बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

परधानमन्त्री कि वरदानमन्त्री !

परधानमन्त्री वा लडधानमन्त्री वा वरदानमन्त्री जे नाम राखे पनि मेरो असहमति हुने छैन । नयाँ नामकरण छिटो भन्दा छिटो गर्नु होला । यो समयको माग हो ।

Nepal Telecom ad

आयात गरेर धान खाने कृषि प्रधान देशमा धानमन्त्री हुनु आफैमा ठूलो मान सम्मान हो भन्ने मेरो ठम्याई हो । तर भित्र भित्रै कुटुकुटु धान खाने मुसा धानमन्त्री हुन नखोज्नु आठौं आश्चर्य हो । कृषि प्रधानको प्रधान सापटी लिएर धानमन्त्रीको सट्टा प्रधानमन्त्री हुन रहर गर्नेको लावालस्कर छ । जनमत गनमत पाउने र गुमाउने दुबैले हुन र खान मिल्ने यो पद अजब जगबको रहेछ । यो त जुन तरकारीमा हाले पनि हुने आलु जस्तै रहेछ । झन चुनाव हारेकाले गोडा फारेको विगत देख्दा यो मगजमा गज घुस्दै घुसेन ।

कुनै खतिपति बिना अधिपति बन्ने प्रधानमन्त्री पदको स्वाद कस्तो होला ? टिबी लागेका ख्याउटे च्याउटे पनि त्यहाँ पुगेपछि हृष्ठपुष्ठ हुन्छन् । यो पदले मोहनी लाएर दिवानी भएका मान्छेहरू देख्दा कतिको बिहानी होला कि नहोला शंका लाग्छ ।

मनमै भए पनि प्रधानमन्त्री हुने रहर पलायो । मनको लड्डु लुड्याउँदै मनमै रणनीति बनाउन थाले । आफ्नो सिद्धान्त र वाद जे भए पनि आशिर्वाद बेगर प्रधानमन्त्री हुन नसकिने कुरो पनि बुझेको थिएँ । पैसाको दानले मतदान जिते पनि वरदान विना प्रधानमन्त्री हुन सकिंदैन भन्ने बुझेर उत्तर, दक्षिण र पश्चिमका परमदेवको शरणमा पर्दै थिए । फेरि शरणको मरण होला कि भन्ने कताकता डर चाहिँ नभएको होइन ।

केही गुप्त दूतदेखि उपयुक्त राजदूतसँगको भेटघाटपछि प्रधानमन्त्री हुने चाँजोपाजो मिल्दै थियो । हनुमानले अनुमान लगाइहाले छन् । एक कान दुइ कान गर्दागर्दै मैदान भइहाल्यो । नागरिक जालदेखि सामाजिक सञ्जालसम्म चर्चा परिचर्चा भैसकेछ । मन्त्री हुनेको लाइन र खुसीले वाइन खानेको बयान टिकटिकमा भाइरल भएछ । अब कर्मचारी, ब्रह्मचारी र चाटुकारको जय जयकारको कुरा गरी के साध्य ! थाहा नपाई सेना र प्रहरीले सुरक्षा प्रबन्धको बन्ध चक्रभित्र राखिसकेछन् ।

प्रधानमन्त्री पदको गद भिरेपछि जिब्रो नै सरस्वती बन्दिरहिछन् । नजानेको र नसुनेको इति वृत्तान्त केही नहुने रहेछ । फेरि बुझ्लान् कि भनेर नबुझिने गरी बोल्यो, त्यो पनि बुझिहाल्दा रहेछन् । शास्त्रास्त्र गर्न कसले सक्ने ! कालिदासले जितौँला भनेर नसोचे हुन्छ । एक सासमा ज्ञान विज्ञान, दर्शन बताउन सकिँदो रहेछ । एकाएक तत्त्वज्ञानी ।

प्रधानमन्त्री भएपछि लक्ष्मी सधैं अघिपछि हुँदिरहिछन् । स्वीस बैंकमा आफै पुग्दिरहिछिन् । अरु बैंकमा पुगेको त के चर्चा भो र ! झन खोरमा पठाउनु पर्ने चोरका जोरहरू सन्त साधु बने । पुलिस कामविहिन हुने भए, त्यसैले सुनकाे धुन सुन्न एअरपोर्टमा पठाए । फेरि टनका टन सुनले गुन लाएपछि देश कसरी गरीब हुनु ! कमिशनखोरसँग स्वर मिलेपछि लक्ष्मी खुसीले नाचेको नाच्यै भइन् । सतरी करोड भन्दा तल आँखा लाउँदै लाउँदिनन् ।

प्रधानमन्त्री भएपछि जताततै भोज भतेर र पाँच तारे होटल हुने रहेछन् । सडक गल्लीमा देखिने भोका नाङ्गा एकाएक बलिया बाङ्गा भए । आफै तीन छक्क ! गरीबहरू एकाएक देशबाट शेष भए । सेना र प्रहरीका साइरनवाला गाडी अघिपछि लागेपछि टाफिक जाम त चाम हुँदो रहेछ ।

विकास त चुट्कीका भरमा हुने रहेछ । छिनमा चीनदेखि रेल र तेल आउने योजना बनिहाल्यो । भारतको विकास प्याकेजले नाकावन्दीको आहतलाई राहत दियो । झन पश्चिमको डलरको कलरले देश मालदार हुने तरखरमा अगाडि बढिहाल्यो । नपत्याए, अब एमसिसीको हर्ष वर्षवर्षमा मनाउनु होला ।

देशमा त्यत्रो उधुम विकास भइरहेको बेला थाहै नपाई आफ्नै पार्टीका षडयन्त्रकारीले षडयन्त्रको यन्त्र चलाउन थालिसकेछन् । पार्टी फोरेर भए पनि चुनाव जितेको मान्छे । झन वरदानले विराजमान भएकोले मेरो गमको दम पनि कहाँ कम थियो र ! फेरि ग्रहदशा सुब्यफाब्य भएर पदको कद पाएको बेला डराउने सवालै भएन ।

समृद्दिका टावरहरू देशभरी बनिरहेका बेला षडयन्त्रकारी सडाउने षडयन्त्रमा म पनि के कम थिएँ र ! तर मतियारलाई अन्तिम हतियार किन चलाइहाल्नु भनेर थर्काएँ- “भीमसेन थापा बसेको कुर्सीमा बसेको छु । तिमीहरूले के ठानेका छौ ।” त्यतिखेरै बूढीको आवाज आयो- “ए बूढा, के भो तिमीलाई ? किन कराको राती राती ? यहाँ मान्छेको निद्रै खलबलियो ।” झल्याँस्स बिउँझिएछु ।

सपनामा प्रधानमन्त्री हुँदा त कहिल्यै नछोडौँ जस्तो हुँदो रहेछ । विपनामा साँच्चै हुनेलाई कसरी छोडौँ लागोस् त गाँठे ! झन पटक पटक त्यो स्वादको मदमा डुबेकाले कसरी बिर्सनु ? तव भुरेटाकुरे सबैलाई प्रधानमन्त्रीको लाइनमा बसौं बसौं किन नलागोस् ! यस्ता समाचार पढ्दा र सुन्दा अन्तरमनमा रहर जागेर आएछ । सपनामा अलि लामो समय प्रधानमन्त्री हुने रहर बूढीको कराईले हराइ भयो ।

सपनामा पनि प्रधानमन्त्री हुन सजिलो रहेनछ । कसलाई मन्त्री बनाउने नबाउने आफ्नो त खटनपटन नै नहुने रहेछ । वरदान नपाउनेलाई मन्त्रीको माला पहिराउँला भनेर कल्पना नगरे पनि हुने रहेछ । वरदानको राप तापले मन्त्री हात र मुख ठाउँ कुठाउँमा चलाउँछन् । बोल्ने नबोल्ने बोल्छन् र हुने नहुने तान्छन् । यी माननीय हुन् कि ताननीय हुन् ? रनभूल्ल हुन्छु । यस्ता सबै मन्त्रीको नाम भनेर के साध्य ! फेरि तिनै मन्त्री आफ्नै विरुद्ध प्रभुकहाँ बेला न कुवेला तन्त्र मन्त्र जप्न पुग्छन् ।

रेडियो नेपाल मात्र सुनिने पुरानो जमानामा हात्तिछाप चप्पलको विज्ञापन बज्थ्यो- “हात्ति र हात्ति छाप उस्तै उस्तै हो नानु ।” त्यो विज्ञापनको पुरावृत्तिसँगै मन्त्री र तन्त्री पनि उस्तै उस्तै लाग्न थालेको छ । तर देशको संविधानमा तन्त्रीको व्यवस्था छैन, मन्त्रीको मात्र व्यवस्था छ । फेरि देश नै मन्त्रीमय भएकोबेला तन्त्रीको कुरा गर्नु भनेको काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर हुने हो कि भन्ने डर पनि छ ।

संस्कृत शब्द मन्त्रबाट मन्त्री बनेको हो । त्यसैले मन्त्र सुनाउने मान्छे मन्त्री हुन् । माननीय मन्त्रीज्यूलाई मन्त्र सुनाउने गुरु भन्ने कुन गोरु हो भनेर तपाईं तीन हात उफ्रिहाल्नु होला । तर सत्य यही हो । कुन दिन मन्त्रीहरूले मन्त्र नसुनाएको छ, बरु त्यो चाहिँ भन्नुहोस् त ?
“विकास भयो भने युवाले देशमै रोजगारी पाउँछन् ।”
“भ्रष्टाचार निर्मुल गर्न सकेमा सुशासन कायम हुन्छ ।”

मन्त्रीहरूले सुनाउने मन्त्रहरू धेरै छन् । सूची लामो छ, अनुसूची झन लामो छ । माथिकै मन्त्रको उदाहरणमा मन्त्रीले रोजगारी दिने र सुशासन कायम गर्ने भनेर कहाँ भनेका छन् त ? “….भयो भने… गर्न सकेमा..” पो भनेका हुन् । यस्ता सयौं मन्त्र जप्न पर्दैन, दिनदिनै सुनेर कानै पवित्र हुन्छन् । संघदेखि प्रदेशसम्म मन्त्री बनाउने कारखानामा मन्त्रको जोखना किन ?

गणतन्त्रमा राजतन्त्रको जस्तो मन्त्री रबर छाप हुँदैनन् । उनीहरू गर्न र हुन नसक्ने कुरा गर्ने लबर छाप हुन् । लबर छाप मन्त्रीले पद र पैसाको लागि के मात्र गर्दैनन् ? उनीहरूको लागि पद र पैसा सर्वेसर्वा हो । त्यही भएर अब “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” होइन, “सर्बे मन्त्रिण सुखिनः सर्बे मन्त्राणी निरामयाः” भन्दै जप्नुमा कल्याण छ ।

मन्त्रीको अलिकति जिलीगाँठी पत्ता लगाएन भने कुरो अधुरो हुन्छ । प्राचीनकालमा सन्त महन्तले राजालाई मन्त्र प्रदान गर्ने कार्य गर्थे । अहिलेको विकासे र निकासे भाषामा भन्दा त्यो मन्त्र भनेको सल्लाह हो । त्यसरी मन्त्र दिने मान्छेलाई मन्त्री भनिन्थ्यो । करीव २३०० वर्ष पहिले भारतीय उपमहाद्घिपमा ठूलो साम्राज्य निर्माण गरेका मौर्य शासक चन्द्र गुप्तका सल्लाहकार चाणक्य थिए । उनलाई पनि मन्त्री नै भनिथ्यो । भारतको दिल्लीमा उनकै नामबाट चाणक्यपुरी छ र त्यहाँ विभिन्न देशका दूतावासका घरवास छन् ।

केन्द्रदेखि प्रदेशसम्म भाडक्यहरूको संख्या दिन गुना रात र रात गुना दिन बढिरहेको छ । अब कान्तिपुरी नगरी मात्र होइन, देशका सबै नगरीलाई भाडक्यपुरी बनाउने सुनौलो मौका हो । यो मौकामा चौका हानी हान्नु पर्छ ।
अब मन्त्रीको मात्र चर्चा गरेर मिनिस्टर छुटाउनु तपाई जस्तो अङ्ग्रेजी जान्ने धुरन्धर बुद्धिमानको अपमान हो । फेरि अङ्ग्रेजीले संसार खाएको बेला मिनिस्टरको मान भाउ भएन भने फेरि दाताले दान र लोनरले लोन रोकिदेलान् । दान र लोन खाँदा बढेको मान पनि घट्ला । त्यही भएर मिनिस्टरको कुरामा छुरा लाउन भएन ।

चर्चमा कर्मकाण्ड र प्रवचन दिनेलाई सबैभन्दा पहिले मिनिस्टरको पगरी गुथाइएको रहेछ । त्यसपछि त्यो पगरी राजनीतिमा शिरधारी बनेछ । सन् १७८० मा बेलायतमा राजतन्त्रको खुट्टो लुलो बनाउन मिनिस्टरबाट आफूलाई बढुवा गर्दै लर्ड रवर्ट वालपोलले प्राइमिनिस्टरको खोल ओढेछन् । त्यही खोलले नोल पिटेर संसारमा प्राइममिनिस्टर अर्थात् प्रधानमन्त्री बन्ने चलन चलेछ । प्रधानमन्त्रीको यति जिलीगाँठी पनि नखोतल्नु भनेको त बेलायती इतिहासको उपहास हो ।

बेलायती इतिहासको त्यही रापताप कायम राख्न बममा ज्यान पड्काएर हामी वीर भएका हौं । देशमा चारो जुटाउन गाह्रो भएपछि गोर्खा भर्तिको अर्ति मानेर बर्माका जङ्गलमा खुकुरीका भरमा लडाकु विमानसँग लडेर वीरको ख्याति कमाएको हो ! के थोरै भुनी सुँगुरको योनि च्याति वीरको ख्याति कमाएको हो र ?

हटि हैन डटी लड्ने हाम्रो बानी छ । अर्कैका लागि लड्ने र मर्ने नानीदेखिको बानी छ । परापूर्वकालदेखि जानेको पनि त्यही हो । जन युद्धदेखि धन युद्द पनि परमदेव प्रभुकै आशिर्वाद र निर्देशनमा लड्यौं । प्रधानमन्त्री बन्न परदेवकै आशिर्वाद चाहिने भएपछि अब प्रधानमन्त्री पदलाई परधानमन्त्री नामकरण गर्दा सान्दर्भिक होला जस्तो लागेको छ । प्रधानमन्त्री संसदको कार्यकाल पुरा गर्न नपाउँदै लड्छन् । प्रधानमन्त्री लड्ने र लडाउने खेलोमेलो चलिरहन्छ ।

प्रधानमन्त्री पदमा सत्र पटक लडेर कोही कहिल्यै उठ्नै नसक्ने गरी लड्छन् । असक्षमको ट्याग लागेर पनि कोही एक पटक मात्र होइन्, पाँच सात पटक पद पड्काउँछन् । “म कि त” भनेर लड्दा लड्दै दुई तिहाईको प्रधानमन्त्री पनि माकाफुइँ भइ लडेका छन् । संसदको पुरा काल कुनै प्रधानमन्त्रीले पुरा नगरी लडेको देख्दा लडधानमन्त्री नामकरण पो उपयुक्त होला कि जस्तो पनि लाग्छ ।

वरदानले मात्र प्रधानमन्त्री पदमा पुग्न सकिने हुँदा वरदानमन्त्री पो नामकरण गर्ने हो कि ? फेरि कताकता द्विविधा भएकोले यो बुङ्गो टुङ्गोमा पुग्न सकेन । तपाई सकस नमानी फोकस भएर एउटा टुङ्गोमा पुग्नु होला । परधानमन्त्री वा लडधानमन्त्री वा वरदानमन्त्री जे नाम राखे पनि मेरो असहमति हुने छैन । नयाँ नामकरण छिटो भन्दा छिटो गर्नु होला । यो समयको माग हो । बाँकी पदमदेव प्रभुको निगाहा ।

०००
क्यनाडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भाग्दाभाग्दै

भाग्दाभाग्दै

राजेन्द्र कार्की
गुरु कि गोरु !

गुरु कि गोरु !

राजेन्द्र कार्की
त्यो नेपाली होइन

त्यो नेपाली होइन

राजेन्द्र कार्की
सबै नाङ्गिएपछि

सबै नाङ्गिएपछि

राजेन्द्र कार्की
बूढो गोरु कि बहर !

बूढो गोरु कि बहर...

राजेन्द्र कार्की
पुस्तकको भूमिका

पुस्तकको भूमिका

हरिशंकर परसाईं
कन्पु भिसा

कन्पु भिसा

होम सुवेदी
चोरहरू

चोरहरू

वसन्त अनुभव
भुकाइ र ढुकाइ

भुकाइ र ढुकाइ

गाेपेन्द्रप्रसाद रिजाल