सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गए भूतका अद्भूत भिनाजु !

सहस्र नामधारी वासुदेव लुइँटेल उर्फ भूतको भिनाजु चाहिँ कता गएछन् ? म छिनछिनमा ढोकातिर हेर्दैथिएँ । म सम्झिॅदै थिएँ, बूढा आउनासाथ उठेर नमस्कार टक्र्याउँछु र बूढालाई प्रभावित गरिहाल्नेछु, अनि त बूढाले मलाई गाली गर्नै पाउँदैनन् ।

Nepal Telecom ad

बटारिएका बूढा- पुरस्कार नलिने, कुनै सार्वजनिक समारोहमा जाँदै नजाने, कतै अतिथि-सतिथि सभापति केही बनाउन पनि नपाइने, सम्मान अभिनन्दन गर्न नपाइने, हत्तपत्त अन्तर्वार्ता नदिने । हुँदा हुँदा मरेपछि पनि मरेकोे हल्लाखल्ला गरेर मेरो लाशको प्रदर्शन गरौला नि !  भनेर औॅलो ठड्याएर गएछन् । छुच्चा बूढा गए भूतका अद्भूत भिनाजु ! आफन्त, शुभचिन्तक, प्रशंसक, अनुयायी र सञ्चार माध्यमलाई समेत झुक्याएर लुसुक्क घस्किएछन् । न कुनै पार्टीले झण्डा ओडाउन पायो, न प्रज्ञा प्रतिष्ठानमा प्रदर्शनी गरेर परिक्रमा गर्न पाइयो, न सरकारले सलामी दिन पायो, न कुनै मन्त्री नै मलामी जान पायो । अन्तिम प्रस्थानका लागि पशुपति आर्यघाट नआएर कहँ जालान् र भनेर फूल चढाउन पर्खिनेलाई समेत जिल्याएर बूढा त उता बल्खु किनारा हुँदै पो लागेछन् अनन्त यात्रातिर ।

यसरी धेरैलाई जिल्याएर हास्यव्यङ्ग्य पितामह वासुदेव लुइँटेल पनि गए हामीलाई छाडेर यो संसारबाट । यमराजले घिसार्दै गर्दा पनि उनी “ए पख पख !” भन्दै हामीलाई केही भन्न खोज्दै थिए । त्यो बेला पनि उनी गम्भीर चिन्तामा देखिन्थे । त्यस्तो चिन्तित र व्यग्र मान्छे यो संसारमा कमै हुँदाहुन् । सम्पतिको चिन्ता होइन, छोराछोरीको चिन्ता पनि होइन, न खान लाउनको, न औषधिमूलोको, न मृत्युकै चिन्ता ! एउटै मात्र चिन्ता नेपाली हास्यव्यङ्ग्य साहित्यको । हास्यव्यङ्ग्यमा पूरा योगदान गर्नै नपाई पो कालले लान लाग्यो कि भन्ने चिन्ता । हास्यव्यङ्ग्य पछि पर्ला कि भन्ने चिन्ता । नयॉ नयॉ हास्यव्यङ्ग्यकारहरूको जन्म नहोला कि भन्ने चिन्ता, जन्मिएकाहरूले बीचैमा लेख्न बिसाउलान् कि भन्ने चिन्ता । धुम्मे (नरनाथ लुइॅटेल) ले हास्यव्यङ्ग्य नधान्ला कि भन्ने चिन्ता, चट्याङले चट्याङ् नपार्ला कि भन्ने चिन्ता, पा“डेले सा“डेको मति लेला कि भन्ने चिन्ता, मोहनराजको मोह भङ्ग होला कि भन्ने चिन्ता, रामनामे (गाम्नागे) हास्यव्यङ्ग्यमा रम्न छाड्ला कि भन्ने चिन्ता, आर.सि.रिजाल अरु कसैको जालमा पर्ला कि भन्ने चिन्ता, दारी नम्बर दुई (अर्जुन पराजुली) ले विकृति विसङ्गतिको दोहोलो काड्न छाड्ला कि भन्ने चिन्ता, सिस्नुपानी सेलाउला कि भन्ने चिन्ता, हासने हराउला कि भन्ने चिन्ता, भैरव गुठीको मुठी खुकुलिएला कि भन्ने चिन्ता, लुइँटेल गुठीको गा“ठो फुस्किएला कि भन्ने चिन्ता । चिन्तै चिन्ताको चेपुवामा परेर पो हो कि भूतका भिनाजु भैकन पनि उनको ज्यान भने स्याप्पै सुकेको !?

त्यही सुकेको ज्यानभित्रको महासागर जत्रो फैलिएको मनको के कुरा गर्नु ! जसले लाखौॅॅ पर्ने (आज भए करोडौॅको भइसक्थ्यो) आफ्नो घर बेचेर हास्यव्यङ्ग्य साहित्यको प्रोत्साहनका लागि लाखभन्दा बढीको पुरस्कार राख्यो । लेखकहरूलाई प्रोत्साहन गर्न कितावहरू किनिदिएर सिरानमा राख्तै आगन्तुकहरूलाई बाँड्दै गर्‍यो । घरमा आउने प्रत्येक लेखकलाई आशिर्वाद र प्रोत्साहनको न्यानो हत्केला शिरमा राखिदियो । घरमा होस् कि नहोेस् उस्तै पर्दा औषधी किन्न राखेको पैसा पनि कसैको पुस्तक किनिदिन वा कुनै संस्था खोल्न नगदै पनि सहयोग गर्‍यो ।

त्यस्ता उदेकका नैकापे काका कुनै पनि सार्वजनिक समारोहहरूमा जाँदैनथे । आफैँले थपना गरेको लाखभन्दा माथिको पुरस्कार वितरण गर्ने समारोहमा पनि उनको फोटो मात्रै जान्थ्यो । कतिपय पत्रकारले उनको माला लगाएको फोटो देखेर उनको नामका अगाडि स्व. पनि लेखे । उनी आफैॅले आफ्नो परिचय आदि लेख्ता अन्तमा सधैॅ मृत्युको मिति लेख्ने ठाउँ राख्नेगर्थे । उनले जति नै बल गरे पनि कालले नब्बे नटेकी लान सकेन ती कालजयी बूढालाई । ज्याद्रा बूढा !

हास्यव्यङ्ग्यको क, ख सिक्न थाल्दादेखि नै मैले सुनेको हुॅ भूतका भिनाजुलाई । भूतका भिनाजु भन्ने नाम सुन्दा मलाई सधैँ एउटा अनौठो कौतुहल जाग्थ्यो । भूतको भिनाजुको सालो चाहिॅ कस्तो होला ! (यहाँ सालीको कुरा आउँदैन, किनभने मलाई लाग्छ भूतको मति प्रायः लोग्नेमान्छेहरूमा मात्रै हुन्छ ।) त्यसै भएर भूतका भिनाजुलाई भेट्न मन लागेको धेरै भएको थियो । म अनुमान गर्थेँ भूतको भिनाजु पक्कै पनि बढेमाको ज्यान भएको, कालो वणर्को, कानमा लामालामा भुत्ला भएकाे, भित्र गाडिएका ठूला ठूला खोपिल्टे आँखा भएकाे, बाक्लो आँखिभौँ, ठूलो ढ्याब्रे अनुहार भएको (बासु पासाको दोब्बर जस्तो) यस्तै यस्तै हुनुपर्छ । भूतको पनि भिनाजु पो त गाँठे !

२०५५ सालमा एक दिन एकजना साथी लिएर म गएँ भूतका भिनाजुलाई हेर्न । बूढा कडा मिजासका छन् भन्ने सुनेकोले मैले साथीको बन्दोबस्त गरेको थिएँ । तै पनि म सोच्तै थिएँ, तिनका बारीको पिँडालु खन्दिया छैन, भूतकी दिदीलाई कुनै कुरो लाएर तिनको परिवार भाँड्द्या छैन । केही बदमासी नै नगरी पनि मप्रति कडा भएछन् भने तिनका अगाडि फेरि कहिल्यै खडा नहौँला नि त !

हामी ढुङ्गाअड्डाको एउटा साधारण पुरानो घरको एकखापे ढोका उघारेर एकतला माथि चढ्यौँ । भर्‍याङ् उक्लिनासाथ हामी सोझै अगाडिको कोठामा पस्यौँ र भुइँमा चकटी ओछ्याएर पलेँटी कस्यौँ । कोठामा दुईजना मान्छे थिए । एकजना सुकुटे बृद्ध र एकजना मोटे अधवैँशे । मैले अनुमान गरेको भूतको भिनाजु त्यहँ थिएन ।

त्यो तनेबासे, त्यो भूतको भिनाजु, त्यो नैकापे काका, म, बाउँठे बाजे, बरबोटे बाहुन, काका कुइँकेल, बुद्धिबहादुर घर्ती, लम्फू, ताहाचलको स्याल, एकतारे सीताराम, बतासे, रामकृष्ण खत्री, टेकनाथ आदि सहस्र नामधारी वासुदेव लुइँटेल उर्फ भूतको भिनाजु चाहिँ कता गएछन् ? म छिनछिनमा ढोकातिर हेर्दैथिएँ । म सम्झिॅदै थिएँ, बूढा आउनासाथ उठेर नमस्कार टक्र्याउँछु र बूढालाई प्रभावित गरिहाल्नेछु, अनि त बूढाले मलाई गाली गर्नै पाउँदैनन् ।

म ओछ्यानमा घुँडा मारेर धाराप्रवाह गफ गरिरहेका बूढा मान्छेको कुरा सुन्दै थिएँ । हाम्रा माझ चियाको सुन्दर शिष्टता तेर्सियो । (हजुरबाको त्यो परिवारले घरमा दैनिक आउने सयौँ पाहुनालाई कहिल्यै नझर्की, नरिसाई बरु बाबाको खुशीमा पूरापूर साथ दिँदै सधैँ चियाले स्वागत गरिरह्यो । कति सुन्दर संस्कार दिएर गएछन् ती भूतका भिनाजुले आफ्ना सन्तानलाई ।) चियाले अलमल्याएका बेला साथीले दाउ छोपेर मेरो परिचय गरायो । भूतको भिनाजु तिनै बूढा भएको कुरा थाहा पाएर म चकित भएँ । मैले कल्पना गरेको भीमकाय भूतको भिनाजु र मैले भेटेको सुकिटाट भूतको भिनाजुमा ठूलो अन्तर पर्‍यो । मैले सोचेको र सुनेको वासुदेव र भेटेको वासुदेवमा पनि उत्तिकै अन्तर । बूढा कडा छन् ढुङ्गा जस्ता भन्ने सुनेको, आफूलाई त नौनी जस्तो पो लाग्यो । साथीले मलाई हौस्याएर बूढाका अगाडि कविता सुनाउन लगायो । मैले पसिना सरी भएर एउटा कविता सुनाएँ ।

‘तिमी त गाम्नागे होइन रामनामे पो रहेछौ । एउटै कवितामा कतिजनालाई रामनामे ओडाइदिएछौ ।’ बाका कुरा सुनेर दङ्ग पर्दै मैले पसिना पुछेॅ । बाकोमा पुगेकै दिन मैले नयॉ नाम पाएँ-रामनामे । उसो त वासुदेव बाजेले अरु धेरैलाई काम, शरिर वा स्वभाव हेरेर ठ्याक्कै मिल्दाजुल्दा नाम दिएका छन् । हजुरिया जर्नेल (रोचक घिमिरे), क्यालेन्डर पौडेल (अनिल), इन्टरभ्यू प्रसाईं (नरेन्द्रराज), भँगेरी काँग्रेस (अच्युतरमण), झ्याँइकुटी (माणिकरत्न), बोक्सी (हरिकला) आदि । बाजेले नयाँ नाम दिएयता मभित्र निकै उत्साह भरिएको म अनुभव गर्छु ।

त्यसपछि म बेला बखत ढुङ्गाअड्डा तीर्थ जान थालेँ । जहिले जँदा पनि देउता जस्ता ती बूढा त्यही कोठाको त्यही भुईं ओछ्यानको सिरानभन्दा थोरै पश्चिमपट्टि घुँडा मारेर धाराप्रवाह बोलिरहेको भेट्टाइन्थ्यो । भर्खरै अस्ति उनले भनेका थिए, मलाई ओछ्यानको यो ठाउँ बाहेक एकदुई इन्च पनि यताउति सरेर बस्ता अप्ठ्यारो लाग्छ । बस्ता बस्ता यो ठाउँमा खाल्टो पर्छ । विद्यादेवले हप्ता दश दिनको फरकमा डस्ना उल्टाएर अर्कातिर पार्छ म फेरि त्यही ठाउ“मा बसेर फेरि खाल्टो पार्छु । (कस्तो बिस्मात् ! अब वासुपुत्र डा.विद्यादेवले आफ्ना बाबाको डस्ना पल्टाउन कहिल्यै पाउने छैनन् ।)

प्रचारको दुनियँबाट टाढा बस्न खोजे पनि उनको प्रचार भएकै थियो, प्रशंसा भएकै थियो । जति एकान्तमा बसे पनि उनले छरेको उज्यालोले जहँबाट पनि उनलाई देख्न सकिहालिन्थ्यो । घामले धर्तीमै आउनु पर्छ र उज्यालो छर्न ? हामीले घामलाई देखेकै छौॅ । हो, ढुङ्गाअड्डामा एउटा घाम बसेको थियो, त्यो अस्ताएको छ, तर उसको ज्योतिपुञ्ज नेपाली हास्यव्यङ्ग्य साहित्य आकाशमा सदा सदाको लागि झलमल्ल भएर बसेको छ, बसिरहने छ ।
भूतका ती अद्भूत भिनाजुलाई यो सिपाहीे र सिङ्गो सिस्नुपानी बटालियनको अन्तिम सलाम !

०००
‘फित्कौली’ अङ्क १४, हास्यदेव वासुदेव स्मृति विशेष, (फागुन, २०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल