सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अञ्चलाधीशको आतंक

कुन दिन अञ्चलाधीशले जागिर खाइदिने हो भनेर म त्राहिमाम हुन्थेँ । हुँदै नभएको ट्रंक मैले कसरी दिनु तिनलाई ?

Nepal Telecom ad

एस.एल.सी. पास गरेपछि क्याम्पस पढ्ने रहर प्रबल थियो तर परिस्थिति अनुकूल थिएन । भाइबहिनीहरू स्कुलमा कक्षा एकदेखि दशसम्मै लस्करै पढ्दै थिए । एउटा भाइ र एउटी बहिनी जन्मिने बित्तिकै मरेका अरे । बाँचेका हामी आठ भाइ छोरा र पाँच बहिनी छोरी थियौं । क्याम्पसतिर भन्दा जागिरतिर लाग्नुपर्ने बाध्यता थियो । घरमा सबै कुरा भएर पनि पैसाको सधैं अभाव नै अभाव । सबै केटाकेटीहरूको फिस तिर्न बुबाले दुई मने ब्याजमा ऋण काड्नुपथ्र्यो । केशव दाइले मास्टरी जागिर खान थालेपछि केही राहत मिलेको थियो ।

दूरसञ्चार संस्थानमा जागिर खान थालेपछि भद्रपुरमै डेरा गरेर बस्न थालेँ । मेची क्याम्पस नजिकै भएकाले जागिर खाँदै पढ्ने विचार गरेँ । अफिसमा हाकिमलाई रातीको ड्युटी मिलाइदिन अनुरोध गरेँ । बेलुका सात बजेदेखि बिहान सात बजेसम्म ड्युटी गर्नुपथ्र्यो । त्यस वेलाको दूरसञ्चार अहिलेको टेलिकम जस्तो सजिलो सुगम थिएन । भद्रपुरमा जम्मा दुई सयवटा टेलिफोन थिए । स्विचबोर्डको अगाडि कुर्सीमा चनाखो भएर बस्नुपथ्र्यो । ग्राहकहरूले घरमा फोन उठाएपछि स्विचबोर्डमा इन्डिकेटर बत्ती बल्थ्यो । त्यही नम्बरको प्वालमा तार (कर्ड) हालेर बोल्नुपर्ने, उसले कति नम्बर मागेको हो त्यो नम्बरमा त्यसैको जोडी तार (कर्ड) हालेर हाते रिङ बजाइ दिनुपथ्र्यो अनि उनीहरू कुरा गर्थे । फोन राखेपछि अर्को बत्ती बल्थ्यो अनि कर्ड झिक्नुपथ्र्यो ।

बाहिर काठमाडौं, विराटनगर, वीरगन्ज आदि सहरमा कुरा गर्न चाहिँ नाम नम्बर टिपेर बुक गर्नुपथ्र्यो । बाहिर स्टेसनका अप्रेटरलाई संकेत गर्यो । उनीहरू बोलेपछि आफूलाई चाहिएको नम्बर माग्यो उनीहरूले डायल गर्दिन्थे अनि कुरा हुन्थ्यो । तिनीहरूले कति मिनेट कुरा गर्छन् त्यसको बिल तयार गरेर लेखा शाखामा पठाउनुपथ्र्यो । काठमाडौंको एउटा मात्रै लाइन थियो । एक पटकमा एक जनाले मात्रै कुरा गर्न सक्थे । कुरा गर्नेको धेरै चाप हुन्थ्यो । बिहान बुक गरेको कल बेलुकासम्ममा पाउन पनि मुस्किल थियो । फेरि काठमाडौंको लाइन प्रायः बिग्रिरहने । धेरै मान्छेले रिसाएर हामीलाई हप्काउँथे ।

दिउँसो क्याम्पस पढ्ने भएपछि सधैं मेरो रातीको ड्युटी । त्यस बेला खै किन हो राती एघार बजेदेखि सबै ट्रंककल अफ हुन्थ्यो । दमक टावरले सिस्टम नै अफ गराइदिन्थ्यो । त्यसपछि लोकल मात्र कुरा हुन्थ्यो, ट्रंककल बन्द । सायद रातभरि ब्याट्री चार्ज गर्नुपथ्र्यो क्यार ?

त्यस बेला लीलाराज बिस्ट मेची अञ्चलका अञ्चलाधीश थिए । उनी राती एघार बार बजे को मन्त्री, सचिवसँग कुरा गरा भन्थे । अझ नवराज सुवेदीसँग उनी दिनहुँ कुरा गर्थे । दमक टावरले सिस्टम फेल गराइसकेको हुन्थ्यो । सिस्टम फेल छ हजुर, अहिले हुँदैन भन्यो त्यही सिस्टम फेलमै मिलाएर दे भन्थे । कुरा नभएपछि तेरो हाकिमलाई दे भन्थे । हाकिम चाहिँ मान्छेले दिक्क लाउँछन् भनेर टेलिफोन खुस्काएर सुत्थे । राती अफिसमा एउटा सहयोगी भाइ र म मात्रै हुन्थ्यौं । ती अञ्चलाधीश जाँड खान्थे कि, प्रेसरका रोगी थिए कि मसँग कहिल्यै पनि राम्रो बोलेनन् । राती एघार बजेदेखि यसोयसो हुन्छ त्यसपछि ट्रंक हुन सक्तैन भनेर म भन्थेँ उनी त्यही एघार बजेपछि ट्रंक माग्थे । यो क्रम सधैं चल्थ्यो । तँ बसेपछि चाहिँ सधैं काठमाडौं लाइन बिग्रिने हो ? भनेर हप्काउँथे । म सधैं राती बस्ने मान्छे । राती नै ट्रंक हुँदैनथ्यो । कुन दिन अञ्चलाधीशले जागिर खाइदिने हो भनेर म त्राहिमाम हुन्थेँ । हुँदै नभएको ट्रंक मैले कसरी दिनु तिनलाई ? मैले भनेको कुरा उनी बुझ्नै खोज्दैनथे । सधैंको ठाडो हप्कीदप्की, जागिर खाइदिने धम्की, ड्युटी जाने बेलामा तिनै अञ्चलाधीशलाई सम्झेर हातखुट्टा गल्थे । झन्डैझन्डै राणाशासन जस्तो । गल्ती नै नगरी विनाकारण लगेर मारिपिट गर्दै कोचिदिए भने मेरो को थियो र ? बाबुआमा काका सबै हली, अन्य ठुला मान्छे बिन्ती बिसाउने कोही जिएनन् । दिउँसो अफिस गएर हाकिम प्रशासकहरूलाई आफ्नो पीडा सुनाउँथेँ । ‘त्यो अञ्चलाधीश त्यस्तै हो’ भन्दिन्थे, कोही गम्भीर हुँदैनथे ।

एक दिन चाहिँ ताप्लेजुङमा ठूलो पहिरो गएर धेरै मान्छे मरेछन् । गाउँ नै बगाएछ । आकाशवाणीबाट अञ्चलाधीशलाई खबर आएछ । ठिक्क बार बजे राती अञ्चलाधीशले फोन गरेर “तुरुन्त नवराज सुवेदीसँग कुरा गरा, जसरी भए पनि गरा” भने । मैले सधैं झैं “राती काठमाडौंको ट्रंक लाइन हुँदैन, भोलि बिहान मात्रै हुन्छ । अहिले सिस्टम फेल छ” भन्दिएँ । हुँदै नभएको कसरी दिनु ? तँलाई ल्याएर नसेकाइ नहुने भो भनेर फोन राखे । त्यसपछि म आफ्नो काममा व्यस्त रहेँ ।

आधा घन्टा जति पछि अफिसको ग्राउन्डमा एउटा गाडी आएर रोकियो । अफिसको बन्द मूल ढोकामा ढ्याङढ्याङ् गरेको आवाज आयो । त्यस दिन मेरो सहयोगी भाइ आमा बिरामी भएर अस्पतालमा रुङ्न जान्छु भन्दै बिदा मागेर गएको थियो । अफिसमा म नितान्त एक्लो थिएँ । उठेर गएर मूल ढोका खोलेँ । दुई जना प्रहरी भित्र पसे अनि “अञ्चलाधीश साबले बोलाउनुभएको छ, तपाईं हामीसँग जानु पर्यो, हिँड्नोस्” भने । मैले यसो विचार गरेँ, हाकिमका अगाडि र घोडाका पछाडि नपर्नू भन्छन् । मैले प्रहरीलाई भनेँ- “यो टेलिफोन एक्सचेन्ज एक मिनेट पनि छोड्नु हुँदैन । कसैलाई आपद् विपद् परेर फोन गर्यो भने लाइन मिलाइ दिनुपर्छ । तपाईंहरू लिनै आएपछि जान त जानै पर्यो, तर अहिले म यहाँ एक्लै छु, यो मध्य बारबजे राती कसैलाई बोलाउन सकिन्न । यहाँ बिजुलीको पावर ब्यालेन्स गर्नुपर्छ । पावर प्वाइन्टहरू बिग्रिन सक्छन् । सन्तुलन मिलेन भने यो एक्सचेन्ज बोर्डै पड्किन सक्छ । बिल्डिङमै आगो लाग्न सक्छ । तपाईंहरू दुई जना हुनुहुन्छ, एक जना यहाँ बस्नुहोस्, कामको जिम्मा लिनुहोस् ।” भनेर म हिँड्नलाई ताहुरमाहुर गरेजस्तो गरेँ । तालिमविनाको मान्छेले त्यहाँ फस्र्याउने उपाय थिएन । प्रहरीहरू डराए । लिएर आउनू भन्ने आदेश छ खै के गर्नु ? यहाँको काम हामीबाट हुँदैन । हामी जान्दैनौं । जिम्मा लिन सक्दैनौं भने । त्यसो भए अञ्चलाधीश ज्यूलाई जाहेर गर्नुहोस् भनेर लाइन मिलाइ दिएँ । प्रहरीले मैले भनेको सबै कुरा सुनाए । भोलि बिहान अञ्चलाधीश कार्यालयमा हाजिर हुनू भनेर आइज भनेछन् । उनीहरूले मलाई त्यही सुनाएर बाटो लागे ।

बिहान के गर्ने, जाने कि नजाने भनेर म दोधारमा परेँ । मणि निरौला कार्यालयका प्रशासक हुनुहुन्थ्यो । उहाँ मलाई अलिक माया पनि गर्नुहुन्थ्यो । हाकिम अलिक बेपर्वाह थिए । मणि दाइले “पर्दैन जानु, त्यो रातीको रक्सीको रन्को र सनक मात्रै हो, त्यो अञ्चलाधीशलाई कति पटक भन्नु राती ट्रंककल हुँदैन भनेर !” भन्नुभयो । म हाजिर हुन गइनँ । फेरि कसैले सोधखोज पनि गरेन ।

जिल्लामा सिडिओ दानबहादुर शाही थिए । उनी जिल्लाकै राजा जत्तिका मान्छे तर कहिल्यै पनि हप्कीदप्की भने गरेनन् । यथार्थ अवस्था भन्दिएपछि उनलाई पुग्थ्यो तर अञ्चलाधीश एघार बजेपछि ट्रंक हुँदैन भनेर हजार पटक भने पनि रातभरि कुरा गरा भनिरहन्थे । गाली गरिरहन्थे । थर्काइरहन्थे । हप्कीदप्की गरिरहन्थे । मेरो सातो टिपिरहन्थे । आतंक मच्चाइरहन्थे । उनी मेचीबाट हिँडेपछि मात्रै मेरो जागिर स्थायी भएको ठानेँ ।

झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
सकेँ भने कुनै दिन लेखौँला

सकेँ भने कुनै दिन...

चूडामणि वशिष्ठ
लेखेर के पो हुन्छ र !

लेखेर के पो हुन्छ...

चूडामणि वशिष्ठ
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे