सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

धेरै गुलियो रसवरी खाँदा सुगेर प्रेशर बढ्छ भन्थे तर आँखा बल्ढ्याङ्ग्रे हुँदो रहेछ भन्ने कुराको भेऊ यो लेऊ लागेको मेरो गिदीले ठम्याएको छ ।

Nepal Telecom ad

हाम्रो गाउँमा धेरै सुतानन्दहरू दिंदा नखाने तर राती उठेर कोल चाट्ने प्रवृतिबाट प्रभावित छन् । सधैँ चाट्न पल्केका सुतानन्दहरू ओछ्यानबाट उठ्न नपाउँदै बल्ढ्याङ्ग्रे आँखा पारेर काँचै निलुला झैँ गर्छन् । राम्रो कुरा गर्दा पनि पच्दैन । सायद उनीहरूको दिमागमा नराम्रो कुरा मात्र खेलिरहेको हुनछ कि क्या हो ? नराम्रो कुरा गर्‍यो भने कान ठाडो पारेर हँ भन्दै जुरुक्क उठेर कुरा खोतल्ने बानी परेका सुतानन्दको आँखा फुलो परेर पनि त्यसो भएको होइन । कान नसुनेर पनि होइन । सानोदेखि लागेको बानीले पो हो कि भनेर कुरो बुझ्दा त्यो पनि होइन रहेछ । कुरोको चुरो पत्ता लाउँदै जाँदा सुतेरै काम खान पल्केका रहेछन् ।

राती उठेर कोल चाट्ने प्रवृतिले गाँजेको हाम्रो गाउँ ठाउँमा राम्रा नाम काम र सम्मान भएका मानिस खोज्न दिउँसै लालटिन बालेर खोज्नुपर्ने अवस्था आयो । गाउँका कुना काप्चा उकालो, ओरालो, भन्ज्याङ, देउराली, सबैतिर खोजियो तर सुतानन्दहरू कानमा तेल हालेर ठेडी कोचेर सुतेका रहेछन् । सुतेकै भरमा कैयाँैका गोठका भैसी, गोरु, बाख्रा, खसी, भेंडा गायव । सुतेकै भरमा माथि माथि पुगेर होचो मान्छे पनि अग्लो भएको । बल्ढ्याङ्ग्रे आँखाको शक्ति भनौ वा कानेगुँजी ननिकालेको ठेडी कोचेको कानको शक्ति भनौँ गाउँको गरिबी निवारण गरेर भुसुक्कै । भनौँ गाउँ घरमा भएका गरिबको मानो चामल खोसेपछि गरिबी नै रहँदैन भन्ने हिसाबले सुतानन्दहरूले काम गरेका रहेछन् भन्ने कुराको पुष्टि अन्धमुष्टी हामीले नै गरिदियौँ ।

सुतानन्दहरू बेलायत, अमेरिका, जापान, कोरिया, चीन लगायतका मुलुकमा पुग्दा पनि बल्ढ्याङ्गे्र आँखा भने नेपालतिरै फर्काएर सुतेको भान हुने गरी घुर्छन । सुत्दाखेरीको घुराई, बल्ढ्याङ्ग्रे आँखाको हेराई, ठेडी कोचेको कानको सुनाई, राजसी ठाँटको हिडाई, कुकुरको भुकाई झै बोलाईले सुतानन्दहरूको पहिचानमा सहजता उत्पन्न भएको छ । सुतानन्दको बक्बकानन्द शैलीले कुम्भकणर्हरू समेत छक्क परेको समयमा लाटो कोसेरोहरू यताउता भैतारिरहेको देख्न सकिन्छ । भनौँ सुतानन्दको बल्ढ्याङ्ग्रे खुला आँखाले निकै माथि पुगेको बकुल्ला, काग, कोइली, लाटो कोसेरो लगायतकासँग मितेरी लाएर कागको गुँडको अण्डा चोर्ने प्रयास गरिरहेको जस्तो लाग्छ । सँंगै रहेको कागलाई छक्याएर अण्डा चोरेर आफ्नो गुँडमा ल्याएर चल्ला कोरल्न खोज्नु निकै ठूलो कुटनीतिक रणनीति हो । कागले सुतानन्दलाई छक्याउनसम्म छक्याएकोले अब सुतानन्दले पनि कागलाई छक्याउन धेरै चाल चालिरहेको आँ गर्दा सबैले अलङ्कार बुझिरहेका छन् ।

मै खाऊ मै लाऊ सुख सयल वा मोज म गरुँ भन्ने सिद्धान्त र अहङ्कारयुक्त खस्रो नीति र सिद्धान्तमा डुबेको सुतानन्दको बल्ढ्याङ्ग्रे आँखाले तलतिर भन्दा माथिल्लो तलामा मात्र देख्छ जस्तो सबैलाई भान भैरहेको छ यतिबेला । आफूले देखेको र देखाएको सपना आफैँ बिर्सेर कुँवाको भ्यागुतो झैँ ट्वार्र ट्वार्र गर्न पनि नसक्ने अवस्थामा पुगेको झल्झली सम्झेर र्‍याल सिंगान चुहाउँदै ठस्ठस्ती कन्दै सुतानन्दले आफूसँगै आफ्ना साथीहरूलाई पनि सुतायो । अहिले बकुल्ला काग कोइली लाटो कोसेरोको कुरामा कुरा मिलाएर ओछ्यानबाट उठ्न खोजिरहेको छ ।

खासगरी बल्ढ्याङ्ग्रे आँखाको कमालभन्दा पनि कागलाई फकाउँदा फकिने सम्भावनामा बढी ओखती देखेकोले मौकामा चौका हान्ने दाउले सुतानन्दले आफ्नो आँखालाई दिमागसँगै घुमाएर माथिल्लो तलामा गाँडेको हुन सक्छ । बल्ढ्याङ्ग्रे आँखा न हो चारैतिर घुम्न र घुमाउन सकिन्छ नै र कुनै बेला दोषी पनि हुन्छ । आँखाको दोषले धेरै कुरा विग्रन्छ । बल्ढ्याङ्ग्रे आँखा प्राय सबैका दोषी हुन्छन । कस्तो आँखाले हेर्‍यो त्यसले वा बल्ढ्याङ्ग्रे आँखाले हेर्‍यो भनेर उसैलाई आँखा तर्ने चलन पनि छ हामी कहाँ । सुतानन्दले सुतेरै एक् पटक हेर्‍यो भने सबैको सात्तो जान्छ । फेरी बोली पनि त्यस्तै छ ।

सुतानन्द सुतेर र्‍याल काढन थालेपछि ऊ वरपर बस्ने सबैको सात्तो जान्छ । घरमा पाहुना आउन वा ज्वाइँ चेला सासू ससुरा जो सुकै आउन उसलाई मतलव छैन केवल सुत्न पाए भयो । अब सुत्नकालागि विश्व रेकर्डका रूपमा गिनिज बुकमा नाम लेखाएर प्रमाण पत्र लिन बाँकी छ भन्ने गाइँगुँई हल्ला सुन्न थालिएको छ । अमेरिकातिर बढी ध्यान केन्द्रित गर्ने सुतानन्द दक्षिणतिरको पनि भक्तराम भएकोले यस पटक धोती खुस्क्याउन आफ्नै आसेपासेका कारण सहज भयो । धोती खुस्केपछि साता दस दिन त सुतानन्द सुतिरहे दिगम्बर लडे झैँ गरेर ।

कसैले सुत नभनीकन आफैँ सुत्ने बानी परेका सुतानन्दको सुतेपछि भने आँखा बल्ढ्याङ्ग्रे हुँदा रहेछन् । रातो न रातो खोर्सानी दले जस्तो रसिला आँखा झट्ट हेर्दा गुलाम अलीले गाएको गीत झैँ गाजलु ती ठुलाठुला आँखालाई बिर्साउने खालको भएकोले होला जो कोही त्यो आँखाका अगाडि पर्न डराउने गरेको तथ्य पनि सत्य भएको छ । तर कोही भने त्यो आँखामा बस्दा पनि बिझाउँदैनन । कोही त्यो आँखाको पानी झारुन्जेलसम्म धारे हात लाउँछन । कोही भने सुतानन्दको सात्तो खान लागि परेकाछन् पछि लागेर । कोही अघि लागेर सुतानन्द लाई सुताउन लागि परेका छन् । कोही सुतानन्दलाई उठाएर के के न गरौला भन्ने दाउमा लागेका थिए । तर सुतानन्दका भान्से, ढोके, हुक्के, चिलिमेले सुतानन्दलाई उठाउनुको साटो नजानिदो तरिकाले सुताएरै छाडे । सुतेका सुतानन्दलाई फेरी उठाउन तिनै भान्स,े ढोके, हुक्के, चिलिमे प्रयास गरिरहेका छन् ।

नेपाली सुतानन्दहरू नेपाली अग्र्यानिक सुताईमा भन्दा बढी विदेशी सुताईमा रमाउन चाहन्छन् । आयातित् सुताईले शरीरलाई गन्धे बनाउँछ भन्ने कुरा सायद नेपाली सुतानन्दहरूले बिर्से जस्तो छ । आयातित् सुताई कै भरमा देशको भविष्य र नीति निर्देशनतिर ध्यान दिन सुत्नै पर्ने वाध्यताले नेपाली लाजनीतिमा सुतानन्दहरू शरणगत् हुन पुगेको देखिन्छ । फेरी अर्को कुरा सुतानन्दहरू सुतेकै समयमा उनीहरूको बल्ढ्याङ्ग्रे आँखाले सबैतिर हेर्न सोच्न र भविष्यको बाटो देख्ने गर्छ । सधैँ उठिरहने हो भने सुतानन्द नाम हुँदैनथ्यो होला र उठानन्द भनेर नाम कहलिन्थ्यो होला । हामी सबैको आँखा पनि सुतानन्दको झैँ हुने हो भने अवश्य पनि हामीलाई कुनै अपराधिक आरोप लाएर कुनै दोष विना नै जेलमा कोचेर सडाउँथे होलान् । भनौँ यहाँ बल्ढ्याङ्ग्रे आँखा दोषी हुन्छ ।

अचेल एउटा नयाँ उखान चलेको छ । सुतानन्दले उठानन्दलाई समेत बेलामौकामा आफूसँगै सुताउँछ रे । सडकमा हिडिरहेको मान्छेलाई बोलाएर आफूसँगै सुत भन्छ रे सुतानन्दले । नेपालको सन्दर्भमा पनि यस्तै भैरहेको छ । लाजनीति गर्ने देशमा हरेक काम कुरा हुन्छन् । सुतानन्दहरू विषय विज्ञका रूपमा देश खाने किराहरूलाई सम्झन्छन भन्ने कुरा पनि पुष्टि भएको छ । जुन सुतानन्दहरूकै बल्ढ्याङ्ग्रे आँखाको दोष हो भन्दा फरक पर्दैन । इमानीका नाममा कालो सूचीमा परेका अमानवीय हर्कतका बर्कतेहरूलाई उच्चासनमा राखेर सम्मान गर्ने जमात पनि यही छ । अरुको सानो आँखाले पनि बर्कतेहरूलाई नर्कटेको लौरो लाएर लखेट्नु पर्ने कुरा ओकली रहेका छन् ।

गोरो कानूनलाई कालो बनाएर त्यसैमा रमाउने संस्कारलाई नमस्कार गर्ने सुतानन्दहरूको बल्ढ्याङ्ग्रे आँखाको शल्यक्रिया कस्ले गर्ने ? अहिले यही प्रश्न सबैतिर उब्जिएको छ । यो कुरा सुतानन्दहरूलाई भन्यो भने आँखा भन्दा यहाँ भाखा मिलाउन आवश्यक छ भन्न बेर लाउँदैनन् । धेरै गुलियो रसवरी खाँदा सुगेर प्रेशर बढ्छ भन्थे तर आँखा बल्ढ्याङ्ग्रे हुँदो रहेछ भन्ने कुराको भेऊ यो लेऊ लागेको मेरो गिदीले ठम्याएको छ । जय व्यङ्ग्य ।

०००
उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का