
भैरव अर्याललाई चिठी
यता एक थरी मानिस सालिक बनाउने होड गरिरहेका छन् अर्का थरी मानिस आफैँमा काम नगरी सालिक जस्तै बनेका छन् । तपाईं त न बाँच्दा सालिक जस्तो चुपचाप लाग्नुभयो न मरेपछि नै सालिकमा धेरै देखिनुभयो ।

आदरणीय भैरव अर्याल
अभौतिक नमस्कार !
मैले तपाईँलाई यो लोकमा सशरीर भेट्न पाइनँ । म जन्मनुभन्दा पहिला नै तपाईँ यो लोकबाट बिदा भइसक्नु भएछ । आमुन्ने सामुन्ने भेटेर नमस्कार भन्ने मौका मैले गुमाएका कारण यो पत्र लेख्दैछु । मैले थाहा पाउँदा मानिसहरू भैरव अर्याल खसे भन्थे । तर, खसेको मान्छे तल हुनुपर्ने हो । तपाईं त हास्यव्यङ्ग्यको क्षेत्रमा माथि माथि हुनुहुन्छ । मलाई त तपाईं खसेको कुरामा पटक्कै विश्वास छैन बरु उडेको हो जस्तो लाग्छ ।
चालिस वर्षको वयमै तपाईं बिदा हुनुभएकाले सधैँ युवा हुनुहुन्छ । यो समयसम्म बाँच्नुभएको भए तपाईँ पनि यु ‘बा’ हुनुहुन्थ्यो होला । टोल थर्किने गरी खोक्नुहुन्थ्यो होला । कार्यक्रममा जाँदा र्यालसिँगान बगाउनुहुन्थ्यो होला । कम्तिमा यस्ता कुराबाट त तपाईं जोगिनु भयो । वरपरका र घरका सबै दुःख आफैँ पोको पारेर लानुभयो । लोकलाई हासो बाँडेर जानुभयो । हामीलाई एउटा बाटो खन्दिएर जानुभयो । हास्यव्यङ्ग्य क्षेत्रलाई मूलमन्त्र भन्दिएर जानुभयो । यी सबै कुराले मेरो छाती भरिएर तपाईंलाई सुनाउन मन लागेको छ । तर के गर्नु ? न तपाईं यो कुरा सुन्न यता आउनुहुन्छ । न म यो कुरा सुनाउन त्यता आउने काममा हतार गर्न सक्छु । विधिको विधान कसैले रोक्न सक्दैन । अहिले मैले यो चिठी लेखिरहँदा पनि तपाईं रहेको लोकमा आउन कोही हतार गरिरहेको छ । उसैलाई पठाउन मन लागेको छ ।
यति बेलासम्म हतार नगरेको भए तपाईंले पनि टुकुचा देख्नुहुन्थ्यो । धरहराका टुप्पामा चढेर सडकमा दौडदै गरेको डोजर देख्नुहुन्थ्यो । रानीपोखरीमा पौडदै गरेका माछा देख्नुहुन्थ्यो । चुनावमा भिड्दै गरेका बाछा देख्नुहुन्थ्यो । कति कति देख्नुहुन्थ्यो होला, कति कति लेख्नुहुन्थ्यो होला । दुनियाँलाई शब्दको तीर मारेकै कारण तपाईंको एउटा सालिक बनाउन पनि मानिसलाई निकै हम्मेहम्मे परेको छ । बनाउन चाहनेको नै पहिला सालिक बन्ला कि भन्ने पीर बढेको छ । त्यस्तो जाबो व्यङ्ग्य किन लेख्नुभएको ? र्याप गाएको भए, सुन्दरीहरूका समीप धाएको भए तपाईंका पनि सालिक बनाइदिन्छु भन्ने कोही आउँथ्यो होला । तपाईंले बेलामा बाटो चिन्न नसकेको कुरा अहिले आएर प्रस्टै हुन्छ । यता एक थरी मानिस सालिक बनाउने होड गरिरहेका छन् अर्का थरी मानिस आफैँमा काम नगरी सालिक जस्तै बनेका छन् । तपाईं त न बाँच्दा सालिक जस्तो चुपचाप लाग्नुभयो न मरेपछि नै सालिकमा धेरै देखिनुभयो ।
ऊ बेलामा खुब आलु लेखेर ठालु पल्टनु भयो । जय भोलि लेखेर भोलिलाई पराजय गर्नुभयो । जय भुँडी लेखेर अर्गानिक खाएका भुँडीमा रसायन भर्नुभयो । यो बेला गर्नुपर्ने काम त्यो बेला किन गर्नुभएको ? अहिले हामीले अब के गर्नु ? किन हतारमा परलोक जानुपरेको ? यति बेला भए हामी चुनाउमा सँगै उठ्न हुन्थ्यो । सँगै लड्न नसके पनि सँगै लढ्न हुन्थ्यो । तपाईंले टोपीले छोपेको टाउकामा लुकेको मथिङ्गल छ्यालब्याल हुनेगरी लेख्न हुन्थ्यो ।
मैले पनि आउने चुनावमा उठ्ने मन गरेको छु । मलाई बाँचेका नागरिक भन्दा पनि मरेका पितृको भोट चाहिएको छ । हाम्रो संविधानमा यो व्यवस्था छैन । त्यता कस्तो संविधान छ ? त्यता पनि त संसद होला ? एक पटक यताका मानिसलाई त्यताको भ्रमणको निम्ता पठाएर सिकाए के हुन्छ ? मैले दलहरूको दलदलबाट मुक्ति चाहेको छु । देशको हैन नि मेरो र मेरो दरसन्तानको । अब चुनावमा उठेर सहरलाई सफा बनाउँछु, मानिसलाई सभ्य बनाउँछु । मैले यो तयारी थालिसकेको छु ।
सहर फोहोर भयो भन्ने मानिसको गुनासो छ । अब म बोक्रा नभएका फलफूल फलाउँछु । त्यान्द्रा र झुस नभएका तरकारी फलाउँछु । यसो गर्न सकिन भने मानिसलाई बोक्रा नफाली खान सक्ने तागत प्रदान गर्ने छु । कतिपय मानिसले भनेको सुन्छु, आज मानिसहरू पशु भएका छन् । पशु नै भएपछि बोक्रा किन फाल्नु ? बोत्रैmसँग खाए सहर कहाँ फोहोर हुन्छ ?
मैले मेरो घोषणापत्र पनि सच्याउँदै छु । सडकमा धेरै दुर्घटना भयो रे । अब गाडी बन्द गर्ने । स्कुलमा धेरै झगडा भयो भने स्कुल बन्द गर्ने । अस्पतालमा धेरै मानिस मरे भने अस्पताल बन्द गरिदिन्छु । लैङ्गिक हिंसा बढेको छ । फरक लिङ्गका मानिसलाई हेर्दा आफू जस्तै देखिने चस्मा निर्माण गर्नु छ । यसका लागि मैले आफ्नो टोलीलाई निर्देशन दिएको छु ।
अँ, साँची मेरा चुनावी गन्थनले तपाईंको मथिङ्गल रिङ्ग्यायो होला । यताबाट त्यहाँ आएका को को मानिस चुनावमा उठेका छन् ? यहाँ जस्तै भ्रष्टाचार त्यहाँ हुँदैन भन्ने सुनेको छु । त्यहाँ पैसा छाप्छन् छाप्दैनन् ? पत्र लेख्दालेख्दै अलि लामो भयो । यो पत्र पाउनासाथ मलाई लेखिहाल्नु ल । मैले तपाईंलाई आफ्नो सल्लाहकारमा मनोनयन गरेको छु । आशा छ स्वीकार गरिदिनुहुने छ । स्वर्गबाट नेपाल आउने जहाजको टिकेस पाइयो भने म पठाउने छु । यता हामी इ सेवा चलाउँछौँ । त्यता त ती सेवा चल्छ होला । म ती सेवाबाट खर्च पनि पठाउँला । तपाईँ चाँडै यता आउनु ल । आजलाई यति नै ।
उही तपाईंको ……………….. ।
मितिः २०७९ असोज ५
०००
झापा