निर्वाचन प्रचार सामाग्री

विरामीको भेटघाट

‘नानी पप्पीलाई भुस्याहाले छोयो । इन्जेक्सन लगाउनु पर्ला जस्तो छ म हिँडे है । अँ एभोगार्डो ल्याउन ठीक पारेको थिएँ बिर्सेछु ।’ भाउजूको उदास स्वर निस्क्यो ।

काठमाडौँमा फोहोरको पहाड निर्माण भएदेखि नै लामखुट्टेहरूको खुसियाली शुरु भएको थियो । हैजा टाइफाइड र कोभिडलाई समेत माथ खुवाउँदै डेँगुले नै बाजी मार्यो । केही नबुझ्नेहरू डेँगु नियन्त्रणमा ठूला र शक्तिशालीका पहल भएन भनेर पनि चिच्याए । यस्ता जाबा डेँगुको नियन्त्रणमा ठूला र शक्तिधारी लाग्ने कुरै होइन । उनीहरूको इज्जत छैन र जाबो लामुखट्टे नाश गर्ने अभियानमा लाग्न ? उनीहरूका त न्यूनतम र अधिकतम कार्यक्रम हुन्छ । अधिकतम कार्यक्रममा आकाशका तारा झारिदिने हो न्यूनतम कार्यक्रम अन्तर्गत युवाशक्तिलाई नेपालमा नबस बरू सित्तैमा विदेश पठाइदिन्छु भन्ने हो।उनीहरूका काम त सत्ताका लागि क्रन्दन गर्दै गठबन्धन बनाउने, मोर्चा बनाउने, तालमेल, गठजोड गर्नेतिर समय लगाउने हो । नबुझ्नेहरूले कराए काग कराएजस्तै अनि भोक लागेपछि हराए ।

आफ्ना कुरा गरौँ । एकदिन हाकाहाकी लामुखुट्टीले माया गरी र डेँगु कोसेली दिएर ओछ्यानमा पुर्‍याइदिई । जन्ती, मलामी, डाक्टर कन्डक्टर, बाबुआमा, पत्नी, पति र छोराछोरी सबैको विराट रूप सामाजिक सञ्जाल भएको जमानामा म पो के कम ? मलाई पनि ढलायो मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई हार्दिक धन्यवाद भनेर आफू सुतिरहेको फोटो सञ्जालमा पोष्ट गरिदिएँ । पर्खनुस् त कान अलि वर ल्याउनुहोस् सुटुक्क भन्छु मैले फोटो पोष्ट गरेको पाँच घण्टासम्म त कसैले पनि कमेन्ट गरेको थिएन । त्यसपछि पहिलो कमेन्टमा आफैँले मलाई शीघ्र स्वास्थ्यलाभको कामना भनेर ठोकेँ । त्यसपछि भने डब्लु आर आर (विस र्‍याापिड रिकोभरी), शीका (शीघ्र स्वास्थ्यलाभको कामना), छिनि (छिटै निको होस्), टेसी (टेक केयर) आदि शब्दका कमेन्ट बर्सिन थाल्यो । ज्वरोले आँखा हेर्न हुँदैनथ्यो तर सामाजिक सञ्जालमा आउने कमेन्ट पढेर सुनाउन भनेर पत्नीलाई आग्रह गर्थेँ । एउटा कमेन्ट आयो भनेपछि मेरो शरीरको ज्वरो आधा लाइन घट्थ्यो । कमेन्ट सुनिसकेपछि भने बार बार एकसय चार । चार दिन ज्वरोसँग लुकामारी गरिसकेपछि ज्वरोलाई माया लागेछ अघाएको बाघले बाख्रो छोडेझैँ छोड्यो । यसो बस्न सक्ने भएँ । आफन्तहरू भेट्न आउनुभयो । सबैका बारेमा त भन्दिन केवल एकाध बिर्सन नसकिने भेटलाई मात्र सुटुक्क सुनाऊँ है त ।

काकी-
काकी आउनुभयो । ‘यो डेँगु आएरै छोड्यो ? हाम्रो माइकललाई डेँगु भएर ब्रान्डी हस्पिटलमा लगेको त्यो पनि आफ्नै कारमा । सात दिनसम्म ब्रान्डीमा राखेर ल्याएपछि अलि कम भएको छ । ब्रान्डी नलगेको भए के पो भइसक्थ्यो । तिम्रो काका हाच्छ्यूँ आए पनि ब्रान्डी पुग्नुहुन्छ । मलाई पनि यसो केही भयो कि ब्रान्डी जानुपर्छ अन्यत्र त विश्वासै लाग्दैन । आफ्नै कार भएकाले सजिलो भएको छ । आज पनि ब्रान्डी जानु छ ।’

