सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूतको भिनाजु, बोक्सीको बुझाइ

विष्णुदेवी घाटमा निष्प्राण दृश्यलाई धुवाँमा उडाएर भावविव्हल हुँदै उहाँका सबै शुभचिन्तक र आफन्त जस्तै उहाँकी यो “वैज्ञानिक बोक्सी” पनि बिलौना गर्दै फर्की आफ्नै वासस्थानतिर ।

Nepal Telecom ad

वासुदेव शर्मा लुइँटेल “भूतको भिनाजु” सँग मेरो पहिलो भेट २०५५ सालको अन्त्यतिर भएको हो । २०५५ साल वैशाख १९ गते सिस्नुपानी नेपालको स्थापना भयो । सानैदेखि हास्यव्यङ्ग्यमा सामान्य रुचि भए पनि, केही हास्यव्यङ्ग्य रचनाहरू पढे पनि र केही हास्यव्यङ्ग्यकारका नाम सुने पनि साँच्चिकै साक्षात्कार हुने मौका पाएकी थिइनँ ।

सिस्नुपानीको स्थापनापछि म सो संस्थाको जनसम्पर्क तथा कार्यालय सचिवको रूपमा कार्यरत रहें। संयोग नै भन्नुपर्छ, त्यसपछि मैले हास्यव्यङ्ग्य र हास्यव्यङ्ग्य स्रष्टासँग नजीक हुने मौका पाएँ। यसै क्रममा मैले धेरैपटक उहाँको नाम र हास्यव्यङ्ग्यप्रति समर्पित कामको चर्चा सुनेकी थिएँ । उहाँहरूजस्ता हस्तीसँग चिनजान गर्नुका साथै सम्पर्कमा रहिरहनुपर्ने आफ्नो संस्थागत जिम्मेवारी पनि थियो । कामकै क्रममा एक दिन माणिकदाइ र म बाको घर ढुङ्गाअड्डा गयौं । बाटाभरि कौतूहल जागिरह्यो र माणिकदाइलाई सोधें, “भूतका पनि भिनाजु अजंगकै होलान् है दाइ ?” माणिकदाइले भन्नुभयो “बूढालाई मन परेन, चित्त बुझेन भने त नमस्ते फर्काउन र बोल्नु त परै जाओस् गेटैबाट गेट आउट गर्छन् नानी” मन डराउँदै र खुट्टा कमाउँदै म वासुदेव बाको वासस्थान पुगें ।

वा विस्तरामा बसिराख्नुभाथ्यो मैले ढोकैबाट नमस्कार गरेँ। “ल आओ बस” भन्ने आदेश पाइयो । हामी दुवै बाका अघिल्तिर रहेका चकटीमा बस्यौ । बालाई देख्नासाथ मेरा मनमा रहेको अजंगको भूत भाग्यो । बासँग चिनजानको बेलीविस्तारपछि हास्यव्यङ्ग्य र सिस्नुपानीका साथै विगत र वर्तमानसम्मका सामान्य बातचीत भए । पहिलो भेटमै म उहाँसँग धेरै प्रभावित भएँ । उहाँले आफ्नै जीवन भोगाइका विभिन्न चरणका चोटिला र चाखलाग्दा घटनाहरू कन्जुस्याइँ नगरी खरखरी सुनाउनुभयो । त्यसपछि केही संघर्षशील अग्रज महिलाहरूको नाम लिंदै उहाँहरूले गरेको परिश्रम र सफलताको कहानी सुनाउनुभयो । उहाँसंगको भेटले ममा अझ जोश जाँगर र उत्साह थप्यो म हौसदै सिस्नुपानीमा झनै सक्रिय भएँ । जानी नजानी हास्यव्यङ्ग्य पनि लेख्न थालें । आजकी यो हरिकला बन्नमा वासुदेव बाको अत्यन्तै ठूलो देन छ । त्यही दिनदेखि अभिभावकको अभाव खड्किएर छटपटाएको मनले असल अभिभावक पाएको आनन्दको अनुभव गरें ।

उहाँसँगको भेट सबैका लागि सहज थिएन । उहाँले मन पराएका मान्छेसँग मात्र उहाँ मन खोलेर कुरा गर्नुहुन्थ्यो । सार्वजनिक सम्मान र चर्चाको भोको भएको अनुभव मैले कहिल्यै गरिनँ । उहाँ जहिले पनि हास्यव्यङ्ग्यप्रति नै चिन्तित र समर्पित हुनुहुन्थ्यो । सिस्नुपानीको बिरुवा उम्रेको सुन्नासाथ हुर्काउन हौसला दिँदै ५, ५५५, ५५ पैसा दिनुभयो । वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा स्थापित हास्यव्यङ्ग्य पुस्तकालय संचालन गर्दै गर्नू भनी सिस्नुपानीलाई सुम्पनुभयो । आफ्नो नाममा भएको घरजग्गा सारा सम्पत्ति बेचेर हास्यव्यङ्ग्य उत्थानका निम्ति १,११,१११ रूपैयाँको पुरस्कार हास्यव्यङ्ग्यका विभिन्न विधामा लागेका सर्जकहरूलाई प्रदान गर्दै आउनुभयो

म वासुदेव बालाई भेट्न धेरैपटक गएँ । धेरै जनालाई लिएर गएँ । अपरिचित मान्छेले एक्लै गएर उहाँलाई भेट्न असम्भव थियो । त्यसैले अगाडि नै फोन गरेर परिचित मान्छेले नै पहिलोपटक भेट गराउनुपर्थ्यो । इच्छुकहरू कतिको उहाँसँग भेट भयो त कत्तिको इच्छा अधूरै रह्यो । अधूरै रहनेमा तेह्रथुमका विजय सुब्बा हुनुहुन्छ । उहाँले मलाई धेरैपटक “बाकहाँ साहै जान मन छ तर एक्लै जाँदा बुढाले मारिहाल्छन् रे त्यसैले एकपटक जसरी भए पनि बासँग भेट गराउन” भन्नुभाथ्यो । तर दुर्भाग्य नै भन्नुपर्छ उहाँको त्यस इच्छालाई मैले पूरा गर्न सकिनँ । म अझै पनि सम्झिरहन्छु ।

म बालाई भेट्न काममा पनि गएँ र विनाकाममा पनि गएँ। उहाँसँगको भेटघाट र गफगाफले ममा पलाएको निराशा हट्थ्यो, हराएको जोश र जाँगर जुर्मुराएर आउँथ्यो बासँगका बातले उत्साहित मन लिएर आनन्दसँग आउँथे भेटघाट गराउने क्रममा सिस्नुपानी नेपाल हेटौंडाका अध्यक्ष दाइ आर.सी. रिजाललाई लिएर पहिलोपटक म नै गएँ । त्यसपछि पनि हामी पटकपटक गयौं आर. सी. दाइ काठमाडौं आउँदा बालाई भेटेरै जानुहुन्थ्यो । हामी अन्तिमपटक असारमा गएका थियौं त्यसपटक मैले उहाँलाई पहिलाको दाँजोमा धेरै कमजोर जस्तो देखें । उहाँले आर. सी. दाइको सहारामा सकी नसकी माथि छतमा हामीलाई लिएर गएर केही देखाउने र भन्ने इच्छा व्यक्त गर्नुभयो र, पुराना दराजहरू खोलेर देखाउँदै भन्नुभयो, “आर.सी. तिमीले भवन पनि बनायौ, पुस्तकालय पनि खोल्यौ अब यहाँ भएका सबै कामलाग्ने किताबहरू तिमीले हेटौंडा नै लैजानु र सदुपयोग गर्नु है ? अब म दिनदिनै यहाँसम्म पनि आउन नसक्ने भइसकें ।” आर. सी. दाइले भन्नुभयो, “अहिलेलाई किताबहरू निक्कै भइसके अर्कोपटक आउँदा लैजान्छु” त्यसपछि बाले दाइलाई सकी नसकी हरिगोविन्द दाइका घरहरू देखाउनुभयो मैले त पहिल्यै हेरिसकेकी थिएँ । बाले सबै देखाइसक्नुभएको थियो । हामी विस्तारै तल ओर्लियौं । र, चियाखाजा खाएर छुट्टियौं ।

बाटो लाग्दै मैले भनें, “दाइ बा त साह्रै शिथिल हुनुभएछ है ? मलाई त अर्कोपटक भेट होला कि नहोला जस्तो पो लाग्यो ।” दाइले भन्नुभयो आ, के भन्या त्यस्तो, बा पहिल्यैदेखि त्यस्तै त हो, केही हुँदैन ।” “त्यसो हैन दाइ, बा हरेक कुरामा सकारात्मक हुनुहुन्छ र त अहिलेसम्म टिक्नुभएको छ। गाउँघरका बूढाबूढी जस्तो ओछ्यान पर्ने र छोराबुहारीले पनि त्यस्तै व्यवभार गर्ने हो भने निहुँखोजाहा, अपजस्याहा हुने उमेर हो यो । परिवारको व्यवहार नराम्रो हुनु र बुढेसकालको मानसिकता पनि खराब हो भने बा उहिल्यै जानुहुन्थ्यो । हेर्नोस् न कति राम्रो स्याहार, सुसार, सम्मान र सत्कार यस घरमा । बालाई भेट्न जुनसुकै बेला जोसुकै आइएले पनि केही न केही खुवाएरै पठाएको छ । यस्तो संस्कार र वातावरणले पनि बालाई सन्तोष दिलाएको छ र आयु बढाएको छ ।” उहाँको एक प्रकारको अनौठो विशेषता थियो । आफूसँग नजीक रहेका र विश्वास गरेका व्यक्तिको यस्सो विचार गरेर उपनाम राख्ने । जस्तै, जुँगेकाजी, रामनामे, झ्याइँकुटी, हजुरिया जर्नेल, कलेण्डर पौडेल, दारी नं. १, दारी ….। यसैगरी उहाँले मेरो उपनाम कहिलेदेखि राख्नुभाथ्यो त्यो मलाई थाहा थिएन । कामकै सिलसिलामा म २०५९ साल मङसिर ३ गते गएकी थिएँ । फोनको घण्टी बज्यो । बाले फोन उठाउनुभयो र भन्नुभयो, “यहाँ वैज्ञानिक बोक्सी आएकी छ, म उसैसँग सबै कुरा म बोक्सीलाई भनेर पठाउँछु” बाका मुखबाट मैलाई मेरै सामु कुरा गरिरहेको बोक्सी भनिंदा म बन्दै बम्किन बरु उल्टै गज्जबको उपनाम पो राख्नुभएछ भनेर गमक्क गम्केँ र हतारहतार आफ्नो डायरीमा त्यो दिनको मिति टिपें । त्यो फोन सिस्नुपानीकै दाइहरू कसैले गर्नुभएको थियो । उताबाट को वैज्ञानिक बोक्सी भनेको भन्ने पनि सुनिएन । अचम्म मान्दै सम्झे, बाले मेरो यो नाम पहिल्यै राखेको र धेरैलाई थाहा भएको हुनुपर्छ । त्यसपछि बाले मलाई जहिल्यै ‘बोक्सी’ नै भनेर बोलाउनुभयो । उहाँकी त्यही बोक्सीले गोर्खेलौरीका गातामा केही लेखिदिन अनुरोध गरी बाले पनि बोक्सीका वचनलाई बदर नगरी कदरसाथ ’बोक्सीलाई आशिष’ भनी लेखिदिनुभयो । जुन ‘आशिष’ यस बोक्सीले आजन्म अविस्मरणीय आशिषकै रूपमा ग्रहण गरिरहेकी छ र गरिरहनेछ ।

वासुदेव बा हास्यव्यङ्ग्यका हस्ती हुनुहुन्थ्यो, बलियो जग हुनुहुन्थ्यो, दर्बिलो खम्बा हुनुहुन्थ्यो । सँधै हास्यव्यङ्ग्यकै उत्थानका निम्ति मरिमेट्नुहुन्थ्यो । हास्यव्यङ्ग्यकारलाई प्रोत्साहन दिन नयाँ कृति निस्कनासाथ किनेर सिरानीमुनि राख्नुहुन्थ्यो र भेटघाटका निम्ति आउने आगन्तुकलाई निःशुल्क वितरण गर्नुहुन्थ्यो । मेरो पहिलो कृति उपद्रो पनि त्यसै गरी एक झोला किनिदिएर मलाई झनै उचाल्नुभयो ।

हास्यव्यङ्ग्यप्रति उहाँको एउटै ठूलो इच्छा थियो । हस्यव्यङ्ग्यको नेपालमा एउटै ठूलो संस्था होस्, एउटा आफ्नै भवन होस् । हास्यव्यङ्ग्यप्रति समर्पित सबै सर्जकहरूका बीचमा सधैं एकता र मेलमिलाप होस् । यो मौलाउँदै देशविदेशसम्म फैलिओस् । उहाँको यस इच्छालाई मनन गर्दै हामी सबै हास्यव्यङ्ग्यप्रेमीहरूले सोचेर अधुरो सपना साकार पार्दै सच्चा श्रद्धाञ्जलि दिने हो कि ?

भाद्र महीनाको शुरुमै एक दिन एकदमै अचम्मको सपना देखें। त्यसपछि पटक्कै निद्रा लागेन । कतिबेला ६ बज्छ र फोन गरौं भनेर प्रतीक्षा गरें । ५ बजेपछि फोन गरें, नन्दिता भाउजूले उठाउनुभयो । “भाउजू मैले अलि अनौठो सपना देखें, बाको स्वास्थ्य कस्तो छ ?” उहाँले भन्नुभयो “अस्ति निक्कै बिरामी पर्नुभयो, अहिले चाहिं अलि सञ्चो भएको छ ।” उहाँको कुरा सुनेर म अलि ढुक्क भएँ र भाउजूलाई भनें, “भाउजू त्यसो भए म एकदुई दिनपछि भेट्न आउँछु ।” फोन राखें र सम्झे बालाई बिरामले च्यापेका बेला भेट्न गयो भने धेरै बोलेर आराम नपुगेर झनै गाह्रो हुने हो कि त्यसैले अहिल्यै जानु ठीक छैन । डाक्टरले नबोल्नु भन्या बेला पनि मन परेको माछे आयो भने उहाँ बिराम बिर्सेर घण्टौं बोल्नुहुन्छ भन्ने बारेमा कहिलेकाहीँ नन्दिता भाउजू र सुषमा दिदीसँग हाम्रो कुरा हुन्थ्यो । त्यसैले त्यस बेला त्यस सोचलाई त्यागें ।

बा बित्ने अघिल्लो साँझ उहाँको सम्झना असाध्यै आयो । अस्ति पनि गइएन, अब त म भोलि या पर्सि त बालाई भेट्न अवश्य जान्छु भन्ने सोच्दा सोच्दै निदाएँछु बिहान पाँचै बजे फोन आयो । फोन उठाउनेबित्तिकै सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले भन्नुभयो, “बा त बित्नुभएछ, ७ बजे पुग्नुपर्ने भो, बाले कसैलाई थाहा नदिनु भन्नुभाछ रे, त्यसैले धेरै मान्छे जम्मा हुन्जेल पर्खदैनन् चाँडै जाउँ है ?” बासँग फेरि भेट्ने इच्छा अधूरै रह्यो । उहाँ पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिँदै २०६३ भदौ २५ गतेका दिन विष्णुदेवी घाटमा निष्प्राण दृश्यलाई धुवाँमा उडाएर भावविव्हल हुँदै उहाँका सबै शुभचिन्तक र आफन्त जस्तै उहाँकी यो “वैज्ञानिक बोक्सी” पनि बिलौना गर्दै फर्की आफ्नै वासस्थानतिर ।

आज हामीबीच बा वासुदेव शर्मा लुइँटेल ‘भूतको भिनाजु’ हुनुहुन्न । उहाँले आफ्नो सारा जीवन नै हास्यव्यङ्ग्यप्रति समर्पित भएर बिताउनुभयो । उहाँको मृत्युले हास्यव्यङ्ग्य क्षेत्रमा ठूलो क्षति पुगेको छ । यस क्षतिलाई पूर्ति गर्न र उहाँको मृतआत्मालाई शीतलता दिन हामी हास्यव्यङ्ग्यकारहरूले साहस बटुलेर हास्यव्यङ्ग्य फाँटलाई ठाँट बनाउँदै लैजानुपर्ने आजको हाम्रो आवश्यकता हो ।

०००

‘वासुदेव लुइँटेल स्मृतिग्रन्थ’ २०६८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती
हो त नि !

हो त नि !

हरि खनाल
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
विद्यालय भर्ना अभियान

विद्यालय भर्ना अभियान

रामप्रसाद पन्थी
श्रीखण्डमा ऐँजेरु

श्रीखण्डमा ऐँजेरु

मनीषकुमार शर्मा ‘समित’