सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गोज्याङ्ग्रे महात्म्ये

जति लेख्यो उति गहिरिएर लेख्न मन लाग्छ र कुवाँ झैँ गहिरो हुँदै जान्छ । अनि कुँवाभित्र गोज्याङ्ग्रे भ्यागुतो भएर एक्लै ट्वार्रट्वार्र गर्दै बस्छ ।

Nepal Telecom ad

सुन्न पनि कति सुन्नु र पढ्नु दिनहुँ जसो ! नेपालमा थरि थरिका पुराण र महात्म्ये सुन्न, देख्न र पढ्न पाइन्छ । त्यतिमात्र होइन जात्राको मात्रा पनि बढेर माथि चढेको छ । सडेको संसदमा हुने जात्राले जनावरहरू समेत वाक्क दिक्क भएका छन् भने झन हामी प्राणी मध्येको सर्वश्रेष्ठ मानव प्राणी त झन लाजले भुतुक्क भएका छौँ । एउटै कुराले दिक्क भएको बेलामा मैले यसो मुड फ्रेस गरेर गुँडभित्र पस्ने मेलो मेसोका साथ गोज्याङ्ग्रे महात्म्ये लिएर आएको छु । अवश्य पनि यसलाई निल्न सक्नु हुनेछ भन्ने लागेर आहारा लिएर पस्किएको छु ।

नेपालमा कति गोज्याङ्ग्रे छन त्यो मलाई थाहा छैन तर देशमा गोज्याङ गरेर बाठाहरू बाटोमा कुरेर बसेको चाहिँ मलाई थाहा छ । लाटोलाई पर सारेर कुनै बेला बाटोमा खुट्टा पर्छ कि भन्ने सोचले र आफू जस्ता बाठालाई पाखा लाएर कुनै जुक्ति बुद्धिले सुद्धि बिगार्न पल्केका बज्रस्वाँठ नै आफ्नै गीत गाउन तम्सेका छन् । भनौँ आफ्नो जात्राको योजना आफैँ बनाएर अन्त्यमा गोज्याङ्ग्रे भएर बस्न बाध्य भएका छन् । समाजमा नाक काटेर हिँड्दा लाज नहुने तर समाजको नाक काटियो भनेर झ्याली पिट्ने महाशयहरूको जायजन्म समाजमा नै भयो भन्ने कुरा गोज्याङ गरेर नथाक्ने गोज्याङ्ग्रेहरूलाई थाहै छैन् ।

जनताले हामीलाई ऊ ल्याएर दे भन्दा कु ल्याएर पनि नदिने हरिलठ्ठकहरूको भरमा तरमा डुबुल्की मार्न नपाइने पक्का छ । बरु गोज्याङ्ग्रेले आफूभित्र लुकेको बुद्धि बाहिर निकाल्यो भने हाम्रो अनुहारमा चमक आउन सक्ला । विकासको मुल फुटाएर विनासको उद्घाटन गर्न तम्सिने हाम्रा सद्देहरू गोज्याङ्ग्रेदेखि तर्सने गर्छन् । नक्कली नाक ठड्याएर सक्कली अनुहार देखाउन पल्केका खोक्रो बुद्धिका बोक्रे भकारी भएर चम्किरहेका छन् । बोक्रे भकारी भएर आए र जाँदाखेरी धोक्रे भएर जान्छन् । यो चर्तिकला गोज्याङ्ग्रेले सबै नियाली रहेको हुन्छ । भनौँ गोज्याङ्ग्रेलाई समेत मन नपर्ने काममा लिप्त हुने बोक्रेपछि धोक्रे भएका दिनहुँको जात्राका थोत्रा प्वाङहरूले देशलाई भ्वाङ पारेर ढ्वाङमा हालेका छन् ।

आफ्नै सत्तालाई पत्तासाफ बनाएर सद्बुद्धि पलाएको ढ्वाङ पिट्नेहरू यतिबेला आफैँ गोज्याङमा फसेर संसदभित्र शिकार खोजिरहेका छन् । एउटा शिकार भेटे भने महिनौ दिनसम्म पनि त्यसैलाई चिथोरी रहने तर नयाँ शिकारको खोजिमा नलागि गोजी छाम्दै गोज्याङ्ग्रेको स्वरूपमा देखा पर्छन् । आफू हिड्ने सफा बाटोमा आफैले आचि गरेपछि नयाँ शिकार खोज्दा अरुले धिक्कार भन्नु गोज्याङ्ग्रे पन नै हो भन्न मुन्टो निहुर मुन्टी न पार्नु पर्दैन ।

देशका टाठाबाठा गोज्याङ्ग्रेको पुराण भनौँ वा महात्म्ये जे भने पनि मुखमा आएको शिकार ओकल्न बाध्य हुनेलाई वा पाएको शिकार खाएर पचाउन नजान्नेलाई राजनीतिक गोज्याङ्ग्रे भन्दा कुनै फरक पर्दैन जस्तो लाग्छ । राजनीतिक रूपले सुझबुझ सहितको शिकार चपाउन वरपरका आसेपासेहरू धपाउनु पर्दैन । राजनीतिलाई गोज्याङमा लगेर मुखको शिकार ओकल्नु भनेको गोज्याङ्ग्रेले जीवनभरी भोकै बस्नु हो ।

समाज रुपान्तरणमा देखिएको यो गोज्याङले एउटाले बिराउँछ शाखा पिराउँछ भन्ने उखानलाई चरितार्थ पारेको छ । त्यतिमात्र होइन आसन बारेको छ । पानी बारेको छ । भेटघाट बोलचाल बारेको छ अनि आफैँ अप्ठेरोमा परेको छ । यो गोज्याङ पारा साराका सारा जनतालाई भातमारा झैँ लागेको छ । नलागोस् पनि कसरी जनताले तिरेको तिरोबाट पालिएका, पोषिएका भातमाराले जनताकै काममा गोज्याङ गरेपछि कटौराबाट झोला, झोलाबाट बाक्सा, बाक्साबाट ट्याङ्का, ट्याङ्काबाट ब्याङ्का, ब्याङ्काबाट बाहिर कतै थन्क्याउने सम्मको झेला युक्त खेला हुन्छ ।

देशमा गोज्याङ्ग्रेहरूले धेरैकाम गरेका छन् । त्यो कामको बेलिबिस्तार लाउन यो महात्म्ये अपुरो हुन्छ । भनौँ यो देशमा बाठाको लाठाले बाटाको मान्छेसमेत लडेको छ र गोज्याङ्ग्रेले त्यसलाई उठाएर देशमा चिनाएको छ । समाजबाट हराएकोलाई देशमा चिनाएको छ । देशबाट हराएकोलाई गाउँमा नाम सहित चिनाएको छ । तर काम सहित चिनाउन भने सकेको छैन । राजनीति नबुझ्ने र गर्न नजान्नेको लहरमा पर्ने गोज्याङ्ग्रे बाठाको खुट्टा गाँठामा पर्छ कि भनेर बिचार गरिरहेको हुन्छ । किनभने बाठाको खुट्टा गाँठामा पर्‍यो भने चिप्लिएर लड्छ र हाँस्न पाइन्छ भन्ने ध्याउन्नमा गोज्याङ्ग्रे सधैँ सजग रहन्छ । नेता देख्ने बित्तिकै गन्धे मुख लाएर शरीर सफा गर्ने बानी परेकाले उसलाई आलु फर्सी कुहिएको गन्धले बान्ता आउँछ । नेताको नजिक पर्नु पर्‍यो भने गोज्याङ्ग्रे शरीरमा अत्तर दलेर सुनपानी साथमै बोकेर हिँड्छ । हेर्नुस् त कस्तो बुद्धिमानी काम गरेको गोज्याङ्ग्रेले ।

अहिलेको जमाना भनेको आफ्नै घरको काम गर्दा दाम खोज्ने परम्परामा हुर्किएको छ । पाखुरा सुर्किएर, निहुँ खोजेर आफ्नो काम टार्ने अनि पैसा पायो भने उफ्रिएर गै काम गर्ने नभए मनपरी गरेर हिड्ने गुटनीति सर्वत्र हावी छ । यो गोज्याङ्ग्रेका लागि सह्य हुँदैन । किनभने गोज्याङ्ग्रेको नीति र सिद्धान्तले झुठको खेती गर्न जान्दैन । मुठभेदको नीति मान्दैन । पढ्न लेख्न जान्दैन । आफूलाई ठूलो ठान्दैन । अर्काको ठगेर, मागेर खादैन । इमानभन्दा बाहिर जाँदैन । जाँड रक्सी खाँदैन । चुरोट बिडी तान्दैन । नेताको र नेतृको पछि लाग्दैन । भनौँ गोज्याङ्ग्रेलाई्र देशमा खबरदारी गर्नका लागि नेपाल आमाले जन्माएकी हुन् ।

शिक्षा लिने बेलामा गाउँ गाउँ भिक्षा माग्दै हिड्ने गोज्याङ्ग्रे पेट पाल्न मात्र होइन देश पाल्न सक्छ । देशका जराबुटा, ढुङ्गा माटो, बालुवा, हावापानी, वन, जङलले चिन्ने गोज्याङ्ग्रेलाई देशले चिन्दैन । न गाउँले चिन्छ न उसलाई आफ्नै घरले चिन्छ । प्रगतिवादमा विश्वास नगर्ने तर गतिशीलता हुनुपर्छ भन्ने गोज्याङ्ग्रेले केही गरेको देखिनसहने बाठाहरू समाजमा लाटो कोसेरोको जस्तो रूप धारण गरेर बिरालो झैँ म्याऊ म्याऊ गरेर गल्ली गल्ली हल्ली हल्ली हिँडिरहेको देखिन्छ । यस्ता बाठाहरू आफू हिँड्न जान्दैनन् र आफू हिड्ने, हिँडिरहेको बाटो नै बाङ्गो भएकोले हिँड्दा आफू नाङ्गिने गरेको रहस्य आपैmँ बाहिर ल्याउँछन् ।

सोझो गोज्याङ्ग्रेलाई बाङ्गो कुराले पुरा घोचपेच गर्ने तर आफैँतिर लाग्छ भन्ने सोंच नभएका टिङ्गा मान्छेको धमास भनेको कपास जस्तै हो । फलाम भए पो केही होला कि भन्नु । गोज्याङ्ग्रेलाई फसाउन, धसाउन, रिसाउन पहलमै समय खेर फाल्ने कनिके सरकारले गर्ने भनेकै यस्तै यस्तै काम मात्र हो । सेवा मुलक राम्रो काम गरेर पेवा र मेवातिर ध्यान नदिने नीति त छँदैछैन । घोटाला गरेर पोल्टामा सोल्टालाई समेत पुग्ने गरी पेवा बनाएर मेवा खान पल्केका सुकुलगुण्डाको परमादेशी अधिकार प्रयोग गर्छन् । गोज्याङ्ग्रे भित्रको मित्र हो भनेर उनीहरूमा सोंच नै छैन र सम्झदा पनि सम्झदैनन् ।

अब यो गोज्याङ्ग्रे महात्म्ये जति पढ्यो उति पढ्न मन लाग्छ । जति लेख्यो उति गहिरिएर लेख्न मन लाग्छ र कुवाँ झैँ गहिरो हुँदै जान्छ । अनि कुँवाभित्र गोज्याङ्ग्रे भ्यागुतो भएर एक्लै ट्वार्रट्वार्र गर्दै बस्छ । अहिलेसम्म भएकै यस्तै हो गरेकै यस्तै भने जस्तो गरेको छ त्यस्तै फल त पाइन्छ नै । हुन त बोट अनुसारको फल हुन्छ भन्छन् तर छलफलको बोटको फल सहमतिको बोटको फल पनि राम्रै फल्छ र मिठो पनि हुन्छ भन्ने नीति र सिद्धान्तभित्र गँवारो लागेको छ । यसले बोट नै सखाप पार्छ भन्ने कुरा बिर्सेका कारण आज गोज्याङ्ग्रेहरू बोराभित्र पसेर गुडुल्की खेल्दै भोकै प्यासै बिना थातबास नै सद्देहरूका अगाडि भाइरल भएर बसेका छन् । जय व्यङ्ग्य ।

०००
उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ...

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का
इमानदारदेखि सावधान !

इमानदारदेखि सावधान !

सुरेशकुमार पाण्डे
हो त नि !

हो त नि !

हरि खनाल
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु