सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आधुनिक वाणप्रस्थ

हेर मैले मेरो फेल्डिङ दाँत राति फुकालेको समयमा यो गिजा भाउचर सकिएको मोबाइलजस्तो हुन्छ । बिहानै फेरि दाँत गिजामा फिट गरेपछि गिजा गजक्क हुन्छ ।

Nepal Telecom ad

श्रीमती दुर्गादेवीको चर्को स्वर कोठाभरि गुञ्जिन्छ -औ सुन्यौ ? औ….
सुनोस् पनि कसरी ? घरै थर्काउने गरी टिभी खोलेर बसेको छ ।

फेरि चर्को स्वरमा- औ बूढ़ो… तिम्रो कान हो कि बञ्चरो हो हौ हन । तिम्रो बोका बाकसको भोल्यूम अलिकति कम्ति गर । आफूले काम सुनेन भन्दैमा गाउ-घरकाहरूलाई पनि मोराले बहिरा नै ठान्दा हुन् क्यारे ! वल्लोपट्टि पल्लोपट्टिकाहरूका कान पनि खाइसक्यो होला ? हेर..हेर…यो बहिरो बूढ़ाले अहिलेसम्म पनि नसुनेका । यो बूढ़ाको कान पनि गएछ, टाउको पनि गएछ ।

दुर्गादेवीको गनगन यथावत् छ। लोग्ने बसेका बैठक कोठामा सरासरी पसी टिभीको कान निमोठ्छे ।
खाटमा ढल्केर टिभीमा टाँसिएको आँखा चिम्म नगरी मस्त भई टिभी हेरिरहेको बूढ़ा जङ्गबहादुर गर्जन्छ – ओ स्याट ! के गरेकी यो तिमीले ? एउटा इम्पोर्टेण्ट न्यूज हेर्दैछु । तिमीले टिभीको कान निमोठेर झ्याप्पै पारिदियौं ?

दुर्गादेवी बम्किन थाली- अँ…इम्पोर्टेण्ट न्यूज ! अचेलको न्यूज त्यै ता हो नि ! हत्या, काट्मार, राजनैतिक नेताहरूको एकार्कामा हिलो छेपाइ ता हुन्छ नि ! अरु के नै पो हुन्छ र ?

बूढ़ा गर्ज्याे : अरे लाटी ! डेङ्गुले हङकङमा कतिजना मरिसके अरे !
दुर्गादेवीको ओँठे जवाब- हङकङमा डेङ्गु हुन्छ तिमीलाई चैंं किन क्वाइँ-क्वाइँ नि !
-अरे तिम्रो यौवनकाल त्यहीँ बितेको होइन ? हङकङको माया लाग्दैन ?
– माया लागेर पनि के गर्नु ?
-कस्तो कुरा गरेकी दुर्गी तिमीले ? हङकङमा हाम्रा छोरा-बुहारी, नाता-नातिना छैनन् ?

-तिमीजस्ता लठुवा छन् कि क्या हो मेरा छोरा-बुहारी अनि नाता-नातिनाहरू ? उनीहरूले इम्पोर्टेणअट खबर जान्दैनन्? सुन्दैनन् ?

-हाम्रो यता कोराना हुँदा उनीहरूले हाम्रो खोज खबर लिए ? बूढ़ा आमा-बाबु मरे कि बाँचे भनेर एकदिन फोन गरे ?

-हामीलाई के भेट्थ्यो र कोरोनाले । हाम्रै कोरोनाले भेटेर उल्टा कुखुराहरू ठहरै भए । हाम्रा आमा-बाबालाई केही हुँदैन भनेर खोज-खबर नलिएका होलान् नि !

– अब हामी फाल्तु भइसकेका छौं ।

फोल्डिङ दाँत जिब्राले मिलाउँदै बूढ़ा जङ्गबहादुर बोल्यो- उनीहरूको पनि ता आफ्नै संसार छ… आफ्नै व्यस्तता छ । केटकेटीलाई पढ़ाउन व्यस्त होलान्, यो पो ता उनीहरूको इम्पोर्टेण्ट कुरो हो । अहिले हाम्रो वानप्रस्थ जीवन चल्दैछ । आ…. होस् है यी सबै थोत्रा कुराहरू लिएर टाउको दुःखाएर के नाफा ? यो समय माया-ममता सबै त्याग्नु उचित हो हामी दुइ लोग्ने-स्वास्नीले अब । यो उमेरमा त्यस्ता कुरा सोंच्नै हुन्न दुर्गी । अब यताउति मन ऩडुलाएर, बगम्फुसे कुराहरू केही नसोंची भक्कु धार्मिक पुस्तकहरू पढ ़। धृतराष्ट्र-युधिष्ठिरहरूले ता आफूलाई कति आदर गरेर राखेका थिए । अन्त्यमा आफूभित्रकै द्वन्द्व फ्लुले भाँड़भैलो मच्चिएन ता ?

-अचेल रामायण र महाभारतको युग छैन हजूर ।

-तिमीले महाभारत पढ़ेकी छैनौ मोरी ! यो सत्तरी वर्षको उमेरमा पनि तिमी मोडर्न फेशन डिजाइनका म्यागजिन हेछ्र्यौ… त्यो अलि कि ओलिफेमको क्याटलग मक्ख परेर हेछ्र्यौ । धारावाहिक तिमीलाई कण्ठस्थ छ । तर तिमीलाई महाभारतका कुन्ती, द्रौपदीबारे केही ज्ञान छैन ।

-तिमीले मलाई मात्रै देख्यौ मोरा ? तिमी चाहिँ नि…. ! तिमीले मलाई मात्रै देख्यौ ? जति उमेर छिप्पिँदै जाँदैछ त्यति तिमी एम टिभी हेछ्र्यौ । तरुणीहरूले कम्मर हल्लाएका आँ…गरी हेछ्र्यौ। म महाभारत-सहाभारत केई बुझ्दिनँ ।

-इण्टरेटेण्टमेण्ट कै के छ र भन ता दुर्गी ? टाइम पास गर्नुलाई मात्रै ता टिभी हेर्छु नि । टिभीमा तरुणीहरूले कम्मर हल्लाएका ता हेरेँ नि…तर कम्मरको लोभमा टिभीलाई नै च्याप्पै अँगालो ता हालेको छैन नि ! मैले टिभी हेरेको तिमीलाई आह्रिस लाग्यो भने लु अबदेखि टिभी हेर्दिनँ नि ता… भयो होइन ?

-किन नहेर्ने टिभी ? मेरो प्रश्न त्यो होइन…बुझ्यौ । तिमी टिभी पनि कहाँ राम्ररी हेर्छौ ता । घरै उचाल्ने गरी टिभीको साउण्ड खोल्छौ अनि आफू चैँ खाटमा ढल्किने निहुँमा ख्वार-ख्वारती झुल्छौ ।

-मेरी बास्सै ! खै कहाँ झुलेँ म ?

-ख्वार-ख्वार सुतेपछि झुलेको कहाँ देख्छ र अन्त ! पर्ख ल मेरो सुन बेचेर यो घरमा एउटा सिसी टिभी क्यामेरा ल्याएर राख्छु कि अन्त त्यतिबेला मात्रै ख्वार-ख्वारती झुलेको नझुलेको थाहा पाइहाल्छौ नि !

खोंचे थाप्दै बोल्यो जङ्गबहादुर – अनि तिमी सुत्दा घरै उचाल्ने गरी घुरेकी चैं ?

-हन म घुरेकी तिमी रातभरि नसुतेर सुनिबस्छौ कि क्या हो ?

-तिमीले घुरेकी जानी-जानी ता कहाँ सुनेको हो र मैले । तिम्रो घुराइले मेरो निंद्रा बिच्किएपछि तिम्रो घुराइ नसुनेर रातभरि के गरिबस्नु ? सुनसान रातमा तिमी घुर्दा कस्तो डरलाग्दो सुनिन्छ । फेरि राति तिमी दैला-खिड़्की डामडुम पारेर सुत्छु भन्छ्यौ मोरी । एकतिर दैला-खिड़्की डामडुम अनि अर्कातिर तिम्रो बमबलाष्टिक घुराइ कस्तो ‘इको’ हुन्छ दुर्गी तिमीलाई के थाहा छ ? त्यतिमात्रै कहाँ ? तिम्रो घुराइको आवाज बाहिर जान नपाउँदा आवाज जत्ति डल्लो परी थुरिएर मेरो कानको दुलामै पस्दोरहेछ । दैला-खिड़्की खुल्ला भए पनि तिमीले घुरेको आवाज बाहिर जानेथ्यो !

– ए बल्ल चोर समाते । अरु बेला बिजुलीको बील, ग्यास बुक गर्न जाऊ न भन्दा कान सुन्दिनँ गाड़ी-घोड़ाको डर लाग्छ भनेर टार्छौ अनि राति मैले घुरेको चाहिँ सुन्छौ होइन ?

– यो कान भन्ने कुरो नै यस्तै हो दुर्गीरानी । राम्रो कुरा पटक्कै सुनिँदैन तर नराम्रो कुरा भने ठ्याक्कै कानकै दुलामा थुरिन्छ अनि !

-कोनि कोनि… जति भएका कुराहरू तिमीलाई नै आउँदोरहेछ ।

-तिम्रो घुराइ ता भयो भयो रातभरि दारा किटेर वाक्कै पाछ्र्यौ मोरी ।

-मैले दारा किट्दा चाहिँ के भयो ? तिम्रो ता दाँत भए पो !

– किन मैले फोल्डिङ दाँत लायो भनेर तिमीले खिसी गरेकी ? अँ….खिसी गर्छ्यौ नै भने बाहिर टेरिसमा गएर जोर-जोरले कराऊ न… !?

– लौ…खिसी किन गर्नु मेरा पतिदेवलाई ? बिच्चाको कुरा नगर न । तिम्रो फोल्डिङ दाँतबारे खिसी गर्ने भए तिम्रो फोल्डिङ दाँत बुरुसले घोटो-घोटी सधैँ मस्कादिन्थे ? लु भन ता !

-ह्मँ….त्यसैको नाउँ ता हो अर्धाङ्गिनी । यी मेरा दुइ बहिरा कानहरू पनि फोल्डिङ् हुँदा हुन् ता दुवै कान फकलक्कै फुकालेर यसभित्रका कानेगुजीजति सबै निकालिदिन्थ्यौ होली हो कि ?

– छ्या ! निकाल्थेँ हुँला तिम्रो कानेगुजी । मलाई घिन् लाग्दैन होला नि हई !

– के को घिन्! अरे…..
कुरा काट्दै दुर्गा बोल्छे रुपीजस्तै बोल्छे – भयो…भयो…कुरा नगर । दाँत फोल्डिङ भयो भन्दैमा कान पनि फोल्डिङ ?
कानको कुरा मात्रै गछ्र्यौ दुर्गारानी ! म ता भन्छु, नाक पनि फोल्डिङ नै हुनुपर्ने ।
-कसको ? मेरो ?
-तिम्रो ता । कि तिमीले मेरो नाक भन्दैछ्यौ ?
– मेरो नाक चैं किन फोल्डिङ हुनुपऱ्यो नि !
– तिम्रो नाक ता फोल्डिङ हुनु एकदमै इम्पोर्टेण्ट छ ।
– किन ? किन ?
– किन र ? अरु बेला जेजस्तोसुकै होस् तर कम्तिको पनि राति चाहिँ तिम्रो फोल्डिङ नाक खोलेर राख्नु पाए यो कर्कश घुराइवेदनाबाट सामान्य भए पनि सञ्चो हुनेथ्यो मलाई ।
– फोल्डिङ नाक खोलेर राख्दा राति बिरालोले लगिगियो भने नि !
– तिम्रो सिङानैसरिको नाक लान्थ्यो पनि होला हाम्रो पुसीले । लाने भए ता मेरो फोल्डिङ दाँत पनि राति खोलेर राखेको बेला कत्रो हड्डी पायो भनेर उहिले नै लगिसक्नेथ्यो ।
– आन्द्राभुँड़ीसमेत गुँड़ुलिने गरी ह्वास्सै गन्हाउने दाँत हाम्रो पुसीले के भनेर लान्थ्यो होला ?
– मेरो दाँत सुङ्ने त्यसले चान्स नै कहाँ पाएको छ र दुर्गारानी ! एकपल्ट पनि त्यसले मेरो फोल्डिङ दाँत सुङ्ने चान्स पायो भने त्यो पल्किन्छ बुझ्यौ ? मेरो फोल्डिङ दाँत त्यसको मुखमा एकपल्ट पनि पर्यो भने तिमीले छुर्पी खाएकोजस्तो कोट्याक-कोट्याक गरेर रात फर्लङ-फर्लङ काट्छ बुझ्यौ ?
– कोनि कोनि ! तपाईंको फोल्डिङ दाँतमा मक्ख परेर रात फर्लङ-फर्लङ काट्छ कि दाँत गन्हाएर हाम्रो पुसी त्यहीँ बेहोश भएर रातभरि एक कुनामा लडी बस्छ ।
– तिम्रो दाँत खोलेर मेरो छेउमा नराख्नू है प्लिज ।
– तिम्रो दाँत फेरि राति कस्तो डरलाग्दो न डरलाग्दो देख्छ । राम्ररी हेर्दा तिम्रो दाँतले आँ….गरेर हेर्नेलाई नै चपाउनु खोजेको जस्तो देखिन्छ….अब्बुइ !

– ठिकै छ नि ता ओके ! मेरो दाँत देखेर तिमीलाई डर लाग्छ भने अबदेखि मेरो दाँत फ्रिजमा राखेर सुत्छु नि । कसैको ऱ्य़ाङ् न ठ्याङ । लण्ठैसाफ ।

– के अरे ! के अरे ! फ्रिजमा हाल्ने अरे तिम्रो फोल्डिङ दाँत ?
– अन्त कहाँ राख्नु ता तिम्रो ब्यागभित्र ?
-आच्ची….छ्या….छ्या…! हाल्नु दिन्छु पो होला तिम्रो दङ्दङ्ती गन्तहाउने फोल्डिङ दाँत मेरो ब्यागमा ।
– त्यसो भए फ्रिज नै ठिक छ ।
-किन ?!
-फ्रिजमा चैं किन राख्नु तिम्रो फोल्डिङ दाँत ?
– किन ?
– रातभरि फ्रिजमा दाँत राख्दा भोलिपल्ट फ्रिज नै दङ्ङै गन्हाउँदैन होला हई ?
-त्यति साह्रो खिसी नगर न मेरी दुर्गारानी । जेजस्तो भए पनि आखिर यो फोल्डिङ दाँत तिम्रै पतिदेवकै ता हो ।
-तिम्रो फोल्डिङ दाँतलाई अन्त मैले पनि भाड़ामा वा इन्सटलमेण्टमा ल्याएको ता कहाँ भनेकी छु र मेरा राजा ! तिमी मेरा आराध्यदेव !! तिम्रो फोल्डिङ दाँत तिम्रो गिजाको ग्याटिस मात्र नभएर मेरो प्रेष्टिज पनि हो । तिमीसित कपटी गरे पनि वा तिमीसित जत्ति नै ठाटाकुठुटुक परे पनि तिम्रो गिजासित कपटी गरेर तिम्रो फोल्डिङ दाँतको चित्त दुःखाउनु चाहन्न म । मलाई विश्वास गर ।

– मेरी दुर्गारानी ! हामी दुइ लोग्नेस्वास्नी नै आखिरमा दाँत र गिजाजस्तै हौं । हेर मैले मेरो फेल्डिङ दाँत राति फुकालेको समयमा यो गिजा भाउचर सकिएको मोबाइलजस्तो हुन्छ । बिहानै फेरि दाँत गिजामा फिट गरेपछि गिजा गजक्क हुन्छ । त्यसरी नै तिमी मेरो जीवनको दाँत हो भने म तिम्रो जीवनको गिजा हुँ मेरी रानी ! जब म तिमीसित हिँड़्नु थाल्छु त्यतिबेला म आफैलाई कति भाग्यमानी ठान्छु ।
-यो बुढ़ेसकालमा ?!!

कुरा काट्दै जङ्गबहादुरको मलिन स्वर कोठाभरि बामे सर्नथाल्यो- हँ…यो बूढ़ेसकाल भन्ने शब्द नै ननिकाल प्लिज प्रिय एटलिष्ट मेरो छेउमा । हो हाम्रो अनुहारभरि बुढ़ेसकालका रेखाहरू तैँछाड़-मैँछाड़ गरिरहेका होलान् । चाउरी परेका हाम्रो मुहारमा बुढ़्याइँ आरोहण-अवरोहण गर्दा हुन् । यी सबै बाहिरी कुराहरू हुन् । हामीभित्रको मन अझै पनि तन्नेरी नै छ । म ता भन्छु बुढ़ेसकाल भनेको नै लोग्नेस्वास्नीको निम्ति रोमाण्टिक क्षणको स्लो मोसन र रिप्ले हो ।
– ओँठ लेब्र्याउँदै श्रीमती दुर्गादेवी बोली-उस्…कोनि है कोनि । जत्ति भएको कुरा तिमालाई नै आउँदोरहेछ ।

– इट इज फ्याक्ट डार्लिङ । तिमी मसित रिसाउँछ्यौ…म तिमीलाई फकाउँछु । फेरि तिमी फकी पनि हाल्छ्यौ, म रिसाउँछु तिमी मलाई फकाउँछ्यौ, म फकिहाल्छु । योजस्तो रोमाण्टिक क्षण कहाँ हुन्छ ? यौवन कालमा तिमी रिसाएर एक हप्तासम्म बोलचाल् बन्द गथ्र्यौ अनि म पनि रिसेर घरभित्र डाङ्डाङ् र डुङ्डुङ् गरेर तिम्रो सातोपुत्लो उड़ाउँथेँ । तर यो उमेरमा हामी दुई रिसाउँदा वा ठुस्काठुस्की गरी तिम्रो सातोपुत्लो उड़ाउँथेँ । तर यो उमेरमा हामी दुइ रिसाउँदा वा ठुस्किँदा अर्कै आनन्द र मज्जा आउँछ होइन र !
-खै कोनि? ! ? !
– खौ कोनि-को कुरा छैन दुर्गी खै कोनि को कुरा छैन । एउटा सानो उदाहरण तिमीलाई दिन्छु, मैले सामान्य कान नसुन्दा तिमी बिच्किँदै यो मान्छेको कानमा तातो झीरले घोंच्नुपर्छ भन्छ्यौ तर तातो झीरल घोंच्नुपर्ने कानमा तिमीले नै सधैँ सुत्ने बेलामा बड़ो होसियारपूर्वक इयर ड्रप हालिदिन्छ्यौ । वाह ! योजस्तो रोमाण्टिक क्षण यो उमेरमा अरु के हुनसक्छ र डार्लिङ? ! (प्रसङ्ग बदलेर) सुन दुर्गी! टाउन हलमा आज दामी इङ्गलिस पिक्चर छ । हेर्नु जाने हो ?
– टिकट पाइएला के ?
– छिटो तयार होऊ ।
सँगसँगै दुर्गादेवीको तरुणीसुलभ मेकअप आरम्भ भयो । ओँठमा हल्का लिपिष्टिक पोत्दै बोली- टाउन हलको उकालो सिँड़ीमा उक्लिन सक्छौ के ता ?

अधरभरि एक राश मुस्कान लिएर बोल्यो पतिदेव- मसित साथमा मेरी दुर्गादेवी हुँदाहुँदै टाउन हलको सिँड़ीमात्रै किन यो जङ्गबहादुर कञ्चनजङ्घा पनि उक्लिन सक्छ ।

दुवै लोग्नेस्वास्नी टाउन हलको सिँड़ी उक्लिन थाले। अघि-अघि दुर्गादेवी अनि़ पछि-पछि । दुर्गादेवीको साड़ीको आँचल समातेर पचहत्तर हिँउदको डिलमा पुगिसकेको जङ्गबहादुर आँटै गरेर सिँड़ीहरू उक्लिनथाल्यो ।

– महाभारतका गान्धारी र धृतराष्ट्रको वानप्रस्थमा वनगमनको वणर्न जसरी गरिएको छ ठीक त्यस्तै नै देखिरहेथ्यो दुर्गादेवी र जङ्गबहादुर दम्पत्तिद्वयलाई ।

०००
सिलिगुडी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का