सत्तारोहण
ज्योतिसले कर्म, धर्म, चर्म, पर्म र मर्म दान गरेपछि मात्रै सूर्य आकर्षण बढ्ने बताएपछि उनले निधारमा हात राखेर भने । - “धोकाधडी ।”
– “बिर्सियौ कि ? किन ?”
यो प्रश्नले संजयको दिमाग तिर्मिरायो । उनी अल्मलिए । बेला बेला उनको मानसमा आउने अहङ्कारको चट्याङले छटपटी दिन्थ्यो । ज्योतिसहरूले बेलाबेला उनलाई हैरान पार्थे ।
– “हजुरको सूर्य राम्रो छैन ।”
– “सूर्यकै आराधनामा थिएँ त !”
उनलाई बाँच्नका लागि सूर्य चाहिन्थ्यो । उनी सूर्यको आराधना गरेर जीवनभर बसिरहेका थिए । ज्योतिसको तर्क अप्रमाणित सत्य जस्तो लाग्थ्यो । एकदिनको कुरा हो । ज्योतिसले बैठक कक्षमै गएर भनिदिए ।
– “यसपाली सूर्य ग्रहण छ । हजुरलाई त्यसले निकै प्रभावमा राख्नेछ ।”
उनी रनक्क रन्किए । ज्योतिसलाई हपारे । बसेका सबै जर्याक जुरूक उठे । एक्लै कोठामा चिन्तन गर्न लागे । उनको जीवन सूर्यको आराधनामा बितिरहेको थियो । सूर्यको रापिलो ताप थिएन । बरू मनमा सन्ताप मात्रै थियो । संजयले फेरि ज्योतिससँग सोधे ।
– “चन्द्रमा कस्तो छ ?”
– “यसले जहिले पनि ज्योतिस शास्त्रअनुसार शीतलता मात्रै दिन्छ । त्यसैले यसको प्रभावमा पर्ने मान्छेहरूले शितलपाटी बस्नुपर्दैन ।”
संजयले त्यसपछि आफ्नो जन्मकुण्डली झिकेर ज्योतिसको अगाडि बजारे । ज्योतिसले जन्मकुण्डली पल्टाए । जन्मौतिमा उनको मूलिया परेको लेखेको रहेछ । संजय ज्योतिस अगाडि बर्बराउँदै कराउन थाले ।
– “जाली जन्मलग्न !”
ज्योतिसले कर्म, धर्म, चर्म, पर्म र मर्म दान गरेपछि मात्रै सूर्य आकर्षण बढ्ने बताएपछि उनले निधारमा हात राखेर भने ।
– “धोकाधडी ।”
०००
काठमाडौं