गुटबल
एउटा गुटको तालमेल गर्न नजाने अर्कोको सौभाग्यमा भुकम्पको धक्का जाँदोरहेछ । अर्को गुटको मुसाले पनि थाहा नपाउने गरि गुटबलमा चल्नुपर्ने रहेछ ।
प्रसन्न मनले हसक्क हाँसो निकाले पनि देश बनाउन गुटबलको जरुरी छ । यसको तागतका वारेमा हामी सबै चिरपरिचित नै छौँ । यो गुच्चा भन्दा ठूलो बर्कौला भन्दा सानो आकारको हुन्छ । कोही मानिस भंगेराको जस्तो टाउको भए पनि हात्तिसुँडे मन भए पनि आफैलाई ठालु ठान्छन् । यो गुटबलको असाधारण धारण गर्ने कुरा हो । गुटबलको सानो भए पनि शब्दको कहानी ठूलो रहेछ । त्यसैले होला गुटबलको जरुरी भन्न खोजेको हुँ ।
फुटबल, झुटबल, चुटबल र लुटबलको कुरा ब्रह्माण्डको कण कणमा भेटिन्छ । गुटबल आकाश पाताल भैंमाल सबैतिर छ । गेडा न गुडी केलाउ बुडी भनेझै । यो एक प्रकारले खेलजस्तै हो । मानिसलाई गति दिन पनि गुटबल सस्तो भए पनि महंगो भए पनि अति आवश्यक छ । कुनै मेलामा जानुस् गुट नै भेट हुन्छ । सभा सम्मेलनमा पुग्नुस् त्यहाँ पनि गुटबलकै तारिफ सुन्नुहुन्छ । कुनै नेताकोमा पुग्नुस् जसले गुटको तारिफ गर्छ- उसकै कुभलो कहाँ हुन्छ ? अरुले गरेको गुटको तारिफ गरि तपाइँ पनि गरिदिनुस् उसको र तपाइँ दुवैको उपकार भैहाल्छ । कसैलाई उँभोलाउन पनि गुटबलकै उपाधि नभिरी धरै छैन । यहाँ त गुटबल भएकाले नै सम्मानको सुट लाउन पाएका छन् । कहिँ सूचिकारे गुट छन्, कतै कुचिकारे गुटबल छन् । गुटबलमा भागबण्डाको ठूलो भूमिका हुने भयो । भाग मिले मेला नमिले झमेला गुट बलमै हुँदोरहेछ । तर हेर्नुस् अर्थ न बर्थको गुट बनाएर मानिसले गुटबलको गजुर हालेका छन्। आफैले आफैलाई हजुर भनाएका छन् ।
भाषा शात्रीहरूको पनि गुटबल सक्रिय छ । यतातिरको गुटमा यसो भनेर भन्न हुन्छ कि हुँदैन था छैन !? अब त गुटबलको तागत नौ मुरी नौ पाथी नौ मानामा देख्न र सुन्न पाइन्छ । मानिससले उड्नेमा चङ्गा र गुड्नेमा गुच्चा बनाए पनि यो गुटबलको विकास गर्न बिर्सेका छैनन् । मालिकलाई खुशी पार्न वा कसैलाई हलुको, नाङ्गेझार बनाउन पनि गुटबल नै छर्लङ्ग उदाएको देख्न र हेर्न सकिन्छ । कसैलाई कतै खाडलमा सुताउन होस् वा कसैले कसैलाई आसमानमा पुर्याउन गुटबलकै भूमिका प्रमुख हुँदै आएको छ । सर्लक्क सब्ल्याटोबाट विब्ल्याँटो थाङ्ने बनाउनु पर्यो भने गुटबल पट्याँस नभै हुन्न ।
गुटबलले नकारात्मक काम गरेर विश्व भ्रमण गरे पनि यो बेठीकको यात्रा भने हुँदैहैन भन्छु म ता । यसको बोटमा फल नलागे पनि हुन्छ । हरियो पातमा बसेको हरियो झिँगा पनि गुटबल युगमै हुर्किएको हो । गुटबलको मोहधारीलाई हलुवाबेद र नैबेदका बारेमा नसोध्नुस् त्यसको जवाफ हत्तपत्त पाउँदा पनि पाइन्न । चारैतर्फ गुट नभए घर पनि बन्दैन । धन्सार पनि उठ्दैन । अपिसमा गुटबलले गुटको शक्तिको कुराको प्रदर्शित गरेको मात्र हुँदैन, त्यसले र्याल नकाडे व्यवहार घुसको तुस पनि झर्दैन । मानिसको लेनदेन पनि चल्दैन । कार्यालयको ओहोदा अनुसार गुटबलको जरुरत मात्र होइन यसको इच्छाशक्तिले ढाकेको हुन्छ । देशमा आमूल परिवर्तनमा यही गुटबलको तुवालोले ढाकेको छ । गाउँदेखि शहरसम्म गुटबलकै बोलबाल चलेको छ । यसको महत्व बुझेरे त होला हालखबरमा पनि गुटबलकै महात्म्य छाएको । समाचार यसैको, विचार र विश्लेषण पनि यसैको । अब गुटबल सर्वव्यापी छ, सार्वकालिन छ ।
सायद राजनीति गुटबल ओथारो बस्ने, अण्डा पार्ने र चल्ला कोरल्ने गुँड हो । यसकै कारणले देश अपाङ्ग हुँदै गएको हो भन्ने भ्रममा पर्नु आवश्यक छैन । राजनीतिमा धाँजा फाट्ने जुट्ने फुट्ने टुटने पनि जरामा गुटबलको मल परेर हो भन्ने पनि नठान्नोस् । दिनहुँ बाँच्नका लागि होस् वा संविधान विधानमा व्यवधान खडा गर्न कार्यकर्तामुखी गुटबल जरुरी पर्दछ । अनेक अवरोधले छेके पनि हल्लाकारहरू र सल्लाहकारहरू गुटबलको गुड बनाउनमै व्यस्त छन् ।
कृष्णको पालामा कृष्ण गुट । रामको पालामा राम गुट । बुद्धको पालमा बुद्ध गुट थिए । गान्धीको पालामा गान्धि गुट । गुटबलले कुटेर होला वालेन र वाइडेनले पनि स्वीकार गरेकै छन् । राणाको पालामा एविसी राणाको गुट थियो । गाउँ शहरमा सबैलाई जानकारी छ लोग्ने-स्वास्नी गुट । भाइ-भाइ गुट । छोरा-छोरा गुट । साथी-साथी गुटले पूर्व फर्केर सूर्यलाई नमस्ते गर्न छाडेका छैनन् । वास्तवमा बैज्ञानिक गुट, धार्मिक गुट र स्वास्थ्य सम्बन्धी गुट बने पनि यसको उपदेयता छिनोफानो हुनु पर्ने हो तर अझै भएको छैन ।
गुटबलले केहि नपाए रुखको जरा चुस्दै जान्छ । जरै चुसेपछि त पात सुक्दै जान्छ नि । पातै सुकेपछि फलफूल लाग्दैन । बोट सुकेर ग्रहण लागे जस्तो हुन्छ । ग्रहणको कुरा आकाश मात्र होइन चराचुरुगी बनस्पतीदेखि जनावरमा पनि गुटकै कुरा आउँछ । अन्तरिक्षको तारा मण्डलमा पनि गुटकै अस्तित्व । उज्यालोका निम्ति गुटबल उदाउँछन् । गुटबलमा चर्को घाम लादे पनि जवानीको जीवन नफैलिन सक्छ । घामको गुटले पृथ्वी हराभरा उज्यालो बनाउँछ । तर यहाँ गुटबलले अनेक कुरा फिजाएको छ । यो गुटबलको युग हो । समाजलाई दुगन्र्धको गुट बनाउँदैमा फुर्सद छैन । त्यसैले देश पनि गुटबलकै प्रतिस्पर्धामा निर्लिप्त भएर फसेको छ ।
कोही कोही गुट देखेर घिन लागेको कुरा गर्छन् । गुटमा घिनाउन आवश्यक छैन । दाजुभाइमा निसाना लागेर गुटबलले देशको जहाज नै डुब्न पनि सक्छ । अहिले प्रधानमन्त्री गुटदेखि खरदार गुट, हाकिम गुट, सुब्बा गुट यत्रतत्र छन् । रुखको जरा मक्किन लाग्यो । घामको तेज ओइलिन लाग्यो । जनताले हाँसो गर्न थालिसके । यो मानिस मानिस बिच लाग्ने गुटबलको रोग होइन, पशु पशुको निम्ति पनि आवश्यक हुँदै गएको छ । प्रचण्ड बाघले गुटको जतिसुकै हुँकार नगरे उसकै शिकारको निम्ति हानी हुन सक्छ । उसको कुर्सी खोसिन सक्छ । गुटको स्रोत नजाने सर्वोच्च पदको सुगन्ध पनि छुट्न सक्छ । यो गुटको हात चाट्नेलाई थाहा हुने कुरा हो ।
अफिस अड्डातिर जानुहोस् । पिकनिक जानुहोस् । सभासम्मेलनमा जानुहोस् । होटेल जानुहोस् । गुट भत्केको ठाउँमा रसरङ्ग हुँदैन । तलतिरको मान्छेले मास्तिरको मान्छेलाई सम्झनोस् यो पनि गुट नै हो । झनै यसको महत्व त टेवुलै पिच्छे गुटबलले ठाउ ओगटेकोबाटै थाहा हुन्छ । गुटको जमाना पुरानो भइसक्यो । तरकारी किन्न जानुस् गुटको भेला छ । सुन किन्न जानुस्, कि त असनको डबली छिर्नुस गुटकै मेला छ । गुटबललाई गुटबन्दी गरेर फुर्सद छैन । गुटबलको परीक्षा दिएर गुरुलाई पनि फुर्सद छैन । गुटबल बनाउने मौलिक अधिकार सबैलाई छ ।
प्रत्येक मोटो गुटले भन्छ म अरु जस्तो झुट गुट होइन । प्रत्येक अंशियारे गुटले भन्छ म अरुको अंश लुटेर खाने गुटबल होइन । भाइअंश लुट्ने गुटले भन्छ- अंश मारेर हिँड्ने गुटबल होइन । चाकरी गर्ने गुटले म चाकरी गर्दिन भन्छ । म अरु जस्तो फाइफुईं गुटमा हिँड्ने होइन । गुटबलको जादु अनेकौँ हुन्छ । गुट नभए जीवनको रस पनि तात्दैन । म सोच्छु गुटबलको अक्षर पनि झुसी भएर ठिटोजस्तै तरुनो हुन सक्दैन ।
सर्वव्यापी यो गुटबललाई विभिन्न वर्गमा पनि वर्गीकरण गर्न सकिन्छ जस्तो मलाई लागेको छ । पहिलो गुट पैसावाला गुट । सकेसम्म पैसावाललाई आफ्नो सदस्यलाई पेवा वनाएर गुटमा झुकाएर सामेल गर्ने । उसको हक हितमा यहि सिद्धान्तलाई अंगीकार गरेर बोराका बोरा पैसा छेलोखेला बगाएर गुटलाई उपल्लो दर्जामा चलायामान बनाइरहने ।
दोस्रो ठण्ठारामा गुट- यो पहिलो भन्दा छिन्नभिन्न केहि पनि नभएको सयतिर दात ङिच्च पार्ने गुट हो । तेस्रो चाहिँ खोक्रे गुट । यो अतिरिक्त गुट- खोक्रो भुँडी जस्तै खालि हुने गुट हो । यो गुट प्रायः ठण्डा रहन्छ ।
चौथो पावरवाला गुट- आकाश पातालको मान्छे भए पनि शक्ति अगाडि निहुरिने गुट हो । जे सोच्यो त्यहि सेचन गर्ने गुट । यो गुटको पिरलो छ आजकल । नाक राख्न अनेक दुख खेपेर पनि अनेक कुरा लुड्याउँन यस वर्गको गुट पछि पर्दैन । यो नाक काटेर चाक टाल्ने गुट पनि हो । यसैले सबैलाई थाहा छ यही गुटले सुरालाई सुरो बनाएको छ । गुटबलमा संकट आयो भने नाइ संघदेखि गिटी बालुवा गुटसम्म खलबल हुन्छ । गुटको कुरा सम्झिदा नून पनि सुनको भाउमा पाइन्छ । त्यसो त गुटबल अग्लो, सग्लो, होचो, टिमुरे, निम्सरो, ओखले बजियासम्मका गुट पनि यदाकदा नदेखिएका हैनन् । गुट नभए पिसाब पनि आउँदैन । पिसाब नआएपछि गुटको हिसाब मिल्दैन । पहिला हिसाबको मेसो हुनुपर्छ ।
सन् १९१४ को प्रथम विश्वयुद्ध । सन् १९३९ को दोश्रो विश्वयुद्ध । यी युद्ध गुटबलकै कारणबाट भएका थिए । कसको पक्षपोषण को थियो यो यहाँ चर्चा गर्नु आवश्यक छैन । बलिया बलिया बिच चर्केको गुट । इतिहासको माटोमा विलिन भइसक्यो ।
गुट पनि एउटा एउटा रन्को हो, रक्सीको नशा जस्तै हुन्छ गुटबनदी । गुटमा छिरेपछि मात लागि हाल्ने । गुटबल विना परिश्रम पनि फल्ने फल जस्तो । मानिसले कठोर परिश्रम गरेका छन् । वास्तवमा राजनीतिमा लठ्ठिन र दीक्षित हुन होइन, गुटबलको निम्ति मर्यादा राख्न मात्र । गुटले जसलाई लठ्याउन सक्छ उसले नै बिजय हासिल गर्छन् । आजकल कलब्रेक गुट छन् । साइवर गुट छन् । कतै ठक्कर खाने गुटबल छन् । कतै टिकटक खेलेर आधा पेट खाने गुटबल छन् । आफ्नो सभ्यता र सस्कृति उखेल्न गुटबलको जुटेका छन् ।
जति सभ्यताको लहर आए पनि गुटले गुटबल नै गुटबल धाउँछ । फुटबल बनाउने होइन । झुटबलले सुटबल बनाउँछ । कुटबलले पिटदल बनाउँछ । यस्ता गुटबलको रुप र इच्छा शक्ति भत्काउन सकिन्न । शरीर बिसन्चो भए पनि गुटबलले संसार ओगटेको छ । गुटको माग जति चुलियोस् यसको महत्व दिनानु दिन बढ्दैछ । यसको कुरा जति चुहिए पनि गुटबलमा लागेकालाई रमाइलै लाग्छ ।
सानो उद्धेश्य लिएर गु्टबल बाँचेको हुदैन । पढेका र बढेका सबै मिलेर गुटबलमार्फत ऐशआराम लिन्छन् । आकाश पाताल हेरेर दाहिने दाँतको पाखाले मकै नचपाउँदा पनि मर्क नचपाएको गुटले भन्दैनन् । च्यापु भाँच्चिनेहरूको पुच्छर नाङ्गिए पनि यहाँ गुटबल बनाउन सबै तम्सिरहेका हुन्छन् । नपाउनेले केही नचपाउन पनि नपाएको भन्दैन । त्यसैले यहाँ गुटबलमा मानिस जन्मिन्छन् । गुटबलबाट नै मानिसको मृत्यु हुन्छ । गुटबलको इतिहास हजारौ बर्ष पार भएको छ ।
चाउरी परेको गाला गुटबलको लेपन हालेर तन्काइरहेछन् । सानोलाई ठालु र तालुलाई आलु गुटबलले निर्माण गरेको हुन्छ । केश पाकेर हिमाल जस्तो सेतो हुँदा पनि गुटबलको कुरा गर्छन् । उनीहरूको क्षयीकरण पनि हुँदैन । गुटबल बनाउदै अनि बिर्गार्दै अघि बढिरहेका छौँ । मगजले बनाउने गुटबल सानो ठुलो जस्तो पनि हुन्छ । मानिसको बानी व्यहोरा अनुसार चाखलाग्दो र घिनलाग्दो पनि हुन्छ । राम्रो गुटले बोली बचन पनि सुन्दर गनर््ुपर्ने हुन्छ । ज्ञानमा कोषमा ज्ञान नपलाएका र दामको भण्डारमा दाम नभरेकाहरू पनि पाङ्दुरे गुटबलमा अस्वस्थ्य भएर होमिन पुग्छन् ।
म लठुवा बेला न कुबेला गुटबलको गफमा फसिरहन्छु । त्यसैले गुटबलको भूमरीमा परेर यो स्पष्टीकरण लेखेको हुँ । गुटबलको कथा लेखेर सकिने पनि हैनरहेछ । मैले गुटबल समाउनुपर्छ कहाँ भनेको छु र ? चान्स पायो भने गुटबलले भुसुनालाई हाति र हात्तिलाई भुसुना बनाउन मिस गर्दैन । यो नै गुटबलको विशेषता पनि हो । एउटा गुटको तालमेल गर्न नजाने अर्कोको सौभाग्यमा भुकम्पको धक्का जाँदोरहेछ । अर्को गुटको मुसाले पनि थाहा नपाउने गरि गुटबलमा चल्नुपर्ने रहेछ । गुटबलको शिक्षाबाट जीवनलाई शिखरमा पुर्याउन कसो सकिदैन होला ! जय गुटबल भन्दै म यो गुटबलगीता यहीँ बिसर्जन गर्न चाहन्छु ।
०००
०७९ पौष १०
काठमाडौं