सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रमाणपत्रे खेती

मैले यी सब कुरा तपाईलाई प्रमाणपत्र पाउनका लागि भनेको हुँ । पठाउनु भएन भने भाँचभुच्चे कवितामार्फत क्षेप्यास्त्र पड्काइदिने छु नि । बस् मलाई एक सयओटा प्रमाणपत्र यसै हप्तामा पुर्याउनु छ । जय होस् मेरो ।

Nepal Telecom ad

राष्ट्रिय परिचयपत्र बनाउन जान लाग्नुभएको हो ? कि पासपोर्ट लिन ? होश पुर्याउनुहोस् है, तपाईँलाई घाममा बिस्कुन सुकाएझैँ सुकाइदिन्छन् अनि लेउ उठाएझैँ उठाइदिन्छन् । कि यातायातको लाइसेन्स लिन जाँदै हुनुहुन्छ ? ए हजुर त्यहाँ त झन् कौडीसँग दौडी गरिएन भने तपाईँलाई दिउँसै रात बनाइदिन्छन् । त्यो मन नपरेको मतदाता परिचय पत्र बनाउन जानुभयो भने त दिनभरि मै गुन्द्रुक होइन्छ । त्यसैले मैले त्यस्ता बिस्कुने र गुन्द्रुके काम छोडिदिएँ । म त अचेल जोड्ने काममा लागेको छु । घरको पैसा तोड्ने मानपदवी र प्रमाणपत्र जोड्ने । यसका लागि धेरै सहज छ । तपाईँ मिलिक्क प्रमाणपत्र किलिक्क । भनेको सुन्दैमा लोभ लाग्यो होला । धन छ मानपदवी जोड्ने मन छ भने मसँग आउनुहोस् मैले कसरी जोडिरहेको छु सबै सुनाउँछु ।

एकमहिना अघि म साथी समरबहादुरकहाँ गएको थिएँ । उनी घरमै बसेर मोबाइल हेर्दै चिच्याइरहेका रहेछन् । एक्लै चिच्याउँदै हिँड्ने रोग बाटोघाटोमा त छ्याप्छ्याप्ती छ भने घरमा के नहोस् । मैले सोचेँ । उनी चिच्याइसकेपछि नजिकै गएँ । उनले कागजमा वाक्यको प्रान्त बनाएका रहेछन् । प्रान्त पनि थोरै हो र मेरी बास्सै पच्चीस तीसओटा रहेछ । कुरा गर्दै जाँदा थाहा लाग्यो त्यो त उनले लेखेको कविता पो रहेछ । उनले हाँस्दै सोधे ‘मैले त भर्खर कविता सुनाएँ तँ पनि सुनाउँछस् ?’
‘मलाई त कविता सविता आउँदैन त के सुनाऊँ ?’ मैले प्रश्न गरेँ ।
‘मैलेजस्तै लेख न ।’ उनले भने ।
‘कसरी लेख्ने ?’ म अनकनाएँ ।
’तिमी अहिले आउँदा कस्तो अनुभूति भयो ? लेख त ।’
बस्, एकदम गर्मी भएको छ । यहाँ आएर पनि तिमीसँग लामो समयसम्म बोल्न पाइन । तिमी चिच्याएको सुनेर पागल भयौ कि भनेर डर पनि लाग्यो । बस् । मैले लेखेँ । समरबहादुर मुसुमुसु हाँसे । उनले मैले लेखेको वाक्यलाई प्रान्त बनाए ।
बस्
एकदम गर्मी
भएको छ
आउन त आएँ
तर तिमीसँग बोल्न पाइन
तिमी चिच्याएको सुनेर
पागल भयौ कि भन्ने डर
लाग्योऽ बस् बस् ।

‘लौ सुना कविता म अनुमति मागिदिन्छु ।’ समरले मोबाइल खोले अरू बोलेको आवाज आयो ।
‘मेरो साथमा एकजना जल्दाबल्दा कवि प्रतिभा हुनुहुन्छ विनोद सागर । के उहाँलाई पनि समय दिन मिल्छ ?’
‘मिल्छ मिल्छ ।’ उताबाट आवाज आयो ।

मैले खुरु खुरु प्रान्तीय शव्द भट्भट्याएँ । सकिनासाथ उताबाट आवाज आयो ‘निकै दमदार कविता ।’
थाहा छ कार्यक्रम सकिँदा नसकिँदै समरको मोबाइलमा प्रमाणपत्र आयो । कवि समरबहादुर कवि विनोद सागर ।
जिन्दगीमा काम र परिणाम सँगै भनेको सानो छँदा आफू रुनु र आमाले दुध खुवाउनू मात्र थियो होला । त्यसपछिको अनुभव त त्यसैलाई मानेँ मैले । थाहा छ त्यसदिनबाट म मूर्धन्य कवि भएँ ।

समरबहादुरको बाटोमा मात्र कहाँ हिँडे र उसलाई छिटै उछिनेँ । यता संघीय वाक्यलाई प्रान्तीय बनाउने र वाचन गर्ने अनि प्रमाणपत्र बटुल्ने । उता जुकेलाई र ढुकेलाई नेटबाट पैसा पठाउने । थाहा छ वाक्य भाँच्ने र कवि बन्ने गर्दै हिँड्दा त एक दिन प्रतियोगितामा प्रथम पुरस्कार नै हात लाग्यो । विचरा वर्षौदेखि धुरन्धर कविता लेख्ने साथी विष्णुप्रसाद र कवि बन्ने बाटो देखाउने समरलाई त मैले पो पछारिदिएँ । कसरी भन्नूहोला ? सबै कुरा सुनाउन त नहुने हो धन छ भने भोलि मलाई तपाईँले पनि उछिन्न सक्नुहुन्छ तर खुसुक्क एकाध कुरा मात्र भन्छु ।

कार्यक्रमको आयोजना गराउनुहोस् तर खर्च आफैँले बेहोर्नुहोस् । अनि मेरै शैलीको भाँचभुच्चे शव्दमात्र बुझ्ने क्षमता भएकालाई मूल्याङ्कनकर्ता बनाउनुहोस् । तपाईँलाई प्रमाणपत्रको वर्षा त हुने नै छ प्रतियोगितमा प्रथम पनि पक्का । झुठो याने कि भर्चुयल कार्यक्रममा चाहिँ झन भाग लिनुपर्छ नि । पदका पसल खोलेर बसेकाले आफ्नो नाम र पद प्रचार गर्न तपाईँको नाममा भर्चुयल प्रमाणपत्रको बाढी नै पठाइदिन्छन् तर त्यसलाई मुद्रण गर्ने र फ्रेममा सजाउने काम तपाईँको हुन्छ नि । मसँग त यस्ता प्रमाण पत्र एक सयका हाराहारीमा पुगिसके । अब वास्तविक प्रमाण पत्र पनि एक दर्जन पुग्न लागे । अहिले त मैले अर्को नयाँ काम पनि थालेको छु । एउटा गीतको पुच्छरसँग अर्को गीतको पुच्छरलाई फ्युजन गरेर गीक नाम दिएको छु । गीकको मतलब गीते कविता । कस्तो भनेः पानको पात, सानु कसको आँगन कुरेर बसौली, मर्स्याङ्दी सलल भनेजस्तो क्या । यो त अहिले प्रान्तीय शव्द कविता भन्दा पनि बेजोडले हिट भएको छ ।

अँ भन्दाभन्दै अर्कै महत्वपूणर् कुरा छुटाएछु । हिजो त नाम चलेको मेडियामा मेरो अन्तर्वार्ता नै गयो नि । यसका लागि पनि मेरो लगानी परेको छ तर अहिले भन्दिनँ । एउटा रमाइलो कुराचाहिँ भन्छु । अन्तर्वार्तामा प्रश्न सोध्ने मानिस पनि गजबका रहेछन् । पुग्नासाथ एक पेग मगाए र भने पहिले सुटुक्क घुटुक्क पारौँ अनि बबाल प्रश्न गरौँला । घुटुक्क नपारेसम्म हजुरजस्तो वरिष्ठ कविसँग मैले कसरी सिधा हेरेर बाङ्गा प्रश्न गर्ने ? उनले भने । थाहा छ मदिरामस्त भएपछि त उनले के सोधे मैले बुझेको पनि होइन, मैले के भनेँ उनले राम्रोसँग सुनेको पनि होइन तर के गर्ने त्यो अन्तरवार्ता निकै हिट भएछ । सामाजिक सञ्जालमा यति कमेन्ट छ कि त्यही कमेन्ट र भिउजका कारण अब अर्को साता दोस्रो अन्तरवार्ता हुँदैछ । यी दुबै अन्तरवार्तामा पनि प्रमाणपत्र मिल्ने वाला छ । बेहोरा लेखेर कम्प्युटरमा पठाइसकेको छु । आफ्नो व्यस्त समय दिएर अन्तर्वार्तामा सहभागी हुनु भएकाले तपाईँलाई सम्मान गर्दै यो प्रमाणपत्र प्रदान गरिएको छ । खर्च मेरै भएकाले अन्तरवार्ताकार र उनको मेडिया हाउस गदगद छ । उनीहरूले भनेका छन् हजुरको नामसँगै हाम्रो नाम पनि जाने भयो जय होस् हजुरको । हजुरजस्तासँग अन्तर्वार्ता लिन पाउनु हाम्रो लागि अहो भाग्य हो । उनीहरूले एउटा वचन पनि दिएका छन् हजुरलाई भाषा र साहित्य उत्थान गर्ने एउटा ठूलो निकायमा हामी सिफारिस गरिदिउँला ।

सबै कुरा पत्याए पनि त्यो कुरा पत्याउनचाहिँ मलाई अलि गाह्रो भयो । मेरा आँखाले प्रश्न गरेको छिटै बुझेछन् उनले भने- ‘अहिलेसम्म साहित्यको एक अनुच्छेद नलेखेकालाई त त्यो पदमा लगिएको छ तपाईँ त मेरी बास्सै कथा, उपन्यास, निबन्ध सबैलाई कविता बनाउन सक्नुहुन्छ । तपाईँसँग कलम र मलम दुबै शक्ति छ, किन नहुनू पक्का निश्चित हुनुहोस् ।’ उनीहरूले भने । जाने बेलामा सम्झाए तपाईँसँग सयओटा जति प्रमाणपत्र भएपछि हामी घरमा क्यामरा लिएर आउँछौँ नि प्रमाणपत्र दिन दुगुना रात चौगुनाका दरले बढाउनु होला । मैले हस् भनेको छु ।

यतिका कुरा तपाईँ पाठकहरूलाई सुनाएँ लौ त दुई चारओटा प्रमाणपत्र बनाएर मलाई क्लिक गरिहाल्नुस् । बेहोराको समस्या छैन । साहित्यका लाग्न प्रेरित गर्नु भएकोमा सधन्यवाद भनेर एउटा लेख्नुहोस् । ठूलो पदमा पुग्ने आश्वासन पाउनु भएकोमा सगौरव यो प्रमाणपत्र दिइएको छ भनेर अर्को बनाउनुहोस् । मेडियामा पटक पटक अन्तर्वार्ता दिएर चर्चित हुनुभएकोमा सधन्यवाद भनेर अर्को लेख्नुहोस् । प्रमाण पत्र जोड्ने तरिका बताएर मार्गदर्शन गरिदिनुभएकोमा भन्ने अर्को बनाउनुहोस् । लौ त यस्तै अरु के के हुन सक्छ सोच्नुहोस् । छाप्ने र कार्यक्रम गरेर मलाई हस्तान्तरण गर्ने कुरामा कुनै चिन्ता नलिनुहोस् ।

मैले यी सब कुरा तपाईलाई प्रमाणपत्र पाउनका लागि भनेको हुँ । पठाउनु भएन भने भाँचभुच्चे कवितामार्फत क्षेप्यास्त्र पड्काइदिने छु नि । बस् मलाई एक सयओटा प्रमाणपत्र यसै हप्तामा पुर्याउनु छ । जय होस् मेरो ।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल