निर्वाचन प्रचार सामाग्री

संघर्षलाई पछार्दै चम्किएका नक्षत्र वासुदेव लुइँटेल

उनले संकलन गरेका जीवनी, टेप, तस्वीर पुस्तक आदि राष्ट्रका अमूल्य सम्पत्ति हुन् यिनको समुचित संरक्षण र उपयोग हुनुपर्दछ । उनले स्थापित गरेका पुरस्कार, छात्रवृत्तिहरूले निरन्तरता पाउनुपर्दछ । यिनै काम गर्नु वासुदेव लुइँटेलप्रति सच्चा आदर र श्रद्धा गर्नु हो ।

जीवनका अनेकौं हण्डर, हविगत र समस्यै समस्यासँग कुस्ती खेलेर तिनलाई पछार्दै आफ्नै बल र बर्कत्बाट आफूलाई नेपाली भाषा साहित्यको चहकिलो नक्षत्र बनाउन सक्षम व्यक्तिको नाम हो वासुदेव शर्मा लुइँटेल । ‘भूतको भिनाजु’ नामबाट पनि यिनी प्रख्यात छन् । २००६ सालमा ‘भूत छैन भन्ने पुस्तक लेखेपछि उनी भूतको भिनाजु भएका हुन् । आमा चन्द्रप्रभा र बाबु झङ्कनाथका एक्ला छोरा भएर वि.सं. १९७४ साल भदौ २३ गते काठमाडौंको ढुङ्गाअड्डामा यिनी जन्मिएका थिए । यिनको न्वारनको नाम ओमकारनाथ थियो । यिनी ५ वर्ष पुग्दा नपुग्दै बाबु भङ्कनाथ बिते, बाबुपछि आफूलाई स्याहार्ने बज्यै शिवकुमारीले पनि यिनी १२ वर्ष पुग्दा चोला बिसाइन् । आमा चन्द्रप्रभा सँधै माइतै बस्थिन् । उनको माया वासुदेवले पाउन सकेनन् । बालखमै यसरी टुहुरा भएका उनी १९८३ सालमा कीर्तिपुरको भाषा पाठशालामा भर्ना भए र त्यहाँ यिनको नाम वासुदेव शमां लुइँटेल राखियो । १९८४ सालमा रानीपोखरी संस्कृत पाठशालामा भर्ना भएर वेद सहित संस्कृतको अध्ययन गरे वासुदेवले । वेदमा राम्रो दखल भएकै कारण १९९० देखि १९९९ सम्म तीनधारा पाकशाला (अहिलेको संस्कृत छात्रावास) मा बसेर संस्कृत प्रथमासम्मको औपचारिक अध्ययन गरी आफ्नो नामको अगाडि ‘पण्डित’ लेख्न सक्ने भए उनी । बनारस पुगेर संस्कृत मध्यमा परीक्षा दिंदा बिरामी परी बीचैमा छोड्नु परेपछि यिनको औपचारिक अध्ययनको क्रम टुङ्गिए पनि आफ्नै स्वाध्ययनले नेपाली भाषा साहित्यका नामी शिक्षक र स्रष्टा कहलिए उनी ।

विद्यार्थी छँदै यिनले १९९३ सालमा जानकीदेवीसँग बिहे गरे । २००३ सालमा अर्की शान्तिदेवीलाई पनि बिहे गरेर भित्र्याए । १९९९ मा नेपाली भाषा प्रकाशिनी समितिमा पण्डित दर्जाको महिनाको १५ रुपियाँ तलव खाने नोकरीबाट उनको जागिरे जीवन शुरू भएको थियो । समितिमा ५ वर्ष पण्डित, गोरखापत्रमा ६ वर्ष पण्डित, जुद्धोदय-कान्ति ईश्वरी र रात्रि पाठशालामा गरी २१ वर्ष शिक्षक अनि कारिन्दा देखि सचिवसम्म भएर ४३ वर्षसम्म मदन पुरस्कार गुठीमा जागिरे जीवन बिताए वासुदेव लुइँटेलले । मदन पुरस्कार गुठीबाट २०५१ मा रिटायर हुँदा यिनको मासिक तलव स्केल १२५० रु. थियो । १९९७ सालको ‘शारदा’ पत्रिकामा ‘आमा’ शीर्षक कविता छापिएपछि वासुदेव शर्मा लुइँटेलको नेपाली साहित्यमा प्रवेश भएको हो । यिनका मौलिक पुस्तकाकार कृति १० ओटा छन् । चार कृतिको सम्पादक भएका छन् । दुइटा पुस्तकलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेका छन् उनले । वासुदेव वारे अरूले लेखेका पुस्तक १२ ओटा छन् । नेपाली साहित्यमा ठूलाठूला सम्पन्न प्रतिष्ठान-संस्थान र गुठीहरूले भन्दा खँदिला थुप्रै काम एक्ला वासुदेव लुइँटेलले गरेर देखाएका छन् । त्यसमा पनि नेपाली हास्यव्यङ्ग्यलाई उकास्न त उनले आफ्नो भएभरको बल-बर्गत र सम्पत्ति नै लगाइदिए । ‘हाँस्नु र हँसाउनु तपाइँ हामी सबैको अधिकार र कर्तव्य पनि हो !’ भन्ने मान्यता राख्ने वासुदेवले आफ्नो घरजग्गा बेचेर आएको रकमबाट २०५० सालमा १५ लाखको अक्षयकोष राखी १ लाख ११ हजार १ शय ११ रुपियाँको वासुदेव लुइँटेल पुरस्कार स्थापना गरे । यो पुरस्कार प्रत्येक वर्ष क्रमशः हास्य व्यङ्ग्य साहित्य, व्यङ्ग्य चित्र र हास्य व्यङ्ग्य श्रव्यदृश्यमा उल्लेख्य सेवा गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ ।

नेपाली हास्यव्यङ्ग्यका पुस्तक छाप्न वासुदेवले कौवा प्रकाशन खोले र हास्य व्यङ्ग्यका थुप्रै पुस्तक त्यस प्रकाशनबाट छापिए । यस्तै संग्रह प्रकाशन लगायत सातवटा प्रकाशन संस्था खोलेर नेपाली समाजले सम्झनै पर्ने व्यक्तिहरूका जीवनी र अरू विधाका पुस्तक छापिदिएका छन् । नेपालको साहित्यिक राजनीतिक र सामाजिक क्षेत्रका कयौं कहलिएका मान्छेहरूलाई तिनका आफ्नै मुखबाट आत्मकथा भन्न लगाएर टेपमा भर्ने काम समेत गरेका छन् वासुदेवले । नेपाली समाजका थुप्रै उल्लेख्य व्यक्तिहरूका तस्वीर आफैँले खिचेर वा स्टुडियोमै खिचाएर संकलन गर्ने सोख पनि थियो उनको । विभिन्न विषयमा योग्यता देखाउने विद्यार्थीहरूका निम्ति तीनवटा छात्रवृत्ति पनि स्थापना गरेका छन् वासुदेवले । किताप छाप्ने सामथ्र्य नभएका तर राम्रो लेखन क्षमता भएका कवि लेखकका थुप्रै पुस्तक प्रकाशित गरिदिएका छन् उनले । छापिएका पुस्तक केही प्रति खरीद गरेर समेत लेखकहरूलाई सहयोग गर्थे उनी । आफूले किनेका त्यस्ता पुस्तक विभिन्न व्यक्तिहरूलाई निःशुल्क पढ्न समेत दिन्थे । भाषिक र साहित्यिक कामका निम्ति आर्थिक सहयोग गर्न पनि तत्पर रहन्थे उनी ।

आफ्नो सङ्गतमा आएका मान्छेहरूलाई तिनको चरित्र सुहाउँदो नाम राख्ने विचित्रको सोख थियो वासुदेवको । उनले राखेका त्यस्ता नामको ठूलै ठेली तयार हुनसक्छ । आफूले समाजोपयोगी थुप्रै गहकिला काम गरेपनि आत्म प्रशंसा पटक्कै मन पर्दैनथ्यो उनलाई । कुनै सभा गोष्ठीमा उनलाई सभापति, प्रमुख अतिथि भनेर बोलाइयो भने आफू नगई आफ्नो तस्वीर पठाइदिन्थे उनी । ‘सालिक बनाएर कागलाई टाउकोमा हगाउने चाहना मलाई छैन’ भन्थे उनी । तैपनि थुप्रैले उनको तारीफका कुरा लेखेका छन्, उनीबारे पुस्तक निकालेका छन् ।

आफ्ना बाबुले कुनै अंशबण्डा नलिएका र आफूले पनि पैत्रिक सम्पत्ति नलिएका वासुदेवले आफ्नै कडा मिहिनेत र सामथ्र्यबाट जेजति सम्पत्ति जोडे त्यो पनि नेपाली भाषा र साहित्यकै निम्ति अर्पण गरिदिए । धनको निम्ति मरिहत्ते गर्ने आजको समाजमा यस्ता अचम्मका व्यक्ति भेटिनु महा अचम्मै हो । परिवारलाई नै बिलखबन्दमा पारेर साहित्य सेवामा सम्पत्ति स्वाहा पारेको चाहिं होइन उनले । आफ्ना सन्तानलाई आफ्नै खुट्टामा उभिन सक्ने सामथ्र्यवान् बनाइदिएका छन् उनले । आज उनका छोरा-छोरी-बुहारी नाति नातिनीहरू उच्च शिक्षित भएर समाजमा राम्रो मान प्रतिष्ठा र पहिचान बनाउँदै वासुदेवको सन्तान हुनुको सार्थकतालाई उकासिरहेका छन् ।

अरूको अपुताली खाएर अनैतिक आर्जन गरेर अनि समाज र राष्ट्रलाई धोका दिएर सम्पत्ति सोहोर्ने र त्यही सम्पत्तिको आडमा महान् साहित्यसेवी, महान् समाजसेवी र महान् दानवीर कहलाउनेहरू हामीकहाँ थुप्रै छन् । त्यस्ता बिटुलाहरूका अगाडि वासुदेव एक्ला, चोखा बृहस्पति ठहरिन्छन् । उनले जेजति काम गरे आफ्नै पसीनाको कमाइले गरे, सत्यको धनले गरे उनलाई कतिले ‘आधुनिक दधीचि’ पनि भनेका छन्, यसलाई अतिशयोक्ति मान्न सकिदैन ।

वासुदेवलाई हास्यदेव ! व्यङ्ग्यावतार ! भनेर पनि साहित्यिक क्षेत्रमा चर्चा गरिन्छ । थोरै शब्दमा भित्तो पुऱ्याएर समाजका विकृति र विसङ्गतिलाई ढाड सेक्ने गरी प्रहार गर्न उनी खप्पीस छन् । उनको व्यङ्ग्यका यहाँ प्रस्तुत दुइटा बान्कीबाट यो कुरा छर्लङ्ग हुन्छ, हेरौ :-

(१) खारिएको फलामले
तरबार बन्छ भने-
निखारिएको गरीबको रगतले
दरबार बन्छ !
सिंगारिएको महलले
आज यही कथा भन्छ !

(२) काम चाहन्छौ, गधा भएर मर्छौं
नाम चाहन्छौ, गाई बनेर दुहिन्छौ
माम चाहन्छौ, कुकुर बनेर जुत्ता चाट्छौ
राम चाहन्छौ, रोई रोई मर्छौ !
अब तिमी के चाहन्छौ ?

वासुदेवले आफ्ना छोरालाई दिएको अर्तीका प्रकाशित केही अंश पनि आजको युवा पुस्ताका निम्ति मार्गदर्शक बन्न सक्छन् । ती यस्ता छन् ः-

खाँदा – होस हराउने चीजबीज खाँदै नखाऊ !
लाउँदा – भट्किलो देखिने गरेर केही पनि नलाऊ !
काम गर्दा – ईमानदारी र मेहनतसाथ गर्ने गर !
ज्याला लिंदा – चलनचल्ती अनुसार मात्र लेऊ !

सन्तानहरूका प्यारा बाबा, चेलाहरूका प्यारा माड्साब, स्रष्टाहरूका आदरणीय दाई, पाठकहरूका भूतका भिनाजु, नेपाली साहित्य संसारका हास्यव्यङ्ग्यका मूल स्तम्भ वासुदेव लुइँटेलले ९० वर्षको उमेरमा २०६३ भदौ २५ गते यस संसारबाट बिदा लिए । आफ्नो चिठी लेख्ने प्याड र खाममा ‘परोपकार पुण्याय पापाय परपीडनम्’ लेखेर छपाउने वासुदेव लुइँटेलको जीवन यथार्थमा अरूको उपकारमा नै बित्यो ! उनी आफूले कसैबाट कहिल्यै केही लिएनन् ! अरूलाई दिनु नै आफ्नो धर्म ठाने । जीवनको अन्त्यसम्म यही धर्म निर्वाह गरे । अब उनको भौतिक शरीर हामीमाझ छैन । तर उनले राष्ट्र र समाजनिम्ति गरेका थुप्रै सार्थक कामले गर्दा नेपाली संसारमा उनको नाम जीवन्त रहिरहनेछ । उनले संकलन गरेका जीवनी, टेप, तस्वीर पुस्तक आदि राष्ट्रका अमूल्य सम्पत्ति हुन् यिनको समुचित संरक्षण र उपयोग हुनुपर्दछ । उनले स्थापित गरेका पुरस्कार, छात्रवृत्तिहरूले निरन्तरता पाउनुपर्दछ । उनका बाँकी पाण्डुलिपिहरू भए प्रकाशित हुनुपर्दछ । नेपाली हास्यव्यङ्यको उत्तरोत्तर विकास हुनुपर्दछ । यिनै काम गर्नु वासुदेव लुइँटेलप्रति सच्चा आदर र श्रद्धा गर्नु हो, वासुदेवको स्मारक निर्माण गर्नु हो । उनका उत्तराधिकारी र उनका हितैषीहरूको ध्यान यी कुराहरूमा आकर्षित गर्दै दिवंगत स्रष्टा वासुदेव शर्मा लुइँटेलमा श्रद्धा अर्चना !

०००
‘अनुहार र अनुभूति’ २०७४

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल