दुब्लो गान

उसै त देश दुई ढुङ्गा बीचको तरुल हो । देशको शेष नरहन पनि सक्छ । यो सबै कारण म दुब्लाउनु हो । तपाईं दुब्लाउनु हो । हामी दुब्लाउनु हो । हामी दुब्लाएरै देश दुब्लाएको हो ।

खाना नखाई कुनै प्राणी बाँच्न सक्छन् र भन्या …? मान्छेहरू किन बेमेल प्रश्न गर्छन् मलाई ? हुनसक्छ यो प्रश्न मसँग सान्दर्भिक छ । अरे, पातलो ज्यान देखिँदैमा चित्त छेडेर पित्त फुट्ने गरी वचन वाण हान्न त भएन नि । हाम्रो पनि चित्त हो घुक्छ नि । आफू रोएको अरूलाई देखाउनु पनि त भएन । हो, म मोटाउन सकिनँ, ज्यान पातलिएर राँगोको सुकुटी झैं भयो, के अब मेरो ज्यानलाई पकौडा बनाएर बेच्नु हुन्छ ?

त्यसो त मैले पनि मोटाउन नखोजेको कहाँ हो र ? मोटाउने विधि नअपनाएको कुन चाहिँ पो बाँकी होला । जानेसम्म बुझेसम्म गरेकै हो नि अब भएन त के गर्नु ? सधैं यथास्थितिमा रहन सक्नु मेरो कला हो । अनेक सैद्धान्तिक तन्त्र मन्त्र प्रयोग गर्दा पनि शून्य नतिजा आउनु मेरो सक्षमता हो । हेर्नोस् मेरो क्षमतालाई कदर गर्नुपर्ने ठाउँमा त्यसको ठिक विपरित व्यवहार पो गर्छन् मलाई । यो तरिका त भएन नि !

मोटाउनु पनि कसरी ! भात खायो बिहानै जान्छ । पानी पियो पानी नै जान्छ । खाएको कुरा जिउमा अडिने नाम निशाना छैन । दिसा पिसाब नगरेर खाएको कुरा पेटमै सञ्चित भएर पो मान्छेहरू मोटा, खाइलाग्दा भएका हुन् कि भनौं भने पनि होइन होला । आफूले त एकदिन दिसा गरेन भने अर्को दिन कनेर भए पनि निकाल्नु पर्छ । सायद ढिलो आयो कडा आयो भनेको यही हो । थोरै गाह्रो हुन्छ र… कनी कनी दिसा गर्नुपर्दा । आन्द्रा चुँडिएर बाहिर आएको हो कि जस्तो भान हुन्छ । यस्तै तर्कनाले रातभरि हिर्काएर अनिँदो भई चिन्ताले दुब्लाएको पो हो कि । फेरि चिन्ताले चितामा पुर्‍याउँछ पनि भन्छन् । चितामाथि चढेको लाशलाई आगोले पोलेको सबैले देख्छन् तर हरबखत चिन्ताले जलेर जिउँदो लाश बनेको कसैले नदेख्दा रैछन् ।

ज्यान अलि खाइलाग्दो मोटो बनाउने मामलामा मैले धेरै जनाको सल्लाह सुझाव पाएको छु । मेरो ज्यानमा मासुले हड्डी नछोप्नुको कारण धेरैको अर्ती सुनेर पनि हुन सक्छ । आफूलाई फेरि जसको अर्ती सुन्यो त्यही ठिक लाग्छ । उपदेशलाई कुन रूपमा आफूले समावेश गर्ने भनेर निर्क्याेल गरी ग्रहण गर्न नसक्नु मेरो ठूलो कमजोरी हो । भात धेरै खाए मोटाइन्छ रे तर मलाई ग्यास्ट्रिक बढाउँछ । ग्यास्ट्रिक बढेपछि अपानवायु आइरहन्छ । आफूले फालेको अपानवायु आफैलाई गन्हाउँछ । गन्हाएपछि आफूलाई आफैसँग रिस उठ्छ । आफूले आफैलाई पिट्न पनि नमिल्ने । अलि भीडमा साथीभाइ भएको ठाउँमा केही गरी खुस्कियो भने अहो ! बाघले आफ्नो सिकारलाई पनि त्यसरी झम्टिँदैनन् होला । आँखा तर्छन् । ठूलो अपराध गरे झैं गरी हेर्छन् ।

हुन त ‘धेरै खाए मल थोरै खाए बल’ भन्ने उखान पनि छ तर आफूलाई चित्तै बुझ्दैन । एकजनाले घिउ खाएपछि मोटाउँछ भन्यो । मैले एक चम्चाको साटो एक दर्जन चम्चा एकै चोटी खाएँ । ज्यान लाग्नु त कता हो कता वाकवाकी लाग्यो । झाडापखाला लाग्यो । यसरी त झन् मेरो तौल घट्यो । फेरि एकजनाले बियर पिउनुपर्छ भन्यो । कहिल्यै पिएको थिएन । जिब्रो पर्रर.. गर्‍यो । एक बोतल पिउन बीस सेकेन्ड पनि लागेन । पेट फुल्यो । हलचल गर्न गाह्रो भो । आफ्नो ज्यान आफैलाई भार भयो । पछि थाहा भयो, बियर पानी जसरी पिउन नहुने रहेछ । बिस्तारै बिस्तारै पिउनुपर्ने रहेछ । जोशमा होश गुम्यो । आयुर्वेदिक औषधि पनि सेवन गरियो । झण्डुबाम, च्यावनप्रास हर्लिक्स यस्तै यस्तै । तर मेरो समस्या बीसको उन्नाइस पनि भएन ।

पातला मान्छेहरू सहनशील हुन्छन् । सहनशील हुनैपर्छ । ‘सुकेको ज्यानमा लुकेको बल हुन्छ’ हुन्छ भनेर आफ्नो तौल भन्दा तीन गुणा बढी गह्रुङ्गो भारी बोकाउछन् । जे भने पनि पातलो मान्छेलाई खच्चड बनाउनु त भएन नि । पातलो मान्छेहरूको नाम जसले जे राखे पनि मिल्छ । नाम राख्न कुनै पण्डित, ब्राह्मण चाहिँदैन । दाउरे, च्यासे, सुइरे जस्ता नाम राख्न दिन, बार, गते किन हेर्नु पर्याे र ! दिन, बार र गते नमिलाई नाम राखिदिनाले हाम्रो राशि मिल्दैन । राशि नमिलेपछि चिना कुण्डलीमा फरक पर्छ । त्यही भएर होला जुनै बेला शनि ग्रहको दशाले घेरिरहेको हुन्छ ।

पातलो मान्छेहरूलाई बाहिर निस्कन पनि ठूलो जोखिम मोल्नुपर्छ । अझ झन् बेतमासको हावाहुरी बतास चलेको बेला बाहिर निस्कनु अभिशाप बन्न पनि सक्छ । पातलो मान्छे भनेको झरिसकेको पात जस्तै हो । कुन बेलाको हावाले कसिङ्गर बनाएर उडाउने हो थाहै हुन्न । कुनै भीडभाडमा अलि मान्छेहरूको अधिक चाप भएको बजारतिर अनाहकमा थिचिएर किचिने हो कि भन्ने डर हुन्छ । पातलो मान्छेहरू जन्ती पनि जाँदैनन्, मलामी पनि जाँदैनन् । नारा, जुलुस, प्रर्दशन, र्‍यालीतिर भाग पनि लिन जाँदैनन् । चाहे बसमा होस् चाहे अन्त साने पातलो मान्छेहरू हेपिएर चेपिन्छन् ।

छन त ज्यान पातलो हुनुको पनि फाइदाहरू प्रशस्त छन् । भएर के गर्नु अहिले अलिअलि भए पनि बचेका ती फाइदाहरूलाई बेफाइदाहरूले मिचेर ढाकिदिएका छन् । नागरिकतामा उमेर पैंतीस पुगिसक्यो तर पातला मान्छेहरू सोह्र सत्र उमेरको बालबालिका जस्तो देखिन्छन् । उमेर अनुसारको जवानी देखाउन मिल्दैन । बच्चा भएर उत्ताउलो भएका भनिदिन्छन् । ज्यान पातलो हुनु पूर्वजन्मको पाप हो ? पातला मान्छेहरूले सम्मानपूर्वक बाँच्न कहिले पाउँछन् ? भन्न पायो भन्दैमा प्याच्च भन्दिनेहरूले आफ्नो बोलीमा लगाम लगाउने कहिले ? यी प्रश्नहरूको जवाफ कहिले मिल्छ ?

म भन्नु देश हो । म दुब्लाउनु भनेको देश दुब्लाउनु हो । देश दुब्लाउनु भनेको कमजोर हुनु हो । जब देश कमजोर हुन्छ तब देशमा आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक क्षेत्र सबै कमजोर हुन्छ । यी तत्वहरू दुब्लाएपछि देश सामान्य अवस्थाबाट असामान्य अवस्थातिर धकेलिन्छ । गतिविधिहरु बदलिन्छन् । विचौलिया भ्रष्टाचारीहरू दिनप्रतिदिन मोटाउँदै मोटाउँदै जान्छन् । महङ्गीलाई मोटाउन दिएपछि व्यापार व्यवसाय दुब्लाउँदै जान्छ । उद्योग कलकारखाना दुब्लाएर मर्दै जान्छन् । द्वन्द्वको क्षेत्र मोटाएपछि शान्ति दुब्लाउँछ । कृषक अनि कृषि क्षेत्र दुब्लाउँदै जान्छन् । हाँसो दुब्लाउँछ । गरिबी, बेरोजगारी मोटाउँछ । अभाव, दबावसँग कुस्ती खेल्नुपर्छ । युवाशक्ति विदेश पलायन हुन्छ । युवा भनेको देशको भिटामिन हो । भिटामिन नै नरहेपछि देशको साँध सीमाना साँघुरिँदै जान्छ । उसै त देश दुई ढुङ्गा बीचको तरुल हो । देशको शेष नरहन पनि सक्छ । यो सबै कारण म दुब्लाउनु हो । तपाईं दुब्लाउनु हो । हामी दुब्लाउनु हो । हामी दुब्लाएरै देश दुब्लाएको हो । अब मैले, हामीले मोटाउनै पर्छ किनकि हामीलाई देश दुब्लाउन दिनु छैन । अब मैले, हामीले मोटाउने ओखति खानै पर्ने छ ।

०००
रामेछाप

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
चार ठोक्तक

चार ठोक्तक

रेहित सैजु
पाँच ठोक्तक

पाँच ठोक्तक

रेहित सैजु
चार ठोक्तक

चार ठोक्तक

रेहित सैजु
चार ठोक्तक

चार ठोक्तक

रेहित सैजु
चार ठोक्तक

चार ठोक्तक

रेहित सैजु
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
तानतुने कवि

तानतुने कवि

नगिता लेप्चा राई