निर्वाचन प्रचार सामाग्री

टी-पार्टी

चानचुने मान्छे भएको भए त्यहीं डाँको छोड्थे होलान् तर म त ठूलाबडा जिन्दावाद भन्दै कुदेँ घरतिर । पार्टी खाएर आएको मान्छे हलुका खान पनि के जानु, तन्द्रङ्ग पल्टेँ खाटमा ।

देख्ता लुरीले पालेको कुखुरोजस्तै भए पनि म काठमाडौंको एउटा चानचुने भलादमी नै हुँ । सरकारीमा मेहतरदेखि मन्त्रीसम्म, ढाक्रेमा गाइनेदेखि गुर्जसम्म मैले नचिनेको कोही छैन । राजनीतिकै कुरा गरुँ भने पार्टी चहार्दाचहार्दा खाग भएर हाल ‘नातागोता कमिसन’ को सिफारिसबमोजिम सिनेमा विभागअन्तर्गत ‘टिकट ब्ल्याक मार्केटिङ कमिटी’ को अस्थायी महासचिव बन्न पुगेको छु । साहित्यमा भन्नुहुन्छ भने हेड पियनदेखि हेड मन्त्रीसम्मको स्तोत्र बनाई लेखेको मेरो ‘स्तुतिशतक’ पढ्नुभएकै होला, जो ठूलाबडाले छपाएको भए ठूलठूला विद्यालयले आफ्नो पाठ्यक्रममा उहिल्यै राखिसक्थे धेरै बयान गर्दा धक्कु लगाएजस्तो पर्ला भनेर मात्रै भन्न डराएको, नत्र त बोक्सी बकाउनेदेखि लिएर मान्छी फकाउने काममा समेत कहिल्यै पछि हट्नुपर्ला जस्तो मलाई लाग्दैन ।

(तर यो कुरा सुटुक्क भनेको नि ! हल्ला नगर्नुहोला) कुरोकुन्तुरोको कोसेली लगेर पोकोपुन्तुरो ओसार्न त म वणर्ाएकै हुँ । यतिको ज्ञान-विज्ञान तैंले कहाँबाट हासिल गरिस् त भन्नुहोला ! यो सबै ठूलाबडाका सङ्गतको प्रसाद हो ।

मैले गर्न आँटेको गाँठी गुनासो के भने यति इम्पोटर्यान्ट मान्छे भएर पनि कतै टी-पार्टी भयो भने मलाई निमन्त्रणा पठाउन बिर्सिदिन्छन्, कस्तो लाज मर्नु ?

पोहोरसम्म त मलाई टी-पार्टीमा जाने तिर्सनै थिएन । मैले पढेको अङ्ग्रेजीमा ‘टी’ माने चिया, पार्टी माने संघ ‘टी-पार्टी’ माने ‘चियासंघ’ हुन्थ्यो । आफूले कत्राकत्रा सङ्घ, संस्था देखिसकियो, जाबो चियासंघमा को जाला भन्थेँ । म वास्तै गर्दिनथें । तर एक दिन कुन्नि कुनचाहिँ उत्सवको भोलिपल्ट हो, एक जना शास्त्रीज्यूकहाँ गएको त अघिल्ला दिन आफूहरूले होटल र्‍वायलमा आचमन गरेको पञ्चायनको पो बयान हुन लागेको रहेछ । सनातन सुरक्षा समितिका नेता सुवेदीज्यूले पन्चामूलको सुरमा आफ्नो विश्वामित्र दानी आफैले फहऱ्याउन लागेका रे । सांस्कृतिक मन्त्री द्विवेदीज्यूले आफ्नो टोपी नै हराए रे । राष्ट्रियता संरक्षक समितिका असिस्टेन्ट डाइरेक्टर चतुर्वेदीले चारै आचमनमा सन्जे फलाक्न थालेका रे । ओहो ! त्यहाँ म भैदिएको भए । सुवेदी, द्विवेदी र चतुर्वेदीको समेत यो चर्तिकाला भयो भने म त कुन वेदी हूँ र, हद्द भए हलुवावेदी हुँला, त्यत्ति न हो । पञ्चामृतदेखि केको लाज । पञ्चामृतोपाख्यानको साथसाथै रसबरी, फुलबरी, फिसबरी, चिकनकरीको पनि बयान सुन्दा पो मैले टी-पार्टीको वास्तविक र व्यापक अर्थ बुझें । इमान्दारीपूर्वक भन्ने हो भने त्यसै बेलादेखि टी-पार्टी भन्ने सम्झ्यो कि मुखमा साउनको मूल फुटेझैं सरर्र पानी आउँछ । तर फसाद के भने विरालोले मुसो ढुकेझैं ढुक्ताढदुक्ता बल्लबल्ल यस्तो पार्टीको समाचार कहिलेकहिले पाइन्छ तर म अभागीलाई निम्ताचाहिँ आउँदैन ।

एक दिन घुम्दैघुम्दै एक जना भूतपूर्व एस.पी. ज्यूकहाँ पुगेको थिएँ, पुग्नेबित्तिकै उनले सोधे- “भोलि पार्टीमा जाँदैनौ ?” मैले भनें- “खोइ र निम्तो छैन ।” उनले कड्किदै भने- “अ के यो ब्राह्मण भोज हो र ! निम्तो नभई जान नहुने ? कसिकसाउ भएर एउटा ठूलाबडाको पछिपछि जाऊ न ढोकामा कार्ड खोजिहाल्यो भने ‘ओ, सरी’ भनिदिनू, कुराकानी पास ।”

पार्टीमा त जाने भइयो, तर लुगो पाउने कहाँ ? फ्याते कटुवालले सिएको दौरासुरुवाल लाएर के जानु, आफ्नो एउटा भएको पाइन्ट दसैंको भेडो खुइलिएझैं खुइलिएको छ । आफू नाम नचलेको मान्छे भए पनि मरिजाओस् नै त भन्नु, ठूलोबडो नै नभए तापनि ठूलाबडाको पुच्छर हो भन्ने सबैलाई विदितै छ । आजको नेपालमा मान्छेको भलादमित्व जोख्ने लुगो नै हो भन्छन् । अन्तको कुरा परै जाओस्, पशुपति बूढाबाको मन्दिरमा समेत बाबूसाहेबी लुगा लगाएको छ भने छेमडेल अड्डाको कुल्लीले पनि छाप टीका र माला पाउँछ, झुत्रेझाम्रे भएर गयो भने ‘मै हुँ’ भन्नेले पनि दुई पात नारानपाती लिन दुई घण्टा घुइँचो खानुपर्छ ।

सोच्तासोच्तै मलाई कृष्णजीले मावल जाँदा धोबीको लुगा खोसेको कथा चट्ट याद आयो । तर उनी त ‘भगवान्’ थिए र पो, बिचरा धोबीले केही गर्न सकेन । आफू त्यसरी लुगा खोस्न जाऊँ त बजाइदिन्छ ए, दुईतिर गालामा डब्बल ताली । आखिर एउटा गजब जुक्ति सुझ्यो र एक जना ठूलावडा इष्टमित्रकहाँबाट ल्याएँ, एक जोर सुट सुटुक्क । तर सुट रहेछ घ्याम्पे कणर्ेलले लाउने जत्रो, आफू थिएँ च्यान्टे कप्तानजस्तो ! जे होस्, महत्त्व कपडाको हुन्छ अलिकति सानो ठूलोको कसले छ्यान-विचार गरिरहन्छ र अचेल । कसैले औंल्याइहाले भने यो सुपर लुज फिट भनिदियो चुपचाप । शृङ्गारपटार गर्न भने मलाई उत्तिको भारत परेन । लिपस्टिक यूनियन’ की कोषाध्यक्ष मेरी काहिली छँदै थिई । ‘अखिल नेपाल पाउडर परिवारतिर साहिनो परेकी माहिली । अनि के थियो र नक्कलगिरीले खरानी दले पाउडरैपाउडरले नछोपिए तापनि मुखका चाउरी र चाया लुकाउन मलाई उत्तिसारो गारो परेन । डाक-न-बोलाउको पाहुनालाई भतेरको कार्यक्रम कुन बेला हुने हो के पत्तो ? ठाउँ त र्‍वायल होटल थाहा पाइयो । किनभने अलिकति पैसा भए पनि परदेश पुऱ्याउनु अचेल हाम्रो सनातन धर्मै भइसकेको छ । पार्टीजस्तो दिनपरेपछि नेपालीले चलाएका खैराते होटलमा कसले दिइरहोस् ! अ, ठाउँ बुझियो, तर टाइमले पो पायो त अर्को फसाद ! न बिहानैदेखि गएर पर्खिराख्नु ! अबेला भयो भने आफू जाँदा पार्टी सिद्धिसक्ने हो कि ? मूल फसाद त के भने पार्टी खान गएको दुलहालाई कुनचाहिँ दुलहीले बिरालोको नाकजति चिसो हलुवा कुरेर बसिरहली यो जाडोमा । बरु दोई छाकको बेजो उहीँ पार्नुपर्ला भन्ने अठोट गरेर बेहानको भुजालाई पनि राजीनामा दिँदै निस्कें म त, ठाँटके साथ ।

तैतै, कुनै माननीयज्यूकैं गएर हात मल्न पाए मोटरमै ठाँट्टिन पाइन्थ्यो कि ? त्यस्तो मिले त इज्जतको ठाउँमा इज्जत, बचतको ठाउँमा बचत । पालिसदार साइकिल दिनभरलाई दुई रुपियाले पाउन मुस्किल छ । यही सोचेर सरासर गएँ म मन्त्रीज्यूकैं । देशका कस्ताकस्ता समस्याबारे सोधपुछ र सरसल्लाह गरूँ भनेर दर्शन माग्दा त माननीयहरूको दर्शन पाउन १०८ तारिख नधाई हुँदैन भने मैले अहिले के भेट्न सक्थें । बाहिरी ढोकामा तीस मिनेट, भित्रीमा तीस मिनेट, निजी सचिवसित ४७ मिनेट अलमलिँदा पनि दर्शनसम्म मिलेन । जस्तै टाकटुके भलादमी पनि मन्त्री भएपछि भगवान्का सोह्र कलामध्ये नौ कला त्यसमा पर्छन् र त्यो सानोसानो मोटरेश्वर महादेव नै बन्छ भनी व्यङ्ग्यपुराणमा नक्कली नारदले बताएको कुरा ठीकै हो । मन्त्र भने गुप्त हुने हुनाले मन्त्रीले गुप्त नरहून् पनि कसरी ! अनि म ठाडै खुट्टाले कविवर लम्बोदरज्यूकहाँ पुगेँ । निकैबेर चोक कुरेपछि झ्यालमा एउटी महिला देखिइन् । मेरा विचारमा सायद उनी कविनीज्यू नै हुन् जस्तो लाग्यो । तर आफूले मुख बाउन नपाउँदै उनले मलाई को, कहाँबाट, कसलाई, किन, कसले पठाएको, के नाम, के लिएर इत्यादि पच्चीस ककारका प्रश्न सोधिहालिन् । मलाई पनि पच्चीस ककारको जबाफ पच्चीस मकारबाट दिऊँ कि जस्तो लागेको थियो तर ठूलाबडा भनेपछि निहुरमुन्टी ‘न’ हुने आफ्नो संस्कारले त्यो गर्ने आँट आएन र विनयपूर्वक सबै जवाफ दिएँ ।

आखिर उनले एकछिन पख्ने आज्ञा दिइन् । म पनि जरसाहेबको चाकरीमा आएको आठपहरिया ठुटो चुरोट सल्काएर बसें पटाङ्गिनीमा । नौ बजेसम्म सुकला हुने कविज्यूको बानी त मलाई थाहा थियो, तर आज विशेष कविता लेखिएछ क्यार भन्ने ठानेर पर्खिरहें । एक घण्टापछि ‘उहाँलाई आराम छैन रे, के काम हो, भोलि पाल्नोस्’ को जबाफ पाएँ । अड्डाखानाको हाकिमी तारिखले कविज्यूलाई पनि छोपेछ जस्तो लाग्यो र फर्कें लुत्रे कान लाएंर । त्यताबाट सरासर व्युटीफूलप्रसाद लेखकज्यूकहाँ पुगेँ । उहाँको चोकमा पुग्नेबित्तिकै यस्तो रसिलो स्वाद कानमा पर्‍यो-

महिला आवाज : त्यही भक्तिनी मैयालाई ल्याएर राख्नू के ।
पुरुष आवाज : वाह्र सत्ताइस कुरा नगर कान्छी, तेरो पनि जेठीकै जस्तो गति होला ।
महिला आवाज : होला के ? हुन्छ नै भन्नोस् न । एकातिर कुमारग्रह उतारेकी जेठी दैलादैलामा कहतारो लिएर खान्छे, अर्कोतिर प्रेमविवाह गरिटोपलेकी मेरो गति यस्तो छ लेखक साहेबको पुरुषार्थ भने…… ।

पुरुष आवाज : धेरै चोथाले नवन् कान्छी !
महिला आवाज : आफूले लेखका पोतापाथ्रा सबैमा आगो लगाएर यी दसौटा भन्टयाङभुन्टुङलाई पनि फ्याँकिदिनोस टुकुचामा लगेर… ।

यति सुन्नासाथ ठूलावडा घरका लोग्नेस्वास्नीको घरझगडा सुन्नु हुँदैन जस्तो मलाई लाग्यो । जोईपोइको झगडा देवताको पालादेखि चल्दै आएको कुरा हो भन्ने ठानी म ठाडै खुट्टा फर्कें । आफूलाई अरु थोकभन्दा पनि बाह्र बजिसक्यो, न टी-पार्टी सिद्धिसक्यो कि भन्ने डर लागेर आयो र सरासर पुगेँ उनै नेताकहाँ ।

गजुरेल काजी पहिलेका मामुली च्याङ्ग्रे काजी भए तापनि अहिले ठूलाबडा नेतामै गनिएका । नेता पनि चानचुने पार्टीको हो र ? अखिल नेपाल जनता जनार्दन परिषद्का पमौनेन्ट सभापति । ठूलो विन्द्राली भएका मान्छे हुनाले उनको पार्टीमा जथाभावी सदस्य पनि थिएनन् । छोरीका जेठाजु महामन्त्री, छोराका जेठान अर्थमन्त्री । कार्यसमितिका सदस्यमा भान्दाइ, सादाज्यू ज्वाईं आदि पन्ध्र जना । जे होस्, तीन जनाको त पार्टी खुल्ने ठाउँमा यतिका सदस्य हुनुलाई नेताको चानचुने जनप्रियता त भन्नु हुन्न है । अँ, माथि सिलिप पठाएर तल पर्खिरहने मजस्तै त्यहां बाह्ऱ जना थियौं । ठूलाबडा नेताकहाँ आउने जानेको के लेखो ! यी सबै राजनीतिक शिक्षादीक्षा लिन आएका होलान् भन्ने सम्झेर म पनि चुपचाप पर्खिरहें । धेरैबेरपछि ‘नेताज्यू बाहिर’ भन्ने सुनियो । अनि आगन्तुकमध्ये कोही मेरो दूधको पैसा लिनुथ्यो, धाउँदाधाउँदा दुई महिना भयो भन्दै हिंडे । कोही ‘जग्गा किन्ने सल्लाह गर्न आएको भेट भएन’ भन्दै उठे । कोही बिहाका कुरालाई आएका रहेछन् भने कोही जागिरका बारेमा । अरू त फर्के, तर आफूलाई भने डर लाग्दै आयो । न टी-पार्टी अहिल्यै रहेछ र नेता उहीं गएका हुन् ? जाडै महिना भए पनि निधारमा चिटचिट पसिना चुहाउदै म पनि लागें वाटातिर ।

अब कसको साथ लागेर जाउँ भन्दै थिएँ ‘नारी समुद्धारिणीसभाकी नेतृ पेरिसकी पुतलीझैं ठाट्टिएर रिक्सामा आउँदी रहिछन् । ठूलाबडाको नाताले दुई फिट नुही नमस्कार गरें र अब यिनैसित कुरा फोर्नुपर्‍यो भन्ने सोच्दै थिएँ, ढोग पनि नफर्काएर गुडिन् उनी त । आखिर मैले पनि त उनका कैयौ. सेक्रेट काम गरिदिएको थिए नि, आज मेरो यत्रो अपमान ! सोच्तै थिएँ दैनिक ‘घण्टाघर’ का प्रधान सम्पादक भेट भए । भेट्नासाथ उनको लुज ब्रेकको साइकिल समाएर सोधिहालेँ- आजको पार्टी कति बजे सम्पादकज्यू ? उनी एकछिन जिल्लाराम परे र मैलाई सोधे- “के पार्टी हँ ?” पत्रकार भएर पनि समाचार थाहा नपाएकोमा मलाई हाँसो उठ्यो । तैपनि मतलब सोभ्याउँदै कुरो छलेर सोधें “यस बेला कताको साइकिल रेस हो नि यो ?” उनले अलि लजाएर भने “अर्थसहायकज्यू ससुराली जाँदै हुनहुन्छ रे, उहाँलाई पनि उडाइदिऊँ, उहाँकी श्रीमतीज्यूलाई यो पोखराबाट झिकाएको एक धार्नी खुवा पनि पुयाइदिउँ भनेर एरोड्रमतिर लागेको । सम्पादकज्यू नाममा सम्पादकज्यू भए पनि कामका भने व्यवस्थापकज्यू मात्र थिए । कारिन्दाले बुद्धि खियाएर काम गरे हाकिमले जस पाउने चलनजस्तै उनले पनि कम नाम कमाएका थिएनन् । जे भए पनि मसँग जिभ्रो नचपाईकन आफू हिंड्नाको उद्देश्य बताएकोले उनको शिष्टताप्रति मैले पनि कतज्ञता प्रकट गर्नै पर्‍यो । आखिर एउटा न एउटा ठूलो हांगो नसमाए कसरी कम्पोजिटरको चित्त बुझाउनु, कसै न कसैका मखन्ड्याई नगर्ने यहाँ को छ र भन्ने सम्झी उनलाई मैले धेरैबेर अलमल्याइन ।

तीन बज्न आँटिसकेकोले म डब्बल मार्च गर्दै पुगें प्रगतिशीलज्यूकहाँ । रमाकान्त उपाध्याय ‘प्रगतिशील’ भनेपछि भर नेपालका प्रगतिशील ठिटाठिटीका गुरु न हुन् । मेरो त आफ्नै पुरेत मार्क्सवाद र पुरोहितवादको समन्वयात्मक सिद्धान्त बनाई दुवैतर्फ उत्तिकै चाख राख्ने उपाध्याय प्रगतिशीलज्यूकी भूतपूर्व श्रीमती अनि अप्रगतिशील परिछन् र बिचरालाई कत्रो आपत् ! तैतै मजस्तो साथी थिए र काँटछाटको साथसाथै साँठगाठ पनि मिलाइदिएँ । तर यो गुनपट्टि पटक्कै ध्यान नदिई म ढोकाबाट पस्नासाथ प्रगतिशीलनीज्यूले ‘उहाँ त हुनुहुन्न’ भनिदिइन् । तै प्रगतिशीलनी भएकीले दुई मिनेट पनि नपाएकोमा भने उनलाई धन्यवाद नदिई रहन सकिन्न ।

त्यसपछि अलि अघि बढ्दै थिएँ प्रसिद्ध कथाकार बाकटेज्यू र राजनीतिबाट पुल्टुङबाजी खाएर साहित्यिकमा परिणत भएका कामिनीकान्त काफ्ले दुई जना एउटै रिक्साबाट जाँदा रहेछन् । पेटभरि ढिंडो खान नपाएको मरन्च्याँसे रिक्सावालले एक जोर ठूलावडा विद्वान्लाई गुडाउन सकेको देख्दा आश्चर्य पनि लाग्यो, हाँसो पनि उठ्यो तर दुवै चोकलाई चून र सुर्ती चपाए चपाउदै डब्बल नमस्ते गरेँ । कुरो कन्तो हुन नपाउँदै भर्खर पेरिसबाट आएको फुर्कावाल कारले बेलाइती कुकुरले झैं कुइँकुइँ गरी झपारिहाल्यो ।

बिहानदेखिको व्रत, धूलाहार खाँदै पाँच बजे होटल र्‍वायलको मूल ढोकामा पुगी सुइय सुस्केरा हालेँ । सरासर भित्र पस्न लागेको त कहाँ पाइन्थ्यो ? ढोकेले ‘कार्ड साहेब कार्ड’ भनिहाल्यो । कतिपल्ट ‘सरी’ भन्नु ? ‘सरी’ त के सिरी,सेरी केही भन्दा पनि भित्र पस्न पाइएन। आफू गलफती गर्दागर्दै ठूलाबडाको बरियाँत निस्के झैँ मोटर साइकिल, रिक्सासहित रङ्गीचङ्गी लर्कन निस्किहाल्यो । मैले आफूलाई तीन पटक धिक्कारेँ । चानचुने मान्छे भएको भए त्यहीं डाँको छोड्थे होलान् तर म त ठूलाबडा जिन्दावाद भन्दै कुदेँ घरतिर । पार्टी खाएर आएको मान्छे हलुका खान पनि के जानु, तन्द्रङ्ग पल्टेँ खाटमा ।

अझै पनि टी-पार्टी भन्ने सुन्दा मुखबाट पानी उम्रन छाडेको छैन । पर्खूं, एक न एक दिन कसो नपाइएला ?

०००
‘काउकुती’ (२०१९)

फित्काैलीमा याे निबन्ध पाेष्ट भएकाे केही मिनटपछि मेसेन्जरबाट प्राप्त रचनाका सम्पादक राेचक घिमिरेकाे टिप्पणी :  भैरव अर्यालको नाममा निस्केको प्रथम हास्यव्यङ्ग्य निबन्ध यही हो । रचना पत्रिकाक‍ो प्रथम अङ्क २०१८सालमा प्रकाशित भएक‍ो ह‍ो यो निबन्ध ! हास्यव्यङ्ग्य लेखकको रूपमा भैरवक‍ो परिचयको आरम्भ यसै निबन्धबाट भएको हो !

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल