सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्री भुँडेश्वराय नमः

छेपारेश्वरको भुँडी भर्ने काम पनि भुँडेश्वरले गर्ने गरिहेका छन् । भुँडी पाल्नकैलागि भुँडेश्वरहरू श्वानेश्वर बनेका छन् । आखिरी श्वानेश्वरले जसरी भए पनि आफ्नो भुँडी पालेकै छ ।

Nepal Telecom ad

ओम् श्री भुँडेश्वराय नमः, शिव पार्वती पुत्रस्य लम्बोदराय, लड्डु पेडा चढाय पेट बढाय नमः । मुसक मालिकम चतुर्कला गज शिरस्यधारी बक्रतुण्डाय प्रथमः पुज्यते । प्रथमः नपूज्यते त मङ्गलकार्य अमङ्गल होयते । इतिश्री श्री भुँडेश्वराय कथा प्रारम्भ्येते ।

आफ्नो भुँडीवाल छोरा भुँडेश्वरको पहिलो पूजा गर्ने वाचापछि छेपारेश्वर बाबाले भुँडेश्वरको सम्मानमा ठूलो भोजको आयोजना गरे । त्यो भोजमा सबैले मोज गर्न पाउने व्यवस्था मिलाइयो । तर, भोजको तर कस्ले खाने भन्ने विषयमा विवाद हुँदा पहिलो पुजा जस्को हुन्छ उसैले खान पाउने भनेर छेपारेश्वरको नातावादभित्रको एकलकाँटे निणर्य सबैले सुने । यो निणर्य भुँडेश्वरको वाहन मुसाले पनि सुनिरहेको थियो । सबैको आँखा छलेर मुसाले भोजको तर चोरेर भुँडेश्वरलाई दिएछ । त्यही तरको दर खाएपछि भुँडेश्वरको भुँडी फुल्दै गएछ । यतिमात्र कहाँ होर सबैभन्दा पहिले पुजिने भएपछि मिठा मिठा फलफुल, मिठाई, पेडा, लड्डु लगायतका खाद्यान्न सबै हसुर्न पाएर पनि उनको भुँडीले विकसित हुने अवसर पाएको हो ।

शिव पार्वतीसँग लडीबुडी गरेर मानका खातिर पहिलो पुजा पाउने भुँडेश्वरको बयान मुसाले पनि गरेर सक्दैन । मुसा जस्तो चोरको खन्तीलाई आफ्नो अङ्ग रक्षकमा नियुक्त गर्ने निणर्य गर्नुको तात्पर्य पनि उसले चोरेर ल्याएको मिठो जुठो पुरो पनि खान पाइन्छ भनेर होला । अर्कोतिर बेला मौकामा कतै लुक्नु पर्‍यो भने मुसाले सुरुङ्ग खनेर सहयोग गर्ने भएकोले पनि सहयोगी नियुक्त गरेको हुन सक्छ । जसरी भए पनि अन्य देवता भनाउँदाका अगाडि आफू ठूलो हुन भुँडी बढाएर शान मान बढाउनु आवश्यक देखे । ‘भगवानको भुँडी नारायणको नाइटो’ भन्ने उखान त्यसै चलेको होइन रहेछ । वास्तवमा भुँडेश्वरको भुँडीको पहिले देखि नै नाम चलेकै रहेछ भन्ने कुराको पुष्टि माथिको उखानले गरेकोछ । अर्को कुरा नारायणको नाइटोबाट ब्रह्माजीको उत्पति भएको र हामी ब्रह्माजी कै उपज भएकोले नाइटोको महत्व बढेको कुरा पनि उखानले स्पष्ट पारेको छ ।

छेपारेश्वरका सन्तान कोही भुँडेश्वर कोही मयुरेश्वर । छेपारेश्वरले मयुरेश्वरलाई भन्दा बढी माया भुँडेश्वरलाई गरेका कारण पनि शुरुको प्रसादको मात लागेर भुँडी घ्याम्पो जस्तो भएको कथन पनि सुनिन्छ । अरु कुरा जे जे भए पनि भुँडेश्वरकोनाम परिवर्तन गरेर अब घ्याम्पेश्वर राख्दा उचित होला । घ्याम्पो र भुँडेश्वरको भुँडी उस्तै उस्तै हो । भुडेश्वरले वरपर भेट्टाएको मिठो कुरा सबै सुँढले सोहोरेर मुसालाई नदिईकन खाने गरेकोले भुँडी बढेको हो । अर्थात् अहिले जस्तै पहिले पनि अर्काको भाग खाएर भुँडी बढाउने चलन थियो भन्ने प्रमाणका रूपमा लिन सकिन्छ । छोरोले अरुले भन्दा पहिले मिठो मिठो खाने कुरा खाओस् भनेर नै होला छेपारेश्वरले आफ्नै छोरालाई प्राथमिकताको योजनामा पनि पहिलो नम्बरमै राखेका । आफ्नो ध्येय पुरा भएपछि सक्किगोनी अरुको जे सुकै होस् !

हुन् त अहिले पनि छेपारेश्वर र भुँडेश्वरहरू छन् । तर उहिलेका र अहिलेकामा केही भिन्नता र खिन्नता भने छ । पहिलेका छेपारेश्वर र भुँडेश्वर आफू अघाएपछि अरुलाई खा भन्थे भने अहिलेका सबै आफैँ खाऔँ र सातपुस्ताकालागि खुवाउने जोडौँ भन्ने सोंचले अघि बढेका छन् । अहिले पनि भुाडेश्वरहरूकै रजगज छ देशमा । सबैभन्दा पहिले भुँडेश्वर नै अघि सर्छन प्रत्येक भोज भतेरमा । यसरी भुँडेश्वरको रजगजले समाजमा गुणेश्वर जन्मिए त राम्रै हो । तर दुष्टेश्वरको जन्म दिनहुँ भैरहेको हुन्छ । भनौँ भुँडेश्वरकै कारण नेपालमा दुष्टेश्वरहरू जन्मिरहेका छन् ।

भुँडेश्वराय जनमन दुष्टाय तर पनि सबले पुजा कराय । गुणेश्वराय वेपत्ता गराय । छेपारेश्वराय रङ बदलाय । नेपाल देशे विश्व समुदाय विकृत फेसे । जनमत हराय परमादेश गराय । नमोनमः संसद विघटनाय नमोनमः । जनमत स्वाहा, हास्यव्यङ्ग्य स्वाहा, हाइहाइको सरकार आफैँ भयो स्वाहा ।

भुँडेश्वर पनि नेपालमा एकथरीको मात्र भए पो सत्रथरीका छन् । फेरी सत्रै थरीको बोली फरक छ तर भुँडी छ उनीहरूको पनि । हात्तीको जस्तो सुँढ छ वरपरको सुँघेर तान्न । लामो लामो हात छ भण्डारमा छाम्न । भनौँ भुँडेश्वर कुनै पनि कुरामा कम छैनन् । ‘हम किसिसे कम नही’ भएर भुँडी भर्न लागिपरेका छन् भुँडेश्वरहरू । भुँडेश्वरहरूले निम्त्याएको बेथितिले झिटिमिटी नै गुन्टीमुन्टी भएको छ । भुँडेश्वर जन्माउने शिव पार्वती नै सायद हन्तकाली भएकै कारणले होला यो हविगत भएको । भनौँ शिव पार्वती नै भ्रष्टेश्वर थिए क्यार ! त्यसैले भुँडेश्वरले पनि बाबुआमाको सिको सिकेर चारैतिरबाट सोहोरेर हसुर्न थालेको । गुरु भएपछि शिक्षाको के दुःख भन्ने उखान त्यसै प्रचलनमा आएको होइन रहेछ भन्ने कुराको पुष्टि भएको छ ।

यो हिमालय पर्वतको शिर पुच्छार नै भुँडेश्वरहरूले कब्जा जमाएर बसेका छन् । आउँदा दिनहरूमा भुँडेश्वरहरूलाई हिमालय पर्वतबाट अन्यत्र बसाई सराई गराउनु आवश्यक देखिएको छ । किनभने हामी जनमतका भकारीको भण्डार रित्याएर उनीहरू भुँडी फुलुन्जेल मिठो मसिनो खाएर भुँडेश्वरको मान पदवी पाएर कुशासनमा बसिरहेका छन् । हुन् त छेपारेश्वरले सिकाएका थिए होलान् भुँडेश्वरले पनि बाबुको बिँडो थाम्न पनि यसो गरेका होलान जस्तो लाग्छ । उहिलेदेखि अहिलेसम्म कुकुरको पुच्छर बाङ्गाको बाङ्गै भने झैँ भुँडेश्वरले आफूमा कहिल्यै परिवर्तन ल्याउन सकेनन् । अरुलाई परिवर्तनका विषयमा सिकाउने तर आफू भने पछि धकेलिएर हिड्ने भुँडेश्वरको पुरानो आनी बानी पनि सोझो हुन सकेन । झन बाङ्गिएर, नाङ्गिएर झाङ्गिएका छन् ।

आफ्नो भुँडीलाई पिताजी भगवानको प्रसादका रूपमा लिने भुँडेश्वरको भुँडी रित्याउने संस्कार सिध्याउने कुनै जालझेल होला भनेर छोला, भटौुरा र सेल बाड्ने परिपञ्च पनि खञ्चमञ्चका साथ भैरहेको भन्ने फुस्फुसे कुरा पनि आएको छ । यदि यसो भयो भने बाङ्गा भुँडेश्वरहरू नाङ्गा हुन्छन् । भुँडी उछिटिएर आफ्नैँ शरीरको अङ्ग प्रत्यङ्ग नदेखिने अवस्था भएको बेलामा भुँडेश्वरले भुँडी घटासन आयोग गठन गरेर आफूले पाउँदै आएको पहिलो पूजालाई अन्तिम पूजामा झारे भने पनि पुस्तौँ पुस्तासम्म पनि उनको भुँडी घट्ने बाला छैन । बरु भुँडी घटासन आयोग घटेर परालको त्यान्द्रो होला तर भुँडेश्वरको भुँडीले जुका किर्नाको रूप लिएर अझ फुल्ने मौका पाउँछन् ।

कमिले भुँडीसँग मित लाइदियो भने बरु कतै भुँडेश्वरको भुँडी घट्यो भन्ने हल्ला चल्न सक्छ । तर त्यो पनि सम्भव छैन । किनकि कमिला जसरी श्रम गर्न सक्ने प्राणी भुँडेश्वर होइन । छेपारेश्वरले श्रम गर्न सिकाएको भए भुँडेश्वर विश्वमा श्रमेश्वर भएर बस्थे भुँडेश्वर भएर बाँच्दैनथे । सबैले अरुलाई भन्दा पहिले पुजा गरेका कारण मात्तिएर पनि भुँडेश्वर भुँइ र भाँडोका भएर नपल्टिने भुँडी पल्टाउँदै, नहल्लिने सुँढ हल्लाउँदै, नदेख्ने आँखा सन्काउँदै भुँइमा गजधम्म हल न चल भएर कैयौँ वर्षदेखि ठाउँको ठाउँ बसिरहेका छन् । कैयौँ भुँडेश्वरहरू वर्षौ वर्षसम्म एकै ठाउँ बसेर भुँडी संस्थानको अध्यक्ष कै हैसियतमा उघेर निदाएर दिन काटेर बसेकाछन् ।

विश्वका भुँडेश्वरका अगाडि नेपाली भुँडेश्वरको चालामाला भनौँ वा डबलडावल नै खैराती पाराको छ । कोही भुँडेश्वरहरू गोज्याङ्ग्रे पाराका छन् । बाहिरी पारा र भित्री पारा फरक हुने भुँडेश्वरको दुई खाले भुँडी हुन्छ । देखाउने भुँडी र लुकाउने भुँडी । देखाउने भुँडीभित्र दालभात तरकारी हुन्छ भने लुकाउने भुँडीभित्र सबै कुरा सरकारी हुन्छ । निकै गहकिलो मानिएको लुकाउने भुँडी भित्र गुदी हुन्छ । गुँदीकै कारण भुँडीको पदोन्नती भएर भुँडेश्वरमा परिवर्तन भएको हो भन्दा हुन्छ ।

अर्काले खाएर ठूलो भएको भुँडीका बारेमा अब धेरै के लेखौँ । आजभोलि भुँडेश्वरहरू जन्मनेक्रममा छन् । छेपारेश्वरहरूलाई भुँडेश्वरको आवश्यकता अपरिहार्य भएको छ । किनभने छेपारेश्वरको भुँडी भर्ने काम पनि भुँडेश्वरले गर्ने गरिहेका छन् । भुँडी पाल्नकैलागि भुँडेश्वरहरू श्वानेश्वर बनेका छन् । आखिरी श्वानेश्वरले जसरी भए पनि आफ्नो भुँडी पालेकै छ ।

भुँडेश्वराय श्वानेश्वराय विकृत संस्कारम् । प्रथमः पुज्यते भुँडेश्वराय श्वानेश्वरायश्च मित्रस्य । मित्र मित्रस्य मिलनम् ढिकुटी भित्र छिरनम् । लम्बोदराय, भुँडेश्वराय मस्तीले खानपिन ढिकुटी सकनम् ।
जय भुँडेश्वर . जय व्यङ्ग्य ।

०००
उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ...

माधव पोखरेल गोज्याङ्ग्रे
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे