सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कवि भूपी शेरचनको जीवनीको छोटो झलक

सरलता, सरसता र सहजता, व्यङ्ग्य र अलङ्कारको घोलबाट जीवनका यथार्थ जसरी जीवन्त छन् त्यसरी नै भूपी पनि नेपाली भाषा, जाति र कविताका माटामा जिउँदा र अमर बनेका छन् ।

Nepal Telecom ad

भूपी शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२/१० गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो (परिवर्तन, २०१० भूमिका, कुँवर २०२३ र सुवेदी, २०३७) । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपी शेरचनको खास नाम भूपेन्द्रमान शेरचन हो । उनले भूपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ (परिवर्तन, २०१०), ‘सर्वहारा’ (नयाँ झ्याउरे, १९५४ ई.), भूपेन्द्रमान शेरचन्द (बी.एम. शेरचन्द, निर्झर २०१५) जस्ता नाम लेखेका भए पनि घुम्ने मेचमाथि अन्धो मान्छे (२०२५) कवितासङ्ग्रहमा भूपी शेरचन भनेर आफूलाई चिनाएका छन् । आज उनको सम्पूर्ण परिचय कवि भूपी शेरचन भएर रहेको छ ।

भूपी पाँच वर्षका हुँदा उनकी आमाको मृत्यु भएकाले र उनका दिदीबैनी नभएकाले उनी मातृजातिको स्नेहबाट वञ्चित भएको उल्लेख छ (कुँवर, २०२३ : ८१) । त्यति मात्र नभएर छोरीको आशमा छोरा भइदिएको र मूलमा जन्मिएकाले पारिवारिक उपेक्षामा उनको बाल्यकाल बितेको पनि थाहा हुन्छ (कुवँर, २०२३ : ८१) । यस उपेक्षाका कारण कलिलै अवस्थामा असह्य मानसिक स्थिति लिएर उनी हुर्कंदै गएको यथार्थ पनि बिर्सन मिल्दैन । यस किसिमको पारिवारिक विषम परिस्थितिमा हुर्किएका कवि शेरचन १०/१२ वर्षको उमेरदेखि शिक्षाका लागि बनारसमा बस्न थालेको जानकारी पाइन्छ (कुँवर, २०२३ : ८१) ।

वि.सं. २०१० मा प्रकाशित ‘परिवर्तन’ नाटकका भूमिकामा “साहित्यप्रति अभिरूचि चार वर्ष अघिदेखि नै जनजीवनको अनुभूतिबाट सर्वहाराजीमा हुन गयो” भन्ने वाक्य लेखिएको छ । यस आधारमा उनको साहित्यिक यात्रा २००६ सालबाटै भएको बुझिन्छ । बनारसमा अध्ययन गर्ने क्रममा उनी माक्र्सवादी चिन्तनप्रति आकर्षित भएको पाइन्छ । त्यसबेला उनको स्वभावमा परिवर्तन आएको रक्सी, चुरोट आदि खान सिकेको पनि जनाइएको छ (भूपी स्मृति, २०४७ : ३३) । यसै समयमा उनी कम्युनिस्ट राजनीतिमा प्रतिबद्ध भएको पाइन्छ । यसको स्पष्ट प्रभाव ‘परिवर्तन’ र ‘नयाँ झ्याउरे’ मा परेको छ । उनले औपचारिक शिक्षा बी.ए. भन्दा माथि लैजान नसकेको पनि उल्लेख छ (सुवेदी, २०३७ : ३) ।

भूपीको साहित्यतिर अभिरूचि २००६ सालबाटै देखिए पनि उनको पहिलो प्रकाशित रचना/कृति भने ‘परिवर्तन’ (२०१०) नाटक हो । कवितामा उनको सर्वप्रथम ‘नयाँ झ्याउरे’ (१९५४ ई.) गीतिकवितासङ्ग्रह प्रकाशनमा आएको पाइन्छ । यसरी नै “यही नयाँ बिहानीको सन्देश लिएर यो कहानीसङ्ग्रह प्रकाशित हुँदैछ, यसमा साथी भवानीप्रसाद शर्मा र ‘सर्वहारा’ का कहानीहरू सङ्कलित हुनेछन्”, (१९५४ ई.) भन्ने जनयुग प्रकाशनको सूचना पाइए पनि उनका कथा भने प्रकाशित भएका छैनन् । बरू उनले आफूले कहिल्यै कथा नलेखेको बताएका छन् (सुवेदी, २०३७) ।

पढाइतिर सफल नभएपछि पारिवारिक दबाबमा परेर भूपी वि.सं. २०१२ मा वैवाहिक बन्धनमा बाँधिएको पाइन्छ । यसै ताका भद्र अवज्ञा आन्दोलनमा भाग लिँदा उनी जेलमा परेका थिए भन्ने उल्लेख पनि छ (कुँवर, २०२३ : ८१) । वि.सं. २०१३ सालमा ‘युवा फेस्टिभल’मा भाग लिन रूसको भ्रमणमा गएका भूपीमा साम्यवादी विचारप्रति प्रतिकूल प्रभाव पर्‍यो भन्ने कुरो विचारणीय देखिन्छ (सुवेदी, २०३७ : ४) । यसपछिका दिनमा उग्र र रोमान्टिक साम्यवादी स्वर मत्थर भएको भन्ने भूपीको आत्मस्वीकृति भए पनि ‘होचिमिह्नलाई चिठी’ जस्ता कविता यसपछि नै लेखेको प्रसङ्ग स्वात्तै मिल्काउन सकिँदैन ।

‘निर्भmर’ को प्रकाशनपछि नै भूपी स्वशैलीका कविता लेख्न थालेका हुन् । यसपछि यिनका कवितामा कलात्मक, बौद्धिक तथा व्यङ्ग्यात्मकताभित्र सौन्दर्यात्मक उचाइ थपिएको हो । त्यस समयमा भूपीको रक्सीको लत, राजनीतिक विवाद र मृत्युको चाहनालाई लिएर चर्को विवाद भएको यथार्थलाई लुकाउन मिल्दैन । यसबाट उनको लेखन र जीवनका कार्यहरूका बीचमा तालमेल नमिलेको पनि स्पष्ट हुन्छ । यस प्रसङ्गमा निम्न लिखित भनाइ मननीय छ- “कुनै समयमा ‘म एक पुत्र’, एक पति, एक पिता हुँ” भनी आफ्नो कर्तव्यपट्टि सजग रहन सकेको भूपी आज आएर रमको धूनमा आफ्नो त्यो कर्तव्य बिर्सेर म केही होइन, म खाली एउटा बोतल हूँ र मेरो आदि-अन्त केही छैन भन्छ भने उसलाई आफ्नो पुरानो कर्तव्यपट्टि सजग गराउने काम हाम्रो हो” (ढकाल, २०२० : ४५) । यसै क्रममा तारानाथ शर्मा “भूपी हाम्रा युगका ठूला कवि हुनुहन्छ जसका कलममा नवीनता गुलियो गीत भएर गुञ्जिएको छ” (पृ. ३६) भनेर नपुगी “तल्ला वर्गेहरूका प्यारा कवि” (पृ. ३७) तथा “यस नक्षत्रलाई आजका पुस्ताले चिन्न नसके पनि भोलिकाहरूले अवश्य चिन्नेछन् र आफ्ना मुटुमा टाँस्ने छन्” (पृ. ३७) भन्दै “भूपी कवितामा राम्रो विचारको र राम्रो शैलीको सङ्गीतात्मक मेल भएको” (पृ. ४६) उल्लेख गरेका छन् (शर्मा, २०२१ : २५-४७) । साहित्यमा चर्चा-परिचर्चा उठेका बेलामा उनी “म पहिले वादलाई महत्व दिएर लेख्थेँ तर पछि जुन कुराले आफैलाई खिच्छ त्यही कुरालाई लिई लेख्न थालेको छु । यद्यपि कला कलाको निमित्त भन्ने सिद्धान्तलाई म यद्यापि मान्दिनँ” (कुँवर, २०२३ : ८१) भन्छन् । यसको दुई वर्षपछि उनको चर्चित कृति “घुम्ने मेचमाथि अन्धो मान्छे” (२०२५ वि.सं.) प्रकाशित भएको पाइन्छ ।

साहित्यमा मात्रै लागेर बाँच्न नसकिने परिवेशलाई भूपी लेखन र जीवनका सन्दर्भबाट बुझिसकेका हुन्छन् । एकपछि अर्को हुँदै पारिवारिक बोझ पनि उनका थाप्लामा थपिँदै गएको पाइन्छ । भूपी भैरहवा, पोखरा र चितौनमा ठेकेदारी गरेर केही समय बिताएका भए पनि त्यसमा रम्न नसकेको बताइन्छ । वि.सं. २०२६ मा दोस्रो विवाह गरेपछि उनले जीवनप्रति केही आसा सँगालेका थिए भनिएको पनि पाइन्छ (सुवेदी, २०३७) ।

वि.सं. २०२६ मा साझा पुरस्कारद्वारा सम्मानित भूपीको कृति “घुम्ने मेचमाथि अन्धो मान्छे” हो । यसपछि भूपीका फुटकर रूपमा फाट्टफुट्ट कविता र अन्य रचना पत्रपत्रिकामा प्रकाशित भए पनि कृति भने प्रकाशनमा आएको पाइँदैन । वि.सं. २०३० तिर उनी चर्को बिरामी परेका र बिरामीबाट तङ्ग्रिएपछि दम र मधुमेहको रोगसित लड्दै साहित्यिक संसारमा क्रियाशील भएका थिए भन्ने उल्लेख छ (भूपी स्मृति ग्रन्थ, २०४६) ।

भूपी वि.सं. २०३६ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बनेका हुन् (सुवेदी, २०३७ : ४) । भूपीले आफ्नो मौनता चिरेर साहित्यमा सिर्जनारत भए पनि आफ्नो साहित्यिक उच्चतालाई कायमै राख्न भने सकेनन् । वैचारिक विचलनले उनलाई प्राज्ञका कुर्चीमा पुर्‍याए पनि उनले साहित्यिक ऊर्जा र प्रौढ साधनाको कवितात्मक प्राप्तिलाई प्रखर रूपमा देखाउन भने सकेनन् । केही स्तुति र प्रेमका भाकामा हराउँदै राजतन्त्रलाई स्वीकारेर भूपीले आफ्नो पुरानो विचारमा आफैंलाई व्यङ्ग्य हुने काम पनि गर्न पुगे । यसमा पनि यी भनाइले उनको विगतको पाटालाई स्मरण गराएको छ । उनी ‘मधुपर्क’ को लागि मसँग मधु चाहनुहुन्छ मेरो रचना भने कटु हुन्छ र “म कविताको विषयमा मात्र होइन, जुनसुकै राम्रो विषयको भविष्यको सम्बन्धमा ज्यादै आशावादी छु” (मधुपर्क, २०३८) भन्छन् । विचारअनुसारको कार्य नभएर नै उनका रचनाको चर्चा गर्दा पछिल्लो समयको विचार देखाएर धेरैले उनको कृतित्वको अवमूल्यन पनि गरेका छन् । उनका राम्रा विचार र कार्यको सम्मान गर्दै मिल्काउन पर्ने विचार र कार्य फाल्दै मूल्याङ्कन हुनपर्ने आजको पक्ष हो ।

भूपी लामो समयको मौनता तोडेर वि.सं. २०४१ मा “सर्पहरूको खोजीमा” भन्ने कविता लेख्छन् । त्यसै समयमा भूपी आफ्ना बारेमा भन्छन्- “विगत दुई दशकदेखि मभित्र कविता लेखनप्रति विरक्त्याइँ क्रमशः बढ्दै गएको तथा एक दशकदेखि मेरो स्वास्थ्य बिग्रदै गएकाले मैले लेख्न नसकेको हुँ” (गरिमा, २०४१ : पूर्णाङ्क १८) । भूपी कम्युनिस्ट र कवितामा लागेर आफू बिग्रिएको तथ्यलाई खोल्दा उनले बहुदलवादीहरूप्रति रोष प्रकट गर्छन् । आँधी र हुरी नआएसम्म समाजमा परिवर्तनको नयाँ बिहानी नआउने धारणा राखेर क्रान्तिमा समर्पित कवि राजाको निगाहलाई सर्वस्व ठानेर बाँच्नमा गर्व गरेका छन् । परिवार पाल्ने समस्यालाई ”को बाल्न सक्छ दियो हुरी चलेको घरमा” भनेर यथार्थबाट पलायन भएका छन् । उनी आफ्ना जीवनका महत्वपूणर् घटनामा “औंसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिस्ट हुनु” (गरिमा, २०४१ ः९) बताउँछन् । यसबाट उनको वैचारिक यात्रा स्पष्ट हुन्छ ।

प्रज्ञा प्रतिष्ठानको कुर्ची/पदबाट भूपी सन्तुष्ट भने देखिँदैनन् । उनी “घुम्ने मेचमाथि पुगेपछि म आधा अन्धो मान्छेचाहिँ भएँ” भनी यसप्रति असन्तुष्टि व्यक्त गर्छन् । यस प्रसङ्गमा दाहिने आँखो पहिल्यै अन्धो भएको र देब्रे आँखो पनि बिग्रदै गएको उनको कथन छ (गरिमा, २०४१ ः पूणर्ाङ्क १८) । उनी नेपाली मगज ‘जेट युग’ मा र च्यापुभन्दा तल ‘पेट युग’ मा भएको वास्तविकतालाई राम्ररी मनन गर्छन् । उनले समसामयिक कविहरूका बारेमा अध्ययन-अनुसन्धान गर्न प्रेरित गर्थे भन्ने भनाइ स्मरणीय छ (शर्मा, २०४६ः ११२) ।

आठ सन्तानका पिता र दुई पत्नीका पति भूपी सङ्गीत, क्रिकेटमा रूचि राख्थे भन्ने पाइन्छ । ‘प्रेम प्रसङ्ग’ (विगत) का कुरा नगरौं थुप्रै सुखी परिवार दुःखी होलान् भन्ने उनको भनाइबाट रसिक भूपीलाई सहजै चिन्न सकिन्छ । यस धर्तीमा रहुन्जेल उनका जीवनका जेजस्ता पाटा भए पनि उनको अमर कार्य कविता सिर्जना नै हो । यस धर्तीमा ५४ वर्ष बिताएर वि.सं. २०४६ जेठ १ गते (गोरखापत्र, २०४६) कवि भूपी यस धर्तीबाट सदाका लागि विदा भए । उनको भौतिक देह हाम्रा माझमा नभए पनि उनको कवि व्यक्तित्व जिउँदो रूपमा हाम्रासामु उभिइरहेको छ ।

यस सन्दर्भमा “उनको दाहसंस्कारमा नौजना साहित्यकारहरू मात्र सम्मिलित हुन सकेछन् र सारा साहित्यिक समाजले उनलाई बिर्सेजस्तै भएछ तर उनी हाम्रा हृदयमा कहिल्यै मर्दैनन्” (शर्मा, २०४६ : ११२) भन्ने मूल्याङ्कन स्मरणीय छ ।

भूपीका कवितामा हिमाली पाखाका लालीगुराँस र धूपिसल्ला, पहाडका लालुपाते र सुनाखरी, तराईका चाँप र धानका बालामा मात्र नभई चियाका बोटमा नेपाली पिरती घनीभूत हुँदा कवितात्मक सौन्दर्यले मन तान्छ । यस्तै भैरहवाको तातो हावामा लाहुरेको गन्ध सुुँघ्दा, चिसो ऐस्ट्रेरूपी काठमाडौंको रानीपोखरीमा बल्छी खेल्ने जिन्दगी हेर्दा, पोखरामा सेतीको गुम्फनभित्र माछापुच्छ्रे र फेवातालको गर्वमा राष्ट्रियता पढ्दा कहाँ भूपीलाई बिर्सन सकिन्छ र ? हामी सामाजिक हुन नसक्दाका बेथितिलाई उनी कविताका जलपले चम्काउँछन् । त्यसैले केही क्षण मान्छेले बिर्से पनि उनले दिएका कवितात्मक (साहित्यिक) खुराकमा साहित्यिक माटाले उनलाई बिर्सने छैन । उनी साहित्यिक माटामा आफ्नो युग बनाएर हुर्किसकेका छन् । उनका कविता र गीतका माध्यमले नेपाली साहित्यका क्षेत्रमा उनी शिखर कविका रूपमा चम्किरहने छन् भन्न सकिन्छ (शर्मा, २०५३ : १२) ।

भूपीले कवितामा आफ्नो युग बनाएका छन् । उनले बनाएको युगमा उनले हुर्काएको सरलता, सरसता र सहजता, व्यङ्ग्य र अलङ्कारको घोलबाट जीवनका यथार्थ जसरी जीवन्त छन् त्यसरी नै भूपी पनि नेपाली भाषा, जाति र कविताका माटामा जिउँदा र अमर बनेका छन् ।

सन्दर्भसामग्रीसूची
– अधिकारी, रविलाल (२०४४), प्रगतिवादी नेपाली कविता, पोखरा : लेकाली प्रकाशन ।
– कुँवर, उत्तम (२०२३), स्रष्टा र साहित्य, काठमाडौं : रूपायन प्रकाशन ।
– खनाल, यदुनाथ (२०३४), साहित्यिक चर्चा, काठमाडौं ः साझा प्रकाशन ।
– चापागाई, नरेन्द्र (२०४३), केही सृष्टि : केही दृष्टि, काठमाडौं : साझा प्रकाशन ।
– ढकाल, सरिता (२०२०), प्रगतिशील दृष्टिमा केही समालोचनाहरू, काठमाडौं : रत्न पुस्तक भण्डार ।
– त्रिपाठी, वासुदेव (२०३२), नेपाली कविताको सिंहावलोकन, दोस्रो संस्क. काठमाडौं : साझा प्रकाशन ।
– त्रिपाठी, सुधा (२०५८), भूपीका कवितामा व्यङ्ग्यालङ्कार चेतना, काठमाडौं : भुँडीपुराण प्रकाशन ।
– प्रधान, कृष्णचन्द्रसिंह (२०५९), कृति अवलोकन, काठमाडौं : साझा प्रकाशन ।
– प्रधानाङ्ग, विकासमान (२०४७), (संयोजक), भूपी स्मृति ग्रन्थ, पोखराः पोखरेली युवा सांस्कृतिक परिवार ।
– बराल, कृष्णहरि (२०५७/५९), कवि भूपी विश्लेषण र मूल्याड्ढन, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
– भण्डारी, जगदीशचन्द्र (२०५५), प्रगतिवादी नेपाली कविता रेखाङ्कन र विश्लेषण, काठमाडौं : मुन्नी भण्डारी ।
– रिमाल ‘यात्री’ बासु (२०३२), केही साहित्यिक चिन्तनहरू, काठमाडौंः साझा प्रकाशन ।
– शर्मा, तारानाथ (२०४६), ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए’, गरिमा, (वर्ष ७, अङ्क ६, पृ. १०८-११२)
– शर्मा, सुकुम (२०५३) ‘रूपरेखा, रक्सी र भूपी’ प्रयोग, वर्ष १ अङ्क ८, पृ. ८ ।
– ‘‘ (२०५४) ‘भूपीका कवितामा चित्रात्मक प्रयोग’ वन्दना, वर्ष १६ अङ्क ३, पृ. ३८ ।
– ‘‘ (२०५५) ‘भूपीले कवितामा उतारेको पोखरालाई अवलोकन गर्दा’ उदय, वर्ष ६१ अङ्क २ ।
– ‘‘ (२०५५) ‘भूपीको यो हल्लै हल्लाको देश हो भन्ने कवितालाई खोतल्दा’ साहित्यसागर, वर्ष १ अङ्क १, पृ. १ ।
– ‘‘ (२०५६) ‘भूपीको ‘भूपी शेरचन’ कवितालाई खोतल्दा’ समष्टि, वर्ष २०, अङ्क ५ ।
– ‘‘ (२०५६) ‘कवि भूपी शेरचनको जीवनीको छोटो झलक’ साहित्यसागर, वर्ष २ अङ्क १, पूर्णाङ्क ४ ।
– ‘‘ (२०५६) ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ आजको समाचारपत्र, ।
– ‘‘ (२०५८) ‘कवि भूपीका आँखामा नेपाल र नेपालीहरू’ प्रतिभा, वर्ष ७ अङ्क ५ ।

०००
कीर्तिपुर, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे