सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिर्ताको सुर्ता

विस्थापित गर्ने जो भएपछि भएन उत्पात ? हेत्तेरिका अव भन्नोस् कति भाग्यमानी रहेछौ त हामी बिर्ताकामी, कुर्सीयात्राका मलामीहरू ?

Nepal Telecom ad

घरसारको कुरा गर्ने हो भने पहिलेको पुरुषप्रधान समाजमा आमाको दाइजो र बाबुको विर्ता दुइ कित्ता कुख्यात थिए । माइतीबाट चेलीबेटीले ल्याउने कोसेलीपात गहनागुरिया र जमीनचौपाया परापूर्वकालकै बिर्ताबन्दोबस्तीका बपौती रहीआएका हुन् तर पुरुषप्रधान समाज भइदिएर पनि होला, लज्जाबती झारकै तालले आमाको दाइजो गुमनाम हुँदै चहिँदो साख जमाउन सकेन बरु बाबुको विर्ताले खास अर्थमा साख जमाउँदै ल्याएर बर्गे भ्यागुता बिर्साउनेगरी पाटी र जुवाका अखडामा खडा भएका कौच कुर्सीमाथि उफ्रीपाफ्री गर्न थालेको लामै समय भैसककोेछ । अहिले त झन् जालझेलका किलाकाँटी चुकुल, सुतली आदिले तानतुन पारेका परिपञ्चका कुर्सी गद्दा, डन्लप झालर सजिएका अखडा खडा हुन पुगेका रहेछन् भन्दा पनि फन्दा चैं आइलाग्ने डर पो बडेछ । कामभन्दा माम र कुराभन्दा गफठट्टा बढी गर्न जन्मिएका यी बखेडाविहारी मेवाष्टिान्नका भकारीले फेरै मारेर पुनः पुनः दह्रो पाउ जमाउने हो कि के कसो हो ? हामी जातका जनता रनभुल्ल पर्दा भया ।

उहिलेको कुरा । युद्धमा सर गर्ने बहादुरले जग्गाजमीन र थरीथरी पगरीका बिर्ता पाउँथे । दरबारभित्र घरजम गर्ने भित्रियाहरूले सुसारे र धाइविर्ता पाउँथे । हुक्के डोले बैठके कारिन्दाले दज्र्यानीअनुसारकै नानामेसी जनाउने बिर्ता पाउँथे । त्यो युग त गयो तर अहिले झन् लखनौलूटको संझना दिलाउने । सित्तैको जाइफल भएछ बिर्ता । जरैदेखि उन्मूलन गरिएको भनिएपनि युगअनुसार नै नयाँ नयाँ भेरिएण्ट लिएर बिर्ता प्रथाले जरो गाडेको छ । मूलूकी ऐनले उन्मूलन गरिएको भने पनि वनमारा झार बनेर घरगाउँ,शहरबस्ति राजनीति प्रशासन जताततै मौलाउँदै देशव्यापी रूप लिन पुगेको छ विर्ताबालीले । सामाजिक काम गर्न भनेर विभिन्न बान्की र खान्कीका पाटीपौवा खुले अनि विर्ता कज्याउने,रैती दलाउने अनेकथरी अगुवा भगुवा नायक महानायक पनि तयार हुन पुगे । सदावर्त तालले सक्नेजतिकोलागि बिर्ता खुल्यो । वान्कीअनुसार नै नानाथरी चुला चौकामा भाँतीभाँतीका खान्की पाक्न थाले । चाख्ने, चाट्ने, चर्नेबाट सुरु भएका यस्ता खान्कीको स्वाद गाढा बन्दैजाँदा बाच्छा पाडासमेत मुस्तण्ड साँडा बनेर छाडा हुँदै सिँगौरी खेल्न थाले । एउटाको थुतुनु हसुर्नमा सक्रिय बन्दा अर्काको थुतुनो टोक्न दार्न र चिथोर्नतिर सक्रिय हुने भएछ । त्यो पनि नपाउनेले सिँग जोतेर या भाषण बर्बराएर आसन भिजाउने गर्न थालेछन् ।

विर्ताकोरूपमा मूलूकी ठेकदारीको कुर्सी हातलागि भएपछि अन्य अनेकथरी सहविर्ताहरू फालाफाल आआफैं आइपुग्ने रहेछन । पहिलेका कुरै छोडौं,अहिलेमात्र भन्ने हो भनेपनि छेउभित्तामाथि संघ,प्रदेश पालिका लगायत उप्रीपाफ्री थपिएका यिनै बिर्ताका सहबिर्तामध्ये वालीविर्ता, गालीविर्ता, फोहोरबिर्ता ढलबिर्ता, महँगीबिर्ता, ठगीबिर्ता बोलीविर्ता, झोली बिर्ताआदि चैं चर्चामा चुलिएका हुन् । कर भन्सार, आयात निर्यात, योजना परियोजना, ढुङ्गाबालुवा, काठमूडा आदिको रौनक रन्किँदो छ बिर्ताफाँटमा । अझ त्यतिमात्रै पनि कहाँ हो र ? नेता, कर्मचारीले डसेर सिलटिम्बूर खान ठिक्क परेका उपचारबिनाका सरकारी संस्थान, प्राधिकरण, निगमआदि अनेकथरी रोगव्याधका बिर्ताबालीहरू लटरम्मै झुलेर फतक्कै पाकिरहेका छन् ।

बालीबिर्तापछि त गालीबिर्ता नै हो कि कसो हो यो सुन्दर हराभरा धरतीमा मौलाएको ? यो बिर्ताले आप्mनो गतिशील काम तमाम गर्न थालेपछि स्वदेशी विदशी, शत्रुमित्रु, न्यायप्रशासन जजसलाई जेजे मन लाग्छ ,वाक्पटुतापूणर् गाली गर्न पाइँदो रहेछ । त्यस्तै बोलीविर्ता पाएपछि जायज नाजायज ठीक बेठीक ठम्याएरहनु नपर्ने, जथाभावी बोल्ने टपर्टुयाँ शैलीमा उखान हालेर बकम्फुसे तालको बखान छाँट्ने अवसर प्राप्त हुने रहेछ । अरु बिर्ताभन्दा थप मनोरञ्जक लाग्ने यो बिर्ता त झनै जनता हसाउने रुवाउने कर्ममा निपुण र खतराको रहेछ । पदीय हैसियत गरिमा र उच्चताको पर्वाहै गर्नु नपर्ने भएकाले ठाउ कुठाउँ जहाँ जसो मन लाग्यो बोल्न पाइने , बकबक गरेर तोरीलाहुरे बात कहन मिल्ने, सनक छुट्ता दिमागका नसा चुँडिनेगरी आधारातमा चिच्याउन कराउन गला खुल्ने अनि कसैलाई हप्काउन फकाउनसमेत पायक पर्ने खालका शब्दावली प्रयोग गरेर यस बिर्ताको सदुपयोग गर्न पाइने रहेछ तर सदुपयोगकै पूर्वसन्ध्यामा आफूले घुमाइराखेको कुर्सी स्वात्तै चिप्लिएर आफै धराधाममा पधारिँन पुग्दा भने अर्कै स्वादको उपयोग पनि हुने जो रहेछ ।

सबैभन्दा अझै सु संस्कृत, परिस्कृत र इज्जत प्राप्त गर्ने हराभरा कसिलो रसिलो बिर्ताचाहिँ झोलीविर्ता नै रहेछ भन्दा फरक नपर्ला । किन त भन्दा अगिपछि टपरे टापटिपे भनेर खिज्याउन उडाउन मन लागेपनि आफन्तजनकै अन्तिम सद्गत र संस्कारदेखि शुद्धशान्तिसम्म तन्त्रमन्त्र पाठपूजा र हत्यौडी पछ्याएर पितृको बाटो नवनिर्माण गर्नुपर्ने चलनचल्तीले गर्दा पण्डित जीलाई उडाउनु त आफ्नै बेइज्जति जो ठहर्ने रहेछ । त्यस्तै जोगीको तुम्वाभन्दा उम्दाखाले झोला, कमाण्डलु अगाडि पसारेर विदेशी शत्रु, मित्रु र पत्रुसगंसमेत भिक्षाम् देहिको बटुक चर्तीकला देखाउन पनि बिर्ताकै कारणले पाइने रहेछ । यतिबेर आप्mनो पुर्खौली इज्जत साख र गौरवगाथालाई तिलाञ्जली दिएर भिक्षाको तुम्बा अगाडी तेस्र्याउन पाए अहोभाग्य संझिने शाखासन्तनले भने खासा व्यापारकै ढङ्गले कुर्सीको जोगाड गर्ने भएपछि यहाँभन्दा सान मानको अर्को थप विषय के हुन सक्छ ? कृष्ण कन्हैयाको लीला लवजमा यो देऊ, त्यो देऊ अनि यति देऊ, उति देऊ अझ बढी देऊ, यो चाहिँ जसरी पनि मलाईमात्रै देऊ भनेर लडीबुढी गर्ने, पसारो पर्ने अनि हातपाउ फालेर अपहत्ते गर्नेजस्ता तिलस्मी झाँकीको दिनदिनै प्रदर्शनी खुलेपछि बिर्ताको फलिफाप नहुने त कुरै भएन । अरु के चैं चाहियो त ? तर सबैभन्दा नामी र जहडी बिर्ता चैं कुर्सीबिर्ता नै रहेछ भन्ने कुरा चर्मचक्षुका जुलूशले बारम्बार दर्शन गर्न पाएका छन् । यसमा दुविधा दोधार लिनु पर्ने कौनै कुरा छैनजस्तो लाग्छ ।

एकपटक अग्लो कुर्सी नै बिर्ता पाएपछि फिर्ता गरीरहने सुर्ता लिनु नपर्ने रहेछ किन त भन्दा कुनै जग्गाको कित्तादेखि चारसाँचे ढुकुटीको छेउभित्तासम्म छामछुम पार्दै चोरी चकारीको खतबात लागेर ड्याङ्ग खाँदै धूलो चाट्न गुल्टिएपनि नून खाएको कुखुरा झै वाङ्ग खाएर सन्निसर्पन खेप्नु न पर्ने , जेतेमेते कायदा कानून र मस्सल भजाएर फेरि उतिबेरै उही कुर्सीमाथि बुद्रुक्क चडेर फनक्क घुमाउन पाइने के मजाको रैछ त गाँठे हो यो बिर्ता भन्ने चीज पनि ?

कहिँ कतै विरलैमात्र देखिने अनि रमाइलो मेला भन्न सुहाउने यी कुर्सीभेलाका रँगेलाहरूमा बेलाबखत कुटनीति नामको काफलचरीले भुर्र उडेर सुर्र सन्देश ल्याएपछि हस् हजूरका भजनकीर्तन चलाएर उत्तरदख्खिनका दाताहरुलाई चुत्रुक्कै रुझाइदिन पाइने रहेछ । उत्तर आधुनिक प्रकारको मनोभञ्जन प्रदान गर्न पाइने यस विर्ता बन्दोबस्तीको झोलीप्रकरणले मागदावीको भैलो गाएर आधुनिक रक पप जाज हेभीमेटलखाले सबै संगीतशरणीलाई विस्थापित गर्ने जो भएपछि भएन उत्पात ? हेत्तेरिका अव भन्नोस् कति भाग्यमानी रहेछौ त हामी बिर्ताकामी, कुर्सीयात्राका मलामीहरू ?

०००
९८४१६४७१८९
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल
लेखक नहुनुको आनन्द

लेखक नहुनुको आनन्द

नरेन्द्रराज पौडेल
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल