सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रितिभोज

“हो भन्या, यी पाटी पेलेसाँ त जाँ पनि तेस्तै हुनी, अस्ति कौनामा मोरेका कुखुराको रोष्ट बनाए भन्थे नबिकेर गलेका टमाटर, म्याद नाघेका मरमसला हाल्छन् भन्छन् खोइ कसले देख्याछ र ?”

Nepal Telecom ad

प्रितिभोज- “साँझ ५ बजे” भनेर बिहेको कार्डमा लेखिएको थियो । बिहान १० बजेतिर खाना खाएकोले दिउँसो ३ बजेतिर अलिअलि भोक लागे जस्तो भयो । अहिले टन्न खाजा खाइयो भने त प्रितिभोजमा जानुको के अर्थ भयो र भन्ने सोंचेर चिया मात्र पिउने निधो गरेँ ।

साथीको फोन आयो “कति बजे निस्किने हामी ?” मैले सोधेँ । “५ बजे लेखेको छ अब त्यही अनुसार बुझेर ६ बजेतिर निस्कौँ न हुँदैन ?” उनले भनिन् । त्यही अनुसार तयारी गर्न लागे म पनि । ६ बजेसम्म त चियाले मात्रै थेग्ला जस्तो लागेन । एउटा स्याउ काटेर खाएँ ।

हुन त म भोजभतेरमा गएर गलगिद्द खान सक्ने मान्छे पनि होइन । तर पनि भोजमा जाँदा घरैबाट अघाएर जान हाम्रो संस्कारले दिएन ।

करीब ६ः२० बजेतिर हामी निम्ता गरिएको भोजदरबार (पार्टी प्यालेस) मा पुग्यौँ । बेहुला बेहुलीलाई खादा ओडाएर नयाँ सम्बन्धको सफलताको लागि शुभकामना दिँदै एउटा फोटो खिच्यौं । बिस्तारै भोजका उपभोक्ताहरू आउने क्रम बाक्लिँदै थियो । खाना खाने ठाउँ त्यति बेलासम्म खाली नै थियो । मलाई भने चिसो मौसम भएकोले हरर्र कफीको बास्नाले तानिहाल्यो । साथी र मैले एक-एक वटा कफी समात्यौँ । हामीले कफी सिध्याउँदासम्म खाना खाने ठाउँमा नेपालमा चल्न नसकेको रेल जत्तिकै लाइन बनिसकेको थियो । अब हामीलाई पनि त्यही लाइनमा थपिनुपर्ने भयो । भोज खानकै लागि लाइनमा उभिनुपर्दा अलिकति लाज जस्तो, झ्याउ जस्तो लागिरहेको थियो । ह्या के लाज मान्नु, खानकै लागि निम्ता गरिएको त हो नि भनेर आफूलाई सम्झाउँदै थिएँ ।

भर्खरै दाउन्नेको जाम खुलेर गाडी हिँडे जस्तै गरी लाइन सुस्त गतिमा अगाडि बढिरहेको थियो । यो लाइनको जाम कहाँनिर रहेछ भनेर यसो टाउको छड्के पारेर अगाडि हेरेँ । मटन ग्रेभीको भाँडोनिर पुगेपछि लाइन जाममा परेको पत्तो लाग्यो । अब एकछिन धैर्य गरेर उभिनुपर्ने थियो । भर्खरै लाइन पार गरेर टेबलमा भोजको मजा लिइरहेका सुखी र हौसिएका उपभोक्ताहरूतर्फ मेरा नजर डुल्न थाले (उनीहरुले थाहा नपाउने गरी) । फरक फरक मान्छेहरूको फरक फरक खाने तरिका देख्दै थिएँ ।

कसैले पार्टी खान जाने हो भनेर बिहानैदेखि पेट खाली राखेर बसे जसरी खाइरहेका थिए । खाने हो कि होइन तर सबै आइटमले प्लेट भरिभराउ पारेर बसेका थिए कोही ।

कोही भने खाने मन भए पनि स्मार्ट देखिनको लागि प्लेटमा थोरै आइटम राखेर नाटक पार्नेहरू पनि देखिँदै थिए । आफूले खाइसकेकाहरू कसले कति खायो भनेर सबैको प्लेटमा नजर डुलाउँदै, सिन्काले दाँत कोट्याउँदै थिए । अर्कोथरी दुईजना भलाद्मीहरू सलाद मात्र लिएर सिङ्गो प्लेटको सत्यानास गरिरहेका थिए । स्मार्ट देखिनको लागि हो या स्वास्थ्यप्रति बढी नै सजग भएर हो थाहा भएन । सलाद खानेतिर चासो दिन छोडेर मैले आफ्नो ध्यान केही नखाइकन बस्ने एकजना आमातर्फ मोडेँ । एकजनाले “केही त लिनु न आमा” भन्दै थिइन ्। “म त केइ खान्न नि बाहिर त, लसपस हुन्छ । घरमा भाको भए रोटी दूध खानु हुन्थ्यो ।” बिचरा आमोईको कुरा सुनेर माया पनि लागेर आयो । अब त्यतिका परिकारको व्यवस्था भोज दरबारले गरिरहँदा शुद्ध साकाहारी रोटी, दुध दहीको व्यवस्था कसले गरिदिनु ती आमोईलाई ?

यस्तै रमिता हेर्दाहेर्दै बल्लतल्ल प्लेट समात्ने ठाउँसम्म पुगेँ म । प्लेट समातेर उभिन पाउँदा पनि लोकसेवाको प्रथम पत्रमा नाम निकाले सरह भयो मलाई । अब भने बिस्तारै डाडु समात्ने पालो पनि आयो । लाइन सामान्य गतिमा अघि बढ्दै थियो । मासुको भाँडोनिर पुगेपछि लाइन अगाडि बढ्न अलि समय लाग्थ्यो । मासुले किन जाम गराएको रहेछ भन्ने कुरा आफ्नो पालो आएपछि थाहा पाएँ । मटन ग्रेभीको भाँडोमा डाडुलाई फनक्क एक चक्कर लगाएँ । एउटा टुक्रा आयो, छाला रहेछ त्यहीँ छोडिदिएँ । फेरि अर्को राम्रो टुक्रा आउँछ कि भन्ने झिनो आशा राखेर डाडुलाइ फेरि डुबुल्क्याएँ। टुक्रा त आयो तर बोसो रहेछ । त्यसलाई पनि त्यहीँ छाडेर अन्तिम प्रयास स्वरुप डाडु घुमाएँ । यसपटक भने गजबकै टुक्रा टङ्रङ्ग बज्दै निस्कियो । के रहेछ त भन्दा ठूलै हड्डी । पार्टी प्यालेसको मासुमा राम्रो मासुका टुक्रा भेटिन्छन् र नेपालका नेताले देशको बिकास गर्छन् भन्ने भ्रममा कहिल्यै नपरे हुन्छ । त्यसपछि “ह्या… भोलि कार्की दाइको मासु पसलबाट १ किलो खसीको मासु किनेर बरु घरमै खाउँला राम्रो पिस मासु” भन्दै अलिकति मसलाको लेदो पुलाउमाथि खन्याएर बाटो लागेँ ।

खाना खाइवरी सुप र मिस्रीका टुक्रा चपाउँदै हामी खानाको समीक्षा गर्नतर्फ लाग्यौँ । मेरोभन्दा साथीको हालत झन् खराब रहेछ । “यतिका भेराइटी छ तर एउटा खानाको क्वालिटी रहेनछ । कस्तो साह्रो हौ मासु पनि बाख्री पकाएर मरेछ, निल्नु न ओकल्नु पो भयो मलाई त ।” साथीको गुनासो सुनेर एकजना दिदी छेउबाट बोलिन्- “हो भन्या, यी पाटी पेलेसाँ त जाँ पनि तेस्तै हुनी, अस्ति कौनामा मोरेका कुखुराको रोष्ट बनाए भन्थे नबिकेर गलेका टमाटर, म्याद नाघेका मरमसला हाल्छन् भन्छन् खोइ कसले देख्याछ र ?”

“रोष्ट बन्नलाई त कुखुरा मर्नै परो नि,ज्युँदाको त कसरी बनाउने हो र ?” साइडबाट अर्का दाजु बोले । एकछिन सबैजना गललल हाँस्यौं ।

हामी यस्तै छौं, खाना खाइसकेपछि खानाको नकारात्मक पक्ष बारे बहस गर्न पनि छाड्दैनौ र भोज खान जाने भनेपछि बिहानैदेखि पेट खाली राखेर बस्न पनि छोड्दैनौँ । यहाँ त भोज खानेहरु सबै एकैपटक बिरामी पर्नुपर्छ अनि मात्र खानाको गुणस्तरको जाँच गरिन्छ । नत्र कसले जाँच गर्ने मासुको गुणस्तर, तरकारीको गुणस्तर ? अनि कसले हेर्ने मरमसलाको उपभोग्य मिति ?

यो प्रश्न सम्बन्धित निकायसम्म पुगोस् भन्ने चाहना सँगै प्रीतिभोजमा सबैलाई चपाउन सकिने मासुको टुक्रा भेटियोस् भन्ने कामना गर्दछु ।

०००
हेटौँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे