निर्वाचन प्रचार सामाग्री

महाकविको संसार यात्राः एक व्यङ्ग्यानुभव

डिभी परेन भन्छौ, छैनौ म झैँ सुखको धनी । यस्ता देशप्रेमी मिल्दैन संसारभरि कतै पनि । लाज हुन्न यिनलाई बरू च्यातिएर जाङ्घे । सर्वसम्मत भयो एउटा मुस्ताङ्गे, मनाङ्गे ।

महाकविको सिको
महाकवि लक्ष्मीप्रसाद देवकोटा संसारका एक सय एक विद्वानभन्दा अघि सोच्ने गर्थे । छिमेकी मुलुकमै हेरौं न ।
“हम पागल नही है भैया हमारा दिमाग खराब है ।” हाम्रा महाकविले पागल कविता लेखेको जुग बितेपछि बलिउडमा यो गीतले धमाका पिट्यो । यतिखेर देवकोटा पब र रेष्टुराँतिर जान्थे भने ‘पागल नभन मलाई, बुझ न मेरो परिस्थितिलाई’ गाउँथे होलान् ।

ऊ बेला पनि निल आर्म्स्ट्रङले चन्द्रमा चढ्नुअघि देवकोटालाई चिठी लेखे होलान् । जहाँ यस्ता विषयवस्तु उल्लेख हुँदो हो-

प्रिय देवकोटा,
तपाईंको कविता मैले अक्षरस पढेँ । आफ्ना श्रीमती, बालबच्चा खुशीले बाँचेकै थिए । अमेरिकी पाइलट भएर काम गर्दा मलाई पनि आर्थिक र सामाजिक हिसाबले राम्रै सम्मान थियो । अब म बहुलाएँ । तपाईंकै भाषामा पागल भएँ । संसारकै चकित काम गर्ने मानिस पागल नै हो ।
कुरा के भने तपाईंको पागल कविता पढेपछि म झन् पागल भएँ । यस्तै तपाईंले लेखेको कविता प्रश्नोत्तरको एक अंश ‘उद्देश्य के लिनु उडि छुनु एक’ पढेपछि मलाई चन्द्रमा छुने भूत चढेको हो । यहाँलाई हार्दिक धन्यवाद ।
बाँकी कुरा फर्की आउन सफल भए भेटमा  गरौंला ।

उही तपाईंकै
निल आर्म्स्ट्रङ

संरक्षणवादी देवकोटा
देवकोटा चुरोटको अम्मली थिए भनेर निकै पढ्दै सुन्दै आएका हौं । त्यही पढाइले देवकोटालाई अम्मली थिए भनेर मात्रै चिन्नेहरू पनि होलान् । उनको सिर्जनामा त्यसलाई जोड्न लाग्यौं भने उनको साहित्य सिर्जनालाई पाखा लगाएसरह हुन जान्छ ।

अहिलेजस्तो ल्यापटप, स्मार्टफोन हुँदो हो देवकोटा दिनमै कविता टाइप गरेर हार्डडिस्क फुलका फुल बनाइदिन्थे होलान् । साहित्य रचनाका स्टाटसले फेसबुक र ट्विटले ट्विटर खचाखच हुन्थ्यो होला । इन्स्टामा डिजाइन डिजाइनका कविताका तस्विर र टिकटकमा अडियो र भिडियो कविता अनि युट्युबमा कथा र निबन्धहरू डङ्गुरका डङ्गुर हुन्थे होलान् । उनी पनि कविता कन्सर्टमार्फत् सेलिब्रेटी बन्थे होलान् । फ्यानहरूले भाइरल कवि भन्थे होलान् । विदेश त उनी उबेलै पनि साहित्यका सिलसिलामैं पुगेकै हुन् । कविता सुनाउँन चन्द्रमा नै पुग्थे होलान् ।

उतिखेर चुरोटको बट्टाभित्रको सादा भागमा कविता लेखेबाट देवकोटाबाट संरक्षण र सदुपयोग कसरी गर्ने भन्ने सिक्न सकिन्छ । हामी आजकाल कविता सिक्नुभन्दा अघि ट्याबलेट र इन्टरनेट अनिवार्य मानिरहेका छौं । लाख लाखको आइफोन बोक्नेहरू सामाजिक सञ्जालमा फोटो राख्दा क्याप्सन पनि अरूका चोरिरहेका छन् ।

देवकोटा गरीब थिए भन्ने गरिन्छ । एउटा महाकवि कसरी गरीब हुन सक्छ । देवकोटाका समयमा नेपालका अधिकांश जनता गरीब थिए । यदि उनी ती आम भूइँमान्छेभन्दा धनी हुन्थे भने प्लटिङ व्यवसाय, शेयर मार्केट, सपिङ मल निर्माण र ठेक्कापट्टातिर लाग्थे होलान् । यसर्थ देवकोटाले आफ्नो जीवन जुन तरिकाले बिताए पनि उनको गरिबीले नेपाली साहित्यलाई अत्यन्त धनी बनाएको कुरालाई कुनै व्यङ्ग्यास्त्रले प्रहार गर्न सकिन्नँ । देवकोटाको गरिबी बारे कहिल्यै लेख्नु नपरोस् । आर्थिक रुपले पनि काठमाडौंमा तीनतले घर भएका देवकोटा गरीब थिएनन् । उनको जीवन अव्यवस्थित भने अवश्य भएको हुनुपर्छ । झनै सिर्जनाका हिसाबले त उनी अत्यन्त धनी व्यक्तित्व थिए ।

११ वर्षको उमेरमा एकैपटक ५ कक्षामा अध्ययन गरेका देवकोटा ८ कक्षा पढ्दापढ्दै ९ कक्षामा उक्लिएर पढ्ने अवसर पाएका थिए । अहिले हामीले अबलम्बन गरिरहेका संसारको थुप्रै नक्कली शिक्षा प्रणालीलाई उनले सिधै चुनौति दिएकै हुन् । आरन देखेर दङ्ग पर्ने विज्ञान प्रविधिमन्त्री रहेका देशमा उतिखेर पहिलो बिए पास गर्ने नागरिक शिक्षामन्त्री बनेका थिए ।

आजकाल सामाजिक सञ्जालमा लेखेका, सरकारका कार्टुन बनाएका, सामाजिक, धार्मिक व्यङ्ग्यवाण सहन नसक्ने हामी जनता अनि हामीले बनाएका हाम्रै हैसियतका शासकले बेलाबेलामा कलाकार, साहित्यकारलाई थुनाउने काम गरेकै छ । खोजपत्रकारिताका पत्रकारले पिटाई खानु सामान्य छ । बौद्धिक जमातलाई डलरे उपनामले नानाभाँती गाली गर्नु दैनिकी बनेको छ । कसैका आलेखबाट सारेको दुइलाइन फेसबुक स्टाटस भाइरल बनेको छ । उबेला देवकोटाको बौद्धिक चेत सहन नसकी शासक भीम शमशेरले पुस्तकालय खोल्ने कसूरमा देवकोटालाई दण्डित गरेकै पनि थिए । अहिलेका शासक पनि त्यहाँभन्दा अलिकति माथि उठ्न सकेका पाे कहाँ छन् र ?

नवीन विषयमा चासो
भानुभक्तकै पालामा देवकोटा शिक्षामन्त्री बनेका भए के हुन्थ्यो होला ? दिमागमा कता कता प्रश्न उब्जिन थाल्छ । बौद्धिकताले भरिपूर्ण भै नेपाली साहित्यका कुबेर लक्ष्मीप्रसाद देवकोटासँग फेसबुकमै च्याट गर्न सकिन्थ्यो । क्याफेतिर भेटघाट गर्न सकिन्थ्यो । चिनो साटासाट गर्न सकिन्थ्यो । फेसबुक, युट्युब र टिकटक लाइभमा भेट हुन्थ्यो । जुम र गुगलमा अघौंची कथा कविता सुन्न पाइन्थ्यो । हाइ हाइ अंग्रेजी निबन्ध सुनिसकेपछि सेल्फी खिचिन्थ्यो, अर्को भेटमा भुसुक्कै बिर्सिइन्थ्यो ।

अझ नेपालमा बेला बेलामा भैरहने संसद विघटन, चुनावमा हुने खर्च, रोजेर पठाएको नेताको बदमासी, ठेकेदारको मनोमानी, गुण्डाहरूले पाएको राजनीतिक भर्‍याङ, महँगो शिक्षा र स्वास्थ्य बारे देवकोटा यस्ता कविता लेख्दा हुन्-

डिभी परेन भन्छौ, छैनौ म झैँ सुखको धनी
यस्ता देशप्रेमी मिल्दैन संसारभरि कतै पनि ।
लाज हुन्न यिनलाई बरू च्यातिएर जाङ्घे
सर्वसम्मत भयो एउटा मुस्ताङ्गे, मनाङ्गे ।

एउटा साहित्यकारले गरीब, शोषित, पीडितहरूलाई पात्र बनाएर लेख्दै गर्दा आफ्नो दैनिक जीवनचाहिँ कस्तो रहेछ भन्ने आम चासो हुनु स्वभाविकै हो ।

यो युगमा देवकोटा रहेका भए उनका कविता फेसबुकमा राखिने फोटोका क्याप्सन भएर बजार बजारमा चर्चामा रहन्थे होलान् :
कुन होटलमा जान्छौं यात्री,
कुन तरल पिउने हो,
मेनु पल्टाई के के मगाउने
साथ कसोरी लाने हो ।

नेटफ्लिक्समा देवकोटा
कुरा भानुको मात्रै होइन । सूचना प्रविधिको प्रयोग सामाजिक सञ्जाल, सर्जकहरूको पहुँचले बालकृष्ण समका नाटक, विपि कोइरालाका कथाहरू एसिया पार गर्दै युरोप, अमेरिकी साहित्यप्रेमी पनि लोभिन्थे होलान् । जनकवि केशरी धर्मराज थापाले “हाम्रा तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा” गाउँदाताका इन्टरनेट भएको मोस्ट भ्यूअर्स विधामा गिनिजका आधाआधी भाग त हाम्रै रेकर्डहरूले भरिन्थे होलान् । त्यसो त “हो हो माले हो हो“ भन्दा थापा बामपन्थी होलान् कि भन्ने पनि लाग्न सक्छ । “हो हो तारे हो हो” भनिएकोले पनि तारावाला पार्टीलाई समेत स्वीकारेकाले उनले कम्युनिष्ट र प्रजातान्त्रिक दुवैलाई बराबरी ठाउँ दिएका रहेछन् भन्ने अर्थमा उनीमाथि लागेको आरोप फिर्ता हुनुपर्दछ । कि त देवकोटा नेटफ्लिक्सका पालामा जन्मिन पाएनन्, कि त नेटफ्लिक्स देवकोटाका पालामा जन्मिन पाएन । यदि देवकोटा यो समयमा हुन्थे भने हाम्रै मिङमा शेर्पाझैं नेटफ्लिक्समा छाउँथे । उनका रचनामा हलिउडका मुभी मेकरहरू लोभिन्थे । बलिउडले ससम्मान पद्मश्री दिन्थ्यो होला ।

ती सबैका अगाडि हाम्रा महाकविको कुन मन्दिरमा जान्छौ यात्री हामीमाझ चर्चित छँदैछ । उनले त्यति धेरै सन्देश दिँदा दिँदै पनि हामी उनकै सालिक बनाएर पूजा गरिरहेका छौं । यो जति व्यङ्ग्य के हुन सक्ला ?
जय सिस्नुपानी ।

०००
हेटौँडा

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल