निर्वाचन प्रचार सामाग्री

भ्यागुताको धार्नी !

हाम्रालाई हामीले जोख्नै परेन, अरुले जोखेर छाडिसके । सबै भ्यागुता हल्का भैसके अब तहल्का नमच्चाउने हो भने यो नटुङ्गिने भ्यागुते जोखाइ छोडे हुन्छ ।

कृतिशेष हास्यव्यङ्ग्यकार घिमिरे मैदेलीप्रति सादर शब्दश्रद्धा सहित ।

माना माननीय, पाथी प्रधान मान्ने मेसोको म्याट्रिक नापतौलमा नापिएरै होला पच्चीस सय ग्राम तौलको धार्नीमा जे पनि जोखिएका छन् । अब मानापाथीले गाउँमा पनि ठाउ छोडिसक्यो । सबै परिणाम र परिमाणले जोखिम मोलेर पनि जोखिनुबाट कोही, केही जोगिएका छैनन् । यसै भएर होला आजकाल जेलाई पनि जोख्ने चलन छ । खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, भैँसी जोखिए झैँ जोख्नै नपर्नेले पनि जोखिममा जोखिएर हल्का भएका छन् । मालको मोल गर्दा पनि धार्नीका हिसाबले निसाफ गर्न सजिलो हुने भएर राजनीतिक व्यवहारमा पनि आजकाल जोखिने गरिँदो रहेछ ! हाम्रा पोखरी खोला नदीनालामा माछा नभएर होला सम्प्रदि भ्यागुता पनि जोखिन थालेकाछन् । सिंह सरोवरमा हो कि दरबारमा हो लगभग छसय भ्यागुता रहेछन् । ती सबै भ्यागुताहरूमा म ठूलो हूँ भन्ने होड नचलेको होइन ।

थोरै मतिका सहमति अनुसार कसका इशारामा हो तराजुका जतापट्टि धार्नी पुग्न सक्छौँ त्यसमध्येकै ठूलोलाई नायक छान्ने भन्ने अठोट सबै भ्यागुताले गरेछन् । राजु भएपछिको तराजुमा एकाथरी भ्यागुता बस्न नभ्याउँदै कसले आँखा झिम्क्याइदिएर हो अर्कोपटिको भ्यागुतो फुत्त बाहिर पुग्दो रहेछ । छ सात पटक जोखिइसक्दा पनि तराजुको कुनै तर्फ धार्नी नपुगेकोमा यी भ्यागुतालाई धार्नी हुन मन नभएर होला कि जोखिनै मन नभएर होला ? कि देखाउनलाई मात्र जोखिएको होला ? भन्या त सुन्नमा आयो पचास भ्यागुताका खुट्टामा डोरीले इउटै झुत्तो पारेर जोखेमात्र धार्नी पुग्छ । त्यसरी जोख भ्यागुताको मूल्य एकएक करोड हुनेछ ‘म किन्छु’ भन्ने आकाशवाणी भएछ ।

आकाशकै वाणी त हो खै सफल भा ! त्यसै गरेको भए पनि भला यो जोखाइले त समय लिँदैन थ्यो त्यही पनि हुन सकेन । मान्छेले प्रकृतिको वरदान बनेको प्राणी भ्यागुतालाई पनि केको जोखतौल र किनबेच गरेको होला ! हाम्रा त्यत्राविधि खाएका भ्यागुता पनि जोखिएर बेकारमा हल्का मात्र भए । नाम न जस खरानी घस भनेको यही हो । बरु उत्तरदखिनका सर्प गरुडहरूलाई छेकिदिएका भए पनि त यी भ्यागुता निर्भय हुन्थे । बेकारमा जोखिए मात्र ।

भो अब यी भ्यागुता नजोख परचक्रीले भ्यागुता र यिनका मोलतोल पनि थाहा पाइसके । उताबाट पैसा पनि आएन क्यारे । हाम्रालाई हामीले जोख्नै परेन, अरुले जोखेर छाडिसके । सबै भ्यागुता हल्का भैसके अब तहल्का नमच्चाउने हो भने यो नटुङ्गिने भ्यागुते जोखाइ छोडे हुन्छ ।

बरु अब पुतली खेलमा लाग । झुसिले कीरा त पुतली बन्छ भने आखिरमा पुतलीनै हो क्यारे । अलि अस्तिनै ठूलो जमातका भ्यागुता र चेपागाँडाहरूले ट्यार्रट्यार्र गेर कठपुतली भनेको पुतलीलाई नै साच्चिकै पुतली मानेर खेलाए भै गो नि । अस्तिँको कठपुतली अहिलेको पुतली माने खेलै खतम । कहिले कठपुतली खेलायो कहिले त्यही कठपुतलीले आफैँलाई खेलाइदिन्छ । आखिरमा खेल्नै परेको त हो नि । गर्नु परेको केही छैन क्यारे पुतली, कठपुतली झुम्रा पुतली खेले भै हाल्यो नि ।

यत्रो प्राकृतिक सुन्दरता भएको मुलुकमा पनि पुतली छैन र भारत, चीनबाट ल्याएका नक्कली पुतली खेलाउनु पर्छ ? भो अब जे भो भो ‘कोही न कोही पुरानो पोइ’ भने झैँ भ्यागुता जोखेर पनि जोख्न लगाउनेले करोडको मोल राखेर एक पैसा पनि नदिएर हल्का पारी जोखेर छोडेको हुँदा भ्यागुता जोख्ने खेल छाडेर पुतली खेल खेलौँ । कठपुतलीलाई नै पुतली बनाऔँ । कि कसो ?

०००
‘फित्कौली’ अङ्क २४

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
उखानकै बखान

उखानकै बखान

घिमिरे ‘मैदेली’
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल