घाँडो बूढो

झन आर्टिफिसियल इन्टेलिजेन्सको जमानाले पुराना ज्ञान र सीपलाई रमाना दिएपछि बूढोले एक्लै लुँडो खेलेर बस्नु भन्दा अर्को विकल्प रहेन । यति त बूढाबूढीले बुझ्नै पर्छ ।

बूढो भएपछि मान्छे घाँडो हुँदो रहेछ भन्ने बल्ल महसुस गर्दैछु । बूढो मान्छे घाँडो नभएर अनुभवको भाँडो हुनु पर्ने हो भन्ने मेरो ठम्याई हो । मेरो ठम्याईलाइ नबङ्ग्याइ बुझ्नु होला । तेरो छानोको मानो खाएको छु र ! तैँले जे भन्यो त्यो मान्नु पर्छ भन्दै कन्पारो नतताउनु होला । जन्मेपछि बालक, युवक र बृद्ध हुने त जीवनको चक्र हो । यो चक्रमा घुमेर ढिलो चाँडो एक दिन सबै मर्नै पर्छ । कालले अकालमै नलगे बूढो अर्थात् जर नहुने कुन प्राणी होला र ? मान्छे चाहिँ सधैँ अजर होस् ।

‘गोरु बूढो भएपछि भीर खोज्छ, मान्छे बूढो भएपछि निहुँ खोज्छ ।’ अब यो उखान पनि पुरानो भयो । पुरानो जमानामा पो छोरा नातिसँग निहुँ खोज्दा सुनुवाई हुन्थ्यो । अब घरमा छोरा नाति कोही नभएपछि कोसँग निहुँ खोज्नु ? एक्लो भएपछि तन मन पीरै पीरको घर हुने रहेछ । सन्तान सँगै छैनन्, एउटा पीर । हात गोडा चल्दैनन्, अर्को पीर । पीर पनि कति मात्र ! अब मैले उखान परिवर्तन गरिदिएँ- ‘गोरु बूढो भएपछि भीर खोज्छ, मान्छे बूढोे भएपछि पीर खोज्छ ।’

बूढो हुनु भनेको धेरै उमेर हुनु हो । धेरै उमेर भएपछि लुगा पनि पुरानो र थोत्रो हुन्छ । थोत्रोमोत्रो कसले लाउँछ ? रक्सी जति पुरानो भयो, उति नामी र दामी हुन्छ । तर मान्छे चाहिँ बेनामी हुन्छ । “सोह्र बर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बूढो भयो र” भन्ने गीत सम्झदा फेरि सोह्र बर्षे जवानी फिरे त कस्तो हुँदा हो लाग्छ । ढल्न लागेको बूढो तनको मन कता कता तरङ्गित पनि हुन्छ ।

बूढो भएपछि कुनै बेला फूल बनेको जीवन काँडो हुँदो रहेछ । गुलाफको फूल जति नै सुन्दर भए पनि हरियो बोटको काँडो कसलाई घाँडो हुँदैन ? फूल टिप्न जाने त्यो काँडोसँग जोगिन खोज्छन् । बुढेसकालमा मान्छे पनि काँडो हुने रहेछ । त्यो बूढो काँडोले घोच्ने डर आफैसँग हुर्के बढेका सन्तान र भाइ भतिजा समेत हुने रहेछ ।

अस्ताउन लागेको घाम र बूढो मान्छे उस्तै हुन् । अस्ताउँन लागेको घाम कसले ताप्छ ? कसैले ताप्दैन । अनि त्यो घामलाई कसैले कुरेर पनि बस्दैन । बूढो मान्छे पनि त्यही अस्ताउन लागेको घाम हो । तब त पढे बढेका सन्तान छोडेर हिँडछन् । त्यसपछि बूढो मान्छे एक्लो बन्छ । जति एक्लो हुँदै गयो, उति बोलौं बोलौं लाग्छ । मनको वह खोलौं खालौं लाग्छ । भरिएको वह पोख्न नपाउँदा उकुस मुकुस हुन्छ ।

पुरानो जमानामा चौतारी र चिया पसलमा गफगाफ चल्थ्यो । अब त्यो जमाना रहेन । कोसँग कहाँ भेटेर बोल्नु ? कसको घरमा जानु ? फेरि विदेशको लहरले गाउँ शहरका घर रित्ता छन् । रित्ता घरमा जाने कुरा पनि आएन । धेरैका छोराछोरी देशबाट शेष भएर विदेश छन् । आफ्नो उमेरका कैयौं परमधाम भइसके । अलि अलि भएका पनि डाइपर भिसा (डिभी) मा विदेश छन् । बचेखुचेका मान्छे पनि मोवाइलमा आँखा गाडेर बसेका हुन्छन् ।

बूढो भएपछि चौबिस घण्टा पनि अठ्चालीस घण्टा हुँदो रहेछ । मार्क जुगेवर्गको वरदानबाट पाएको मेसेन्जर बजायो । छोरी ज्वाइँसँग म्वाइँ खाको बेला पर्दो रहेछ । छोरो बुहारीसँग दोहोरी खेलेको बेला पर्छ । कस्तो फसाद ! तँ बूढालाई जतिखेर पायो, त्यतिखेर फोन गर्ने हो त भन्नु होला । होइन नि, तर यताबाट दिउँसो फोन गर्दा उता मध्यरात हुँदो रहेछ । अनि के गर्नु !

अब भाइ, भतिजा र भान्जालाई झन फोन गर्नै भएन । एकपटक एउटा भतिजलाई फोन गरेँ । दुई मन एकै तन भएर चरम आनन्दको शिखरमा पुगेको बेला परेछ । गाली गर्दै रिंग काट्यो रे- “मेसेन्जर ब्लक गरिदिउँ भने पनि भएन । सानामा उनकै घरमा बसेर पढियो । बूढा आफू चाहिँ लाजै नमानी दिउँसै ढोका थुनेर जवानीको रुमानीमा रुमलिन्थे । यी घाँडा बूढा सात समुन्द्रपारि समेत बेला न कुबेला दिक्क पार्छन् ।” फेरि म बूढालाई पनि त्यही बेला किन फोन बजाउन परेको हो ? तर सुद्धी नै हराएपछि समय पनि ख्याल नहुने रहेछ ।

अब आफ्नै भाइ, भतिजा र छोरालाई फोन गर्दा त यस्तो हालत छ । झन् छिमेकी र नरनातालाई फोन गर्दा के हालत होला ? मैले पनि मान्छेको समय र परिस्थितिलाई बिचार गर्नु पर्ने हो । प्रेमी प्रेमिकाले पो एक अर्काको फोन जतिखेर पनि उठाउँछन् । बूढा मान्छेको कहाँ उठाउँछन् त ! कि त सुगर ड्याडी र सुगर ममी हुन पर्‍यो ।

युरोप अमेरिकाका सुगर ड्याडी र ममीको बुढेसकाल निरस हुँदैन । रसैरसले भरिएको हुन्छ । सुरा सुन्दरी सधैं वरिपरि । असी वर्षेसँग बीस बर्षे तरुनी र तन्नेरी पनि तयार हुन्छन् । विहे गर्न पनि नाइँनास्ति गर्दैनन् । मरेपछि रातारात ठूलो धन सम्पत्तिको मालिक हुने भएपछि कसले नाइँनास्ति गरोस् त ? म त सुगर ड्याडी परिन । सुँगुर ड्याडी परेँ ।

साहित्य लेखनको माध्यमबाट एउटा ठिटो सम्पर्कमा आइपुग्यो । बीसे बाइसे ठिटो कविता कविता भन्थ्यो । मैले त ठानेँ- वैँसले मातेको केटो कुनै कविताको नाम लिँदै होला । फेरि सुविन भट्टराईको समर लभदेखि इजोरियासम्म बाँकी नराखी पढेको कुरा पनि गर्दथ्यो । ठिटाले कविता पट्याएछ । सँगसँगै कविताको किताव पनि लेखेछ । विवाहमा नबोलाए पनि विमोचनमा बोलायो । गएँ ।

उमेरमा छोरा नाति जस्तो भए पनि साहित्यमा त हजुर बा नै परेछ । कार्यक्रमको भोलिपल्ट सोध्यो- “त्यहाँ तपाईंका साथी वरिष्ठ पत्रकार तथा सम्पादक अमरनाथ पनि थिए, बोलचाल भयो ?” सबैजनाले ढेडु टोपी लाएर मफलरले मुख छोपेका थिए । कसले कसलाई चिन्नु र ! अमरनाथ मात्र होइन, त्यहाँ सबै नाथहरू अनाथ जस्ता देखिन्थे । उमेरले नेटो काटेका बूढा रुखको मुढा जस्ता भएछन् ।

विमोचनमा सरकारी र गैरसरकारी निकायका भूतपूर्वहरू थिए । पदमा हुँदाको चमक धमक अनुहार अवकाशपछि निचोरेको कागती जस्तो भएछ । दुई चार जनासँग कुराकानी भयो । रुन्चे हाँसोमा उनीहरूको गुनासो थियो- “अवकाशपछिको जिन्दगी बकवास हुने रहेछ ।”

केही वर्ष पहिले मात्र अवकाश पाएका एकजना पूर्व वरिष्ठ अधिकृतले गुनासाका पोका खोले- “एकजना व्यापारी मित्रलाई फोन गरेँ । उनको पिएले उठाइन् । ‘ए ! त्यो भूपू एआईजी, छैन भन्देऊ’ भनेको आवाज मेरो कानमा ठोक्कियो । पहिले पाँच तारे होटलमा डिनर सहित मसँग भेट्थेँ । त्यसपछि तत्कालिन मेरो पिएलाई फोन गरेँ । उसले फोन उठाएन र कलव्याक पनि गरेन । उसलाई बढुवा गरेर विदेश समेत पठाएको थिएँ ।”

उमेरको हदबन्दीले अवकाश भएर अस्ताउने त कर्मचारी हो । नेता त जति बूढोे भयो, उति उदाउँछन् । असी वर्षको उमेरमा वाइडेन अमेरिकाको राष्ट्रपतिमा उदाइरहेका छन् । सन्तानब्बे वर्षको उमेरमा पनि माहाथीर मलेसियाको प्रधानमन्त्री हुने रहर गर्छन् । अक्सिजनको सिलिण्डर झुड्याएर पनि नेपाली नेताले चुनाव लडेको देखेकै हो । घाँडो बूढो नभएर सदावहार हुने रहर छ भने तपाईं पनि आजैबाट नेता भइहाल्नुहोस् । नत्र ओरोलो लागेको मृगलाई बाच्छाले पनि लखेट्ला ।

बाबु आमालाई छोरा बुहारीले बृद्धाश्रममा लगेर किन छोडिदिन्छन् भन्ने जान्नलाई कुनै अनुसन्धान गर्नु पर्ला र ? “छन् गेडी सबै मेरी, छैन गेडी सबै टेडी” त्यसै भनिएको होइन । नाति नातिना पनि धनको गेडी हुने बाजे बजै भेट्दा दंगदास हुन्छन् । गेडी नहुनेकोमा जान टेडी मेडी गर्छन् । हो कि होइन ?

बूढा मान्छेको अनुभव काम लाग्छ नि भन्ने तपाईंको तर्क हुन सक्छ । तर विज्ञान र प्रविधिको विकासले समयलाई उलटपुलट बनाएपछि पुराना अनुभव म्याद सकिएका औषधी जस्ता हुने रहेछन् । झन आर्टिफिसियल इन्टेलिजेन्सको जमानाले पुराना ज्ञान र सीपलाई रमाना दिएपछि बूढोले एक्लै लुँडो खेलेर बस्नु भन्दा अर्को विकल्प रहेन । यति त बूढाबूढीले बुझ्नै पर्छ । नत्र ‘बोलाओस् न चलाओस्, लिँडे पुच्छर डोलाओस्’ हुन जान्छ ।

बूढो भएपछि घाँडो हुने समस्या मेरो मात्र होइन, धेरैको हो । किनकि युवा परदेशमा भएपछि देशमा बस्ने त बूढाबूढी मात्र छन् । यो रोग मात्र नभएर महामारी नै बनेको छ । यसले शहरलाई मात्र होइन, गाउँघरलाई समेत निलेको छ ।
सम्झिन्छु घडेरीको ढुङ्गामा खेलेको बाघचाल
शहरले निलेको छ गाउँ, शुन्य गाउँको चाल
परदेशले निलेको छ शहर रुन्छ आफै घरघर
सन्तति विहिन ती घरघरमा बृद्ध छन् थरथर ।

गाउँमा हुनेलाई कसले स्वास्थ्य चौकी पुर्‍याइदिनु ? शहरमा हुने पनि घरमा एक्लै थरथर छन् । कोही नभएपछि मेसेन्जर नै सहारा हो । त्यो सहारा लिँदा पनि कम्ती हम्कीदप्की सहनु पर्दैन । बूढी बिरामी भएको बेला अष्ट्रेलियामा छोरालाई फोन गरेँ । “डाक्टर कहाँ गए भैहाल्यो नि ! सानो सानो कुरामा पनि फोन गर्नु छ । कति स्ट्रेस दिन सकेको होला ।” बुहारी फत्तफताउदै गरेको कानमा आवाज आयो । जिन्दगी जति घाँडो भए पनि कालको खालमा नपरुन्जेल बाँच्नै पर्‍यो ।

बूढाबूढी दुबै जीवित हुँदा त एक अर्कासँग गुनासो र दुःखेसो गर्दै समय बित्ने रहेछ । बूढी बितेपछिको राँडो बूढो झन घाँडो हुने रहेछ । राँडो बूढोले भान्सामा गएर छोरी बुहारीसँग बस्न पनि सजिलो हुँदो रहेनछ । जीउ दुख्दा तेल घसिदेऊ न भन्न झनै नमिल्ने । बरु बूढो नभएकी बूढीलाई त्यसो भन्न सजिलो हुने रहेछ । तर बाँच्न जति नै कठिन भए पनि जन्मसँगै जन्मेको मृत्यु पर्खिनु बाहेक अर्को कुनै विकल्प नहुने रहेछ । एकल जिन्दगी जिउँने बूढाबूढीले साथी साथी भएर सँगै बस्न मिल्ने सामाजिक रीतिथिति बनाउन सके मृत्यु प्रतीक्षा त्यति पीडादायी हुँदैन थियो कि ?

०००
क्यानडा

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
चुनाउ पुराण

चुनाउ पुराण

राजेन्द्र कार्की
सरासर झुट्टो हो

सरासर झुट्टो हो

राजेन्द्र कार्की
सामाजिक संजाल

सामाजिक संजाल

राजेन्द्र कार्की
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

गङ्गाप्रसाद अधिकारी
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली