सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाँउटे बयान

ती पट्टुहरू ढोका फोरेपछि सामान लुट्न पाइन्छ भनेर पहिला नै बसेका थिए । तर धेरै समय ढोका नखोलिएकाले जुलुसको भिड यति बढ्यो कि ती किचिएपछि मात्र मूल ढोका खुल्यो ।

Nepal Telecom ad

आन्द्रा झुत्ती खेल्न लागेपछि मान्द्रामा लम्पसार पर्दा निद्रा नपरी तन्द्रामा थिएँ । तन्कँदै तन्कँदै नौरङ्गी आकृतिको अगाडि ठिङ्गिन पुगेछु । रुपरङ्ग हेर्छु रङ्ग न ढङ्गको छ । चिनेको चोर जस्तो छ । हातखुट्टा हेर्छु प्यारालाइसिस भए झैँ पट्टै चल्दैन । मान्छेको जिउँदै जस्तो देखिन्छ तर आँखा झिमिक्कसम्म गर्दैन । लुगा लगाएको छैन । पोशाक पहिरिएको छ । कक्रक्क परेर टक्रक्क उभिएको छ । बती बाले जस्तो पनि छैन । न त पिंजडाभित्र नै हाले जस्तो छ । नेता नभए पनि नेताको पोजमा मोजसाथ बसेको छ । साँच्चिकै नेता भए अकडिएर के बस्थ्यो ?

पक्कै यो कसैको प्रतिमूर्ति हो । शालिक त हैन ? अनुहार संझन लागेँ । सास फुस्केर खुस्केका कोहीसँग मिल्दैन ।

पक्कै कसैले मूर्ति व्यापारका लागि बनाएको हुनुपर्छ । चटकका लागि हो कि नाटकका लागि (?) अथवा झाँकी दर्शनका लागि पनि त हुनसक्छ । देवताको मूर्ति भनौं भने पनि मानिसको रूप । भैगो, तैँ चुप मै चुप । हेर्दा हेर्दै देखिन लाग्यो मानौ रावणको मायावी रूप झैं भयो । भूत ! भनेर भाग्नै लागेथेँ गुनगुन आवाज आयो ।

मेरो अगाडि एकजना चिरिच्याँट्ट लुगा लगाएको मान्छेलाई औपचारिक पोशाकवालाले भन्दै थियो- वकवक गरेर नबोल्नु । दुःख नदेखाउनु । दुर्गतिको हैन प्रगतिको कुरा गर्नु । लाटाले केरा हेरे जस्तो नहेर्नु । फर्कदा पीठ्यूँ देखाएर नफर्कनु । गैंडा झैँ पछाडि सर्दै आउनु ।

त्यो चिरिच्याँट्ट पोशाकवाला कत्थक नृत्यमा बढ्यो । नियाल्छु त के को को कत्थक हुन्थ्यो, डरले काँपेर उभिएको रहेछ । अगाडि पुगेपछि चिरिच्याँट्टले मनको कुरा खोल्न बोल्न सकेन । भ्याँ ! भ्याँ मात्र गरी फर्कियो । त्यो औपचारिक पोशाकवालाले पक्का दाहिने हात हो भन्दै ‘दाहिना वाहु’ निधारमा लेखिदियो ।

मनमनै संझें म त गजबको लोकमा आइपुगेछु । त्यहाँ अर्को मान्छेलाई पनि कान फुकेर पठाइयो । तर त्यो मान्छेले अगाडि पुगेपछि भन्यो- तिम्रो टाउकामा पुच्छर उम्रिएको छ ! त्यो फाल ।

तर वाक्य पूरा नहुँदै घोक्रेठ्याक लाग्यो । टाउकामा पुच्छर ! सुन्ने बित्तिकै टाउकामा दृष्टि दौडाएँ । त्यहाँ त के को पुच्छर हुन्थ्यो एउटी सुन्दरी पो देखा परी । टाउकादेखि खुट्टासम्म हेरें कहाकी सुन्दरी हुन्थी- कुर्कुच्चा अगाडि र टाउको पछाडि फर्किएको रहेछ । सारीको मुजा हेरेपछि पो रहस्य खुल्यो । मुजा पट्टि नाक र खुट्टाको बूढी औँला फर्किएको थिएन । ती सुन्दरीको अगाडि कता ? पछाडि कता ? छुट्याउन नसकिने रूप थियो । अब के उपद्रो हुने हो भनेर हेर्दै थिएँ किचकन्नी त्यो विशाल मूर्तिको काँधमा चढेपछि हट ! हट ! पो गर्न लागी । वि-बिचमा पोथी बासेको पनि सुनिन्थ्यो । भेंडेराग पनि सुनिदै थियो । स्यालको हुइय्या ! पनि आउँदै थियो । किचकन्नीको हातमा त सुनको छडी र पुरानो घडी रहेछ । त्यो जादुको छडी यस्तो थियो जसलाई छोयो त्यो पहेंलपुर सुनौलो हुंदै आउँथ्यो र मोहवशमा परी नाच्थ्यो । हेर्दाहेर्दै किचकन्नीका वरिपरि बस्ने सबै सुनौला देखिए । त्यहाँ छिरेको भुस्याहा कुकुर पनि सुनौलो पुच्छर हल्लाउने भयो ।

हेर्दा हेर्दा रङ्ग रङ्गका मान्छेहरू आए । एउटा आवाजले वयान शुरु हुन्छ भन्यो । त्यहाँ ताल तालका पदधारी पट्टुहरू थिए ।

मन्त्रीलाई उछिनेर एकनम्बरी पट्टु आएर बक्न लाग्यो- हे महामूर्ति ! तमासे जागे भटमासे भागे । र्‍याली गर्ने र्‍याल चुहाउन लागे । माग अनुसार भाग पुयाउन कम रकमले दम देला जस्तो छैन ।

दुई नम्बरी पट्टुले भन्यो- हे धनेश्वर ! सबै ठीक छ । हामीले खर्चको बन्दोवस्ती गरिसक्यौं ।

चार नम्बरी पट्टुले भन्यो- आगो बाले । बाटामा धागो हाले । तैपनि चालु छ । पुर्पुरोमा आलु छ ।

तीन नम्बरी पट्टुले भन्यो- पुर्पुरेश्वर ! ती छन् मुट्ठी भर । हामी सब ठीक पार्छौं ।

एउटा अपरिचितले भन्यो- हाकिमको टुपी ताने । भन्छन् जुलुस जाने । अब हामीले के खाने ।

यो सुनेपछि अगिसम्म शालिक ठानेको त्यो अजङ्गको शरीर चटपटायो । हेर्दा हेर्दै त्यहाँ घेरेर बस्नेहरू सबै बिलाए ।

जुलुसको आवाज घन्कदै थियो- खोल ! ढोका खोल ! मान्छे भए बोल ।

यो सुनी शालिकले आवाज आएतिर हेर्‍यो- त्यहाँ अर्कै लुगा लगाएर तिनै पट्टु आएका थिए ।

ती पट्टुहरू ढोका फोरेपछि सामान लुट्न पाइन्छ भनेर पहिला नै बसेका थिए । तर धेरै समय ढोका नखोलिएकाले जुलुसको भिड यति बढ्यो कि ती किचिएपछि मात्र मूल ढोका खुल्यो । शालिक बोल्यो र जुलुससँगै पाइला चाल्यो ।

०००
‘श्रृङ्खला’ हास्यव्यङ्ग्य निबन्ध विशेषाङ्क, २०४७, वर्ष १३, अङ्क २५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दस दनक

दस दनक

रामकुमार पाँडे
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का