
जँड्याहा संस्कृतिमाथि मिठो प्रहार ‘मद्यशाला’
व्यङ्ग्यकार माधवप्रसाद पोख्रेलको यो ‘मद्यशाला’ भने केही भिन्न किसिमले उपस्थित भएको छ । हास्यव्यङ्ग्य काव्यको न्युनतालाई परिपूर्ति गर्ने गरी यसको उपस्थिति हुनुले यसको महत्तालाई अझ व्यक्त गरेको छ ।

उदयानन्द अर्यालदेखि भानुभक्त आचार्य हुँदै अघि बढेको कवितामा हास्यव्यङ्ग्य लेखनको परम्परा भूपी शेरचनमा आइपुग्दा शैलीगत नित्य-नवीनता थपिएको देखिन्छ । गद्यशैली संरचनामै भूपीले हालेको नयाँ जगमा धेरै स्वनामधारी हास्यव्यङ्ग्य कविहरूले आआफ्नो स्थान ग्रहण गरिसकेका छन् । हास्यव्यङ्ग्य निबन्धमा ख्यातिप्राप्त भैरव अर्याल कवितामा पनि उत्तिकै प्रखर थिए तर हास्यव्यङ्ग्य कवितामा उनको विशिष्ट योगदान करिब करिब ओझेल परेको महसुस हुन्छ । भैरव अर्यालका निबन्धहरूको उत्कृष्टताकै कारण एक समय हास्यव्यङ्ग्य भनेकै निबन्ध हो भन्ने भ्रम सिर्जना गर्नेसम्मको अवस्था नेपाली हास्यव्यङ्ग्यमा देखापरेको थियो ।
हास्यव्यङ्ग्यलाई विधा मान्ने र भन्ने सोच अहिले पनि यदाकदा देखिँदैछ । यो पनि एकप्रकार भ्रम नै हो । अब त यो भ्रमबाट पनि हामी निस्कन थालेका छौँ । हास्यव्यङ्ग्य अभिव्यञ्जनाको एक विशिष्ट शैली वा प्रविधि हो, यो साहित्यका सबै विधा उपविधामा प्रयुक्त हुने गरेको छ । यो आफैमा विधा नभएर अनेकन विधा उपविधाका अभिव्यञ्जनामा अडेस लागेर यसले अभिव्यक्तिलाई विशिष्ट स्वरुप प्रदान गर्दछ । कविता तथा गीत, कथा, निबन्ध, एकाङ्की आदि एकएक अलग विधा हुन् अनि हास्यव्यङ्ग्य कविता, हास्यव्यङ्ग्य निबन्ध, हास्यव्यङ्ग्य एकाङ्की तथा प्रहसनलाई फेरि विधा भन्नु आफैंमा हास्यास्पद भएन र ?
नेपाली हास्यव्यङ्ग्य लेखनको पछिल्लो चरण कविता र निबन्धमा जति फस्टाएको छ यसका तुलनामा कथा, एकाङ्की तथा नाटक, काव्य र उपन्यासमा हास्यव्यङ्ग्यको उपस्थिति अत्यन्त न्यून छ । वर्तमान समयमा लेखिएका लघुकथाका संरचनात्मक सिर्जनामा व्यङ्ग्यको प्रचूर उपस्थिति देखिन्छ । यो सुखद पक्ष हो । तथापि पछिल्लो पुस्ताका हास्यव्यङ्ग्यकारहरूद्वारा रचना गरिएका रचनामा हास्य कम र व्यङ्ग्यको बोझ बढी देखिनु अहिलेको मूल प्रवृत्ति हो भन्ने मलाई लाग्छ ।
व्यङ्ग्य कविता लेखनको परम्परामा भूपी, भैरव अर्याल, वासुदेव शर्माहरूले छाडेको प्रभावले नै गद्यकविता संरचनालाई समुन्नत बनाएको छ । पछिल्लो चरणमा छन्द संरचनाको पुनरोदयसँगै छन्द संरचनामै पनि हास्यव्यङ्ग्य शैलीले प्रभावपूणर् हस्तक्षेप गरिरहेको छ । यताका कवितामा वर्तमान विद्रुप र विसङ्गत पर्यावरणलाई सुस्वादु ढङ्गले अङ्कन भएको पाइन्छ । यो नेपाली हास्यव्यङ्ग्य कवितामा देखिएको सबल पक्ष हो ।
नेपाली हास्यव्यङ्ग्य लेखनमा छन्दसंरचनामै अभिव्यक्त हुन रुचाउने पछिल्लो पुस्ताका राम्रा हास्यव्यङ्ग्यकर्मीको रुपमा आफूलाई उपस्थित गराउने व्यक्ति हुनुहन्छ माधवप्रसाद पोख्रेल ‘गोज्याङ्ग्रे’ । धनुषा दिगम्बरपुर- ५ सितानगरमा २०२१ । १० । ०७ मा जन्मिनु भएका पोख्रेल प्रगतिशील लेखक सङ्घ उदयपुरका अध्यक्ष र नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ ‘नव सिर्जना’ साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक पनि हुनुहुन्छ । द रेयूकाई नेपाल चितवनद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०५०मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ उहाँले । नव कविता प्रतिभा पुरस्कार २०५२ (नव कविता प्रकाशन काठमाडौंद्वारा) पनि प्राप्त गर्नु भएका पोख्रेलको ‘मुसालाई मुद्दा’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह (२०६७) प्रकाशित छ । एकै पटक हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह र कविता सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा जुट्नु भएको सुखद जानकारी मैले पाएको छु । यिनका अतिरिक्त उहाँका दर्जनौ हस्यव्यङ्ग्य रचनाहरू फित्कौली डटकम लगायत अनलाइन र अन्य पत्रपत्रिकामा निरन्तर प्रकाशित भइरहेका छन् ।
माधवप्रसाद पोख्रेलसँग मेरो प्रत्यक्ष भेट भएको छैन, सामाजिक सञ्जाल मार्फत बिजुली हुलाकको बाटो भएर यताका केही महिनादेखि हामी निरन्तर सम्पर्कमा छौँ । एक दिन त्यही बिजुली हुलाकबाट तीनवटा हास्यव्यङ्ग्य कृतिका टङ्कण प्रति मलाई पठाउनु भयो र ती मध्ये दुईवटा प्रतिमा आफ्नो सम्मति लेखेर पठाइ दिन आग्रह गर्नु भयो । प्रकाशनाभिमुख कृतिको रसास्वादन गर्ने अवसर पाएकामा म गदगद भएको छु ।
माधवप्रसाद पोख्रेलको ‘मद्यशाला’ नाम दिइएको कृतिको टङ्कण प्रति आध्योपान्त र अक्षरस पढेँ । उहाँले पद्यमयशैलीमा रचना गर्नुभएको यो एउटा व्यङ्ग्यात्मक काव्यकृति हो । नेपाली समाजमा व्याप्त रहेको विसङ्गतिको एउटा महत्वपूणर् पाटो मद्यपान संस्कृति पनि हो । हाम्रो सामाजिक जीवनमा अहिले जति पनि आपराधिक घटनाहरू भइरहेका छन् ती घटना र परिवेशको कारक तत्वका रूपमा रहेको छ मद्यपान । मध्यपानले मानिसको जीवनमा पारेको कुप्रभावका बारेमा हास्यव्यङ्ग्य सर्जकहरूले अनगिन्ति कविता, मुक्तक, गजल, निबन्धहरू लेखेका छन् । जँड्याहा तथा रक्स्याहाका बोलीचाली र कृयाकलापमा केन्द्रित भएर लेखिएका ती अधिकांश रचना सानो संरचनामा समाहित छन् । एकाध रचना लघु काव्यसम्मको स्तरमा नलेखिएका भने हैनन् तर व्यङ्ग्यात्मक ओजभन्दा पनि सामान्यत अविधार्थमा ती व्यक्तिएका छन् ।
व्यङ्ग्यकार माधवप्रसाद पोख्रेलको यो ‘मद्यशाला’ भने केही भिन्न किसिमले उपस्थित भएको छ । मैले माथि उल्लेख गरेको हास्यव्यङ्ग्य काव्यको न्युनतालाई परिपूर्ति गर्ने गरी यसको उपस्थिति हुनुले यसको महत्तालाई अझ व्यक्त गरेको छ ।
काव्यमा कुनै पात्र देखिन्न तर शुरुदेखि अन्तसम्म मध्यपान प्रवृत्ति, यसले हाम्रो सामाजिक जीवनमा, आर्थिक जीवनमा, सांस्कृतिक, शैक्षिक जीवनमा र वैयक्तिक जीवनमा पारेको दुस्प्रभावलाई सजीव चित्रण गर्दै रमाइलो ढङ्गले व्यङ्ग्य गरिएको छ ।
हाम्रा शहर बजार गाउँघर, र टोलटोलमा संगठित भएर निर्वाध रुपमा चलिरहेका भट्टी पसललाई व्यङ्ग्यकारले मध्यशाला भन्नु भएको छ । यी भट्टी पसलले नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, मालिक, नोकर, कर्मचारी, ब्रह्मचारी सबका सबलाई समान ढङ्गले स्वागत गर्ने गरेको पाइन्छ ।
औषधी जहाँतहीँ नपाइने मुलुकमा खोजे र चाहिए जस्तो रक्सी किराना पसलदेखि पान पसलसम्ममा खुलेआम उपलब्ध हुने गरेको छ । यस्तो गतिछाडा अवस्था त संसारको अर्को कुनै मुलुकमा तोकिएको समय र स्थानमा बाहेक भेटिन्न । राज्यबाट अनियन्त्रित, प्रहरी प्रशासनबाट उन्मुक्त, नीति निर्माताहरूबाट उपेक्षित यो रक्सी-व्यापारले अर्थात खुलेआम मध्यशालाले यो देशलाई समाप्त पारिरहेको छ । दैनन्दिन हुने गरेका पारिवारिक हिंसादेखि जघन्य अपराधसम्मका घटनाहरूको झण्डै ९५ प्रतिशत हिस्सा मद्यपानसँग जोडिएको छ भन्दा फरक पर्दैन ।
यही बस्तुतथ्यलाई विभिन्न कोणबाट कवि पोख्रेलले यसकाव्यको कायाकलेवर निर्माण गर्नुभएको छ । रक्सी सेवन र यसको व्यापारमाथि मजाक गर्दै काव्यमा पोख्रेलले लेख्नुभएका केही पङ्क्ति पढूँ त-
हुन्छ भिडभाड टोल टोलमा
मरिहत्ते गर्छ गन्धे झोलमा
विषादी युक्त मदिरा प्याला
पिलाउँछ किन ? यो मद्यशाला ।
०००
गाउँघर बिगार्ने यो नयाँ चाला
भेद खुल्यो भने चड्काउँछन गाला
खानै नपाए तोड्छन ताला
मान्छे बिगार्न जन्म्यो मद्यशाला ।
०००
सेतो पहेलो रातो कालो
जे जे खाए नि पालै पालो
खान्छ पिउँछ बुन्छ जालो
गन्धे झोलमा इज्जत फालो ।
मुलुकको भाग्य र भविष्य निर्माणमा मुख्य मेरुदण्ड भनेकै राजनीति हो । तर यही राजनीति नै मद्यपानको फोहर आहालमा पौडी खेलिरहेको यथार्थलाई काव्यमा यसरी प्रकटीकरण गरिएको छ-
चुल्ठे मुन्द्रे झ्याप्ले भित्ति
साँझ बिहान पाए खेती
नेताको नाउँमा खाता खोले
खाए खाए जय जय बोले ।
यसरी व्यङ्ग्यकार माधवप्रसाद पोख्रेलले आफ्नो व्यङ्ग्यकाव्य मार्फत मद्यपानको कुलतले यो राष्ट्र, समाज, यहाँका नागरिक सबैलाई अपाहिज, अस्वस्थ, अराजक र अस्तव्यस्त बनाएकामा गम्भीर असहमति जाहेर गर्दै व्यङ्ग्यात्मक अभिव्यञ्जनाकासाथ सुधार र सङ्गतिको आग्रह एवम् आशा व्यक्त गर्नुभएको छ ।
अन्त्यमा, हास्यव्यङ्ग्य काव्यलेखनको न्युनता तथा खडेरीमा चम्चा, कचौरा हैन एक गाग्री पानी नै उपलब्ध गराउने व्यङ्ग्यकार पोख्रेलको यो जाँगरलाई म त सलाम ठोक्छु । ‘मद्यशाला’ व्यङ्ग्यकाव्य प्रकाशनको यस अवसरमा फित्कौलीलाई साँक्षी राखेर खित्कौलीमय शुभकामना व्यक्त गर्दछु ।
०००
२०७९, जेठको भेट
कलङ्की, काठमाडौं
०७९ पुस १५ मा विमाेचित माधवप्रसाद पाेख्रेल गाेज्याङ्ग्रेका ६ वटा कृति मध्ये मद्यशाला व्यङ्ग्यकाव्यकाे भूमिका