सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यसरी जन्मिदिन्छ एउटा महान् प्रयोग

महान् साहित्यकार सोमरसको सर्वोच्चानन्दबाट आर्जित समाधिमा सम्भवतः अर्को एउटा महान् कृतिको प्लट आविष्कार गर्ने छ, जुन नेपाली साहित्यकै एउटा अर्को महान् प्रयोग बन्ने छ -सोमरससूत्र महाख्यान !

Nepal Telecom ad

ऊ टोलकै भट्टीमा एक मध्यान्ह रक्सीको स्वादसँगै समय निलिरहेको थियो । उसले रक्सीको आधा भरिएको गिलास उठायो र एकै घुट्कोमा सबै रित्यायो । यी फटाहा हरूलाई पनि यही रक्सीजस्तै एकै घुट्कोमा निलिदिन पाए ! रक्सीमा सरोबर लर्बराएको आवाज राम्ररी नबुझिए पनि ऊ के भन्दै छ भन्ने अनुमान लगाउन सकिन्थ्यो । त्यो अस्पष्ट आवाजसँगै ऊ धित मारेर मजासँग हाँस्यो- मानौँ आफ्ना सबै आलोचकहरूलाई यही रक्सीको घुट्को झैं उदरस्थ गरिदिन चाहन्छ ।

“साँच्चै त्यो आलोचक भनाउँदोलाई पनि यही भुटेको भट्मासजस्तै बेसरी चपाएर रक्सीको घुट्कोसँगै निलिदिन पाए ! हा…हा…!” ऊ मज्जाले मनमनै हाँस्यो । हाँस्दा उसको मुखबाट निस्किएको थुक र बगेको नाकबाट रसाएको सिँगानले उसकै महान् साहित्यिक प्रयोगजस्तै विशिष्ट बनाएको थियो उसलाई । अरूले वीभत्स ठाने पनि उसका समर्थकहरू, जो प्रायः उसकै उधारो खाताबाट रक्सीको आनन्दभोग गर्थे, यसलाई उसको अद्वितीय विशिष्टता ठान्थे । उनीहरू भन्थे त्यतिबेला उसका नाकबाट सूत्र बगिरहेका हुन्थे, मुखबाट स्वैरकल्पनाले साकार रुप धारण गरिरहेको हुन्थ्यो । पिएर रित्तिएको गिलासका बाँकी केही थोपाबाट उत्तर आधुनिकताको रसायन आप्लावित भइरहेका हुन्थे । कोट्याउन नभ्याएर दाँतका कुनामा अड्केका अड्कनबाट डायोस्पोरिक प्रयोगको प्राप्ति अर्थात् अन्तर्र्रािष्ट्रय पुरस्कारका केही डलर र अन्तर्राष्ट्रियस्तरको प्रसिद्धि रसाइरहेको हुन्थ्यो । अझ उसबाट लोकलको साटो विदेशी र भटमासको साटो नगदी स्न्याक्सको अपेक्षा गरिंदा उनीहरूका लागि उत्तरआधुनिकताको जिउँदोजाग्दो रुप लाग्थ्यो, स्वैरकल्पनाको आविष्कर्ता ठहर्‍याइन्थ्यो । बोलीमा एक मात्र अन्तर्राष्ट्रिय स्तरका उम्दा नेपाली प्रतिभा कहलाइन्थ्यो ऊ, जसको टक्करको अर्को कुनै नेपाली जन्मेकै छैन ।

उसको यो सर्कलमा महान् पत्रकारदेखि महान् स्तम्भलेखक र अनुवादकहरूको बहुक्षेत्रीय प्रतिनिधत्व रहने गर्छ । त्यो प्रशंसकहरूको समूहमा महान् समालोचकहरूको पर्याप्त सहभागिता त रहने नै भइहाल्यो । फलतः उनी आफू सञ्चार माध्यममा सदाबहार चर्चित नायक सिद्ध हुनेगर्छन् । उनका पढ्नै नभ्याइएको कृतिसमेत छापिनुअघि नै मास्टर पिस ठोकुवा हुन्छ, बजारमा पुग्नुअघि नै बेस्ट सेलरको लिस्टमा सूचीकृत भइसक्छ । त्यसको साथै प्रारम्भ हुन्छ कुन संस्थामा कसको भनाइ बिक्छ, को निणर्ायक भएमा आफ्नो नाममा पुरस्कार निणर्ित हुन्छ र उसलाई मूल्याङ्कन समितिको संयोजक-सदस्य कसरी बनाउने भन्ने महान् लेखकीय प्रयोगको अभ्यास ! यी सबैको प्राप्तिमा उसको उदार मन र खुला खल्तीले निकै ठूलो भूमिका खेल्छ । खुला खल्ती र उदार मनको अतिरिक्त पर्दाखेरि कोरीको पनि पाउ मोल्नुपर्छ भन्ने पुर्खाको आहानको व्यावहारिक प्रयोग कहिल्यै बिर्संदैन ऊ । त्यही प्रयोगमा ऊ आफ्नो अनुकूल-प्रतिकूलता हेरेर प्रतिगामीलाई अप्रगतिगामी र अप्रतिगामीलाई प्रतिगामीको बिल्ला भिराइदिनसक्छ । पसलेले आनाकानी गरे पनि त्यसका लागि ऊ खुला दिलले भट्टीको खातामा हरेक साँझ उधारोको अङ्क बढाउन कन्जुसी गर्दैन । ऊ व्यापारी होइन, तर लगानी नगरी प्रतिफलको प्राप्ति हुँदैन भन्ने व्यापारिक सूत्र कन्ठस्थै छ उसलाई !

“अँ साँच्चै आफूलाई महान् ठान्ने त्यो के ठान्छ हँ आफूलाई ! तिमीजस्तो महान् प्रयोक्ता प्रथम पुरूषलाई आलोचना गर्ने आँट कसरी आयो उसमा ! लौ त त्यसले चाहेर पनि पाओस् लेखन सम्राट्को उपाधि !” टेबिलको अर्को कुनामा विराजमान साथी अनुहारले त्यस्तै लर्बरिएको स्वरमा चोट खाएको उसको अहम्लाई राम्रैसँग सुम्सुम्याइदियो । धेरै प्रशंसक भए पनि एक-दुई आलोचक त जसको पनि भइहाल्छन् । यी हाम्रा महान् साहित्यिक प्रयोक्ताका पनि धेरै ऊसँग रिझिएका प्रशंसक थिए भने, केही नरिझिएका आलोचक पनि हुने नै भए । तिनै नरिझिएकामध्ये एकजनाले भर्खरै उसको कटु आलोचना छपाएको थियो, उसको विरोधी एउटा अखबारमा । त्यही सम्झाउँदै छेवैमा बसेर उसका नाकमुखबाट आप्लावित महान् साहित्यक प्रयोगहरूको साक्षात् दर्शन गरिरहेका चम्चे अनुहारमध्येको एकजना प्रशंसकले चिल्लो घस्ने मौका छोपेको थियो । तर त्यो महान् व्यक्तित्वलाई भित्तो पुग्ने गरी छापिएको आलोचना पढेर यो प्रशंसक चम्चा अनुहार भित्रभित्रै असाध्यै खुसी थियो । प्रथम र महान् बन्ने दौडमा आफूलाई निकै पछाडि पारेर अघि बढेको त्यो महान् प्रयोगवादी साहित्यकारसँग भित्री मनमा खुसी थिएन ऊ । तर यति खुसामदकै भरमा मज्जाले स्कच र चिकेनको स्वाद लिन पाइन्छ भने मनको कुरा लुकाएर प्रशंसाका केही बोल बोलिदिँदैमा के नै पो बिग्य्रो र ? ऊ आफैंसँग तर्क गर्दै चित्त बुझाउने प्रयास पनि गरिरहेको हुन्थ्यो ।

अर्कोदिन यही चम्चा त्यस प्रथम पुरूषको अनुपस्थितिमा अर्को कुनै उसका प्रतिद्वन्द्वीले यसरी नै भट्टीसुख प्राप्त गराउँदा भने ऊ यी प्रथम पुरूषको चर्को स्वरमा विरोध गर्न किञ्चित मान्दैन । अघिल्ला प्रथम पुरूषलाई गाली गर्दै नयाँ आतिथेयको प्रशंसामा एउटा अर्को रामायण रचना गरिदिन्छ ऊ । त्यही सुरमा भन्थ्यो- “के ठान्छ त्यो आफूलाई ! रक्सी ख्वाएको भरमा आफूलाई महान् साहित्य सम्राट् र अरूलाई बामपुड्के घोषणा गराएर कति दिन महान् बन्न सकिन्छ ? तिम्रो कलमको शक्तिको अगाडि के हो ऊ ! यसको भन्दा तिमीले ल्याएको भाषिक अराजकता बाढी आफैंमा एउटा महान् प्रयोग होइन ? माइलस्टोन होइन ? तिम्रा बिम्बमा सलबलाउने ख्याक चिन्तनको के एक छेउ भेट्न सक्छ त्यसले । के छैन, तिम्रो लेखनमा ?”

बेला मौकामा आफूलाई भट्टीसुख गराउने यी दुबै महान् पुरूष उसका अभिन्न मित्र हुन् । यी दुबैलाई चिढ्याएर ऊ निःशुल्क सायं मस्तीको लाभ गुमाउन चाहँदैन । त्यसैले ऊ जतिबेला जसको साथ हुन्छ उसको परम प्रशंसक र अर्कोको कटु आलोचक भूमिका अभिनेताले जस्तै जीवन्त रुपमा निर्वाह गर्छ । यो चेत रक्सीको मातमा समेत भुल्दैन ऊ । यस मानेमा यो दोस्रो प्रयोक्ता पहिलोभन्दा पनि धूर्त देखिन्छ । समयको लाभ लिने चेत उसमा सधैं जीवित रहन्छ, उसलाई कसैले भ्याउँदैन, यसै भन्छन् उसका अरू साथीहरू ।

“काले….!” टेबिल ठटाउँदै ऊ जोडले चिच्यायो “ए, काले एक एक पेग थप् …छिटो ! अलिकति साँधेको भट्मास पनि लेरा है ।” लर्बरिएको स्वरमा उसले आदेश दियो ।

“होइन यार, कति भुटेको भट्मास चपाउँदै घुट्क्याउने यो एकपाने सोमरस ! भुटुन मगा न, भुटुन । हामीले आफ्नो स्ट्यान्डर्ड पनि त बिर्सन हुन्न नि यार । आखिर हामी यो देशका महान् साहित्यकार, अझ तँ त यो देशको एक मात्र साहित्य सम्राट् । कत्रो इज्जत छ हाम्रो समाजमा, त्यसको ख्याल राख्न परेन !” ऊ दाताको मन पगाल्न खोज्दै थियो । छेवैको अर्को टेबिलबाट आइरहेको भुटुन र मासुका परिकारको लोभलाग्दो बास्नाको मुखै रसाइदिने लोभ्याइलो दृश्यलाई अघिदेखि नै चोर आँखाले चिहाइरहेको ऊ त्यसैबाट बढी पे्ररित देखिन्थ्यो ।

“साला…..!” ऊ आफूजस्तै महान् गालीको शब्दोच्चारण गर्दै थप्छ, “मफती खान पल्केका तिमी हरू, कहिलेकाहीँ आप्mनो खल्ती पनि त हलुका पार्ने गर यार ! तँ कन्जुस्, ….भैगो, जे होस् साथी होस् । काले…ए काले दुई प्लेट भुटुन पनि लेरा त ।” ऊ पहिलाको भन्दा बढी लर्बरिँदो र चर्को आवाज निकालेर चिच्याउँछ ।

यतिबेला उसलाई पनि साथी चम्चाको माग थोरै भए पनि पूरा गरिदिऊँ जस्तो लागेर आउँछ । त्यही सुरमा उदारतापूर्वक अर्डर पनि गरिहाल्छ ऊ । ऊ आफैंंलाई पनि यतिबेला कहिलेकाहीँ साहित्यको नाउँमा ठुलै झोलो थाप्न सक्नेहरूले तारे होटेल हरूमा धित मर्ने गरी ख्वाएका स्कच र नगदी स्न्याक्सको पवित्र सम्झना गरिरहेको थियो । त्यो सम्झँदै चपाएको भटमास तिनपानेको स्वादमा केही बेस्वादे पनि लाग्दै लाग्दै थियो ऊ आफैंलाई । त्यसैले भटमासको स्न्याक्समा लोकल तिनपानेको चुस्की लिइरहेको उसलाई साथी चम्चाको माग थोरै भए पनि पूरा गरिदिऊँ जस्तो लाग्यो । ऊ आफैंले पनि त धेरै भयो नगदी स्न्याक्स चाख्न नपाएको । दामी स्कच घुट्क्याउन नपाएको पनि लामै भयो । साला… धेरै पो भयो त साहित्यको उन्नयनका लागि त्यस्तो खानपान पार्टी नभएको । कि उसलाई मात्रै खबर नगरेका हुन् ? मनमनै शङ्का पनि लाग्छ । तर तुरून्तै सोच्छ- होइन, …. नेपाल अगाडि रहे पनि हालीमुहाली अर्काकै हुने दुई देशको नाउँ मिसिएको संस्थाले त उसलाई कहिल्यै छाड्दैन । छाडोस् पनि कसरी, उसको उपस्थितिविना नेपाली साहित्य पूणर्ाङ्ग हुनै सक्दैन । त्यसमाथि आयोजक संस्थाका मुली छिमेकी आतिथेय उसलाई कति धेरै माया गर्छन्, आफ्नै ठानेर । नगरुन् पनि किन, परेको बेला उसले आफू बिर्सेरै पनि त सघाएको छ उसलाई । त्यसरी सघाउनु असल छिमेकीपन पनि त हो ! उसले पनि बेलामौका कोसेली पात र गहु्रङ्गो खामको उपहार उठाउने गर्छ र छोराछोरीलाई छात्रवृत्ति दिलाएर आफ्नै देशमा पढ्न पठाइदिएकै छ । ऊ फेरि मनमनै सम्झन्छ- अँ, आफूलाई अन्तर्राष्ट्रिय स्तरकै महान् नेपाली साहित्यकार ठान्ने आङ््लभाषी ठूला विद्वान् हरूको नेतृत्वमा चलेका क्षेत्रीय साहित्यिक संस्थाले त झन् बिर्सने कुरै भएन । तिनले आफूलाई जति नै ठूलो अन्तर्राष्ट्रिय साहित्यकार दाबी गरे पनि आखिर देखाउन त मै जस्तो महान् सर्जकको आवश्यकता परिहाल्छ । त्यसैले उसलाई किटानी विश्वास छ- मलाई नबोलाएको होइन, कार्यक्रम गर्ने बजेटै पाएनन् होला ।

“काले…ए काले दुई प्लेट भुटुन पनि लेरा भन्या सुनिनस् ?” निकै बेरसम्म पनि उसको आदेश पालना नभएपछि अझै लर्बरिएको ठूलो स्वरमा ऊ फेरि चिच्यायो । उसको चर्को स्वरले सबै ग्राहकका आँखा उसैतर्फ तानिए । तारे होटेलमा मनकारी आयोजक हरूको आतिथ्य स्कच र नानाभाँती स्न्याक्स सम्झँदा रसाएको उसको मुख साहु र कालेदेखि अरू ग्राहकसम्मले पनि त्यसरी आफूलाई उपेक्षा गर्दा तमतम्याइलो देखिएको थियो ।

उसको दोस्रोपटकको त्यो अर्डरलाई न भट्टीको बूढो साहुले खासै ध्यान दिएको थियो, न काम गर्ने केटो कालेले नै उसको आदेश पालना गर्ने तत्परता देखाएको थियो ।

“आज मात्रै हो र, जति जति मात चढ्दै जान्छ, यसको नयाँ नयाँ अर्डर पनि त्यति नै थपिँदै जान्छ । उधारो त्यत्रो पुगिसक्यो ।” साहु आफैंसँग भुतभुतायो ।

साहु र काले दुबैले दिनहुँजस्तो भोग्दै आएको यथार्थ थियो यो । त्यसैले उनीहरू सकभर बेवास्ता गरेरै उधारोको चार्ट नबढोस् भन्ने कुरामा बढी नै सचेत रहन्थे ।

साहुले भर्खरै पल्टाएको थियो उसको बहिखाता । उसको नाउँमा चढेको भट्टीको उधारोको ग्राफ साहुलाई पसिना छुटाउन पर्याप्त थियो । त्यो उधारोको रकम जेठको तापक्रम र बजारको अनियन्त्रित महँगीलाई समेत पछाडि पार्ने गतिमा माथि चढेको थियो । त्यसैले त्यो ग्राफको ठाडो रेखालाई अरू माथि चढाउने कुरामा साहुको रुचि हुने प्रश्नै थिएन । कहिले कताबाट पुरस्कारको चाँजोपाँजो मिलाउला र तिर्ला यसले मेरो यो उधारो- साहु मनमनै सोच्दै थियो ।

उसले सुनेको थियो, हिजोआज त जिएम सिएमको रानजनीतिक नियुक्तिका लागि पनि धेरै तलुवा खियाउँदै छ रे । पटाउला नि कुनै न कुनै पार्टीका नेतालाई ! तर, यता आएर त्यो पनि त्यति सजिलो थिएन । कतै पनि नियुक्ति पाउन नाम र काम मात्र पर्याप्त थिएन । सम्बन्धित तालुकवाला पार्टीका साहित्यिक-सांस्कृतिक विभाग र तिनका किङमेकर नेता हरूको दरिलो सिफारिस पनि चाहिन्थ्यो । सम्बन्धित क्षेत्रको योगदान र विज्ञता मात्र पर्याप्त थिएन, पार्टी सदस्यता पनि अनिवार्य थियो र त्योभन्दा पनि बढी जरूरी हुन्थ्यो गणेश परिक्रमाको शाश्वत चाटुकला ! दर्तावाल सरकारी प्राज्ञदेखि कुनै पनि पदको राजनीतिक नियुक्तिका लागि अनिवार्य गुण थियो त्यो । यी सबै गुण थियो उसमा, त्यसैले साहु ढिलो चाँडो यो महान् साहित्यकारले कतै न कतै कुनै ठुलै पद हात पार्न सफल हुन्छ भन्नेमा ढुक्क थियो ।

जे होस्, दुईचार पैसा हात पर्‍यो भने पहिला उसैको उधारो घटाउँथ्यो । यस मामिलामा भने इमानदार छ ऊ- साहुले मन बुझायो । यही भएर नै त ऊ सकभर उसका लागि ढोकै बन्द गरिहाल्न चाहँदैनथ्यो । त्यसमाथि यस्ता महान् साहित्यकारको सेवा-सङ्गत पाएको आत्मतुष्टि पनि त थियो ! अझ साहुको आफ्नै आत्मजीवनी लेखिदिने वचन पनि दिएको छ उसले- साहुले त्यतिवेलै झट्ट सम्झ्यो । त्यसै लेख्दैन, लेखेवापत कतिदिन साँझ मफती रमझम पनि गराउनुपर्छ ऊ र उसका चम्चा हरूलाई ! पटक पटक गर्ज टार्ने नाउँमा मोटै दक्षिणा दिनु त छँदै छ । तर खर्च मोटै भए पनि आत्मजीवनी छापिएपछि आफूले पाउने इज्जत, मानसम्मान र पुरस्कारको अगाडि त्यो कति नै पो हो र ! उसकै आँखा अगाडि कति पैसावाल यस्तै ठूला लेखक-स्तम्भकार समातेर रातारात ठूला बनेका छन्, कति कति पुरस्कार र मानसम्मान पाएका छन् ! पुरस्कार सम्मान पाएपछिको धेरैको पहिलो जमघट हुने थलो पनि त यही हो नि, उसकै भट्टी ! सबैको अन्तरकथा थाहा छ उसलाई । सुरूमा गोप्यता खुला भन्ने डरले अल्पभाषी बन्न खोज्नेहरू पनि तिनपानेको नशाले करेप्दै ल्याएपछि सबै गोप्यता ओकल्दै जान्थे । ऊ ती सबैको आन्द्राभुँडी जान्ने मौका पाउँथ्यो ।

त्यति ठूलो लेखकले लेखिदिएको आफ्नो आत्मजीवनीले भोलिको मदन पुरस्कार पाउने त निश्चितै छ । त्यसैले पनि ऊ उसलाई चिढ्याइहाल्न चाहँदैनथ्यो । उसलाई पूरै विश्वास थियो- मदन पुरस्कार स्तरको पुरस्कारका लागि आवश्यक पूर्वचर्चा र व्यक्तित्व प्रभाव संयन्त्र-प्रविधि जुटाउन सकिएनछ नै भने पनि कहलिएका अरू निबन्ध, संस्मरण वा त्यस्तै उस्तै भए पनि कुनै न कुनै पुरस्कार कसो हात नपर्ला ! हात पर्ने कुरामा ऊ ढुक्क थियो ।

यो लेखक एकजना मात्रै हो र, पुरस्कार छनोट गर्ने प्रायः सबै महानायक हरू पनि त यहींको मधुरसबाट ज्ञान-बुद्धिको अद्भुत प्रेरणा पाउने गर्छन् । उसको भट्टीको सुराशक्तिबाटै त तिनको ज्ञान र विद्वताको अद्भुत प्रतिभा प्रस्फुटन हुने गर्छ ! यही रक्सीको नशामा उनी हरू ठूला ठूला योजना तर्जुमा गर्छन्, सिद्धान्त प्रतिपादन गर्छन् र महान् विद्वताको रापले भर्भराउँछन् । साहित्य-संस्कृति मात्र होइन, सबै क्षेत्रका महान् प्रतिभा उसकै रक्सीको नशामा पुष्पित-पल्लवित हुन्छन् । यस अर्थमा ऊ ठान्छ, तिनको विद्वता र सफतामा उसको आफ्नो पनि ठूलो हात छ । तिनी हरू मानून् नमानून्, ऊ भने यो सत्यमा विश्वस्त थियो ।

कमलाई गुन लाएको छु र मैले, त्यसको गुन कसो नतिर्लान् ? तिनका लागि पनि केही थप खर्च छुट्याउनुपर्ला, त्यति नहो !- ऊ चारैतिरबाट सन्तुष्ट देखिन्छ ।

“ए…काल्चा साहु, सुनेनौ मैले भनेको !” तिन तिनपल्ट चिच्याएर दिएको आफ्नो अर्डर पूरा नहुँदा रिसको पारो निकै माथि चढ्दै गएको थियो उसको । केही त्यो अवज्ञाको झोंकर केही लोकल तिनपानेको करामतका कारण रात्तिएको तामसी अनुहार त्यतिबेला साँच्चिकै रौद्र देखिएको थियो, तान्डव मुद्रामा महारौद्र जटाजुट शिवको जस्तै । त्यही रिसमा मुर्मुराउँदै ऊ टेबलमाथि जोडले काँचको गिलास बजारिदिन्छ- झर्‍याम्म !

देशको त्यति ठूलो साहित्यकारलाई यो भट्टी पसलेजस्तो क्षुद्र जीवको यसरी उपेक्षा गर्ने धृष्टता ? ऊ जस्तो महान् व्यक्ति यहाँ आइदिनुबाट मात्रै पनि योजस्ताले कृतज्ञ हुनुपर्ने होइन र ? आज अर्डरसम्म पूरा गर्न पनि आलटाल गर्ने ! उसको रिसको पारो चढ्नु स्वाभाविक थियो ।

“झर्‍याम्म !” टेबिलमाथि गिलास बजारिँदा निस्केको त्यो आवाज त्यहाँका सबैको ध्यान आफूतिर तान्न काफी थियो । नभन्दै सबै उसैतिर हेरिरहेका देखिन्थे ।

महान् साहित्यकारका अनुहार र हाउभाउमा यतिबेला साहित्यका सबै प्रकारका रस र भाव हरू एकपछि अर्को चुहिइरहेका थिए तप् तप् । त्यहाँ विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट निःसृत/प्रस्फुटित नवै रस हरू एकपछि अर्को रसाएर तप्तपी चुहिँदै थिए । ऊ स्वयम् नवरसको साक्षात् मूर्ति बनेको थियो त्यतिबेला । छेवैको टेबलमा मित्र मिलनमा मस्त सुन्दरी ग्राहकलाई काँचै निलुँला जस्तो उसको चेष्टाबाट भद्दा खाले शृङ्गार रसको वर्षा भइरहेको भान हुन्थ्यो । गिलास बजार्दा काँचले काटेर रगत बगिरहेको मुठ्ठिकले कसिलो मुद्रामा वीर रसको वर्षा गराउँदै थियो । अनि साहुबाट त्यत्रो वीरताको समेत उपेक्षा हुनुको कारण उसको करूणामय देखिने अनुहारमा जन्मिएको निरीहताले करूण रस आप्लावित गरिरहेको थियो । बगेको नाक र बोल्दाखेरि ओठका कुनाबाट निरन्तर बगिरहेका र्‍याल-थुकका धाराले उसभित्र हास्य, अद्भुत, भयानक, रौद्र र बीभत्स रस हरूलाई एकैसाथ जीवन्त तुल्याइरहेका थिए । कराउँदा कराउँदा थाकेको उसको मुख र शारीरिक चेष्टाले यदाकदा शान्त रसको भान पनि दिन्थ्यो । त्यसैले लाग्थ्यो- वास्तवमा सबै रसभावको साक्षात् अवतार हो यो महान् सर्जक !

साहु भने अझै अलमलमैं थियो- के हो यसको पछाडिको रहस्य ? उसको अद्भुत प्रतिभा हो यो वा उसैको भट्टटीको तिनपानेको कमाल ? जे होस् यस्तो बेला सिर्जनाको स्वयम् साक्षात् अवतार बनेको देखिन्थ्यो ऊ ।

त्यति हुँदा पनि उसको अर्डरमा कसैले ध्यान दिएको नदेख्दा त्यति बेला साँच्चै नै रिस उठिरहेको थियो उसलाई । अब त साहु मात्र नभएर उसको उपेक्षामा हाँसिरहेका सबै ग्राहकसमेत उसको कोपभाजन बन्दै थिए । त्यो सबैको उपेक्षा उसभित्र अरू क्रोध जन्माउन पर्याप्त थियो । त्यही क्रोधमा ऊ फेरि अर्ध अश्लील भाषामा चिच्यायो- काले गधा, स्साले !

“आफूलाई सबैभन्दा ठूलो ठान्छ, स्वभाव भने यस्तो” भट्टीमा केहीबेर आफूलाई बिर्सने उद्देश्यले पसेका ग्राहकमध्ये केहीको मुखबाट प्रतिक्रिया निस्कन्छ । त्यो प्रतिक्रियात्मक टिप्पणी बग्दै बग्दै उसको कानसम्म आउँदा उसको अनुहार क्रोधले झनै विद्रूप देखिन्छ ।

“नकराऊ न….! हल्ला गर्नुहुन्न क्या । हेर त सबैजना कसरी हामीलाई नै हेर्दै छन् । जे भए पनि हामी यो देशका महान् व्यक्ति हौं नि त !” साथी चम्चा केही कम मात्तिएकाले हुनुपर्छ, थोरै भए पनि परिस्थितिको आँकलन गरिरहेको देखिन्छ । त्यसैले ऊ परिस्थिति बिग्रन नदिने प्रयासमा उसलाई सम्झाउन खोज्छ । उसलाई थाहा छ, उसभित्रको महान् व्यक्ति तिनपानेको बढ्दो ओजसँगै केही अश्लील, केही हिंस्रक र केही झगडिया पनि बन्दै जान्छ ।

“स्लाला ! तँ पनि त कायरै होस्…। म छु, केको डर तँलाई ?” ऊ जति जति लर्खराउँदै उठ्ने कोसिस गर्छ, साथी चम्चा त्यति नै आफू पनि बबालमा फसिने डरले उम्कने बाटो खोज्न थाल्छ ।

“खायो कि सधैं सबैसँग निहुँ मात्रै खोज्छ । यसको यही बानीले कतिपटक नराम्ररी गोदाइ पाइएको छ । यहाँ बसिरहने हो भने आज पनि….”- मनमनै आपूmलाई निर्दोष साबित गर्ने प्रयास गर्छ ऊ । तर्कसँगै मिठो स्न्याक्सको मोहसमेत त्यागेर उसलाई एक्लै त्यहीँ छाडी ढल्पलाउँदै बाहिरिन्छ !

महान् साहित्यकार अझै चिच्याइरहेको हुन्छ- ए साहु, के निहु खोज्या तिम्ले ? खोइ मेरो अर्डर ?

उसको बढ्दो उद्दण्डतासँगै साहुको पसल बन्द गर्ने समय नजिकिँदै जान्छ र साथै उसप्रतिको आक्रोश पनि । लेखक महानुभाव जतिसुकै महान् भए पनि मात्र उसका लागि पसल खुला राखिरहनु न सम्भव हुन्थ्यो, न व्यावहारिक नै । यो उसले प्रायः सधैं नै बेहार्ने नियमित समस्या थियो । यो समस्याको कारक पनि धेरैजसो त्यही महान् प्रतिभा हुने गथ्र्यो । त्यस्तोमा ऊ कुनै न कुनै उपाय खोज्न बाध्य हुन्थ्यो । आज पनि साहुले त्यही उपायको प्रयोग गर्‍यो, जुन ऊ अघिपछि पनि गर्ने गथ्र्यो । अर्थात् त्यो महान् व्यक्तित्वलाई आफ्ना दुई कामदार लगाएर झ्याइँकुटी पार्दै बाहिर नाली छेउमा लगेर समाधिस्थ छाड्न लगायो खुला आकाशमुनि । महान् साहित्यकार सोमरसको सर्वोच्चानन्दबाट आर्जित समाधिमा सम्भवतः अर्को एउटा महान् कृतिको प्लट आविष्कार गर्ने छ, जुन नेपाली साहित्यकै एउटा अर्को महान् प्रयोग बन्ने छ -सोमरससूत्र महाख्यान !

०००
आरुबारी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी