चिनी र नेता

चिनी नभए भाषण, भाषण नभए चिनी एक थोक त पाइन्छ, पाइन्छ । जसरी भए पनि मुख त गुलियै हुन्छ, अमिलो हुँदैन । आजसम्म चिनी किन्न पर्छ भाषण किन्न पर्दैन । तसर्थ नेताज्यूको भाषण नै खान बेस पर्छ, निशुल्क पाइने ।

निकै दिनदेखि चिनी बजारमा छैन । हिजो घरमा मात्र होइन ‘कान्छी होटल’ मा पनि फिका चियामा नै भर पर्नु पर्यो । कते ‘ब्ल्याक’ गरेको चिनी छ कि भनेको रहेन रहेछ । चिनी खाने मान्छेको यस्तो याद छ- ‘पेटमा सयवटा जुका होस् तर चिनी खानै पर्छ’ हेरेर मर्नुभन्दा छेरेर मर्नु निको’ । मान्छे मान्दछ हाम्रा पण्डितज्यूहरूलाई त उखानै बनेको छ ।

‘जहाँ गुलियो उही बाहुन भुलियो’ । केटाकेटीलाई चिनी भयो भने भात पनि पर्दैन । सबैलाई ‘डाइविटीज’ भन्ने रोग भए बरु चिनी कारखाना नै बन्द गरिन्थ्यो ।

घरमा नून, नून नभए तातो पानी मात्र खाने मान्छे पनि होटल वा चिया पसलमा रवाफ साथ चिनीको चियाको अर्डर गर्दछ । सकभर चिनी, हालेको भए पनि हालेको छैन भनी अर्को चम्ची चिनी पनि मागी दुई दिनदेखिको चिनी खाने इच्छा एकै तालमा पूरा गर्दछ । जूठो हालेको चिया चिनी हालेकै हो त भनी चाख्न पनि भएन ।

एकजना पुङ्माङे नेता साधारण तहको निर्वाचनमा हुलमुलमा जित्दा ‘नपाउनेले केरा पायो बोक्रैसँग खायो’ भन्ने तालका हाम्रो नेता कान्छी होटलको बाहिरपट्टि रहेछन्- चिनीको ‘स्कारसिटी’ ले केही भएको छैन । नूनको ‘स्कारसिटी’ होस् त कस्तो हुँदो रहेछ भनी गर्वसाथ नेताले लेबीको चामल ठेक्कामा पाउँ भने जस्तै भाषण छाँटे । उनले पनि खोक्रो आदर्शता देखाउन होला ‘साधारण जनता’ को सम्मुख नून हालेकै चिया मागे । आदर साथ चिया सेवन गरे तर पैसा नतिरी बाटो तताए ।

होटलनी कान्छीले खातामा लेखी लेखिन मलाई के को चासो र ! नेता मान्छेको कोही बेला लेखिन्छ, कोही बेला लेखिँदैन यस्तै हो तर यी दुईजिब्रे नेताले अलिक पर पुगेर मलाई भने- जिन्दगीमा आजै खाइयो नून हालेको चिया पहिलो चोटि तर यस्तो कतिचोटि भनिसकेका थिए ।

हाम्रा नेताहरू सकभर घरमा भात खान नपरोस् भन्छन्, खाँदैनन् पनि । एक त घर जान अल्छी लाग्यो, गएर को फेरि आउने भनी बार हाल्छन् । अर्कोतिर कहाँ ‘चिया पान’ र ‘बफे’ छ भनी क्यालेण्डर बनाएर घरमा झुण्डयाउँछन् । बडो ढिलो चालले ‘टी-पार्टी’ मा पाएको सामान घिचेर लाद्रो भर्छन् । घाटीसम्म आए पनि घिचिरहन्छन् । थपनी नआए कागज वा प्लेटसमेत खाउँला जस्तो गरी चाट्छन् । कति नेताले चियाको गिलास र प्लेट नै गोजीमा वा ब्यागमा ‘सुन सिंह’ ले लण्डनमा सुनको चम्ची हाले झै हाल्न बेर लाउँदैनन् र सँधै भोजमा गिलास, प्लेट हराएको गुनासो होटलवालाको सुनिन्छ । यही आदर्शता भएर नै हाम्रा नेताहरू ‘त मरि जा’ भनी दुइटै हातले धारे पार्दा वा सभ्य भाषामा ‘नमस्ते’ गर्दा ‘हुन्छ’ भनी तीन धानको टाउको मात्र हल्लाउँछन् तर नेताहरू हतपती मर्दैनन् । टाउको हल्लाउनु पनि विशेषता हो गधाले जस्तै । दुईटै हात जोड्दा रगडिएर खिइन्छ पनि ।

नेता हुनु पनि एक प्रकार राम्रै पो लाग्यो । नेता भएर हुल दंगामा सरिक नहुनु तर मीठा-मीठा भाषण गरी भित्र-भित्रै कैचीले काट्नु अशान्तिको ठाउँमा शान्ति ल्याउनु होइन, बलेको आगोमा अझ घिउ थपेर दन्दन् पार्नु जसकोमा ‘खुबिलिटी’ छ त्यो नेता हुनुपर्दछ । ‘चान्समा डान्स’ गर्न जान्ने, आफ्नो एकै गेडा पर नसार्ने, अर्काको भेट्टाए तीन कोपरा खाने, घरमा आधा माना खाए अर्काको घरमा वा भोजमा ‘निःशुल्क’ पाउँदा नाइटोले आकाश देखुञ्जेल खाने नेता हुनुपर्छ । भाषणभन्दा बढी खाने, लामो भाषण गरेर ‘मेरो छोटो वक्तव्य यही टुङ्ग्याए’ भने झै ‘मैले कम्ती घिचे’ भन्ने, ‘मलाई बोल्ने मौका दिएकोमा धन्यवाद’ भन्ने बोल्दा केही गल्ती भएमा क्षमा माग्ने जस्तै नेताहरूले तीन दिनलाई पुग्ने खाइसकेर फेरि फेरि यस्तो भोजभन्दा राम्रो खान पाइयोस्, मैले आज थोरै खाएकोमा क्षमा चाहन्छु । अर्कोपल्ट धेरै खाने कोशिष गर्छु, रिसानी माफ होस् भन्ने हुनुपर्दछ । यति ‘एबिलिटी’ छैन भने नेता हुन बल गर्नु बेकार नै छ ।

धमिरोले भित्रभित्रै खाएर बाहिरबाट हेर्दा राम्रै देखिए जस्तै समाजमा भित्रभित्रै कैची वा ब्लेडले काटेर बाहिर आदर्शता छोड्दा हुलमुलमा ‘अण्डर ग्राउण्ड’ बसी बाहिर सरिक नहुँदा जेल पनि जान नपर्ने, मामाहरूको डण्डा पनि खान नपर्ने, सबैको वाह ! वाह ! लुटिने पछि काम गर्ने हनुमान पाउ पुस्ने ढेडु जस्तै मर्छन् तलका मानिस नाम चल्छ नेताज्यूहरूको । यसरी नेताज्यूहरूले काम केही नगरेर पनि भाषण, भोजनको रासन र कोसेलीबाट घरको गुजरान चल्छ भने किन नेता नहुनु ? कतिपय मुद्दा मामला मिलाउँदा यता पनि ठीक उता पनि ठीक हुने ‘दही चिउरे’ नेताले कोसेलीको भरमा अधिकारदेखि बाहिरको फैसला एकापट्टि मात्र गर्दा जित्नेको तर्फबाट ‘पान खानु’ भनी ‘गैंडा’ भेट्टाए किन गर्नु काम ? हप्तावारी पान खाने दुई चारवटा गैंडा हात पर्यो भने, दुईचार बास्केट सब्जी किन्नु र एक डालो चामल किन्नु के आपत्ति छ र ? यति भए अरू थोक के चाहियो ? मुद्दा हार्ने कराउदै गर्छ, नेताको पेट भ्यागुताको झैं ढाडिँदै जान्छ बजारमा चिनी छैन कुनै आपत्ति छैन, कुनै पीर दुःख कष्ट केही छैन । ठूलाबडा व्यापारी होस् कि फाइँफुइँ गर्नेहरूको घर खोल्नु हो भने पाँच सेरदेखि पाँचसय मनसम्म निस्कन्छ ।

अनिकाल लाग्छ भनेर हिउँदमा हामी डराउँछौ । ‘महाजन र साहु’ को अन्न कुहेर बसिरहन्छ अनिकाल मजदुर र किसानलाई मात्र हो । पेटुमलहरूलाई होइन । साह्रै भयो भने ढिकुटी फोर्नेतिर ..ए…. कुरो चिनीबाट मिसिरीतिर पो लागेछ । अँ…. अरूलाई एक पावाको दरले चिनी बाँडियो भने बज्राँठ-स्वाठहरूलाई पाँच सेरको दरले बाडिन्छ । चिनी धेरै पाउनेले भात खान्छन् कि चिनी मात्रै रिसर्च गर्न बाँकी नै छ । खासगरी चिनी र नेताको ज्यादै मेलमिलाप छ । नेता र चिनी एकै आँतका दाजुभाइ बाबु फरक भए पनि एउटै आमाको छोरा भन्दा हुन्छ किनभने नेताको भाषणमा मिठास हुन्छ, चिनी त्यस्तै गुलियो हुन्छ । चिनी धेरै खाए अमिलो हुन्छ भने झैं चाहिँदा नचाहिंदा लामा भाषण भए नेता अमिलो हुन थाल्छन् । जन्मे चिनी अमिलो भएको भए नेताको सम्बन्ध अर्कैसंग हुनेथ्यो, यो काट्न नसकिने सत्य हो ।

चिनी र नेताको सम्बन्ध मीठो भाषण र गुलियोमा मात्र होइन जन्मै सम्बन्ध छ । केही चिस्यानी ठाउँमा उखु हुन्छ त्यस्तै ‘नेता’ भएपछि हिउँ जस्तै चिसो हुन्छन् । भोट मागुञ्जेल मागिखानेले जस्तै दिनको दशपल्ट नमस्ते गर्छन् जितेपछि नचिने जस्तै मुण्टो बटारेर हिँड्छन् । ‘काम सार भाँडा आफल तेरा ठाँडा’ भन्ने उखान नेताहरूले नै चरितार्थ गर्छन् उखुलाई लगेर पेले झैँ नेतालाई पनि उसका अरौटे भरौटेले खुबै पेल्छन्, भाषण गर्न सिकाउँछन् तर हिजो हाम्रो नेताले जुन आदर्शता देखाए फिका चिया खाएर त्यो परम सुन्दरीको वणर्न गर्न नसकिए झैँ वणर्न गरेर साध्य छैन । मान्छे पनि बढो विश्वासी छन् । उनले भनेको काममा सयमा उनान्सय पुग्दैन, पुयाउँदैनन् खास खुबी उहाँको यही हो । ‘हुन्छ’ को पगरी भिराएर मान्छे अल्झाउनमा एक नम्बर पास छन् । हुन त नेताज्यूले मैले आदर्श देखाएँ भनी गर्व गरे होलान् । उनका अरौटे भरौटेले क्या राम्रो बानी हाम्रो नेताको भनी स्याबासीको गुन्यु ओढाइदिए होलान् तर उनलाई बुझ्नेहरूले उनको आडम्बरीपना लागेको थियो उनको मुख बङ्ग्याइबाट । पछि भनेर भेद पनि खोलिहाले । ‘व्याड-टी’ । जीवनमा खान परेको थिएन यस्तो चिया । अरौटे भरौटेले हो भनी सही थापे ।

आइमाईको पेटमा दश महिना नानी आदछ तर सानो कुरो आँट्दैन र मैले भनेको नभन्नु है भनी वल्लो घर पल्लो झुप्रा भन्दै हिँड्छन् । त्यस्तै हाम्रा श्रीमान् फिका चिया नेतालाई पनि पटक्कै कुरो आँट्दैन । कुरो उनको पेटमा बस्यो भने उनलाई पखाला लाग्छ, पेट बादल पड्के झैँ कराउन थाल्छ। बाहिर ठीक पारेर अलिक पर पुगेपछि कुरा छादिहाल्छन् । रति गुण भने उनको पेटमा आँट्छ-’ आफूले कहाँ कहाँ नोट घिचे के के चीज कति ठाउँमा काला बजार गरे । अरु कुरामा हैजा लागे झैं मुखले नभ्याए पींधले पनि बोलुँला जस्तै गर्छन् । धन्य हुन् ‘हाम्रा फिका चिया नेता’ ।

हो, उनको एक गिलास चिया वा एक पावा रक्सी, एक डबका जाडमा केही भिन्नता छैन । चिनी भेट्टाउँदा हाम्रा नेताले रक्सी र जोडमा समेत घोलेर खानुहुन्छ । मान्छे बाहिर सफा देखिए पनि पेट भने कालो छ । वहाँको विशेषता यही हो । अब त पेट मात्र कालो भनेको त म वहाँको अनुहारै कालो देख्न थालेको छु । कतिपय हाम्रा नेता, टुरिष्टहरूले जस्तै, यी नेता पनि पीसकोरले झैँ एउटा झोला पनि बोकेर हिँडछन् । उनका झोलामा कागज कलम त हुने नै भयो अरू के के हुन्छन् कोनि । शायद रम, ब्राण्डी, चिया, चिनी पनि बोक्छन् कि ? हुनसक्छ लेडिज ब्यागजस्तो उनले पनि लेडिजहरूलाई ‘डाउन’ गर्न झोला बोकेका होलान् ! लेडिज व्यागभित्र त लिपिस्टक, क्रीम, आई-ब्रो, पेन्सिल, ऐना आदि हुन्छ । उनकोमा पनि गोरो हुन यस्तै सामान पो छ कि !

एकदिन हेर्नुपर्‍यो अनि लेख्न पर्‍यो ‘झोला र नेता’ । त्यसो त उनी आफूलाई चिनीभक्त नै ठान्छन् । आमाको गर्भमा रहँदा पनि चिनी नै खान्थे जस्ता कुरा गर्छन तर मान्छे टपरटुइयाँ हुन् कुरो किन ढाँट्ने ? उनले चुनावमा मतदाताहरूलाई एकहोऱ्याउन भात होत्ते आदि खुवाएको पैसा अझसम्म नतिरेको, आइमाई मण्डलीमा पस्दा गाइँगुइँ सुन्दैछु । घरमा गएर माग्न पनि नेताको इज्जत जाने रे, लाज पनि हुने, बजारमा माग्न नहुने रे ! अनि माइखोलाको बगरमा गएर माग्नु ? लोग्नेले चाल पाए भने उधारो दिने स्वास्नीको जगटा छर्न बेर छैन । हे भगवान ! सहँदा सहँदा हद भएर कुनै आइमाईले फरियाले बीच बाटामा नछोपुन् हाम्रा ’फिका चिया प्रिय नेता’ लाई । चुनाव लडदा नेताकी स्वास्नी व्याउने थिई भने अब बामे सर्ने छोरा वा छोरी भइसक्नु पर्ने हो । धन्न गोफ्लेकी आमाको ऋण खाएनछ नत्र जात्रा गर्ने थिई यस्ता नेताको । त्यसैले चिनी जस्तै मीठो भाषण र गाँजाले माते झैं लट्ठयाउने भाषण गरेर यी नेताले चुनाव जितेको हुनुपर्छ कि मोहनी लाए कि !

त्यसो त पैसा नभएर पनि नदिएका होलान् । यसो त पैसा भएर पनि नदिने हाम्रा यी नेतामा गुण रहेको छ । चुनावमा निकै रकम खर्च भयो भनी हातको घडी र औंठी नै बन्धकी छ भन्छन् । यी फिका चिया नेता अनि कहाँबाट तिरून् खाएको र खुवाएको पैसा उधारी नदिउँ भने पनि भएन कोही वेला यसो उसो गरिदिनुपर्‍यो भन्नुपर्छ । नेताको बोली नै सुनभन्दा महङ्गो बिक्छ । अरूले बोलेको पानीमा पादे सरह नै हुन्छ । मान्छे ढाँट्न औठीको ढुंग्री-मुन्द्री त बनाई दिएनन् उखरमाउली अन्तरीलाई हाम्रा नेताले ? घरमा राखेर बन्धकी राखे भन्न पनि बेर छैन । उखरमाउली, नकली भेट्टाए मख्ख पर्छन् यी नेता । कोनि कुन चुनावमा हो हाम्रा एकजना हरूवा नेताको घरमा मतदाताहरूले ससुरालीमा झैँ दुई चार दिन बसेर मासु र भात घिचेछन् तर जुन थालमा खायो त्यसैमा चुठे जस्तै उनकै पेटी वरिपरि आँची गरिदिएछन् । उल्टो मत पनि नदिई टाप दिएछन् ।

यसरी धोका दिनेहरूसँग विश्वास गर्नु पनि राम्रो होइन । बिचरा हरूवा नेता हारेको शुभ-सन्देश सुनेर मुर्च्छा परेको हिजो अस्ति जस्तो लाग्छ । कसो सधैंलाई मूर्च्छा परेनन् परेका भए मतदिने, नदिनेले पुरी र चिउरा अझ धोक्ने थिए । त्यसो त ज्योतिषीहरूलाई पहिले नै थाहा थियो अहिले जित्ने नेता र हार्ने नेताको बानी एउटै छ भनेर । तै बुद्धिमा टुसा पल्हाई हाल्छ कि भनी कानो मामा निको भने झैँ वडा नै उल्टेर सहयोग गरे तर बुद्धि फर्किएन, न उनिउ नै फुल्यो । बरु उनिउ फुलेर गन्हाउला भन्ने डर छ । यत्तिकै बसे त सहन हुन्थ्यो तर सहन नसक्ने पारे भने मरें ।

वडा नै मिलेर जिताए पछि अमिलो भए पनि हाम्रा नेता चिनी जस्तै गुलियो बन्न पर्नेमा ज्यामिर जस्तै छन् । गुलियो बन्न सकेनन् व्यवहारमा भाषणमा बाहेक । नेताज्यू चिनी जस्तै गुलियो भए हामीले चिनी किन्नु पर्ने थिएन । नेताज्यूलाई तातो चियामा चोबे गुलियो चिया हुने थियो तर अमिलो भइदिए। यता बजारमा चिनी पनि छैन त्यसैले दिन प्रतिदिन टी.बी.को रोगी हुँदैछौँ । चार बेडको भए पनि टी.बी. अस्पताल

बन्यो । अब नयाँ बन्दै गरेको अस्पताल पनि टी.बी. वार्ड नै होस् । जति पैसा उठाउनु परे पनि उठाइयोस् । व्यापारीलाई मात्र होइन दिनको तीन रुपियाँदेखि साठी सत्तरी खाने बाबू साहेबसँग पनि उठाइयोस् । एउटा फूटवल खेल्दा त रम र जीन खेलाडीलाई खुवाउन पैसा उठाइन्छ भने मीठा-मीठा भाषण गरेर भत्ता पकाउने, चुल्हो बिहान-बेलुका सजिलैसँग बाल्ने नेताहरूसँग पनि उठाइयोस् । नेताको भाषणको छानो र गारो लाउँदा हुन्छ भने मेरो भन्नु केही छैन ।

चामलको बोरामा चिनी बाहिर जान्छ भन्ने हिजो अस्ति खबरीमा पढेको थिएँ । चामलभित्र चिनी, नेताभित्र चिनी । चामलभित्र चिनी ब्ल्याकमा गयो, पठाउने धनी भो। हामीले हाम्रा नेताहरूको गुलियो भाषण बाहिर पठाउन सके देशलाई निकै आम्दानी हुन्थ्यो । भन्सार निःशुल्क हुनुपर्दछ । हिजो अस्ति एक अरबको बजेट बन्यो, भाषण विदेश पठाउन भए दश बाह्र अरबको बन्ने थियो । अर्को बजेटमा यस कुरालाई विशेष ध्यान दिइयोस् बजेट बढेपछि सबै नेपाली खुशी हुन्छन् । सबै भाषण सप्लाई गर्नेतिर लाग्ने थिए जसले गर्दा देशको प्रचुर आम्दानी हुनेथ्यो । आउँदो राष्ट्रिय पञ्चायतको सेसनमा महापञ्चदेखि लघुपञ्च समेतले यस कुरामा ध्यान दिऊन् । नेताको भाषण नसुन्नेहरूलाई टेप गरी गाउँ-गाउँमा लगेर सुनाए, सुनेको ज्याला उठाए, भाषणको पर्चा डबल दाममा बेचे पनि आम्दानी प्रशस्त हुन्थ्यो । पहाडका गाउँ पञ्चायतहरू आम्दानी छैन भनी रुन खोज्छन्, भाषणको मात्र बिक्री गरे लाखौ रुपियाँ आम्दानी हुन्छ । दिनको एउटा भाषण हुनैपर्छ, गाउँ सभासदले किन्नुपर्छ भनी दिए पञ्चायत मालामाल । तरिका नजानेर हाम्रा पञ्चायतले दुःख पाएका हुन् ।

चिनी बजारमा छैन केही भएको छैन । अलिक दिन चिनी नखाए पनि मरिदैन बजारमा नेता सकिएका छैनन्, भाषणको स्टक सकिएको छैन । नेता सकिए भाषण सकियो, भाषण सकिए नेता सकिए भनेर जान्नु । भाषण सुन्ने आदत बसाउनुपर्छ । नसाको अम्मल झैँ भाषण सुन्न लत बसाउनुपर्छ । मलाई सात दिनका एक दिन नेताको भाषण सुन्न पाइन भने खाएको चीज खाएजस्तो लाग्दैन दिनभरी भोक मात्र लाग्छ । सकभर नेताको भाषण सुन्न चिया खान पर्दैन । भाले नेता भए पनि, पोथी नेता भए पनि भाषणमा चिनी हालेकै हुन्छ । चिनी हालेको भाषण सुनेपछि किन चिया खानु पर्‍यो ? भाषणले नै अघाइन्छ । मैले त एक वर्ष भो भाषण खाएरै सन्तोष गरेको छु । कुनै पनि वेदमा भातै खानुपर्छ भनी लेखेको छैन । आधुनिक वेदमा उल्लेख नभए पनि भाषणले पेट डम्म अघाउँछ । कहिले कहिले छेरौटी चल्छ र भए यस्तो लेख्न जाँगर चल्छ । चिनी छैन भनी गुनासो नगर्नोस् । चिनीमा पचास प्रतिशतः गुलियो छ भने नेताको भाषणमा सय प्रतिशत नै छ । तपाईंहरू पनि नेताको भाषणबाट बाँच्ने उपाय गर्नोस् तपाई नेपाली हुँदा यस्तो रांडो रुवाइ छ अरू बंगाली भएको भए दाल, तरकारी, अचार केहीमा पनि चिनी हाल्न नपाउँदा कस्तो रुवाइ हुन्थ्यो होला !

चिनी र नेताको यस्तै सम्बन्ध छ चिनी नपाए भाषण खानोस्, भाषण नपाए चिनी खानोस् । आखिर गुलियो खाने व्यक्ति त मरेन गुलियोबाट यसैमा सबैको भलाइ छ । कता हो कोनि कोबाट चिनी आउदैछ रे, त्यो ल्याइरहन परेन । चिनी नभए भाषण, भाषण नभए चिनी एक थोक त पाइन्छ, पाइन्छ । जसरी भए पनि मुख त गुलियै हुन्छ, अमिलो हुँदैन । आजसम्म चिनी किन्न पर्छ भाषण किन्न पर्दैन । तसर्थ नेताज्यूको भाषण नै खान बेस पर्छ, निशुल्क पाइने । मेरो त यस्तै विचार छ र यस्तैमा बाँचेको छु । तपाईहरूको के विचार छ समय सालमा जान्न पाइरहे धेरै गुण हुनेथ्यो । म प्रतीक्षा गर्दछु । चिनी जस्तै भाषण सुन्न हतार छ, म जान पनि पर्‍यो ।

०००
‘विवेचना’ वर्ष १, अङ्क ८ असार २०३०, चन्द्रगढी, झापा

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
भाषामा पीङ खेल्दा

भाषामा पीङ खेल्दा

स्व. विष्णु नवीन
विज्ञापन

विज्ञापन

स्व. विष्णु नवीन
भुँडी कम्पनी

भुँडी कम्पनी

स्व. विष्णु नवीन
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
दुब्लो गान

दुब्लो गान

रेहित सैजु