निर्वाचन प्रचार सामाग्री

भोट के मा ? बन्चरोमा !!

खुकुरीले न त कोशी छेक्न सक्यो न त महाकाली रोक्न सक्यो । अब कुटो, कोदालो, हलो-जुवा, खुर्पा-खुकुरी, बेल्चा गैंती, घन, गल केहीको पनि बल छैन । सबै कुरा बन्चरोमै गएर बसेको छ ।

भाषणको रस मज्जासँग झरिरहेको छ । निर्वाचन नै भाषणरस वर्षने अनुकूल मौसम हो यो । मौसम अनुसार भाषणको भाषा र भाव प्रकट हुने गर्दछ । अहिले रसदार भाषणको मधुरस बर्सिरहेको छ ।

यो भीषण रसवर्षाले निथ्रुक्क भिजेर आम मानिस रसाशिक्त बनेका छन् । यो साह्रै आनन्दको क्षण हो । यो आनन्दानुभूतिको सृजनाकारमध्येका एकजना हुनुहुन्छ बनबारीलाल । बनबारीलाल यस पटकको निर्वाचनका बहुचर्चित उम्मेवार हुनुहुन्छ । उम्मेदवार त धेरै छन् र घोषणपत्र पनि प्रशस्तै छापिए । चुनावचिन्ह पनि गनिसाध्य र भनिसाध्य छैनन् । बनबारीलालको चुनावचिन्ह भने गज्जबको परेको छ । उहाँको प्रवृत्तिसँग ठ्याम्मै मिल्ने उहाँको चुनावचिन्ह बन्चरो हो ।

अरु उम्मेदवार के के को व्यापार व्यवसाय वा पेशा गर्दछन् यो पनि भनिसाध्ये छैन तर हाम्रा बनबारीलालको चालु व्यवसाय भन्नोस् या व्यापार विजनेस भने वन-जंगलकै रहिआएको छ विगत दुई दशकदेखि । उहाँ खासमा आफै बन्चरो हो, जो यो दुई दशकमा देशको एकतिहाई जंगल सफाचट गर्ने तागतका धनी उहाँ नै हुनुहुन्छ । यस्तो आवृत्ति-प्रवृत्तिसँग ठ्याम्मै मिल्ने चुनावचिन्ह जो कोहीको कहाँ पर्दछ र !

निर्वाचन क्षेत्रमा अरु उम्मेदवारका प्रचारकझैँ बनबारीलालका प्रचारकहरू पनि छाप्छाप्ती पसेका छन् । पर्चा पोष्टर, तुल, व्यानर प्रशस्त छन् । जुलुस नारा बुलन्दको छ- भोट केमा बन्चरोमा ! बन्चरो कसको जनताको ! जनता कसको बन्चरोको !

जुलुसले एउटा चौतारोमा आएर आफूलाई बिसायो । केहीबेर सुस्ताएपछि त्यहीँ एउटा आमसभा गोध्ने मन भयो बन्चरो चिन्हका उम्मेदवार बनबारीलाललाई । १०/१२ जनाको बन्चरे समूह त्यहीँ थियो, बन्चरो बोकेका जवाँमर्दहरूलाई देखेपछि के को जमघट रहेछ भन्दै अरू १०/१२ जना बटुवा थपिइहाले बस, सभा जम्न केही बेरै लागेन । बनबारीलाल भाषण गर्न थाल्नुभयो-

“आदरणीय मतदाता महोदय, बन्चरो देखेर डराउनुपर्दैन, किन कि यो तपाईं हाम्रा घरघरमा छ । बन्चरो तपाईं हाम्रो साथी हो । यसैमा मेरो प्राण अडेको छ, यसैमा तपाईंका नजर गढेको छ । बन्चरोकै भरमा मैले मेरो जुनी सपारेँ अनि यही बन्चरोले तपाईंको जुनी सपार्नेवाला छ ।… तपाईंको घर र गाउँको मात्र होइन अब बन्चरो देशको सुरक्षाका निम्ति तैनाथ हुनेवाला छ ।”

वनवारीलालले शब्दलाई बन्चरोको धार जस्तै अझ धारिलो बनाउनुभयो र भाषणलाई अझ अगाडि बढाउनुभयो- “हुन त तपाईंहरूसमक्ष रुख, घाम, जुन, तारा, मादल, बादल, हलो, जुवा, कुटो, कोदालो आदि इत्यादि चुनावचिन्ह भएका उम्मेदवारहरू भोट माग्दै आइसकेका होलान् । उनीहरूका भ्रमममा नपर्नुहोला, घामको कुनै काम छैन, दिउँसै तारा देखियो घाम जुन छेक्ने बूढो रुख बन्चराकै खजाना भयो ।

त्यसैले आदरणीय दाजुभाइ-दिदीबहिनीहरू अब जे छ बन्चरो छ, बन्चरो छ त बनबारीलाल छ । तपाईंहरूको सय भोट बन्चरोको एकै चोट । बन्चरोलाई भोट दिनुस् र आफ्नो घर, गाउँ, जिल्ला र चारै किल्ला नाघेर देश बचाउने महान् अभियानमा सहभागी हुनुहोस् ।”

वनबारीलालको बोल्दाबोल्दै मुख सुकेर आयो, तुम्लेटमा हालेको मिनरल वाटर ठाडो घाँटी लगाएर घटाघट पिउनुभयो । अनि स्वर-घोर मिलाउँदै उहाँ फेरि बोल्न थाल्नुभयो-

“आदरणीय आमा, दिदी बहिनीहरू, बन्चरो लर्तरो वस्तु होइन । तपाईंलाई भात पकाउने दाउरा चाहियो बन्चरो हाजिर छ । तपाईंलाई घर बनाउने काठ चाहियो बन्चरो सेवामा तत्पर छ । तपाईंलाई हलो या हरिस, जुवा वा अनौ समेत उपलब्ध गराउन बन्चरो चलायमान भैदिन्छ । हलोमा पनि के भर पर्नुहुन्छ, बन्चरो नभई हलो नै बन्दैन । तपाईंसँग बन्चरो भएपछि हसियाँ हथौडा केही चाहिंदैन । रेट्नेदेखि काट्नेसम्म ठोक्नेदेखि घचेट्नेसम्म, टेक्नेदेखि बोक्नेसम्म, ठटाउनेदेखि गर्धनमा हानेर स्वर्गै पठाउनेसम्मका यावत काम बन्चरोबाटै तमाम गर्न सकिन्छ ।

यस्तो बहुमुखी कामको साथी, तपाईं हाम्रो काँधमाथि । बन्चरो अरु जस्तो निम्छरो कहाँ छ र, बींड मात्रै बलियो हुनुपर्छ दाउराको खलियो बनाउँछ एकै छिनमा, घरको मूनबलो ताछ्न होस् या जोरी खोज्नेको जब्बर गलो छिनाल्न होस् एक चोटपछि दुई दुई चोट थप्नु पर्दैन । तपाईंलाई थाहा छ बन्चरोले अहिलेसम्म चुनाव लडेकै थिएन । चुनावै नजित्दा त यसको पाइन यस्तो छ भने चुनाव जितेको बन्चरो लर्तरो होला त ? त्यसैले भोट खेर नफाल्नुस्, बन्चरोमै हाल्नुस् । यस पटक बनबारीलालको बन्चरोलाई संसदमा पुर्‍याउनुहोस् अनि बन्चरोको तमासा पौरख र सुकीर्ति हेर्नुस् ।”

बन्चरे समूह टुवाल्ल परेर बनबारीलालको भाषण सुनिरहेका छन् । बीचबीचमा उनीहरू ताली पड्काउँछन्- उहाँलाई गाली गर्ने त्यहाँ कोही छैन । बडो उत्साहपूर्ण शैलीमा उहाँ भाषणमा झर्ना खसेझैं बेरोकटोक खसिरहनु भएको छ-

“हेर्नुस् अब खुकुरीमा खिया लागिसक्यो । त्यसले अब राष्ट्रिय औजारको भूमिका निर्वाह गर्न सक्दैन । खुकुरीले न त कोशी छेक्न सक्यो न त महाकाली रोक्न सक्यो । नालापानीमा लडेको त्यो खुकुरीले अहिले कालापानी पनि जित्न सकेन । हो साँच्चै हो, खुकुरीमा अब पाइन् सकियो, धार दोब्रियो, बींड बाङ्गियो, इज्जत नाङ्गियो ।

यो बनबारीलाललाई बहुमत दिएर संसदमा पुर्‍याउनु भयो भने बन्चरोलाई राष्ट्रिय हतियार घोषित गराउन कम्मर कसेर लाग्ने छु । यसरी बन्चरो नै राष्ट्रिय हतियार भएपछि यसलाई चलाउने, खेलाउने बोक्ने र समाउने मान्छे अर्राष्ट्रिय हुनै सक्दैन, बस बन्चरो बोकेर हामीले कृषि क्रान्ति गर्नुपर्छ, रुख जति सबै गिंडेर यो देशमा हरित क्रान्ति गर्नुपर्छ । बन्चरोको बींड समातेर गरिने तमाम क्रान्ति राष्ट्रिय क्रान्ति हुनेछ । यस्तै राष्ट्रिय क्रान्तिले मात्र यो देशको मुहार फेर्ने छ, नयाँ नक्सा कोर्नेछ, विश्वको हाम्रो पौरख हेर्नेछ । त्यसैले म भनिरहेको छु- भोट केमा- बन्चरोमा, बन्चरो कसको बनबारीलालको, बनबारीलाल कसको बन्चरोको, बन्चरो कसको जनताको । बन्चरोमा भोट देऊ गणतन्त्र जोगाऊ ।

बनबारीलालको अनुहारमा गज्जबको लाली चढ्दै गयो । उहाँ अझ जोसिलो बन्दै जानुभयो, अझै हँसिलो बन्दै जानुभयो । भाषण विथोल्ने विपक्षी पनि थिएनन् त्यहाँ । प्रश्नमाथि प्रश्न गरेर अवरोध खडा गर्ने प्रतिपक्षी पनि थिएनन् । उहाँ हाँडीमा मकै पड्किएझैं भाषण पड्काउँदै जानुभयो-

“आदरणीय जनसमुदायहरू ! अब तपाईंले बुझ्नु भयो होला- बन्चरो क्रान्तिको प्रतीक हो, क्रान्तिको कामयावी औजार हो । यो देशको भाग्य र भविष्य फेर्ने सैद्धान्तिक हतियार हो । आगामी चुनावमा बहुमत ल्याउने शक्तिशाली तागत हो । अब तपाईंहरू अल्मलिएर र एकसुरे भएर लारेलुरे चुनावचिन्हमा भोट नदिनुहोला । बन्चरोको जीत सुनिश्चित छ । जित्नेलाई भोट हाल्नुपर्छ नत्र त भोट खेर गइहाल्छ नि ! यो देशमा केही गर्छ त कि बनबारीलालले गर्छ कि बन्चरोले गर्छ । बनबारीलाल भन्नु नै बन्चरो हो र बन्चरो भन्नु नै बनबारीलाल हो । अब कुटो, कोदालो, हलो-जुवा, खुर्पा-खुकुरी, बेल्चा गैंती, घन, गल केहीको पनि बल छैन । सबै कुरा बन्चरोमै गएर बसेको छ ।”

“बन्चरो छ त सबैथोक छ । भरुवा बन्दुकले समेत नगर्ने काम अब बन्चरोले गर्ने भएको छ । पानी क्रान्ति पनि अब यसैले हाँक्छ, खाने क्रान्ति पनि अब यसैले हाँक्छ । आउनस् हजूर तपाईं पनि बन्चरोको पक्षमा । विपक्षीको ढाड पनि यसैले भाँच्छ, खुकुरी, चुलेसी सबैलाई माथ गर्दै नाङ्गो बन्चरो अब मेची-महाकाली नाच्छ । भोट यताउती नगर्नुस् है, बींडैले तपाईंलाई बैठ्याउँछ । कुरो बुझ्नु भयो होला, भोट केमा बन्चरोमा ! बन्चरो कसको बनबारीलालको ।”

असिनपसिन हुँदै बनबारीलालले भाषण टुङ्ग्याउनु भयो । बन्चरे जमात चौताराबाट उठ्यो र नारा लगाउँदै बाटो लाग्यो । आकाश गुन्जायमान हुँदैथियो बनबारीलालको भाषण र नाराले- भोट कसलाई बन्चरोलाई । प्रजातन्त्रको संरक्षण बन्चरोको हातमा । बन्चरोमा भोट देऊ प्रजातन्त्र बचाऊ ।

०००
(यो व्यङ्ग्य निबन्ध २०५६ सालको चुनावताका लेखिएको र त्यो बेलै छापिएको पनि हो, तर स्रोत खुलाउन सकिएन ।)

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल