत्वपूणर् र मुख्य उपलब्धिलाई छोटकरीमा मुखरित गर्नु पर्दा बुँदाहरूको प्रकाशन हो । बुँदा के को हो भन्नेमा चाहिँ आफूले बनाएका बुँदामा तिनै भ्यागुता सम्मेलनकर्ताहरूले अहोरात्र बहसको ‘थेसिस’ गरिरहेका छन् र निष्कर्षमा एउटा बुँदाले अर्को बुँदालाई काट्ने, अर्कोले अर्कोलाई साट्ने र अर्कोले अर्कोलाई बाट्ने खालको नतिजाबाट शून्यशून्यको योग शून्य भएर सहमति सहमतिको योग सहमतिमै फलित भइरहेको कुरा साँचो हो भने निमुखा जनलाई ती कुनै बुँदाको होइन, ताउलोमा जाउलोसित पगालेर जिब्रो नुनिल्याउने केवल नुने ढिकाको खाँचो हो ।

सम्मेलनधारी भ्यागुताहरूले भूपीको कविता राम्ररी पढेका छन् भन्ने सत्य पनि चानचुने छैन ।
उनीहरू टट्टी पुछ््न नपाउँदै चतुर नयनमा पट्टी बाँध्छन् र भट्टीहरूको अत्याचार सहन सकिँदैन भन्दै हलो जोतारा नचिने पनि बाटो ढाकेर नारा लाउँदै घुम्ने मेच र चुम्ने पानीको सेवनको निम्ति अघि बढिरहन्छन् अनि स्वास्थ्य लाभको जीवन यापनमा लाग्छन् । कुवा भ्यागुता आज पाँचाँै ताराङ्कित अत्तरगन्धित नोटमण्डित भवनमा बनेका शौचस्थानमा कपुर ओछ्याइएका टुटीनिर मलमूत्र निष्कासन गर्दछन् ।

चानचुने हुन् र यी सम्मेलनधारी भ्यागुताहरू ! सोही कुवाका निम्छरा भ्यागुताको जोडले कान्लामाथि उक्ले पनि माथिबाट तल हेरेपछि तिनलाई चिन्दैनन् र थुक्क अभागी लुते भ्यागुता भनी डिलमा बसेर मदमधुर सुर वीर सौन्दर्यको बाँसुरी धुन अलाप्न थाल्छन् । कुवाका भ्यागुताहरू फेरि अर्कैलाई कान्ला चढाउन आफ्नो काँध खुइल्याउँछन् र सोही रीत दोहोरिन्छ, तेहेरिन्छ, चौथिन्छ ..एवं एवं तिनका पुस्तादेखि यो कर्मदासी सेवा धर्मको सेवा गर्दै तेस्रो विश्वको तेस्रो नम्बरी आहालमा केवल वंशवृत्ति कार्यमा लागिरहन्छन् । केवल वंश रक्षण र हिलो भक्षेण मात्र । कुवाका भ्यागुताले कान्ला उक्लेकाको विरोधमा नारा घन्काउन अनि राँको बालेर आहाल रन्काउन थाले भने माथिकाले विधानको खोस्टोमा सो कुवाको पानी नै सुकाइदिने घुर्कीघोष गर्न थाल्छन् । एउटा सत्य के हो भने गंगाजले भ्यागुता र ह्वाङग्हो जले भ्यागुता यिनका दाताअतिथि विनाक्यालेन्डरका तिथिमा भेट्ने महान् भ्यागुता भएका छन् । सोही जल शिरमा छर्केपछि घुम्ने मेचको विराजमानी बन्ने काइदाको फाइदा लिन यहाँका भ्यागुताहरूलाई कुनै मन्त्र, तन्त्र, सिद्धान्त, दर्शन अनि विरोध र अनुरोधले पनि रोक्न सक्तैन । चतुरा भ्यागुताका एक बुद्धि बिस जुक्ति देखिन्छ । तिनीहरू आफू जन्मेको, हुर्केको कुवाको राष्ट्रियताको मौलिकतामा घण्टैपिच्छे कुवागान गाउँछन् । तर मेचको सेचमा पुग्न कुन कुवाको पानी ‘जलाशीर्वाद’ भएको छ सो विचार आउना साथ कुवा परिवर्तन गर्न अल्छी गर्दैनन् र छाडेको कुवाको अग्रिम विरोध कर्ता र प्रवेश कुवाको अग्र हस्ती भएर आफ्ना जुक्तिले पुरातने सोझा सन्त बुद्धिवाललाई चटक देखाइ छाड्छन् ।

भ्यागुताको स्वभावबारे यहाँहरूलाई थाहा नै छ-तिनको मुख्य स्वभाव टर्टराउनु हो । भ्यागुताले सम्मेलनमा र असम्मेलनमा टर्टराएर मनुवाजनको कान पनि एकोहोरो भइसकेको छ । पोथी भ्यागुतोको सम्मेलनमा भाले भ्यागुतो पुग्यो भने र त्यही बेला चुनाउको रन्को परेको छ भने त त्यो भाले नास्तिक नै किन नहोस् म त पूर्व जन्ममा पोथी नै थिएँ र पर जन्ममा पनि पोथी भएरै जन्मने छु । त्यसैले यो जन्मको वैतरणी तार्नको निम्ति मलाई यहाँहरू पोथीज्यूहरूको मत मेरै बाकसमा खुत्रुक्क पार्नु होस् है भनेर निहुरिदिन्छन् । जीवन भएपछि भोक लाग्ने, भोक मेटिए भोग लाग्ने र भोग मेटिएपछि शोक लाग्ने चक्र जस्तै रोग पनि एउटा अनिवार्य अङ्ग रहेछ । यी सम्मेलनधारी भ्यागुता जगत्मा रोग नै छैन भन्दा पनि हुन्छ अलि बढी टर्टराउने बाहेक । तर एउटा सानो रोग यिनमा के छ भने कान्ला उक्लिन खोज्दा तलकाले खुट्टा तान्ने ! यो रोगबाट भने भ्यागुता लोकमा त्राही फैलिरहन्छ र विना खुट्टाको मुढे भ्यागुता जन्मिन पाऊँ भनी पशुपतिनाथलाई भेटी टक्र्‍याउँछन् । भैरवले पनि टाउको निबन्धमा विना टाउकाको मुर्कुट्टो जन्मन पाए हुन्थ्यो भन्ने कल्पना गरे जस्तै । बिचरालाई के थाहा हुन्छ भने त्यो भएमा कान्ला उक्लँदा रिसले खुट्टा तान्ने छैनन् तर के थाहा हुँदैन भने खुट्टा नभएपछि कान्ला केले उक्लने ? कति भ्यागुताहरू भने कुवाको पानी सङ्लो भएमा आफ्नो नग्नता देखिएला कि भन्ने मनोरोगले त्रस्त छन् । त्यसले गर्दा कोही कुवाआहालतिर आएमा छत्लङ्ग गरी धमिलो पारि हाल्छन् । कति लघुतामयी भ्यागुतालाई भने आफ्नो कुवाको नाममा आफ्नो जात, धर्म र इतिहास पर्दैन कि भन्नेमा डर छ ।

त्यस्तै यसपालि वरिष्ठ भ्यागुताहरूको सम्मेलन उच्च पहाडी हिमकुवा नजिक कालापत्थरमा गरियो र हावापानीको परिवर्तनले भ्यागुताले रङ फेर्न गाह्रो परेकोमा खेद प्रस्तावसमेत पारित गरियो । त्यस्तै एउटा सम्मेलन कोपनहगनमा भएको थियो र त्यहाँबाट आफ्ने कुवा आफैले धमिल्याउने भन्ने भ्यागुता हितमा घोषणा जारी गर्दै सकियो । त्यस सम्मेलनमा नेपालका तर्फबाट जम्मा पाँच बरेँत मात्र भ्यागुताहरूले भाग लिएका थिए । यहाँका भ्यागुताहरूलाई माछा मार्ने हतियारको व्यवस्थापनमा सानो समस्या उठेको छ कुवामा ढुङ्गा परेर निस्केको छाल जस्तो । त्यस्तै यहाँको भ्यागुता सम्मेलनको मूल विषयहरू परिवर्तनसँग सम्बद्ध भएका छन् । खास गरी वायुले यिनलाई सताएको महसुस गर्न सकिन्छ । सम्मेलनमा व्यस्त हुँदा बेलामा पेट भरण नभएपछि र खाना खाने बेलामा विपक्षी भ्यागुते कुवाबाट आँखा लागेपछि अनि कति पाने जल पिएपछि कसैले देख्ला भनने डरले कोठामा वायु नछिर्ने पारेर वायु निष्कासन मात्र गरेपछि यिनका जलवायु नबिग्रे कसको बिग्रन्छ त ? राजनीति वायु, प्रतिगामी वायु, प्रतिक्रियात्मक वायु, परदेशी वायु, सहमति र विमति वायु, जातीय वायु, स्थान न्वारानको वायु, चर्पीको नामकरण गर्ने वायु, बिरालाको नयाँ नाम राख्ने वायु, शान्ति वायु, क्रान्ति वायु, संशोधन वायु, भगौडा वायु, मगौडा वायु, दामपसार वायु, लम्पसार वायु, तटस्थता वायु र गाँठी त भ्रान्ति वायु आदिले भ्यागुताको टाउकोमा थोरै खैलाबैला मच्चाएको छ ।

यहाँका भ्यागुता सम्मेलनको राम्रो विशेषता कुनै गुट, उपगुट, पदलुट र फुटमा नलाग्नु हो । यसो गर्नेलाई यहाँ ठाडै झारेर चम्चामा मन तातो पानीमा डुबाएर मार्ने गरिन्छ । हरेक भ्यागुता सम्मेलनमा हरेक निणर्य एक मतले प्रस्तावित हुनु र एकै मतले पारित हुनु नै एउटा चमत्कार छ । घरेलु भ्यागुता सम्मेलनको सानो चर्चा यो पनि छ – यिनीहरू मौलिक कुवाको आम हितको निम्ति रातारात सहमति गर्छन् तर भोलि बिहानै त्यो सहमति उल्टो हुन्छ । कारण के भनिएको छ भने परदेशी भ्यागुताले त्यसो गर्छन् रे । भ्यागुताहरू बलिदानको मर्मलाई सार्थक पार्न नसक्दा बेलाबेलामा सम्मेलनको कुरो र चुरोलाई शंकाले पनि हेर्छन् । कतै गोलचक्करमा पिङ घुमिरहने त हैन भनी सिंहावलोकन गर्न पनि भ्यागुताहरू पछि पर्दैनन् । तर कुवामा पुगेपछि कुरो उही हो बुझे भैगो भने जस्तो हो । बुँदाहरू निर्माण गर्न र सहमतिको निम्ति सहमति हुँदै त्यसमा विमति राख्नमा संसारका अन्य कुनै पनि भ्यागुता सम्मेलनले पछि जित्दैन भन्नेमा म गर्वका साथ ठोकुवा गर्छु । बुँदे सहमति आजको भ्यागुता सम्मेलनको वैज्ञानिक आविष्कार नै हो । बुँदामा फुँदा जोड्नु महान् सम्मेलनधारी भ्यागुताहरूको ज्ञानको विस्फोट नै हो । यिनका फोटो सामु कालिदासको उपमा र व्यासको आख्यान पनि साना भएका छन् । विगत त अब दन्त्य कथाका मात्र पाना भएका छन् । इतिहास अब बाँदरे घाउ कोटयाउने बहाना भएका छन् ।

सम्मेलनको मूल खेतीपाती नै सहमति भएकाले त्यसभित्र विमति हुनु र नहुनुमा साधारण मनुवा जगत्लाई थाहा हुनु र नहुनुको पनि अर्थ छैन । छोटकरीमा कहनु पर्दा आजको भ्यागुता सम्मेलन र हिजोको भ्यागुता सम्मेलनमा केही फरक पनि परेको छ । हिजो बडे भ्यागुताले सारालाई सम्मेलनको मुद्दा दिन्थ्यो । आज मुद्दा दिने भ्यागुताहरू धेरै छन् । आज कुवाको बाँडफाँड र कुवापिच्छे बडे भ्यागुताको निम्ति खुट्टा तानातान र नसके हानाहान भइरहेको छ । भाषण टर्टराउने, त्यसले नभए हिलो छेप्ने, त्यसले नभए गँगटासित मितेरी गाँसेर अर्काको कुवा खोलिदिने र पानी सुकाइदिने, त्यतिले पनि नपुगे एउटा कुवाको सुन्दरी भ्यागुतासँग प्रेम गर्ने र उसको शक्ति प्रयोग गर्ने, त्यतिले नपुगे अतिथि भ्यागुता बोलाउने र तारे कुवामा लगेर जुसचुसहुसको धारा बगाउँदै अनि डोसा, समोसा, कोसा, पुलाउ र भुलाउमा पारेर सहीछाप गर्न लगाउने, त्यतिले नपुगे राँको बालेर बाटो छेक्ने, त्यतिले नपुगे पाक्कपुक्क पार्ने, ताङ्तुङ लछार्ने र पछार्ने, ढाकढुक बजाउने र कजाउने, फकाउने आदि काममा सम्मेलनधारी भ्यागुताहरू खुबै खटिरहनु भएको छ । यसरी भ्यागुता सम्मेलनको दुःख हेर्दा विचरा सित्तैमा दुनियाँको निम्ति पत्थरे जाँतोमा सातु पिँधे झैँ फन्फनी घुमिरहेको कष्टमयी काम त उस बेला रामरावण, कृष्ण कुरु, सीता र द्रौपदीको पालामा पनि भयो कि भएन बरिलै !

अन्तत : यहाँ कति भ्यागुतालाई लघुताको रोग लागेको छ किनभने मूल सम्मेलनबाट चुनिएका, गनिएका, छानिएका र मानिएका भ्यागुताहरूले आम कुवाको हितमा नयाँ कुवा संरचना निर्माणको कागजी कानुन्ची खोस्टोको भव्य घोषणा गर्ने र हरेक कुवामा उवा र पुवा मात्र होइन, भ्यागुताका मनसुवा बमोजिम घिच्ने, थिच्ने र मिच्ने अनि रसुवादेखि घरबारविहीन बाटामै बसुवासम्म, धनुषादेखि सूर्योदयको उषासम्मका, सिमपानीदेखि कालापानीसम्मका, अल्छी कामचोर ठगुवादेखि पुरानो कुवाको नीतिमा प्रीति नअटाई अर्को कुवातिर सर्ने भगुवासम्मका सारा प्यारा कुवाबासीका रुवाबासी हटाउने, नहटे कानुनले ठटाउने र कुवाधर्मको मर्मलाई वंशजको पर्ममात्र नठानी मातृकुवाको गर्भमा बास बसेर नाना र छानाको आशमा हिन्दी दिवाना परवाना गाना मनमा गुनगुनाउने सारालाई महान् नव कुवामार्गमा आइपर्ने काम तमाम गर्ने अभिभारा दिने कसम खाएकाले पन्ध्र वर्षअघि बिदेसिएका खसमको फिर्ती भइसक्दा पनि अनि सोही बखत परिवारनियोजन गर्न जान नभ्याएर सातौँ क्रममा उम्रेको नातिले विद्युतीय अन्तरजालमा काललाई भतेरको चउरमा टाङ्ने त्रिपालसमेत नसम्झी फाल हालेर, बत्ती बालेर, छातीमा माया पालेर र त्यो माया पुरोना असुन्दर कुरूप ठानी प्राधिकारणले बत्ती झ्याप्प पारेका बेला आफ्नी प्रेमिकाकै चम्केको मुहारको प्रकाशमय जुहारमा दश जोड दुइको परीक्षामा उत्तमानन्दमय अङ्क प्राप्त गर्ने सुइ लगाउन थाङ्नो प्रेममाथि कुर्कुरे केटौलता जोशमा होसलाई थाती राखी खिरिलो बुद्धिले धारिलो छुरी हानेर पुलिसलई तिम्ले अपराधी त भुलिस भन्दै सडक थर्काएर मोटर गुडाएर ‘लभको पात ! दिने भए देऊ माया मलाई साथ ! नत्र भने गर्नेछु हातपात !’ भन्दै मानी या नमानी परन्तु छानी छानी रुइ, फुई र दुईको जोहो समेत गरिसक्दा यी भ्यागुताहरूलाई आफैले हत्ते हालेर थालेको काम फत्ते हुनुको सट्टा त आज झन् टाउकामा अजिङ्गर पालेको जस्तो भएको देख्दा न मुरीमुरी हाँस्ने न कुरीकुरी देखाउने दोधारमा परिएको छ बाबै ! क्या शरम हरमको जमाना उफ् !

भैरव दाइ, यहाँ भ्यागुता सम्मेलनको चर्तिकला भनिसाध्य र सुनाइसाध्य छैन । भ्यागुता सम्मेलनका नटनटी नटुवा पटुवालाई देखेर निमुखा मनुवाका ताउलीमा जाउली पाक्न गाह्रो भइसकेको छ । रिसोर्ट नामक कुवामा थच्चिएर र तर्कशास्त्रको तिलपहाडी विवादमा मच्चिएर बनाएका बुँदाहरू के हो र के होइन जान्नु त घ्याम्पाभित्र लुकेर सत्रुको देशमा अस्त्र हान्दा पड्केको आवाजले सुरुवाल च्यातिएको जस्तै होला । अब भ्यागुता सम्मेलनको बुँदाका पोथ्रालाई केलाएर अर्थ लगाउन पनि कुकुरले पानी चपाउन भन्दा साह्रो भइसकेको छ । अब मनुवाहरू बुँदा र फुँदामा अल्झेर बस्न छाडिसकेका छन् किनभने भ्यागुता सम्मेलनको पारा देख्दा तिनको आ-आफ्ना व्यथाका कथा बोकेर हिँडेका गिदीको तौल अनुसारका टाउकाका पारो तातिसकेको छ ।

भ्यागुता सम्मेलनको रन्को र फन्को देखेर मानव बस्तीका आँखाहरू शरमका गुत्थीले ढाक्न थालिसकेका छन् नग्नताको दृश्यबाट जोगिन । अब होस गरेर हेर्दैछन्, सम्मेलनलाई आफ्नो कुवाको राष्ट्रियता ओरालो लाग्नबाट रोकिन । सम्मेलनधारीहरू भने कस्सिएका छन् कुवाकुवाको छताछुल्ल हिलाम्मे विचारको युद्धमा ठोकिन । लस्सिएका छन् उत्तरायण र दक्षिणायन जलसागरको तथास्तु वचन आफ्नो शिरमा छर्कन । पराइ कुवाका हिलो रोपेको आरोप बोकेका भ्यागुताहरू हाम्रा घैँटाका पैसा जति सम्मेलनमा सकेर कति तहको तारेमा तारेको माम खाएर तारमा दौडेको सिआरबिटी नम्बर हान्दै कणर् मन्दिरमा गीत सिउरिएर कहिले ह्वाङ् हो र कहिले गंगाजले कुवातिर निहुरिएर घाम तापिरहेका छन् र कुवा नापिरहेका छन् । अब यस्तो लाग्छ-यहाँ भ्यागुतालाई आत्महत्या गर्न पाँसो लगाउने डोरी किन्न पनि दातृ भ्यागुताको ठूला कुवातिर अनुदान फाराम भर्नु पर्ने स्थिति छ । भ्यागुताहरूसित हाम्रो र भ्यागुताबिचको रीति नीति गीति र प्रीति यस्तै छ । जेहोस् केही त हुनेवाला छ – कुवा अंशवण्डाको सहमति र विमतिमा घोषणा हुँदैछ सम्मेलनबाट-

कुवाको हिलो अमर रहोस्
कुवाको बजेट फाँको बनोस्
विपक्षी भ्यागुतो राँको बनोस्
भ्यागुता विवाद निरन्तर रहोस्
भ्यागुते कुवा हमर बनोस्
भ्यागुता भ्यागुता समर रहोस्
भ्यागुता भत्ता एकता
भ्यागुता भ्रान्ति अनेकता
जय भ्यागुतावाद जिन्दावाद
जय भ्यागुता सम्मेलन !

‘कुरौटो’ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
थुकपीडा !

थुकपीडा !

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का