सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्कुल उद्योग

‘चिन्ता नगर्नुस् हजुरहरू परिचित हुनुहुन्छ । हामी शुल्क हजुरहरूसँग लिन्नौँ बरू विद्यार्थीहरूसँग असुल्ने भ्रमण शुल्कबाट मिलाउँछौँ । अब हजुरहरूले एउटा काम गरिदिनुहोला ।’

Nepal Telecom ad

म आजैदेखि भन्छु मेरो देश अविकसित हुँदै होइन । तपाईँले अवश्य सोध्नुहुनेछ किन ? किनभने हामीकहाँ उद्योगै उद्योग छ । उद्योग धन्दा भएको मुलुक पनि अवकसित हुन्छ ? कुन उद्योगको कुरा गरौँ ? अर्थ कि अनर्थ ? खसाउने कि फसाउने ? आम सिसी कि खाम सिसी ? चलायन उद्योग कि पलायन उद्योग ? स्वास्थ उद्योग कि अस्वस्थ उद्योग ? राजनीति कि लाजहीन नीति ? यीस् उद्योग कि स्कुल उद्योग ? माफ गर्नुहोस् आज सबै उद्योगको कुरा गर्न सक्दिनँ । मात्र स्कुल उद्योगको कुरा गर्छु । हिजै मात्र काकाश्रीसँग गरेको भ्रमणका आधारमा ।

हिजै मात्र काकाले स्कुल उद्योग देखाउँछु भनेर लैजानुभयो । म लुरुलुरु पछि लागेँ । एउटा स्कुलको गेटमा पुगेपछि सोधेँ ‘काका स्कुल पनि उद्योग हुन्छ र ?’
काका मुसुक्क हाँस्नुभयो । उहाँले भन्नुभयो ‘स्कुल त उद्योग हुँदै हो ।’
‘कसरी काका ? के उत्पादन गर्छ यसले ?’
‘सबैथोक गर्छ । तिमीले स्कुल उद्योगका विभिन्न अवयव देख्ने छौँ । ती पहिले अवलोकन त गरौँ ।’ काकाले भन्नुभयो ।

हामी स्कुलको गेटमा उभिइरहेका थियौँ । एउटा सानो भ्यान तीव्र गतिमा आयो । मैले आँखा घुमाएँ । भ्यानका सिट आठ रहेछन् । भ्यानबाट ओर्लिएका बालबालिकाको गणना गरेँ पन्ध्र रहेछन् ।
‘ओहो ! नानीहरू कताकता बसेर आयौ हँ ?’ मैले सोधेँ ।
नानीहरू किन बोल्थे । उनीहरू बोल्न त गुरुहरूले आदेश दिनु पर्ने पो रहेछ । त्यहाँ एकजना गुरुआमा हत्तेरिका गुरु नभनेर सर र गुरुआमा नभनेर म्याम भन्नु पर्ने हो क्यारे । अँ म्याम हुनुहुँदो रहेछ । बालबालिकालाई सोधिएको प्रश्नको उत्तर उहाँले दिनुभयो दायाँ वायाँ हेरेर । भन्न के खोज्नुभएको थियो कुनि नजिकै प्रिन्सिपल साहेब उभिएको देखेर होला भनिदिनुभयो ‘सबै बसेर आएका ।’
काकाले भन्नुभयो ‘भतिज ! नोट गर यो कोच उद्योग हो ।’

काकाले प्रिन्सिपलसँग कुराकानी मिलाउनुभएछ । हामी कक्षाभित्र पस्यौँ भनेको त पोशाक कक्षभित्र पो पुगेछौँ ।
‘यो के होला ?’ मैले प्रश्न गर्दागर्दै सहयोगी दाजु देखिनु भयो । उहाँले भन्नुभयो ‘यो पोशाक कक्ष हो । यहाँ शिक्षकहरूका लागि पोशाक राखिन्छ ।’
‘पोशाक त उनीहरूले नै लगाएर आउन्नन् र ?’
‘स्कुलले दिएको तलबले खाजा खान त धौ धौ पर्छ पोशाक कहाँबाट किन्नू ? उनीहरूले गाह्रो भयो भने अनि स्कुलले नै यसरी राखिदिन्छ । उहाँहरू आएपछि पोशाक लगाएर कक्षामा जानुहुन्छ ।’ दाजुले सुनाउनुभयो ।
‘हजुर स्कुल सञ्चालकको परिवार वा नाताको पर्नु भएन कि कसो ?’ मैले सोधिहालेँ । उनी मुसकुराए र भने ‘अँ म पर्दिनँ ।’
‘अनि यसरी लगाउने पोशाकचाहिँ सशुल्क कि निःशुल्क ?’ काकाले सोध्नुभयो ।
‘महिनाको दुई सय रूपैयाँ तलवबाट पोशाक कर काटिन्छ ।’ दाजुले जवाफ दिए ।
‘यो भाडा उद्योग हो नोट गर्न बिर्सलाऊ है भतिज ।’ काकाले सम्झाउनुभयो ।

हामी कक्षाभित्र पस्यौँ । बालबालिकाहरू अनुहार निलो हुने गरी पुस्तक घोकिरहेका थिए । कोही घोक्दा घोक्दा घाँटी सुकेर पानी पिउँदे थिए । काकाले भन्नुभयो ‘भतिज नोट गर यो घोक उद्योग हो ।’
रोचक कुरा त दुई वर्षका बालबालिकाको झोलामा सातओटासम्म पुस्तक थिए । बालबालिकाको उमेरभन्दा तीन गुनासम्म बढि पुस्तक । काकाले मतिर हेर्दै भन्नुभयो ‘भतिज ! अर्को कुरा नोट गर पुस्तक उद्योग । सुन यो उद्योगसँग व्यापार कमिशन सबै जोडिन्छ ।’ काकाले भन्नुभयो ।

हामी कक्षाकोठाबाट आर्थिक कारोबार कक्षमा पुग्यौँ । अभिभावकहरू तँछाड मछाड गर्दै शुल्क तिरिरहेका थिए । शुल्क कुन कुन प्रकारका हुन्छन् भनेर मैले आँखा घुमाएँ ।
पुस्तकालय शुल्क, प्राथमिक उपचार शुल्क, सिसिटिभि शुल्क, आइसिटी शुल्क, कक्षाकोठा बसाइ शुल्क, मासिक पढाइ शुल्क, खेलाइ शुल्क, दैनिक ,साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक परीक्षा शुल्क, सरकारी कर शुल्क, पर्व शुल्क, होस्टेल शुल्क, वार्डेन शुल्क, गार्डेन शुल्क, माया शुल्क (शिक्षकले बालबालिकालाई मुसुक्क हाँसेर व्यवहार गरेको दिनको शुल्क), छायाँ शुल्क (गर्मीका बेलामा फूलको बोटमुनि राख्ने वा फ्यान चलाउने) खाजा शुल्क, बाजा शुल्क, स्विमिङ पुल शुल्क, गेट शुल्क, भेट शुल्क….। पढ्दापढ्दै आँखा तिरिमिरी गर्न थाल्यो ।
‘भतिज नोट गर यो शुल्क उद्योग हो ।’ मैले काकालाई बाहिर जाऊँ भनेर कोट्याएँ ।

बाहिर निस्केका के थियौँ एक लाइन बालबालिकाहरू कुखुरा भएर बसिरहेका रहेछन् ।
‘काका ! यो कुखुरा बनाउने शुल्क पनि सूचीमा थियो त ?’ मैले त देखिनँ ।
‘अनुशासन शुल्कभित्र परिहाल्छ नि तिमीले देखेनौ कि क्या हो ।’ काकाले भन्नुभयो । हामी विद्यालयको हाताभित्र केही बेर घुम्यौँ । प्रिन्सिपल मुसकुराउँदै देखा परे ।
‘सर ! हामीले विद्यालय घुम्यौँ यसको शुल्क लाग्ने हो कि ? मैले सोधेँ ।’
‘लाग्छ नि किन नलाग्ने ?’ प्रिन्सिपलले भने । म त खङ् र्याङ खुङ् रूङ भएँ । खल्तीमा दाम छैन दाम नहुनेको काम छैन भन्ने गीतको याद आयो ।
‘चिन्ता नगर्नुस् हजुरहरू परिचित हुनुहुन्छ । हामी शुल्क हजुरहरूसँग लिन्नौँ बरू विद्यार्थीहरूसँग असुल्ने भ्रमण शुल्कबाट मिलाउँछौँ । अब हजुरहरूले एउटा काम गरिदिनुहोला ।’
‘के काम हजुर ?’ काकाले सोध्नुभयो ।
‘यो स्कुल राम्रो रहेछ भनेर प्रचार गरिदिनुहोस् । अब नयाँ भर्नाको बेला आउँदैछ । हजुरले तीनजनासम्म ल्याउनुभयो भने ती तीनजनाबाट असुल्ने रकमको २५ प्रतिशत हजुरहरूलाई लाभ हुनेछ ।’ प्रिन्सिपल साहेबले भन्नुभयो ।

गेटबाट बाहिर निस्किँदै गर्दा काकाले सोध्नुभयो ‘तीनजना खोज्ने उद्योगको नाम राख्यौ भतिज ?’
‘वाव्या उद्योग ।’ मैले पनि सहजै भनिदिएँ ।
‘हँ वाव्या उद्योग के नाम राखेको यस्तो ?’ काकाले आश्चर्य मान्नुभयो ।
‘वाल व्यापार उद्योग क्या ।’ मैले प्रष्ट पारेँ । काका मजैले हाँस्नुभयो र सोध्नुभयो- ‘स्कुल उद्योग कस्तो लाग्यो त भतिज ?’
‘यस्तो लाग्यो काका ।’ मैले आफैँलाई लोप्पा दिँदै भनेँ ।
अस्तु

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे