आमाको माइतीघर

दस रुपैयाँ दिने मामा त मन पर्नुभएकै हो । हैट. ! घडीचरा खाने, टुप्पी उखेल्ने आमाको माइतीघर भने मलाई पटक्कै मन परेन ।

गफ गर्न बिछट्टै सिपालु पल्लाघरे दाइको जोडी औधी मिलेको थियो । दाइ जति गफाडी थिए भाउजू त्यत्ति नै शान्त स्वभावकी । अधिपछि जे जस्तो होस् भाउजूलाई मतलब हुँदैनथ्यो, तर कुनै वर्षको दसैँ या तिहारमा माइत जाने अनुकूलता मिलेन भने बाउँठिएर उग्रचण्डीको रूप धारण गरेकी भाउजूलाई थामथुम पार्न दाइलाई हम्मेहम्मे पर्ने गन्थ्र्यो । भाउजूको शान्तिस्वस्तिको लागि भए पनि पल्लाघरे दाइले दसैँ या तिहारको मौका पारेर वर्षमा एक पटक माइत जाने साइत जुराउन भुल्दैनथे ।

तिहारको एक बेलुकी म वहाँको घरमा पुग्दा माइत जान लागेकी भाउजुको थुन्सेमा कोसेली राख्दै गरेका दाइले मतिर फर्किएर भने- ‘बुझिस् माइला । मेरी सुनचरीजस्ती बुढीलाई मैले यस पटकको तिहारमा माइती जाने छुट्टी दिएको छु ऊ भुइँमा न भाँडामा भएकी छ । भोलि बिहान घरबाट निस्किएपछि ठाडो पुच्छर लगाएर कुद्ने कोरली गाईजस्तो बर्षीका पोथ्रासमेत नाघ्दै कुन बेर लाउँदिन होला । अलिदिन भए पनि चैनको सास फेर्न पाइने भइयो भन्ने लागेर पनि होला, त्यसबेला धितमर्ने गरी हाँसेका थिए पल्लाघरे दाइ ।

डिङ हाँक्न बाबुजस्तै खप्पिस भइसकेको थियो उनको जिलिगान्टे छोरो । मावलीको खुब बढीबढाइ गर्ने ऊ मेरो बोल दाँैतरी थियो । आमा माइत गएको एक दिन उसले मलाई “बुझ्यौ ? हाम्रो मावलीघरमा नराम्रो भन्ने कुनै कुरा नै छैन । ज फर्कियो त्यतै राम्रोभन्दा पनि अझ राम्रो । देवीदेउताजस्ता हजु हजुरआमा । मामा कस्तो असल । माइजू कतै नभएकी राम्री त हँसिली । गाउँमा सबभन्दा ठूलो घर मामाको धेरै दूध दिने असत गाई, भैंसी मामाघरकै । चिल्लो बड्कुला निकाल्ने राम्रो लाक बोका हाम्री आमाकै माइतीघरको । मामाघरको पाँडुले कुकुरल महिमा त झन् कति-कति ।”

सबै कुराको वणर्न गरीसाध्य छैन भन्दै फुइँ लगायो । अनि कति पटक पुगेको छस् मामाघर भन् त ? भन्दा टवाँ परेर उसले निकैबेरसम्म मेरो अनुहारमा हेरिरह्यो विचरा । ऊ पनि मजस्तै मामाघर पुगेको नै रहेनछ । उसकी आमाले सुनाएको बखान सुनाएको रहेछ मलाई त ।

यस्ता कुराहरू मैले पनि सानै उमेरदेखि नै नसुनेको होइन । तर, थाहा पाउने उमेर भएपछि मैले मामाघर पुग्ने मौका पाएको थिइन । एक पटक मलाई असाध्यै रहर लाग्न थाल्यो मामाघर जाने । त्यस्तो रहर लाग्नुको पछि दुइटा कारण थिए । प्रथम थियो, गाउँको मिडिल स्कुलमा ६ कक्षामा पढाउने शिक्षकको अभाव । दोस्रो थियो, आमाले सुनाउनुभएको माइतीको बखान !

काँचो माटोलाई बेस्सरी लट्ठीले पिटेर विभिन्न आकारका गौडा बनाउने कुमालको जस्तो सिप भएका कुशल कलाकार हुन्छन् आमाहरू । उनीहरूले सानै उमेरदेखि बच्चाको दिमागभित्र यस्ता यस्ता कुरा छिराइदिएका हुन्छन् जुन बच्चाले परम् सत्य ठानेको हुन्छ । पेटबाट भुईमा खसेदेखि नै आमाहरूले आफ्नो माइतीका भए/नभएका त्यस्तैखाले बयान सुनाएर बच्चाको कान गरिदिएर नै होला मामाघरप्रति बढी आकर्षित हुने ।

२०१५ सालको साउने सङ्क्रान्तिको दिनको कुरा हो । भट्टराईगाउँमा खसी काटेकाले म मासु लिन गएको थिएँ । पाँच मोहोरको एक धार्नी मासु लिएर घर आइपुग्दा बाले हामीलाई दूध, दही पुगेन भनेर लामीडाँडाबाट एक पाथी दूध दिने अर्को एउटा भैंसी लिएर आउनुभएको रहेछ । गाउँका सबैजना जम्मा भएका थिए । उनीहरूको कुरा सुनेपछि भैंसी हेर्नभन्दा पनि एक पाथी दूध दिने भैंसीको मोल ६ बीस (१२० रुपैयाँ) तिरेर भाउ बिगारिदिएकोमा बुबासँग गुनासो गर्न आएका रहेछन् भन्ने अनुमान गरेँ मैले ।

त्यो दिन विहानको खाना खानुअगाडि हाम्रो घरमा माइलोमामा आइपुग्नुभएको थियो मेरो भाइ पहिलोपटक घरमा आयो भनेर आमा दङ्दास हुनुहुन्थ्यो । सानो फुर्ती थिएन आमाको । आमा किन खुसी हुनुभएको हो हामीलाई कुनै सरोकार थिएन । हामी त मामाले मिठाइ ल्याइदिनुभयो भनेर त्यत्तिकै दङ्ग परेका थियौं ।

काठमाडौं पुगेर आउनुभएको मामाले मुनामदन नामको एउटा किताब ल्याउनुभएको थियो । ‘हातका मैला सुनका थैला, के गर्नु धनले’ भन्ने त्यो किताबको श्लोक मामाले लय हालेर गाउनुभएको थियो । त्यसपछि पुरै ‘मुनामदन’ वाचन गर्नुभयो । उहाँले त्यस्तो भाकामा गाएको नाटक काठमाडौंको नाचघरमा हेर्नुभएको पनि थियो अरे । त्यो कुरा सुन्दा, नाटक कस्तो हुन्छ होला । भन्ने खुल्दुली हामीलाई लागेको थियो ।

त्यही वर्ष ठूलोमामाको छोरा विष्णु ओझाको विवाह हाम्रै गाउँमा हुनपुग्यो । बेहुला-बेहुलीसँगै म पनि मामाघर खोटाङतिर लागें ऐँसेलुखर्कको हाट र रभुवा बजारबाहेक केही नदेखेको मा खोटाङबजार बेपत्ता ठूलो लाग्यो बजारमा सबैभन्दा ठूलो पसल अन्तरे बाँडाको थियो थरी-थरीका कपडा र भाँडा बेच्ने अरू पनि थुप्रै पसल थिए त्यो बेला ज्वाइँ भनिने मान्छेको मिठाइ पसलमा खाएको लालमोहन र रसवरीको स्वाद अझै जिब्रोमा बसेकै छ ।

गाउँको खरले छाएको सानो स्कुल र सानै खेल्ने चौर मात्र देखेको म । त्यहाँको ठूलो टुँडिखेल । झिँगटीले छाएको दुई तले स्कुल भवन । टुँडिखेलभन्दा मास्तिरपट्टि दस हजार रकमको ‘भाग्योदय चिठ्ठा’ पर्दाको बेला ठूलो मामाले जिणर्ोद्धार गराउनुभएको भगवतीको मन्दिर देखेर दङ्दास परेको थिएँ ।

२०१५ सालको आमचुनावको बेला थियो ठूलोमामा गणेशप्रसाद ओझा, रङ्गनाथ शर्माको हात छाप चुनाव चिह्न लिएर सांसदमा उठ्नुभएको थियो प्रचार-प्रसारको व्यस्तताले घरमा कम आउने भएकाले उहाँसँग मेरो भेट कहिलेकाहीँ मात्र हुन्थ्यो मामाको घरमा सानी माइजू, नेपालवाली माइजू र भाउजू हुनुहुन्थ्यो मेरो खेल्ने साथी थिइन् झुना बहिनी ठूलोमामाको तीनतले घर कुवापानीको बरको रूखभन्दा माथिको डाँडामा थियो म त्यही बस्न थालें ।

२००७ सालको क्रान्तिले हाम्रो मावलीको रहनसहनमा ठूलो. परिवर्तन ल्याएको थियो दौरा-सुरुवालको ठाउँ कमिज पाइजामाले लिएको थियो खाना खाँदा धोती फेर्ने चलन हराइसकेको थियो । महिलाहरूले खाना पकाउँदा चोलो फुकाल्नुपर्ने झन्झटबाट उन्मुक्ति पाइसकेका थिए चन्द्रे बाँडा र गडुले कुमालेको घरबाट आउने रक्सीका बोतल, रङ्गीचङ्गी भुत्ला भएका कुखुराका भालेले भान्सामा प्रवेश पाइसकेका थिए । ती सामान ल्याउने कामको लागि तैनाथ रहन्थे तल्लो गाउँका बन्जारा र गेलाल आफूलाई भने खाना खान बस्दा सधैँभरि धोती नफेरी नहुने ।

घाम नअस्ताउँदै खाना खाने चलन थियो । धोती फेरेर भान्सामा खाना खान बसेको एक साँझ । अरू दिनजस्तै त्यो दिन पनि काँसका कचौराको लाइन थियो । त्यसमध्येको एउटा ठूलो कचौरामा टन्न तेल र मसला देखिएकाले नेपालवाली माइजूलाई सोधे- ‘माइजू त्यो के हो ? बाले घरबाट हिँड्ने बेलामा मामाघरमा कुखुराको मासु खान्छन्, विचार पुऱ्याउनु नि ।’ भन्नुभएकाले शङ्का लागेर सोधें नेपालवाली माइजू र भाउजू दुवैजना मुख छोपेर खितिति खितिति गरेर हाँसिराख्नुभयो, तर उत्तर दिनुभएन ।

मैले अनौठो मान्दै फेरि सोधेपछि भाउजूले भन्नुभयो- त्यो घडीचराको मासु हो भानिज । किन सोध्नुभएको ? चराको मासुमध्ये मैले कालिज र परेवाबाहेक अरू केही खाएको थिइनँ । पहिले कहिल्यै नसुनेको घडीचराको नाम सुन्दा त्यो के होला ! भन्ने लागेर म अलमलमा परेको थिएँ । घडीचरो भन्ने नाम न कहिल्यै सुनेको न कहीं खाएको । देख्दै खाइहालौँ परेको बास्नादार त्यो मासुमा मलाई केही कैफियत छ झैँ लाग्यो । कैफियत नभएको भए माइजू र भाउजू किन खितिति खितिति गर्दै हाँस्थे होलान् र ?

भान्साको तलतिर बसेर खाना खाँदै गरेकी कुना बहिनीलाई हेरेँ उनी पनि मुसुमुसु हाँस्दै खाना खाँदै थिइन् मलाई एकाएक जात जाला भन्ने डरले सताउन थाल्यो । जात गयो भने पतिया गर्नुपर्छ भन्ने सुनेको थिएँ पतीया के हो भन्ने कुरा थाहा भने थिएन गड्बडीको शङ्काले मलाई यसरी छोप्योकि खाना नखाई जुरुक्क उठेर धोती फालेँ अनि लुगा लगाएँ । घरबाट आउँदा ल्याएको सम्पत्तिको नाममा रहेका आफ्ना दुई जोर लुगा झोलाभित्र कोचेर घरबाहिर निस्किएसँगै बेपत्तासँग तलतिर सुइँकुच्चा ठोकेँ ।

ठूलोमामाको घरपछाडिको डाँडाको मुन्तिरपट्टि डाँडाघरे मामाको घर थियो । त्यसको मास्तिरपट्टि थियो जोकर भन्ने घर्तीको घर । जोकर, टेबल, कुर्सीहरू बनाउने राम्रो सिप भएको सिकर्मी थियो “कता कुदेको भानिज ?” भनेर जोकरले सोधेको प्रश्नलाई बेवास्ता गर्दैमा म झन् धुइँपत्तालले कुद्न थालें । जोकरको घरभन्दा परतिर हब्बे घर्तीको खोप्रो थियो । त्यतापट्टि पनि नहेरी ओरालो झर्दै भूतले लखेटेको जस्तो गरी झोला च्यापेर कान्छोमामाको घरमा पुगेँ ।

कान्छामामा टीकाप्रसाद ओझा हँसिलो अनुहार र मिजासिलो स्वभावको मान्छे हुनुहुन्थ्यो उहाँका पनि दुइटी श्रीमती थिए । सुनले दाँत मोरेकी कान्छीमाइजूलाई सबैले ‘थापाकी छोरी’ भन्थे । जेठी माइजूपट्टिका दुई छोरामध्ये ठूलो छोराको नाम थियो मोहन । उमेर पाँच वर्षजति थियो होला । म दलानको खाटमा झोला च्यापेर बसिराखेको थिएँ । खाटमा चढ्न नसकेको मोहन म बसेको खाटको वरिपरि घुमीघुमी मेरो टाउकोमा भएको गाईको खुर बराबर आयतन भएको टुप्पीतिर नियाल्दै थियो ।

उसका आँखा डेढो भएकाले टाउकोतिर हेरेको हो कि खुट्टातिर हेरेको भन्ने मेसो पनि पाइन्नथ्यो । मसँग बस्ने रहर गरेको होला भन्ने ठानेर मैले उसलाई बोकेर खाटमाथि राखिदिएँ । खाटमा चढाइदिएपछि पनि ऊ मेरो वरिपरि घुम्दै थियो । मेरो पछाडि पुगेको उसले क्षणभरमा नै दुई हातले टुप्पी समातेर झ्वाट्ट तान्दा गाईको खुरको आकारको मेरो टुप्पीको आधा भाग पुक्लुक्कै उखेलियो । एक्कासी त्यस्तो घटना घट्दा पहिले त के भयो भन्ने कुराको भेउ नै पाइन । क्षणभरमा नै उखेलिएको ठाउँमा भत्भती पोल्न थाल्यो । टनटन गरेर दुख्न थालेसँगै रगत बग्न थाल्यो । मैले रून सुरु गरें ।

कान्छामामाको घरमा पनि मलाई बस्न जुरेको रहेनछ भन्ने लाग्यो । एक हातले उखेलिएको टुप्पी थिचेँ । अर्को हातले झोला च्यापेर रूँदै माइलोमामा रामबाबुको घरतिर झरें । माइलीमाइजूले उखेलिएको टुप्पीमा औषधि लगाइदिनुभयो । भान्सामा लगेर खाना खाउनुभयो । मामाका छोराहरू श्याम दाइ र भाइ उत्तर मेरै उमेरका भएकाले मैले अलि सजिलो अनुभव गरेको थिएँ । टुप्पीको घाउले गर्दा भोलिपल्टदेखि मलाई हनहनी ज्वरो आयो । मामाघरमा बसेर पढ्न आएको थिएँ, कहिले घर फर्किऊँ हुन थाल्यो । आमाले गर्नुभएको मामाघरको बखान सब झुटो साबित भएको थियो ।

दुवै भाइ छोरा मामाघर गएकोले बालाई दिक्क लागेछ क्यारे । खोटाङमा भएको खेतको धान असुल्ने निहुँ पारेर उहाँ वनपाला साइँला बाबुकोमा आएर बस्नुभएको रहेछ पँखेटा लागेजसरी छिटो हिँड्ने भएकाले वहाँको छद्म नाम थियो पैखेटे साइँला । बा आउनुभएको कुरा थाहा पाएको म मामाघर छोडेर बासँगै बस्न पुगेँ । घर फिर्नुअघि वा मामाहरूलाई भेट्न जाँदा म पनि सँगै गएको थिएँ । हिँड्ने बेलामा ठूलोमामाले मलाई दस उपैयाँको एउटा च्याप्टो नोट दिनुभएको थियो त्यो बेलाको दस रुपैयाँ सानो रकम हुँदैनथ्यो । दस रुपैयाँमा एउटा सिङ्गो बोको किन्न पाइन्थ्यो म दङ्ग परेर बासँग घर फर्किएँ ।

दस रुपैयाँ दिने मामा त मन पर्नुभएकै हो । हैट. ! घडीचरा खाने, टुप्पी उखेल्ने आमाको माइतीघर भने मलाई पटक्कै मन परेन ।

०००
‘चिबे नकटो’ २०७८

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
हस् हाकिमसाब !

हस् हाकिमसाब !

लेखनाथ पाेखरेल
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
दुब्लो गान

दुब्लो गान

रेहित सैजु