काकीले छोरो माइकललाई डेँगु भएको विषयभन्दा पनि ब्रान्डीको ब्रान्डको प्रचार भट्याउनुभयो । मैले टाउको मात्र हल्लाइरहेँ । काकीले जिब्रोलाई थोरैबेर रोक्नुभयो । मैले थपेँ ‘हजुर ब्रान्डी त खानदानीय हस्पिटल हो नि । हजुरहरूजस्तो केबुलकार चढ्ने मान्छे ब्रान्डी नगएर शिर हस्पिटल केटु हस्पिटल त जानु भएन नि । प्रेस्टिजको सवाल छ नि हैन र हजुर ।’

‘केबुलकार होइन ।’ काकीले मलाई खिस्याउँदै भन्नुभयो ।
‘केबुलकार त हो नि काकी । अरूका कारभन्दा हजुरको कार विशेष प्रकारको छ । अरूका गुड्दा पनि घिसारिएको जस्तो लाग्छ हजुरको कार गुडेको भन्दा पनि उडेको जस्तो लाग्छ त्यसैले केबुलकार भनेको नि ।’ मैले मजैले फर्माएँ । काकी मुस्कुराउनुभयो र जुरुक्क उठ्नुभयो । ‘ला मैले त मेवा किनेको थिएँ कारमै राख्न भुलेछु ।’ उहाँले भन्नुभयो ।

‘काकी फेसबुकमा फोटो खिचेर पोष्ट गरिदिनुहोस् झन् सधैँलाई हेरिरहन हुन्छ ।’ मैले भनेँ । उहाँ मुसुमुसु हाँस्नुभयो र कारतिर बढ्नुभयो । कस्तो रमाइलो ! उहाँले तिमीलाई कस्तो छ भनेर पनि सोध्न भ्याउनुभएन । नसोधे पनि भेटेर त जानुभयो नि खुसी छु ।

फुपू-
काकी जानुभएको दश मिनेट जतिपछि फुपू आइपुग्नुभयो । फुपूसँगै भानिजभाइ पनि थिए । ढोका खोलेर भित्र पस्दा पनि मोबाइलमा टिकटक हेरिरहनुभएको थियो । म सुतेको नजिकै रहेको मुढामा ठोकिएर लड्नुभयो । ‘लौ न नि फुपू लड्नुभयो ।’ म चिच्याएँ । भानिज भाइले उठाउनुभयो । उहाँले लडेको स्थितिमा घुँडा मुसार्दै भानिजभाइलाई भन्नुभयो ‘मलाई उठाउनुभन्दा पहिले एउटा फोटो खिच्न, सञ्जालमा पोष्ट गर्न त काम लाग्छ ।’
‘त्यसो भए लडैकै अभिनय गर्नुहोस् ।’ भानिजभाइले भने । फूपूले त्यसै गर्नुभयो । भानिज भाइले फोटो सुट के गरिसकेका थिए फुपूले सोध्नुभयो ‘ए बाबु एउटा मिल्ने गीत के हुन्छ यसलाई टिकटक बनाउन ?’
‘मलाई नसोध कहाँ दुख्छ घाउ ।’ भानिज भाइ गुनगुनाए । फुपूका आमा छोरा टिकटकमा लाग्नुभयो ।
केहीबेरपछि फुपू झस्किनुभयो । ‘ए हे मैले किनेको हर्लिक्स त पसलमै पो छोडेछु ।’
‘केही छैन फुपू टिकटक बनाउँदा देखाउनु होला ।’ मैले सान्त्वना दिएँ । फुपूले तिमीलाई कस्तो छ भनेर सोध्न पनि भ्याउनु भएन विचरा सारै व्यस्त हुनुभयो र त्यतिकै बाहिरिनुभयो ।

जेठानी भाउजू-
पाउजू बजेजस्तो आवाज आयो । कता कता बोली जेठानी भाउजूको जस्तो थियो तर चाल र ताल फरक । जेठानी भाउजू र उहाँको प्रिय पप्पीको प्रवेश रहेछ । उहाँको प्रिय पप्पी जिब्रो निकालेर हा हा हा गरिरहेको थियो ।
‘भाउजू पप्पीलाई पनि डेँगु भयो कि कसो ?’ मैले ड्याम्मै प्रश्न गरेँ ।
’लौ न नि के भनिबक्स्या होला । मेरो डियरलाई पनि कहीँ डेँगु हुन्छ त ?’ भाउजूले मुख बिगार्दै जवाफ दिनुभयो ।
‘अनि किन ह्या ह्या गरेको त ?’
’सधैँ कारमा चढेर हिँड्छ । घरमा पनि भर्‍याङसमेत चढ्ने बानी छैन । यहाँ लिफ्ट रहेनछ । हजुरको भर्‍याङ उक्लिनु पर्यो । थाकेर ह्याँ ह्याँ गरेको नि । बरु भन्नुस् यसलाई कहाँ सुताऊँ ?’ भाउजूले सोध्नुभयो । त्यही बेला मेरी उनी अर्थात उहाँकी नन्द आइपुगिन् ।
‘कुकुरलाई पनि कहाँ सुताउने ? बाहिर कौसीमा पठाइदिनुस् त्यहीँ सुत्छ भाउजू ।’ नन्दको चोटिलो प्रश्न र सुझाव एकसाथ आयो ।
‘नानी पनि के भाको ? मेरो पप्पी कौसीको भुइँमा गएर सुत्छ त ?’ भाउजूको मुस्कानबेष्ठित क्रोध निस्कियो । पप्पी भने म सुतेको ओछ्यानमा चढ्न खोजिरहेको थियो । म दिनेवाला थिइनँ । अन्ततः भाउजूले पप्पीलाई आफ्नै काखमा राख्नुभयो । उहाँको ध्यान पप्पीलाई सुताउनैमा नै केन्द्रित थियो ।

बाहिर सडकमा एउटा भुस्याहा भुक्यो । भाउजूको पप्पी पनि भौँ भौँ गर्दै बाहिर निस्क्यो । भाउजू र पप्पीको म्याराथुन चल्यो । सडकको भुस्याहाले भाउजूको पप्पीलाई आक्रमण गर्‍यो । भाउजू स्तब्ध हुनुभयो र पप्पीलाई समातेर कारमा राख्नुभयो ।
‘नानी पप्पीलाई भुस्याहाले छोयो । इन्जेक्सन लगाउनु पर्ला जस्तो छ म हिँडे है । अँ एभोगार्डो ल्याउन ठीक पारेको थिएँ बिर्सेछु ।’ भाउजूको उदास स्वर निस्क्यो ।
‘हुन्छ भाउजू केही छैन । एभोगार्डो यसपटकलाई पप्पीलाई नै दिनुहोस् फेरि खाऔँला ।’ पत्नीले जवाफ दिइन् । भाउजू कारको हर्न फुक्दै बाहिरिनुभयो ।

साथी-
मेरो एउटा साथी छ स्कुलमा सँगै पढ्दाको । त्यतिबेला प्रवेशिका परीक्षामा उत्तीणर् हुन नसकेपछि उसको दिनचर्या किसानजस्तो पवित्र पेशामा समर्पित छ । म विरामी भएको कुरा सुनेर ऊ तीन घण्टाको मोटरबाटो पार गरेर आएछ । ढोका खोल्नासाथ उसलाई देखेँ । ऊ पसिना पसिना भएर आएको थियो । किनभने ऊ आफ्नै दुई खुट्टे कारमा थियो । उसले ढोकामा उभिएर मलाई हेर्‍यो । जुत्ता पनि नफुकाली भित्र पस्यो र मलाई अँगालो हाल्यो । उसको शरीरबाट पसिनाको गन्ध आइरहेको थियो मलाई त्यो सुगन्धित वासनाको अनुभव भइरहेको थियो । भाउजूले ल्याउनुभएको पप्पीको दुर्गन्धलाई साथीको शरीरको पसिनाको गन्धले निस्तेज बनाएको अनुभूति भयो ।

‘कस्तरी दुब्लाइछस् ?’ साथीले निधार गाला र हात छाम्दै भन्यो । म बोलिनँ उसले केवल मलाई मुसारिरह्यो । ‘अरूलाई डेँगुबाट बच्न पर्छ भन्थिस् तर आफू सुरक्षित हुन सकिनछस् ।’ उसले कौसीमा गएर हात धोयो अनि झोलाबाट एउटा मेवा निकाल्यो । उसले मेवाको आंशिक भाग ताछ्यो । म एकोहोरो हेरिरहेँ । मेवाको एउटा चिरालाई ससाना टुक्रा बनायो र मलाई एक एक टुक्रा मुखमा राखिदिँदै भन्यो ‘तेरो साथीले ल्याएको यत्ति हो ।’
उसले मेरो मुखमा मेवा राखिदिँदा मेरा आँखा रसाएर आए ।

‘यी आँखालाई एक छिन रोक त ।’ उसले भन्यो र आँखा पुछिदियो । उसले टुक्रा बनाएको मेवा खाएर सिध्याएँ । ऊ मुसुक्क हाँस्यो । ऊ हाँस्दा उसका आँखा पग्लिएका थिए । हामी एकले अर्काको आँखा पुछ्यौँ । यो दृश्यलाई मेरी पत्नीले क्यामरामा कैद गरिछन् । साथीले मेवा खुवाएको दिनदेखि म उठेर हिँड्ने भएँ ।

मैले मेरो विरामीपन र भेटघाटको घटना सुनाएँ । आशा छ तपाईंहरू विरामी पर्नुभएको छैन । विरामी पर्नुभएका कसैको यस्तै प्रकारको अविस्मरणीय भेटघाट छ भने सुटुक्क लेख्नुहोला है ।
अस्तु

०००
धादिङ

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
दशा

दशा

हरि खनाल
नेतायन

नेतायन

हरि खनाल
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल