सिकार
यी बाउ भनेका पुरानै सोचाइका छन् भन्या ! अब सिंहदरबारमा माछाको आश गरेर हुन्छ ? सबै पाहाले भरिएको छ । कस्तो टरटर गरि सबैको निन्द्रा हराम गरेका छन् ।
“ए बाउ ! सधैं मलाई हुतिहारा, नालायक भन्थ्यौ । आज त मैले पनि सिकार गरेर ल्याएँ । लु भन त नालायक कसरी भन्छौ ?”
“ढडिया लिएर गाको बजिया सिकार गरेँ भन्छ । उबेला जब भगवान बुद्धि बाँड्दै थिए, त्यतिबेला कता मुन्टेको थिइस् हँ ?”
“ह्या यी बाउ पनि जतिसुकैबेला किचकिच गर्छन् । त्यो बेला तिम्रै पछाडि थिएँ नि । पहिलेका कुरा छोड्देऊ । मेरा कुरा सुन-
अरूण नदि र खोलामा जालारीले जाल हानेर हैरान पार्ने डर एकातिर अर्कोतिर ठूलो बाढीले बगाउने डर । त्यसैले चलाख बाम माछाहरू सिंहदरबारतिर बसाइँ सरेछन् । त्यहीँ मौका छोपेर ढडिया थापेको बाम नै परेछ । असला, कत्ले र बुधुना यसका आहारा भएकोले सिंहदरबारमा एकलौटी राज जमाएको रहेछ । आज मेरो सिकार भयो । भरे कान्छी रईनीले पारेको लोकलसँग यसलाई चिरिप्प पार्न पर्छ के बुढा !!”
“खै खै हेरौं ! साँच्चिकै बाम समातेको झैं गर्छ यो लठेप्रो ।”
“ल हेर हेर !! अझै कति शंका गर्न सकेका ?” छोरो झर्कदै ढडिया देखाउँछ ।
“थुइक्क बजिया ! बाम भनेर पाहा (भ्यागुतो) पो ल्याएछ ।” बाउ पनि रिसाउदै भित्र पस्छन् ।
“यी बाउ भनेका पुरानै सोचाइका छन् भन्या ! अब सिंहदरबारमा माछाको आश गरेर हुन्छ ? सबै पाहाले भरिएको छ । कस्तो टरटर गरि सबैको निन्द्रा हराम गरेका छन् । ढडियामा नअटाएकाहरूलाई उही गोमनले साफ गराउने त होला नि ।” ढडिया हेर्दै छोरा मुस्कुराउँछ ।
०००
२०८० । १ । २९
रातोपुल, काठमाडौं