निर्वाचन प्रचार सामाग्री

व्यङ्ग्यविनोदी देवकोटा : केही झल्याकझुलुक

अनि उनलाई गुलेली मात्र हानेर चित्त बुझ्दैन र रन्कन्छन्- गोली हो यो गोली हो, तर कैयौं तोपले तह मिलाउन नसकेको मान्छेको समाजमा कविको बोली र कलमको गोलीले मात्र के गर्न सक्छ र ?


शिरमा ङ्याच्याक्क पारी लगाएको मखिबुट्टे टोपी र काँधमा सपक्क राखेको कैलो गलबन्दीले उनलाई साधारणतः एक पण्डितजीको शोभा दिइरहेका थिए । त्यसमाथि, सारस्वरसहित अर्थात् हात हल्लाई हल्लाई वेद पाठ गरिरहेको देख्ता उनलाई पण्डितबाजेबाहेक अरू कोही ठान्ने खण्डै थिएन । चार वेद नपढे पनि चार अध्ये वेद नपढेको बाहुन म कहाँ थिए र ? त्यसैले उनी वेद पढ्दै छन् भन्ने ठम्याउन मलाई गाह्रो परेन । गाह्रो त के कुरा बुझ्न पायो भने कत्राकत्रा कविहरूले कविता पाठ गर्ने ठाउँमा यी बाजेलाई वेद पाठ गर्न किन दिइएको हो ? ‘विराट् कविसम्मेलन’ मा ‘ह्वामहे’ को लेघ्रो !!! – कति असुहाउँदो ! सुन्नु न बुझ्नु अल्लारे हाँसो फुस्किहाल्यो, तर राम्रो खित्का छाड्न नपाउँदै कानले ठम्याएछ- उनले पाठ गरेको वेद हाम्रो जस्तै छैन वा !! बुझ्न त कुनचाहिँ वेदका कुनचाहिँ शब्दको पो अर्थ बुझिएको थियो र, तर पनि सुनाइ र घोकाइको अभ्यासले केही शब्दको चिनारी कसो थिएन भनूँ तर उनले पढेको वेदमा न ‘हरिओं’ थियो न ‘हवामहे’ । हामी ससाना ठेट्नैठेट्ना थियौँ, जिल्ल परेर सुनिरह्यौं । केहीबेरपछि बुझियो- उनले पढेको वेद संस्कृतमा होइन, अङ्ग्रेजीमा थियो सार र स्वर मात्र हाम्रो जस्तो ! तर मखिबुट्टे टोपी ढल्काएर अङ्ग्रेजी वेद भट्टयाउने यी महापण्डित को हुन् ? प्रश्न धेरैबेर प्रश्न रहेन । नजिक बस्ने भलादमीले बताइदिए- “द्यौकोटो भन्या यही हो द्यौकोटो !” उनले अझ प्रस्टीकरण थपे- “लक्ष्मीप्रसाद द्यौकोटो कवि” भलादमीका शब्द यस्तै थिए, केही ठर्रा, केही अप्ठ्यारा । तर हामीले प्रस्टीकरण मागिहाल्यौं, “ए लक्ष्मीप्रसाद देवकोटा ? मुनामदनका लेखक ?” हो मुनामदनका लेखक ।

तर मलाई पत्याउन धौधौ पर्‍यो किनभने लक्ष्मीप्रसाद देवकोटालाई एक पटक मैले खरीको बोटमुनि छात्र संघको उदघाटन भाषण दिन लागेको देखिसकेको थिएँ- कालो शेरमानी, सेतो ड्यौदा सुरुवाल, ठूलो निधार, मुन्द्रे कपाल… । उनी यीभन्दा अलि अग्लै पनि थिए कि ? मनमा एउटा वादविवाद चलिरह्यो- ती कालो शेरमानी लगाउने लक्ष्मीप्रसाद हुन् कि यी खैरो कोट लगाउने लक्ष्मीप्रसाद हुन् ? यत्तिकैमा आँग्ल वेदको पाठ सिद्ध्याएर उनी माइकनगिचैको ( सभापतिको) मेचमा थचक्क बसे, उदघोषकले आएर सुनाए अहिले सुन्दै हुनुहुन्थ्यो महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट वैदिक छन्दमा लेखिएको एउटा अङ्ग्रेजी कविता ।”

म छर्लङ्ग भएँ । कालो शेरमानी सल्ल बगेर खैरो कोटमा आत्मसात् भयो । पहिले देखेका र अहिले देखेका देवकोटा एउटै रहेछन् : प्रोफेसर देवकोटा र पण्डितबाजे देवकोटा एउटै रहेछन्ः जेन्टलम्यान देवकोटा र मखिबट्टे देवकोटा एउटै रहेछन्, कुञ्जिनीका झ्याउरे देवकोटा र सुलोचनाका ‘नवलय हन्त्री’ देवकोटा एउटै रहेछन्, ‘पागल’ का बौलाहा देवकोटा र ‘मार्ग’ का महात्मा देवकोटा एउटै रहेछन्, ‘दालभात डुकू’ का महादरिद्र र ‘गरीब’ का अद्वितीय धनी देवकोटा एउटै रहेछन् अनि एउटै रहेछन्- महाकवि देवकोटा र आधुनिक निबन्धकार देवकोटा ! सौन्दर्यका पुजारी देवकोटा र व्यङ्ग्यविनोदका चमत्कारी देवकोटा !

यो थियो सं. २००८ सालतिर जयवागीश्वरीमा आयोजित विराट कविसम्मेलनको एक हँसिलो संस्मरण ।

त्यसपछि २००८ देखि २०१६ सम्मको अवधिमा मैले देवकोटालाई धेरै पटक देखें । डिल्लीबजारको पसलमा क्याप्स्टेन एक बट्टा मागी पैसासैसाको हिसाब नगरी हिंड्ने ‘बुखारेस्टबाट फर्केर तीनधाराको चउरमा हँसाईहँसाई केरा खाएको अनुभव सुनाउने देवकोटाजी; त्यसै चउरमा शान्तिको गहन व्याख्यान गर्ने गम्भीर वाग्मी देवकोटाज्यू, ‘ट्युसनात् ट्युसनान्तरम्’ गरी जहान पाल्न घोक्रो बजाइरहेका देवकोटा गुरु, माननीय शिक्षामन्त्री देवकोटा, नेपाली एकेडेमीका सदस्य देवकोटा, उच्च निधारका हृष्टपुष्ट सधैंका ओजस्वी देवकोटा एवं ख्याप्ल्याक्क र जिर्लिङ्ग अवतारमा देउपाटनको पाटीमा कनिरहेका मर्ने अघिल्ला दिनका देवकोटा । तर जेजति पटक देखे पनि आफूलाई रमाइला उनै लाग्थे मखिबुट्टे टोपी र भण्डारखालमा अङ्ग्रेजी वेद सुनाउने लक्ष्मीप्रसाद र असङ्ख्य श्रोतालाई ध्यानाकृष्ट पार्दै नक्सालमा ‘पागल’ कविता पाठ गर्ने देवकोटा । त्यसैल ते देवकोटाको साहित्यसागरमा अरू सबै छोडी मलाई पहिलो तुलबुली लागेको छ- व्यङ्ग्यविनोदकै माछा समाउन ।


साँच्चै, देवकोटा नेपाली साहित्यका ‘औतारी लामा’ हुन्, उनी कहिले ढयाङ्ग्रो ठटाउदै भोटेसेलो गाउँछन्, कहिले सारङ्गी रेट्तै ‘गाइनेगीत’, कहिले स्वयं पागल छु भन्छन्, कहिले गाउँछन् ‘हुरीको गीत’ । लहडी स्वभाव, मयूरपङ्क्षी भाव र अध्ययन एवं अनुभवको व्यापक प्रभावले खारिएको देवकोटाको प्रतिभापुञ्ज एकातिर मुक्त उड्डयनशील छ भने अर्कोतिर व्यङ्ग्यविनोदी पनि । त्यसैले हामी आफ्नो सन्दर्भको श्रीगणेशाय नमः उनको श्रीगणेशाय नमः बाटै गर्न सक्छौं- “धेरै जना भन्नेछन् यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रुक हो ? तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यङ्ग्यसहितको मुस्कुराहटसाथ भन्दछ- महाशय ! या पण्डितजी ! म त हाँस्न, खेल्न र रमाउन जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईंको शास्त्र गह्रुङ्गो, मगज भारी झोक्राइ र रौं चिर्ने बहससँग मेरो गोरु बेचेको साइनोसम्म पनि छैन” यहाँ देवकोटा आधुनिक निबन्धबारे आफ्नो विचार व्यक्त गर्दै छन् । यसैबाट के स्पष्ट हुन्छ भने आधुनिक निबन्धका विभिन्न विशेषताहरूमध्ये व्यङ्ग्यविनोद पनि एक हो । यस विशेषतामाथि देवकोटाको थप विशेषता हो- गुरुगम्भीर विषय समातेर पनि व्यङ्ग्यविनोदलाई सँगसँगै लैजान सक्नु ।

“तरङ्गहीन, लहडशून्य, लटमुखा, गद्दू पुरुषहरूभन्दा त गाँजा खाने थर्डक्लास भलादमीहरू धेरै मजाका हुन्छन् । तिनीहरूको सानो कोठरीभित्र एउटा अलिखित साहित्य छ । त्यहाँ बसी तिनीहरू अविदितको यात्रामा चल्दछन् र यस्ता-यस्ता चुट्किला, रसिला खोज पत्ता पाउँछन् कि साधारण श्रोता चकित भएर उठ्दछन्, -कुनै हिँड्दाहिँड्दै यति हिँडेछ रे कि उसको सब जीउ पैतालादेखि खिइएर खालि टुपी लिखुरलिखुर गर्दै घर आइपुगेछ रे !” (‘कल्पना, लक्ष्मी निबन्धसङ्ग्रह, पृष्ठ ८)

हिंड्दाहिंड्दा पैतालादेखि सब जीउ थिएर निशुरनिखर गर्दै घर आइपुगेको टुपीको कुरा सुन्दा त स्वाभाविकै हो, गँजडीलाई तेस्रो दर्जाको भलादमीत्व पहिराउँदै लहडशून्यलाई चौथो दर्जासम्म पनि नदिई गद्दु पुरुषमा गनिदिएर उनले यहाँ गजबको व्यङ्ग्य सिर्जना गरेका छन् । व्यङ्ग्य र विनोदको यो हातेमालोले कल्पनाजस्तो भाव गम्भीर निबन्धमा पढ्ने बुझ्ने सुविधा दुवै दिएको छ । यस्तै अर्को एक टुक्रा हेरौँ “मनै तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के भर्नु ?… म मैजस्तो छु, अरूजस्तो छैन । मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लगाउनु पर्दैन” यसमा अलङ्कारपन्थी, अनुकरणशील र टाईंफुईं साहित्यकारहरूको वानीप्रति केही कटु प्रहार छ । ‘तीन मासा’ र ‘खुर्सानीको माला’ जस्तो प्रतीकले त्यस कटुमा विनोदको मधु पनि थपेका छन् ।

यसरी कटुमधु ट्वाक्क मिलाएर साँधेको मिट्ठी अचारजस्ता अनुच्छेदहरू उनका धेरै निबन्धहरूमा पाइन्छन् जसले निबन्धको रोचकता बढाउनुको साथै लक्ष्मीप्रसाद देवकोटाको व्यङ्ग्यविनोदी विशेषता टड्कारै झल्काएका छन् । यिनका अतिरिक्त ‘धूम्रपानसित क्षमायाचना’, ‘कविराजको च्याङ्ग्रे खच्चर’ जस्ता केही पूरै हास्यव्यङ्ग्यात्मक निबन्धहरू पनि पत्रिका र पुस्तकका पत्रतिर यत्रतत्र भेटिन्छन् । धूम्रपानको समर्थनमा उनको विनोदी बसिलाले ताछतुछ पारेर तेस्र्याएका तर्कहरूमध्ये एउटा यो पनि छ “सर्पजस्ता विषालु कीराहरूलाई धूवाँ देखाएर धपाइन्छ, कारण उनीहरू धूवाँदेखि डराउँछन्, त्यसैले धूम्रपानदेखि डराउने मान्छे सर्पजस्तै डरलाग्दा हुन्छन् ।”

‘कविराजको च्याङ्ग्रे खच्चर’ बाट एक टुका पढिहालौँ- ‘शङ्कर साँढेमा चढेर कसले निन्दा गर्न सक्यो ? गणेशजी मुसामा चढेर साना भएनन् । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदै छन् भने हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न नआउने को होला ? फेरि, पहाड चढ्दैमा मान्छे ठूलो हुन्न । नत्र लेकका मान्छेहरू सर्वोच्च सम्झिइनुपर्ने हो ।… यस्तै सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रे झोक्रुवा मिजासको जन्तुलाई पयरको ऐडी र लगामको झटारोले अगाडि बढाउँथे- लिखे टुकटुकरमा- र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्दथ्यो कि हजारौं गोडाहरू उचालिदै पछारिदै ठक्कर ठेस खाँदै वाहन बिना बागवजारको सडकमा रंगमगिइरहेछन् ।”

च्व ! बिचरा कविराज बाजे, एउटा च्याइये खच्चरमा कति आत्मतृप्त ! उचालिदै पछारिँदै ठक्कर-ठेस खाँदै रँगमगिएका हजारौं गोडाहरूका बीच खच्चरकै भए पनि ऐडीमा झुन्डिएका उनका एक जोर गोडा कति श्रेष्ठ, कति उच्च ? धन्य धन्य, परपीडाजन्य आत्मसन्तोष, कति टीठलाग्दो, कति हाँसो उठ्दो ।

निबन्धका यी व्यङ्ग्यविनोदी झल्याकझुलुक कवितामा झन् फराकिन्छन् । बोके प्रेम र बक वेदान्त दुवैलाई उडाउँदै लेखिएको उनको एउटा कविता छ ‘बोके प्रेम’ । एउटी मैयासाहेब कोही नपाएर बोकासित प्रेम गर्छिन्, तर जब बोको काटिएर कसौंडीमा पर्छ, त्यहाँ प्रेमको त्यागपक्ष र वेदान्तको साक्षात्कार पक्ष छड्किन थाल्छन्, अनि मैयाँसाहेब चौटा लुछ्ते प्रेमको आदर्श गाउँछिन्-

‘मासु मासु मज्जा
बोसो बोसो रसमा रस
मिल्ला जो जो प्रेम गरीकन
कविहरू गाउलान् त्यसको यश
बोके ‘रुनु’ भो रुनु बोके भै,
मिलन हओस् ता यस्तो मिलन
प्रेम कहानी अरू सब फोस्रा
सच्चा दिलको यही हो चलन’
(‘रचना’, पूर्णाङ्क ७)

यहाँ व्यङ्ग्यभन्दा बढी विनोद छ, यस्तै एउटा पुरानो कविता छ ‘एक डल्लो आलु’ जसमा नेपाली साहित्यका एक आधुनिक प्रयोक्ता कवि विनोदका प्वाँख फिरफिराउँदै उडेको छ-

‘के गर्छौ गुन्टु ?
अनि बहिनी डल्ली के गर्छ्र्यौ ?
गुन्टु भन्थे- “कमाउँछु धेरै पैसा तराजु चढी
दुनियाँको”
डल्ली भन्थिन्- “काट्छु अलक मेरा एक धनीको
घर जान्छु । रातो फरिया खोर्सानीको चट्ट
परेको म लाउँछु,
घस्छु म पाउडर जीरा मरीचको”- इत्यादि
‘शारदा’ वर्ष ११, सं. ३।४

उनको विनोदी कविले शाकुन्तल महाकाव्यमा पनि मौका पर्नासाथ विनोद गर्न अल्सी मानेको छैन । दुष्यन्तलाई सिकारको धन्दा छ, उनकी सँगी भैखाएको बाहुनलाई चाहिँ खानाको बाहेक अरू केही धन्दा छैन । उसको न्युरोपन, डरछेरुवापन आदिको हाँसउठ्दो चित्रण शाकुन्तलको एघारौँ सर्गमा पाइन्छ । अझ हाँसउठ्दो प्रसङ्ग त भेटिन्छ पन्ध्रौं सर्गमा, जब उही खन्चुरो बाजे आफ्नी प्रियतमाको वियोगमा छटपटाउन थाल्छ । राजाले खोर्‍याउँदाखोर्‍याउँदा वल्लबल्ल प्रेमी बाजे आफ्नी प्रेमिकाको हलिया दिन्छ-

‘हाँडी नाम मुसोमयी मृदुमुखी
ती पुष्प भण्डार हुन्’
००
‘हा हाँडी मृदु यौवनी कुसुमकी
भण्डार प्यारी तिमी ।’

हाँडीको वियोगमा छटपटाएको निज ‘मकै चरी’ बाजेलाई सान्त्वना दिँदै राजा भन्छन्-

‘धन्दा छैन मिलाइदिन्छु सहजै
गाला रँगाईकन
गाला जोर्न लगाउनेछु दिलकी
त्यस्ती उज्यालीसँग ।’

यस्तै सुलोचना महाकाव्यमा शत्रुमर्दनको जङ्गी स्वभाव चित्रण गर्दै उनको गाली र गर्जनामा स्वाभाविकता भरेर देवकोटा हंसाउँछन्-
‘तँ काठो कन्धने को होस् ?
कात्तिके म अगाडिको
जवाफ लाउने ठूलो !
टपरे सोह्र श्राद्धको’


त्यसैले विनोदकै उद्देश्यले मात्र लेखिएको कवितासङ्ग्रह मनोरञ्जन एकपल्ट पल्टाउनु यहाँ बडी सान्दर्भिक होला ।

‘यहाँ हाँस्नलाई छ अल्पावकाश
लिई हात मौका खुलापेट हाँस’

‘भन्दै उनी ‘थालनी’ मै जीवनमा हास्यको औचित्य र आवश्यकता साँच्चै चित्तबुझ्दो रूपमा बताउँछन्-

’दुखी यो रुझेको जगत्मा मलीन
छ छायाँ झुकेकी, मुहारै छ दीन
यहाँ थप्नु के आँसु छायाँ खरानी
उज्यालो छरी चम्क चम्काइ नानी’
(‘मनोरञ्जन’, पृ. २)

मनोरञ्जनमा व्यङ्ग्यको भन्दा विनोदको मात्रा बढी छ भन्ने उनको भूमिकाको यसै वाक्यले प्रस्ट गर्छ- “हास्यरस यसमा प्रधान छ ।”

करुणरसी मुनामदन, शृङ्गाररसी शाकुन्तल एवं वीररसी महाराणा प्रतापका कवि देवकोटाले हास्यरसलाई कहिल्यै हेय ठानेनन्, उनको अनुभवमा- “हास्यरसमा पनि सत्यको उदघाटन हुँदो रहेछ ।” यस प्रसङ्गमा उनको ‘हास्यरस’ शीर्षक निबन्धको सम्झना हुन्छ । तर यहाँ हास्यवारे सैद्धान्तिक छलफलपट्टि नलागी मनोरञ्जनका निम्ति उनले निकालेका विचित्र माध्यमहरूको एक झलक लिऊँ- अश्रुहास, व्यङ्ग्यचित्र, गिज्यौली ढोलकी, उत्ताउली, पानी हाँसो, वृत्ति छाया, छोइ दिल्लगी इत्यादि । हास्यकविताका यी नवीन माध्यमहरूको नाम राख्ने र प्रयोग गर्ने पहिला कवि देवकोटा नै हुन् भन्नु अत्युक्ति होओइन ।

व्यङ्ग्यचित्र खिच्ने उनको खुबी ‘कविराजको च्याङ्ग्रे खच्चर’ मा पनि देखिएकै हो, ‘वकराबाबा’ मा झन् प्रस्ट हुन्छ-
’बाबा बोले लमसर्का ती
चट्का स्वरमा झट्कादार
यस दुनियाँमा धर्म मिठाई
भक्ति मिठाई लस्सादार ।’

शब्द, शैली र भाव तीनै स्रोतबाट यहाँ व्यङ्ग्य बहेझैं र हास्य चुहिएझैं लाग्छ । आदती स्वभावको विरोधी चेतनाबाट हास्यरसको सिर्जना हुन्छ भनी उनले भनेझैँ ‘नयाँ जमाना’ मा उनी आधुनिक सभ्यताप्रति हाम्रो आदती स्वभावले गरेको विरोध अभिव्यक्त गर्दै हँसाउँछन्-

‘नयाँ मेम छन् चट्ट काटेर बाल
धुवाँ फिफिराई घुमेका कपाल
डटी ह्याट व्यटुलेर जाँघे खुलायो
अनौठा जमाना नयाँ आज आयो ।

नवाफी रवाफी कवाफी छ नेता
विलासी गिलाँसी सुवासी विजेता
प्रजातन्त्रको ढ्वाँग रित्तो करायो
अनौठो जमाना नयाँ आज आयो’

यसरी एकातिर आधुनिकतालाई उडाउने देवकोटाज्यूले अर्कातिर कट्टरपन्थी ‘शठ पण्डित’ लाई पनि कम छ्याँसेका छैनन् त्यसैले मनोरञ्जन भित्रका कविता पढेर उनलाई कट्टर पुराणपन्थी वा आधुनिक रीतिछाडा भनी किटिहाल्नु हुँदैन । मनोरञ्जनको त उद्देश्य नै मनोरञ्जनभित्र सीमित मान्नुपर्छ, यसले देवकोटाका विचारको प्रतिनिधित्व गर्दैन ।

उपहास र दिल्लगी पनि एक सीमासम्म हास्यका साधकै बन्छन् भने यिनको माध्यम उनी किन नसमातून् । एउटा पहाडियाले राजधानी पस्ता पाएको विचित्र अनुभव ‘भ्यागुर नारान’ उपहासात्मक कविता हो । यहाँ पहाडिया केटो पाइलापाइलामा आफ्ना आदतहरूसितको विरोध पाउँछ । सुहागरातमा सजिएको बिछ्यौनाभित्र पस्न नसकी खाटमुनि निदाउँछ । किनभने-

’यसो पस्न खोज्छन् कतै छैन ढोका
घुमे चार तर्फै सबै तर्फ धोका
परे जिल्ल ती धेर नै बेर बोका
कहाँ सुत्नु होला ? सबै तर्फ रोक्का’

‘भ्यागुर नारान’ कथा हाँसउठ्दो, चरित्र र चित्र हाँसउठ्दा, शैली हाँसउठ्दो अनि दुई परम्परा नमिल्ने सभ्यताको अड्वाङ्गी सम्मीलन ! तब न उनले भने ‘उपहास-गिज्यौली’ ।

अर्को एउटा छोऊँ छोइ दिल्लगी, यसलाई व्यक्तिगत आक्षेप भन्ने पनि होलान् तर यो आक्षेप आक्षेप पाउनेहरूले पनि हास्नै पर्ने ढङ्गबाट प्रस्तुत छ । नपत्याए मनोरञ्जनमा प्रस्तुत केही वरिष्ठ नेपाली साहित्यकारहरूको शब्दकार्टुन पढ्न सक्नुहुन्छ ।

‘तिगडम्’ उनको तिक्खरो कविता हो-

’यस संसारमा बोको नबन
भोको नबन
चोखो नबन
तीन विशेष यी वर्जित धोखा !
असलीमा हो सफल हुनु नै
स्वर्गको ढोका
किन यो अभागी नाकको टुप्पो
तत्त्व अरूमा रगडम्
जाउँ बनारस, एक छ पारस
किल्ली त्यहाँ रे तिकडम्
सब लठ पारी
सब तिर चारं
आफू उतारं
खाँचो टारं
विनाश शीले इह संसारे
पाहि मुरारे
अब परिवार
विद्या, कला सब अकडं बकडं
किल्ली केवल सुन्दर तिकडं’
(‘मनोरञ्जन’, पृ. ८७)

यसरी ‘लाटाको तिर्सना’ देखि ‘यो युगलाई ढ्वाँग भनूँ कि ?’ भन्नेसम्मका थुप्रै कविताहरूमा कवि देवकोटाले आफ्नो कलमको मनोरञ्जक सीप राम्ररी देखाएका छन्; साथै जीवन र जगत्का बाह्य र आन्तरिक विकृति, विरोधाभास र ढोङहरूलाई उडाएका छन् ।

हो, मनोरञ्जनमा गुलिया लड्डु बनाउँदाबनाउँदै कतै काँठे कसारझैं ती कट्ठिएका पनि छन्, कतै शब्दैमा मात्र बाँचेका ’ढोलकी’ पनि तैपनि भन्नुपर्छ मनोरञ्जनले देवकोटाको विनोदी वा हास्यकविको अवतार राम्ररी देखाएको छ ।

एउटा आँखामा अन्तरवीक्षण र अर्कामा यथार्थान्वेषणशक्ति भएका देवकोटा एकातिर प्रकृतिका पत्रपत्र केलाएर मक्ख पर्छन् र भन्छन्-

‘तिम्रो गिदी छ साथी
मेरो मुटु
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ
म उसमा हेलेन र पद्मिनी पाउँछु ।’

अर्कातिर मानवीय प्रवृत्तिका चक्रवक्र देखेर स्वयं तिलमिलाउँछन् र भन्छन्-

‘जब भँगेरे-टाउके छापाको कालो मिथ्याले
मेरो विवेकवीरलाई
जाली झूठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी
सल्केका गोल झैँ राता ।’

नभन्दै जब दुष्प्रवृत्ति र दुराग्रहहरूले मानवताको बाटो बिथोलेको उनको ‘विवेकवीर’ ले अनुभव गर्छ, उनी गाला राताम्य पार्दै पड्कन्छन्-

‘गोली हो यो गोली हो !’

कति गोली उनले मानिसको मात्स्यन्यायी प्रवृत्तिमाथि ठोकेका छन्, कति गुलेली उनले समाजका विकृति, वैषम्य र विरोधाभासमाथि हानेका छन् । सीधासाधाले बाँच्न नपाउने मात्स्यन्यायमाथि गाली बर्साउँदै लुरे बच्चो पाउने बघिनीलाई बाघको स्वरमा उनले स्वयं छ्याँसिदिए-

‘ए तेरो छोरा त श्यालसिंग नाथे,
मेरै पयरमा लुटुपुटु गर्न पो खोज्छ ए
मान्छेको बच्चा जस्तो नाथे
मानौँ करुणा माग्ने मगन्ताको छाउरो जस्तो’

हुन पनि दुनियाँ हाँकडाँकको हो, निर्धादुब्लालाई यहाँ बाँच्ने अधिकारै छैन । त्यसैले नित्सेको गर्जनमा सही हालेझैं गरी देवकोटा वास्तविकताको तीखो गुलेली हान्छन्-

‘अर्काका रगतको छापा नमारी
जीवनको खै लाल मोहर !
कमजोरी हो खटिरो
फोर्न पर्छ फोहोर !’
(‘बाघले बच्चा किन खान्छ, शारदा, वर्ष १२ सं. १९५२)

रूप सानो होस् वा ठूला तर मान्छेको समाज मात्स्यन्यायले ग्रस्त छ । अन्याय, अत्याचार र शोषणको निर्मूल कहिल्यै हुँदैन । त्यसैले साँढेको शब्दमा कवि कुर्लन्छन्-

‘हेर ठिटा हो !
सुन जङ्गलको कानून
उसको सिंग छ उसकी स्वास्नी
ब्रह्मचारी मुडुला
जसले हाँक्यो, उसको पाक्यो
काँतरको हक थाक्यो ।’
(’साँढे’, छ्याकन, पृष्ठ १५७)

भन्छन्- कतिपय समाजमा दालभात, तरकारीबाहेक अरू सब सरकारी हुन्छ, देवकोटाको समाजमा दालभात, तरकारीको जुटान पनि सगरमाथाको चढानजत्तिकै दुरूह बन्दछ । दक्षिण-पूर्व एसियाभरका ९० प्रतिशत दालभात- पीडितहरूका प्रतीक कवि देवकोटा मान्छेको अन्तिम ’आँ’ मा पनि दालभात-डुकूको अतृप्त धोको बाएको देख्छन् र भन्छन्-

‘स्वर्गका है अधिराज हाम्रा
छैनौ चाम्रा
करुणा गर
पृथ्वीमा यो पाइएन, स्वर्गमा होला भनेर
अर्कोतर्फ धाइएन
आँ, आँ, प्रभु ! आँ आँ प्रभु
दालभात डुकू ! दाल भात डुकू !!“
(‘दातभात डुकू’, इन्द्रेणी, वर्ष १, अङ्क ४३)

आर्थिक होस् वा नैतिक, भौतिक होस् वा आत्मिक सबै क्षेत्रमा मानवोचित तह मिलेको देख्न खोज्ने कविको धोको सबैतिरका बेतहमा ठोकिएर चूर्ण हुन्छ । अनि उनलाई गुलेली मात्र हानेर चित्त बुझ्दैन र रन्कन्छन्- गोली हो यो गोली हो, तर कैयौं तोपले तह मिलाउन नसकेको मान्छेको समाजमा कविको बोली र कलमको गोलीले मात्र के गर्न सक्छ र ? त्यसैले कविलाई झोक उठ्छ र भन्छन्-

‘अलम् !
भाँचूँ भाँचूँ लाग्यो कलम् !
के यो नखरे गुण्डो होइन दुनियाँको साँप ?
कृत्रिमताको श्राप
के म गरिरहेछु यो सब कुरा वाफ ?’
(‘भाँचूँ कि मेरो कलम्’, शारदा, वर्ष १३, सं. ३)

हो, देवकोटा सभ्यताका विरोधी होइनन् तर कृत्रिमता उनलाई मन पर्दैन । उनी मानिसको हार्दिक विराटतामा आस्था राख्ने मान्छे आधुनिकताको प्रवाहले ल्याएका बोक्राहरूप्रति उनको रोष छ । त्यसैले आधुनिक शिक्षाले मान्छेमा निहित विराटता, भौतिकता र स्वतन्त्रताहरूलाई ठिङ्गुऱ्याएको छ भन्ने गुनासो गर्दै उनी लेख्छन्-

‘हाई हाई अंग्रेजी’
’गधा बुद्धिमान् कि गुरु ?’
‘भलाद्मी’

इत्यादि केही व्यङ्ग्यात्मक निबन्धहरू । ’गधा’, ‘भूतलाई झटारो’ आदि कतिपय कविताहरू । यी सबैको प्रतीक एउटै उदाहरण यहाँ टिपूँ-

“गधालाई गुरु मानेको भए मेरो दुनियाँमा यतिको आत्मपतन हुने थिएन तर मेरा गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो जसले अनन्तको मगजमा बोझा भर्दछ ।”
(‘लक्ष्मी निबन्धसङ्ग्रह’, पृ. १३४)

हामी जसलाई जान्नु भन्छौं, देवकोटा त्यसभन्दा माथि उक्लेर जान्नुलाई जोख्छन्; एकातिर कति सङ्कीर्ण छ आजभोलिको जान्नु, अर्कातिर कति बोझिलो छ केही जान्नु । मान्छेको विराट्सँगै फराकिएर मान्छेको अगाधताभित्र डुबुल्की मारी शाश्वत गीत सुसेल्न खोज्ने महाकविलाई यी दुवै थरीका जान्नुदेखि वैराग्य लाग्छ र उनी पुकार्छन्- “प्रभुजी ! मलाई भेडो बनाऊ ।” आफूले देखेजानेका कति सत्यहरू जब कार्यरूपमा देख्नभोग्न पाइँदैन, त्यसबाट मानिसको चेतन संस्थानमा पर्ने आघातहरू सहनुभन्दा चेतनमा बिर्को लगाएर निस्पट्ट हुनु बेस हैन र ? तर होइन देवकोटाको भेडो बन्ने पुकार त मान्छेको ज्ञान र कर्ममा देखिने भयङ्कर असामञ्जस्य एवं विरोधाभासप्रतिको एउटा ललकार हो । यसरी खोज्दै र खोतल्दै जाने हो भने देवकोटाले जीवत र जगत्का विविध पक्षमा व्यङ्ग्यको माध्यमबाट सामञ्जस्य र समीचीनता खोजेको देखिन्छ । त्यसैले भन्न कर लाग्छ देवकोटाले हास्यव्यङ्ग्यलाई केवल मनोरञ्जनमा मात्र नखुम्च्याई सत्यको उद्घाटन गर्न सक्ने क्षमता दिएका छन् र जीवन र जगत्का सर्वकोणीय उबडखावड छामी सामञ्जस्य र सत्य खोज्ने व्यापकता र गहिराइ दिएका छन् । त्यसैले भन्नुपर्छ उनको यो भनाइ उनकै रचनाहरूबाट साबित भएको छ- “सुधारक चैतन्यले सामाजिक वास्तविकताहरू उपहास बनाउँछ, र हृदयस्पर्शितासँग भावुक प्रेरणाले लहराए त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्छ ।” यो उनले हास्यरसले कवितालाई तल ओराल्छ भन्ने समालोचकहरूको भनाइमा टिप्पणी गर्दै भनेका थिए ।

त्यसैले यो प्रसङ्गको अन्त पनि उनकै एक श्लोक टिपेर गरे कसो होला ?-
‘हाँसो हो स्वास्थ्य मीठो हँसमुख दुनियाँ
रामका हुन् प्रजा रे
हाँसो हो आयु हाम्रो जिउनु हँसमुखा
मृत्यु हो म्लानता रे
+ +
आँसु हो कालवर्षा रतन लहर हुन्
मोतिका जिन्दगानी
+ +
हाँसो हो हंस हाम्रो जब पतन भयो
आँसुको जान्छ आस ।’
‘नवरस’, पृष्ठ १६९

०००
‘भानु’ देवकोटा विशेषाङ्कबाट
‘भैरव अर्यालका हास्यव्यङ्ग्य’ (भैरव पुरस्कार गुठी-२०६०)

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
टी-पार्टी

टी-पार्टी

भैरव अर्याल
नयाँ भाखा र नयाँ कवित्त

नयाँ भाखा र नयाँ...

भैरव अर्याल
लोकभक्त भानुभक्त

लोकभक्त भानुभक्त

भैरव अर्याल
जय भुँडी

जय भुँडी

भैरव अर्याल
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल