सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जादुमय झोल !

अब तपाइँ पनि वाक्क र टयार्र हुने गरि झोल पिउनोस् र यसैको सहारामा झोले बनेर समृद्ध नेपाल निर्माणको महा अभियानमा सरिक हुनुहोस् । सफलता हात लाग्ने सुनिश्चितता यही झोलले प्रदान गर्नेछ ।

Nepal Telecom ad

झोलको मोल जतिसुकै चुलियोस् तर माग भने बढ्दैछ गाउँ बस्ती र शहरबजार जताततै । चोक अनि गल्लीमा यताउता सबैतिर झोलले चर्चा परिचर्चा बटुलिरहेकै छ । झोल भन्ने बित्तिकै हाम्रो दिमागमा तरकारीको झोल हो भन्ने कुरा प्रकट हुन्छ तर झोल धेरै प्रकार र परिकार छन् । तरकारीको झोल, दालको झोल, दुधको सेतो झोल, पानीको सङ्लो झोल आदि इत्यादि झोलभित्रै पर्दछन् । सोझै बुझ्दा झोल तरल पदार्थ हो जसले हाम्रो स्वास्थ्यमा निक्कै सकारात्मक काम गर्दछ, बिरामी व्यक्तिले झोलिलो मोलिलो खानुपर्ने कुरा हामीलाई डाक्टरहरू सल्लाह दिने गरेकै छन् । हामीले पनि सल्लाह ग्रहण गर्दै आएका छौं ।

यहाँ चर्चा गर्न खोजिएको झोल चाहिँ अलि विशिष्ट श्रेणीको झोल हो । विशिष्ट यस अर्थमा भनिएको हो- यो अचम्मै प्रकारको झोलले अहिले सिङ्गै नेपाली समाजलाई कब्जामा समाएर आफ्नो छुट्टै हैकम जमाउन सफल भएको छ । यस झोलले त हरेक परिवारलाई सदस्य नै बनाएको छ र कुहिएर डुङ्डुङ् गनाउने बनाएको छ । नाम फेरि अनेक छन्- छ्याङको झोल, जाँडको झोल, रक्सीको झोल, खोयाबिर्के झोल, कोदोको झोल, तीनपाने, चारपाने । ठाउँ अनुसार फरक फरक न्यारन गरिएको झोलै झोलको झोल । शहरतिर यही झोलको नाम बडो गजबका छन् यो भनिरहनै पर्दैन । बियर, भोड्का, रम, झोलकै अनेक नाम र रूप हुन् भन्दा फरक पर्दैन । यो झोल चानचुने झोल हुँदै होइन । झोल सेवन गरेपछि प्राप्त हुने फाइदाको परिलाउन मलाई त हम्मेहम्मे नै पर्दछ । सानो बस्तीको सानो झुपडीको मानिसलाई पनि क्षणभरमै गायब बनाइदिन्छ, डान्सर बनाइदिन्छ, वकिल, न्यायाधीश बनाइदिन्छ । यो त साँच्चै जादुमय तरल पदार्थ हो जो नपिउन्जेल कस्तो कस्तो, पिएपछि सारा बह्माण्ड आफ्नै अधिनमा भए जस्तो ।

बिहेभोज, कुनै समारोह, चाडपर्वमा त झनै झोलको माग बढ्दो हुन्छ । थोरै पिउँछु, एक गिलास पिउँछु, एक बोटल पिउँछु, उफ ! मजा आएन, अर्को बोटल पिउँछु, अलिअलि मात्रै लाग्यो भन्दाभन्दै घ्याम्पोका घ्याम्पो झोल बुतिन्छ यस्ता चाडपर्व, र बिहे समारोहमा । हराएको जोस अनि जाँगर बाहिर आउँछ । वर्षौदेखि नदेखिएको जादुमय रुप देखा पर्छ आँखा अगाडि । हिजोसम्म विश्वको परमसुन्दरी लाग्ने श्रीमती मन नै पर्दैन, माग हुन्छ सम्बन्ध बिच्छेदको । जा निक्लेर भन्दै लछारपछार शुरु हुन्छ । निलडाम भइदिन्छ आफ्नै प्रिय पत्नीको शरीर पनि क्षणभरमा नै । भर्खर सँगै बसेर गिलास चेयर्स गर्दै झोल पिएका दाजुभाइ बिच हानाहान हुन्छ, काटिन्छन् शरीर, छियाछिया भएर बग्छ रगतको भेल र पनि आउँदैन होस । तोडफोड हुन्छ भाइभाइ बिचको सम्बन्ध पनि । समाज अनि शत्रुलाई खुच्चिङ भन्ने वातावरण सृजना गरिदिन्छ यो झोलले । अनि भएन त जादुमय झोल । यस्ता उदाहरण कति छन कति हाम्रो समाजमा । सायद तपाईंले पनि देख्नुभएकै होला- जादुमय झोलको यो भयानक जादु ।

फेरि पनि यही झोलको सम्मान छुट्टै छ हाम्रो समाजमा । भर्खरै भेट भएका पाहुनालाई चियाभन्दा पहिले यही जादुमय झोलले स्वागत गरिन्छ । झोल नपिउनेलाई त वास्ता नै गरिदैन । झोल पिउने पो पाहुना, नपिउने त के पाहुना ! जतासुकै जाउना । आधुनिक फेसन हो यो जादुमय झोल जसले नेपाली समाजलाई झन गरिबीको झाडीतर्फ घचेटिरहेको छ । चामल किन्न नसक्नेहरू पनि जादुमय झोल उधारो नगरेरै पिउने गर्छन् । लाग्छ यो देशमा झोलले राज गरेको छ । यो झोलै झोलको राज्य, झोलैझोलको साम्राज्य ।

अत्याधिक जादुमय झोल सेवनका कारणले कलेजोमा असर परेका विरामीको संख्या बढिरहेको देखिएको छ । त्यस्तै मस्तिष्कमा पार्ने असर, पेप्टिक अल्सर पनि जन्माएको छ यही झोलले । झोलको उच्च सेवनले जन्डिसका दीर्घ रोगीहहरू बढेका छन् । यो झोलले कोहीको पेट दुखाइ मात्र होइन, रगत नै बान्ता आउने समस्या पनि देखिएको छ । यदि रगत बान्ता आउनुको कारण अन्ननलीबाट रक्तनली फुट्नुको कारणले हो भने बचाउन निकै गाह्रो पारिदिन्छ । धेरै रक्सी, जाँड, तोङ्बा तान्ने व्यक्ति अल्कोहल खान नपाएर छटपटीको रुपमा जथाभावी बोल्ने, बेहोस भई काँप्ने तथा मुखबाट फिँज निकाली जिब्रो टोक्ने साथै आँखा पल्टाउने हुन सक्दछ । यस झोलले धेरैलाई अकालमा मृत्युलाई चाख्ने अवसर प्रदान गर्दै आएको छ ।

तीन पानेको झोल र नेपाली राजनीति पनि उस्तै उस्तै लाग्न थालेको छ आजभोलि त । जसरी तीन पाने बन्न कोदो पकाएर त्यसलाई केही दिन कुहिने बनाएर चिनी, चिउरा, सख्खर, घिउ सबैलाई मिलाई फेरि कुहिएको मिश्रणलाई फोसीमा राखी पकाउँदा निस्केको पसिना-रस सङ्कलन गर्दा जादुमय झोलको आविष्कार हुन्छ, त्यसरी नै अन्याय, अत्याचार मौलाउँदा, भ्रष्टाचारले सिमाना नाघ्दा, बलात्कारीहरूले सुरक्षा पाउँदा, गरिब अनि पिछडिएका समुदायलाई कुल्चिएर पिसेर अझै खाँदेर सिङ्गो राजनीति कुहिगन्ध बनेको छ आजको राजनीति । जसरी जादुमय झोलकै कारण गरिबी मौलाएको छ त्यसरी नै आजको राजनीतिले पनि गरिबलाई गरिबीबाट उकास्ने कुनै काम गरेको छैन । जादुमय झोलले मात्तिएर क्षणिक रूपमा उत्तेजित बनाएजस्तै आजको राजनीतिले विकासको क्षणिक सपना देखाउने गरेको छ । झोल अघिअघि राजनीति पछिपछि, खै कहिले उठ्छ नेपालको राजनीति झोलभन्दा माथि ? खै कहिले निस्कन्छ नेपालीको घरआँगनमा भ्रष्टाचार, अन्याय अत्याचार, रहित सुगन्धित खुस्बु ?

झोललाई गाली गरेर झोले भन्न थालिएको हो कि झोले भएर बढी झो मन पराएको हो यो मैले खुट्याउन सकेको छैन । नेपाली राजनीतिका क्षेत्रमा प्रवेश गरेको झोले संस्कृति यही झोलको प्रवाहमा बगिरहेको भने अवश्य हो भन्ने लाग्छ । देखिएको स्पष्ट कुरा चाहिँ के हो भने मान्छेले झोललाई होइन, झोलले मान्छेलाई तनतनी पिइरहेको छ । सम्झनोस् आजको मान्छे झोल पदार्थको दास बनेको छ । झोलको विशेषता भनेकै कोही एक खुड्किला माथि उक्लिन लाग्यो भने त्यसलाई चार खुड्किला तल झारिदिनु । यसैले झोलको जादुमय खेल भनिएको हो । जादुमय झोललाई बिस्थापित गरि स्वस्थ समाज निर्माण गर्ने र फोहोरी राजनीतिको अन्त्य गरि समृद्ध नेपाल निर्माण गर्ने जिम्मा अब यही झोल र झोलप्रेमी झोलेहरूका वरद् काँधमा आइपुगेको छ ।

अब तपाइँ पनि वाक्क र टयार्र हुने गरि झोल पिउनोस् र यसैको सहारामा झोले बनेर समृद्ध नेपाल निर्माणको महा अभियानमा सरिक हुनुहोस् । सफलता हात लाग्ने सुनिश्चितता यही झोलले प्रदान गर्नेछ ।

०००
केवलपुर, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
अनि पो देश धनी बन्छ

अनि पो देश धनी...

अप्सरा सुनार
भालु रजाइँ

भालु रजाइँ

अप्सरा सुनार
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे