सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भुँडीवालको देश

यहाँहरू त्यही करमा तर मार्दै आफ्नो भुँडी निर्धक्क उकासिरहनु होस् । भुँडीवालहरू खाइरहनु होस् हामी यहाँहरूका उटुस्स भएर बढिरहेका भुँडीको जय गाइरहन्छौँ । जय होस् ।

Nepal Telecom ad

भुँडीहरूकै जयजयकारमा चर्का नारा घन्किएको पनि वर्षौ भयो । सुकिला मुकिला कोटमा सजिएका भुँडीवालाहरूकै भाषण पनि धेरै सुनियो । ठूलो परिवर्तन आयो भनेर मख्ख पर्नु पनि व्यर्थै रहेछ । समृद्धि आउने छ र फेरिने छ बस्तीको मुहार, युवाहरूले मरुभूमिको सास्ती खेप्नु पर्ने छैन, बन्नेछ यहिँ रोजगारीका बाटाहरू भनेको त ठूल्ठूला भूँडीहरूकै पो समृद्धि आएछ । सपनालाई धमिराले प्वाल नै प्वाल पारिदियो । त्यसैले त भन्न मन लाग्छ-

सडकले नै भुँडी बोक्छ भुँडीहरूकै देश हजुर
भुँडीले नै भुँडीलाई टोक्छ भुँडीहरूकै देश हजुर
दुब्ला पातला हो चुप लागि बस नकराउ भन्दै
सबैलाई भुँडीले नै रोक्छ भुँडीहरूकै देश हजुर

सिङ्गै नेपाल आज भुँडी नै भुँडीले भरिएको छ । उनीहरूलाई शोक न सुर्ता भोक न भकारी भनेझैँ पो छ त । शोक सुर्ता गर्ने हामी छँदैछौँ । भोक, रोग, शोक, सुर्ता, बेदना र पीडाको आहालमा हामी नै डुबिरहेको छौँ । हाम्रा सपना र आकाङ्क्षाहरूलाई चपाउन यिनै भुँडीहरू तँछाड मछाड गर्दैछन् । उनीहरूकै राइँदाँ चलिरहेको नेपाल त भुँडीहरूकै देश त उनीहरूकै राज्य, साम्राज्य । समृद्ध नेपाल सुखी नेपालीको सपना बाँडेर संसदमा पुगेका भुँडीहरूले किन सम्झनु पर्‍यो परिवर्तनका चर्का नाराहरू ? उहाँहरू त व्यस्त र अभ्यस्त हुनुहुन्छ । भुँडी भर्न, भुँडी बोक्न र भुँडी स्याहार्नतिरै भ्याइनभ्याई छ । ठुल्ठूला भुँडीहरूलाई उकास्नमै तल्लिन । अनि  भन्न मन लाग्छ-

भुँडीहरूको युग हो यो फोहोरले पनि भुँडी बोक्यो
सरकार, सदन, संसद् जताततै भ्रष्टाचारले भुँडी बोक्यो

संसारमा कतै नभएको समृद्धि र विकास अहिले हाम्रा गाउँगाउँमा देखिएको छ । डोजरका दाराहरूले पहाडलाई कोपर्ने, चिथोर्ने, खन्ने, उधिन्ने गरेर चिराचिरा पारिरहेको छ । विकास अहिले तिनै डोजरहरूमा चढेर सवारी भएको छ । डोजर महोदय भर्खरै बनेका सडकरुपी कच्ची बाटोमा हिउँदभरि हर्न बजाउँदै दगुर्नुहुन्छ । जबजब वर्षा याम आउँछ अनि तिनै डोजरको स्पर्शले कमजोर भएका पहाडका ढिस्काहरू लतारिँदै झर्छन् बस्ती र  बस्तीबासीहरूलाई पुर्न थाल्छ । चिहिलबिहिल, रुवाबासी, भागाभाग कम्ती रमाइलो हुन्छ र ! अनि गाउँलेको उद्धार राहतका नाममा फेरि ठूला भूँडीहरूकै भुँडी पुष्टिँदै जान्छ । गाउँ सडकहरू भने भुँडी बोक्नै ब्यस्त छन् । हामी गाउँलेहरू तुइनमा कावा खाँदै झुन्डिएर नदी तर्न रमाइरहेकै छौँ । खै कहिले बन्लान् पक्की सडक र पुलहरू ? हामी त भुँडीवालहरूले देखाएका सपनामै रमाइरहेका छौँ ।

शहरको पनि कुरो उस्तै छ । गल्ली र चोकचोकमा शहरहरू गर्भवती भएका छन् । भुँडी बोकेर प्रसवको बेदनाले छट्पटाइरहेछन् । कतिले डिङ्गो, हैजा जस्ता रोगहरू जन्माइसके । कतिले कोरोना जस्तै अन्य भाइरस जन्माउँदै छन् । यस्ता भुँडीहरू त कति छन् कति । राजनीतिमा भ्रष्टाचारको भुँडी मौलाइरहेछ । राज्यको कर छलेर थुप्रै भुँडीहरू अझै ठूला भुँडीवाला बनिरहेका छन् । अझ कति भुँडीहरू टाइसुटमा सजिएर सदन र संसद धाइरहेका छन् । संसदमा भुँडीकै चर्चा, उडुस उपियाँ छट्पटाइरहेछन् भुँडी टोक्न नपाएर ।  पीडा बेदनाको भुँडी, समस्याको भुँडी, हत्या, बलात्कारका भुँडीहरू मौलाइरहेका छन् । समृद्धि, विकासलाई त कुपोषण लागेको छ । विकासको निम्ति आवश्यक पौष्टिक तत्वको अभाव छ । अभाव नहोस् पनि कसरी ? देश बनाउनेहरू भुँडी बढाउने अभियानमै मात्र जुटेका छन ।

समस्याका पहाडहरू धेरै छन् । ती पहाड पन्साउने बजेटले केही मानिस भुँडीवाल बनेका छन् । जनताको छानो चुहिँदा भुँडीवालहरु महलमा राज गर्दैछन् । आँखामा मोतिबिन्दु लागेको छ अनि किन देखिन्थ्यो समस्याहरू । कानमा कानेगुजी भरिएको छ, अनि किन सुनिन्थ्यो पीडा पाेखिएका आवाजहरू । न्यायको ढोका ढकढक्याउँदा ढकढक्याउँदै गुमनाम हुनुपरेको छ कैयौं निर्मलाहरू । विकास भनेकै यही हो, समृद्धि भनेकै यही हो । भुँडीवालहरू नै सत्ताको कुर्सीमा बस्न पाउनु गणतन्त्र हो, लोकतन्त्र हो । किसानका निम्ति यही नै कृषिक्रान्ति हो ? चाहिएका बेलामा मल बिउ नपाउने कुरा त केवल भ्रान्ति मात्र न हो ।

भुँडीवालको भुँडी जसरी पनि बढ्नु पर्छ । खुन पसिनाका कुरा फजुल हुन्, भ्रष्टाचार र कमिसनका कुरा वाइयात हुन् । । भुँडीवालहरूले भुँडी भर्ने कार्यमा कतैबाट पनि अवरोध आउनु हुन्न । निहत्था नागरिक चुपचाप भुँडी सेवामै समर्पित हुनुपर्छ । आलोपालाे गर्दै भुँडीवालहरूकै रजाइँ रजगज्ज चल्नुपर्छ । देशको भविष्य यसैमा रमाउँछ । अनि पो हाम्रो गणतन्त्र मौलाउँछ । हे भुँडीवालज्यूहरू ! जसरी हुन्छ यहाँहरूको भुँडी भरिइरहोस् । हामी उठ्दा, सुत्दा, खाँदा, लेख्दा, पड्दा, बोल्दा, नबोल्दा, जन्मिदा र मर्दा समेत कर तिरेर यहाँहरूको भुँडी सेवाका खातिर तर जम्मा गरिरहन्छौँ । यहाँहरू त्यही करमा तर मार्दै आफ्नो भुँडी निर्धक्क उकासिरहनु होस् । भुँडीवालहरू खाइरहनु होस् हामी यहाँहरूका उटुस्स भएर बढिरहेका भुँडीको जय गाइरहन्छौँ । जय होस् ।

०००
केवलपुर, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
अनि पो देश धनी बन्छ

अनि पो देश धनी...

अप्सरा सुनार
भालु रजाइँ

भालु रजाइँ

अप्सरा सुनार
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल