बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

हास्यव्यङ्ग्य निबन्ध कोशेली ‘भ्रष्टाचारको भाङ’

आज देशको अवस्था खस्कँदो छ भन्ने धारणाबाट अभिव्यक्त विषय हो ‘भ्रष्टाचारको भाङ’ । यस सङ्ग्रहभित्रका हरेक निबन्धमा हास्यमिश्रित व्यङ्ग्यको प्रचुरता छ, अत्यन्त परिष्कृत भाषा-शैलीमा आएका छन् निबन्धहरू ।

Nepal Telecom Spring Offer

१. विषयप्रवेश
संस्कृत वा नेपालीमा प्रयोग गरिने ‘निबन्ध’ शब्द र अङ्ग्रेजीमा प्रयोग गरिने ‘एस्से’ शब्द पर्यायवाची शब्द हुन् । ‘एस्से’ फ्रान्सिसी भाषाको शब्द हो । विदेशी विद्वान्हरूको मतानुसार “सम्पूर्ण बन्धनबाट मुक्त स्वच्छन्द रचना”लाई निबन्ध भनिएको छ । निबन्ध जुनसुकै विषयवस्तुलाई आधार बनाएर लेख्न सकिन्छ । कुनै कुनै विद्वान्हरूको मतानुसार त अनियमित र असम्बद्ध रचनालाई ‘निबन्ध’ भनिन्छ । यथार्थ रूपमा भन्दा मनको उन्मुक्त उडान नै निबन्ध स्वरूप हो । यसमा लेखकको व्यक्तित्व र मनोभाव स्वतन्त्र रूपमा व्यक्तिएको हुन्छ । निबन्धहरू वस्तुपरक र आत्मपरक दुई किसिमबाट लेख्न सकिन्छ । यसमा लेखक आफ्नै अनुभूति र प्रतिक्रियालाई असंपृक्त भएर लेखनकार्य गर्दछ ।

हास्य र व्यङ्ग्य दुवै संस्कृत तत्सम शब्द हुन् । हस्+य (ण्यत् प्रत्यय) बाट ‘हास्य’ शब्द व्युत्पन्न हुन्छ भने वि+अञ्ज+य (ण्यत् प्रत्यय)बाट व्यङ्ग्य शब्द बन्दछ । यसरी व्युत्पन्न हास्य शब्दको व्युत्पत्तिमूलक अर्थ ‘हाँस्न योग्य, हाँसो उठ्तो, हाँस्न लायक, उपहास्य आदि हुन्छ भने व्यङ्ग्यको अर्थ व्यञ्जनधर्मी र शब्द, वाक्य एवं अभिव्यक्तिबाट पद, पदांश र सम्पूर्ण लेखनमा रोचक पक्षलाई नवीन, आकर्षक भाव सम्प्रेषण गर्ने अभिव्यञ्जना गरेको हुन्छ । सामान्य प्रचलनमा रहेको अर्थलाई हेर्दा ‘हास्य’ शब्दले व्युत्पत्तिगत अर्थलाई नै बोकेको देखिन्छ भने ‘व्यङ्ग्य’ शब्दको भने घुमाउरो पाराले छेड हान्न, कटाक्ष गर्न योग्य, छेडपेच वा कटाक्षको भाव भन्ने अर्थ लाग्छ ।

मानवजीवनका विविध पक्षमा देखिने गरेका कमजोरीहरू, विसङ्गतिका पक्षहरूलाई देखेर व्यङ्ग्य हान्ने वा घोचपेच गर्ने स्वाभाविक गुण हो तर यसलाई अलिकता हाँसो मिसाएर गरिएको व्यङ्ग्यले बुझ्न-बुझाउन पनि सहज हुने हुनाले हास्यव्यङ्ग्य साहित्यले समाजमा प्रभाव जमाएको देखिन्छ । यसमा विचार गर्नुपर्ने कुरा के हो भने हास्य र व्यङ्ग्यलाई साहित्यमा एक रूपमा हेर्ने गरे तापनि यी दुवै अलक-अलक कुरा हुन् भन्ने पूर्ववर्ती आचार्यहरूले पनि गरेका छन् । त्यसैले हास्यभित्र व्यङ्ग्य र व्यङ्ग्यभित्र हास्य हुनै पर्छ भन्ने अनिवार्य हुँदैन तथापि यी दुवैको सन्तुलित प्रयोगले निबन्धरचना प्रभावकारी बन्ने कुरा द्विमत हुन सक्दैन ।

साहित्यमा व्यङ्ग्य मात्र भयो भने रुखो हुन्छ तर त्यहाँ हास्य मिसाइदियो भने त्यो भनाइले विशिष्टता हासिल गर्छ, प्रभावकारी हुन्छ, मनोरञ्जनात्मक हुन्छ । आधुनिक नेपाली साहित्यको हास्यव्यङ्ग्य-निबन्धविधाको क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्तित्वहरूमा केशवराज पिँडाली, वासुदेव लुइँटेल, भैरव अर्याल, श्रीधर खनाल, श्याम गोतामे, रामकुमार पाँडेजस्ता अनेकौँ व्यक्तित्वको माझमा पछिल्लो समयमा आई नेपाली साहित्यको हास्यव्यङ्ग्य-निबन्धलेखनमा सँगसँगै हिँडेका र यहाँ चर्चाको विषय बनेका व्यक्तित्व हुन् – हास्यव्यङ्ग्यकार युवराज मैनाली ।

हास्यलेखनको मूल उद्देश्य हँसाउनु मात्र हुँदैन । समाजभित्रका सूक्ष्मतम कुराहरूलाई ल्याएर विकृति-विसङ्गतिका छिटालाई हँसाउने शब्दचयनबाट जीवनका गूढतम रहस्यहरूको उद्घाटन गर्नु मूल उद्देश्य रहेको हुन्छ निबन्धकारको । यसमा सिद्धहस्त छन् युवराज मैनाली । उनको कथा, कविता, निबन्ध आदि लेखनमा पनि व्यङ्ग्यको प्रचुरता पाइन्छ ।

२. स्रष्टापरिचय
साहित्यकार युवराज मैनाली नेपाली साहित्यको क्षेत्रमा पाँच दशकदेखि निरन्तर योगदान दिएको व्यक्तित्वको नाम हो । पिता केदारनाथ एवं माता रेवती मैनालीका पुत्ररत्न युवराजको जन्म २०१७ साल चैत्र १० गते कानपुर काभ्रेपलाञ्चोकमा भएको हो । शिक्षामा स्नातकोत्तर (इतिहास) गरेका व्यक्तित्व युवराजले निजामती सेवामा जीवनयापन गरे तापनि साहित्यमा परिष्कृत भाषाशैलीका साथ आफ्नो लेखनलाई अगाडि बढाइरहे – “शनैः पन्थाः शनैः पन्थाः शनैः पन्थाः शनैः शनैः”को अग्रगतिमा । अरूभन्दा पृथक् र स्पष्ट दृष्टिकोण राखेर बाँच्न मन पराउने व्यक्तित्व र निजामती सेवाबाट अवकाशप्राप्त गरेपछिको व्यक्तित्वको पाँच दशकको साहित्यलेखन-सेवा उर्वर रहेको देखिन्छ । थोरैमा धेरै दिन सक्ने प्रतिभा युवराजको प्रारम्भिक अवस्थादेखि अनुभूतिजन्य, परिमार्जित लेखनकला र समालोचनाको क्षेत्रमा महत्त्वपूणर् योगदान एवं साहित्यिक सङ्घ/संस्थामा गरेको योगदानबाट प्रभावित छ – यो पङ्क्तिकार ।

उनका आजसम्म प्रकाशित कृति हुन् : मुर्दा बोल्यो (कथासङ्ग्रह २०३७) केही प्रतिभा केही प्रवृत्ति (समालोचनासङ्ग्रह २०४२), भ्रष्टाचारको भाङ (निबन्धसङ्ग्रह २०६५), समको पौराणिक नाट्यकौशल (समालोचना २०६९), कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण (२०७०), पृथक् बाटो (लघुकथासङ्ग्रह २०७५), दृष्टि : दृष्टिकोण (समालोचनासङ्ग्रह २०८०) आदि रहेका छन् । राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित हुने अनेकौँ पत्र-पत्रिकामा उनका लेख-रचनाहरू निरन्तर प्रकाशित भइरहेका छन् ।

नेपाली साहित्यको सेवा र सरकारी सेवा गरेवापत केही संस्थाले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । ती हुन् ः जनपदसेवा पदक, दीर्घसेवा पदक, रसुवा नागरिक सम्मान (२०६७), युगान्तर वर्ष साहित्य पुरस्कार (२०६८), बी.डी.त्यागी हीरक जयन्ती सम्मान (२०७१), भैरव प्रतिभा पुरस्कार (२०७४), अन्तर्राष्ट्रिय साहित्य पुरस्कार (२०७५), दायित्व वाङ्मय सम्मान (२०…) आदि ।

नेपाली साहित्यको क्षेत्रमा चर्चित युवराज मैनाली व्यङ्ग्यनिबन्धलेखनको एउटा र समालोचनाका तीनवटा सङ्ग्रहले समालोचनाविधामा बढी चर्चा पाउनु स्वाभाविक थियो । कथालेखनका दुई कृतिले पनि उनलाई आख्यानमा पूणर्तया स्थापित गरेको छ किनकि यिनका कथा-लघुकथाहरू हेर्दा समाजका विविध विषयलाई सूत्रात्मक स्वरूप प्रदान गर्न सक्ने क्षमता स्पष्ट देखिएको छ । यिनमा पनि अनेक विषयलाई समाविष्ट गरिएको हुनाले बहुविषयी सङ्ग्रह बन्न पुगेका छन् सबै । युवराज मैनालीमा जीवनका ससाना सन्दर्भदेखि समसामयिक सन्दर्भका अवधारणाहरूलाई लेखनमा भित्र्याएर पाठकलाई आकर्षण गर्न सक्नु ठूलो विशेषता रहेको छ र यसले अझ व्यापकता पाएको छ भन्ने सन्दर्भ पहिले यस पङ्क्तिकारद्वारा लिखित ‘पर्यालोचना’ समालोचनासङ्ग्रहमा चर्चा भएको विषय हो । यहाँ २०६५ सालमा ‘भानु प्रकाशन’बाट प्रकाशनमा आएको हास्यव्यङ्ग्य निबन्धहरूको सँगालो ‘भ्रष्टाचारको भाङ’को विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।

युवराज मैनालीलाई हास्यव्यङ्ग्य निबन्धकारको रूपमा हेरौँ कि लघुकथाकार वा कथाकारको रूपमा हेरौँ अथवा समालोचकको रूपमा हेरौँ, लेखनकलाको सन्दर्भमा समान रहेको देखिन्छ तर उनलाई साहित्यिक क्षेत्रमा मूलतः समालोचकको रूपमा बढी चिन्ने गरिन्छ । एक किसिमले त्यो ठिक पनि थियो किनकि जब उनका समालोचनाका -“केही प्रतिभा केही प्रवृत्ति, समको पौराणिक नाट्यकौशल र कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण” तीन कृति आए । त्यहाँ कृतिगत समालोचनाको स्तरीयता र तुलनात्मक शैलीको दृष्टिकोणले अन्य विधालाई उछिन्यो कि भन्ने लाग्छ । अहिले पनि हास्यव्यङ्ग्य निबन्धलेखनमा सिद्धहस्त युवराजको अन्य विधा (विशेषतः कथा, लघुकथा) पनि व्यङ्ग्यको पुट अत्यधिक मात्रामा पाइन्छ भने लेखनभित्र रहेको निर्भीकता खुलस्त रूपमा रहेको छ । आफूले भन्नुपर्ने कुरालाई धक नमानी भन्ने समालोचकीय निबन्धशैली सर्वत्र झल्किएको छ ।

३. कृतिसन्दर्भमा विभिन्न व्यक्तित्वहरूको दृष्टिकोण
(क) ‘प्रकाशकीय’ शीर्षकमा भानुप्रकाशनका अध्यक्ष, साहित्यिक पत्रकार एवं साहित्यकार भवानीप्रसाद घिमिरेको दृष्टिकोण रहेको छ : व्यङ्ग्यविधा आफैमा एउटा महत्त्वपूर्ण विधा हो । अंग्रेजी साहित्यमा यसको ठूलो वर्चस्व भएर त्यत्तिकै लोकप्रिय छ । नेपाली साहित्य हास्यव्यङ्ग्यतर्फ केही स्मरणीय प्रतिभा जन्मिएका हुन्, तर व्यङ्ग्यलाई प्रधानता दिएर साहित्यमा त्यति आर्जन हुन सकेको छैन । यस स्थितिमा युवराज मैनालीको ‘भ्रष्टाचारको भाङ’ पाठकहरूको निम्ति निश्चय नै स्वागतयोग्य ठहरिनेछ ।

(ख) भूमिका लेखनको क्रममा साहित्यकार विष्णु प्रभातद्वारा लिखित ‘व्यङ्ग्यलेखन सजिलो काम होइन’ शीर्षकमा भनिएको छ : सामाजिक विसङ्गतिप्रति सूक्ष्म दृष्टि दिँदै व्यङ्ग्यकार मैनालीले आफ्ना रचनाहरूमा नेपाली समाजका विविध विसङ्गतिलाई ठम्याएर त्यसको कारकतत्त्व उन्मूलन गर्ने अभिप्राय राख्दछन् । उनका व्यङ्ग्यात्मक निबन्धहरूले सामाजिक, आर्थिक र सांस्कृतिक विसङ्गति उधिन्ने, नङ्ग्याउने र सच्याउने प्रयास गरेका छन् ।

(ग) अरूलाई रुवाएर आफू हाँस्नेहरूको नृशंस सत्ताद्वारा हाम्रो समाज शासित छ, सामाजिकता प्रताडित छ भन्ने मैनालीको विषयमा समालोचक विद्वान् स्रष्टा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको अवधारणा यस्तो रहेको छ : युवराजको निबन्ध चेतनाले प्रकट गरेको यो सूक्ष्म अन्तर्दृष्टिको म प्रशंसा गर्दछु । …यी व्यङ्ग्यले समयको खिल झिक्छ, यो समाज सुधार्ने दवाई हो ।

(घ) विशुद्ध नेपालीपनको चिनारी आफ्नो लेखनलाई ठान्ने व्यङ्ग्यकार मैनालीको विषयमा हास्यव्यङ्ग्य निबन्धकार नरेन्द्रराज पौडेलको भनाइ छ : धेरै व्यङ्ग्य र थोरै हास्यका मसला मलेर तयार पारिएका उनका निबन्धहरू परिष्कृत भाषा, आकर्षक शैली, कतै उल्टो, कतै बाङ्गो प्रस्तुतिले विविधतापूर्ण र रोचक बनेका छन् ।

यसरी विभिन्न साहित्यिक क्षेत्रका प्रसिद्धिप्राप्त साहित्यकार एवं विद्वान् समालोचकहरूको दृष्टिकोणबाट स्पष्ट के प्रस्ट हुन आउँछ भने युवराज मैलाली नेपाली साहित्यको समालोचना एवं आख्यानक्षेत्रका सिद्धहस्त व्यक्तित्व हुन् ।

४. हास्यव्यङ्ग्य निबन्धकृति ‘भ्रष्टाचारको भाङ’को विश्लेषण
स्रष्टा युवराज मैनालीद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध ‘भ्रष्टाचारको भाङ’भित्र अठतीसवटा निबन्ध रहेका छन् । ‘मान्छे’ निबन्धबाट प्रारम्भ गरी ‘सत्य र शत्रुता’सम्मका निबन्धहरूलाई अवलोकन गर्दा यस अन्तर्गतका निबन्धहरूले सामाजिक, राजनीतिक, सांस्कृतिक, प्रशासनिक, शैक्षिक, धार्मिक आदि क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको पर्दाफास गरेका छन् । विभिन्न समयमा विभिन्न पत्र-पत्रिकामा प्रकाशित वा अप्रकाशित निबन्धहरूलाई समाविष्ट गरी यो निबन्धको सँगालो प्रकाशनमा आएको देखिन्छ । यसको बाहिरी आवरण नेपालका प्रसिद्ध कलाकार के.के. कर्माचार्यद्वारा बनाइएको छ, जसले मानिसको एउटा हातमा माछा अर्को हातमा पुस्तक छ । माछा भएतिर आँखा खोल्नु र पुस्तक भएतिर आँखा बन्द हुनुले नै पठनसंस्कृतिले ठाउँ नपाएको समाजको यथार्थलाई उद्घाटन गरेको छ । आज मानिस पढ्दैन, आफै सबै जानेको छ । अरूलाई गन्दै, आफै गनिएको छ, समाज गज्याङ-गुजुङ छ । कृति हातमा लिँदा नै यो अनुभूति हुन्छ ।

साँढे र बाँदरको कार्टून बनाइएको ‘मान्छे’ शीर्षकको निबन्धमा खानेकुरालाई अगाडि सारेर मान्छे यसमा चतुर भएको र यसैमा उसको व्यापकता रहेको कारण बुद्ध जन्मन पर्खनुपर्ने तर हिटलर दिनहुँ जन्मिने सन्दर्भलाई रोचक ढङ्गबाट व्यङ्ग्य प्रहार गरिएको छ भने ‘ताप्के’ निबन्धमा ताप्केजस्तै खिया लागेर बस्ने, तात्यो भने इन्धनविना नै तात्ने, ताप्के तताएर इस्त्री गर्ने बानी परेकोलाई प्रवृत्तिलाई जति परिवर्तन भए पनि ऊ त्यसैमा रहने र त्यसबाट पर सर्न नजान्ने विषयलाई उठाइएको छ भने ‘सत्य’मा यथार्थ संस्कृतिका अनुयायी हुँदाहुँदै पनि ‘अ’ आएर घुस्दा सबै बिग्रेको सन्दर्भ छ । कलाकार होस्, व्यापारी होस्, खेलाडी होस् जोसुकैले पनि आफ्नो पेसा बिर्सनु असत्य हो भनिएको छ । ‘बन्दको प्रबन्ध’मा देशमा बन्दैबन्दले पारेको प्रभावलाई लिएर बन्दलाई अन्धताको प्रतीक रूपमा लिइएको छ भने ‘भ्रष्टाचारको भाङ’ मूल शीर्षक भएको निबन्ध हो । यो निबन्धहरूमा लामो पनि रहेको छ । यसमा भ्रष्टाचारले गाँजेपछि सबै लथालिङ्ग हुन्छ । मानिसको जीवनप्रवृत्ति नै भ्रष्टाचारमा लिप्त छ, कसरी यो समाज, देश, विश्व सुध्रिन्छ । स्वार्थलिप्त मानिसको प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गरिएको छ । लेखकीय शब्दप्रयोगको उदाहरण हेरौँ : नमिल्ने काम मिलाउने, मिलेको काम अल्झाउने, गर्नुपर्ने काम नगरिदिने, गर्न नपर्ने काम गरेर व्यस्तताको शान देखाउने आदि इत्यादि गनेर गन्न नभ्याउनेदेखिन् लिएर जति चिने पनि चिन्नै नसकिने, आकार-प्रकार ठम्याई ठम्याउन नसकिने कालाम्य कुराको नाम हो भ्रष्टाचार । न यसको कान छ, न आँखा, छ त असङ्ख्य चनाखा । यसैले यसलाई पक्रने, नाश्ने हुत्ती बिरलै मात्र हुन्छ । (पृष्ठ १५)

‘टोपी, टोपी, टोपी !’ शीर्षकको निबन्धले टोपीको घेराबन्दी, महत्ता, आप्mनो संस्कार, पुरुषार्थ, अग्लाइलाई देखाएको छ भने ‘महान् साहित्यकार’, ‘अक्षरको खेती’, ‘साधक सम्मान मण्डली’, ‘साहित्यकार बन्ने धोको’, ‘संस्था कथा-पुरस्कार व्यथा’मा आफ्नै राग अलाप्ने अक्षरको खेती गर्ने सम्मानका लागि अग्रसर हुने लेखकहरूको विषयमा र संस्थाहरूको विषयमा व्यङ्ग्यगत चर्चा गरिएको छ । यहाँ पुराना साहित्यकारदेखि नवीनतमसम्मको इतिवृत्त केलाइएको छ ।

‘पत्रकार र जय जयकार’ले पत्रकार जगत्को गति, प्रवृत्तिलाई सङ्केत गर्दै गर्ने कुरा एकातिर काम अर्कोतिर गर्नेलाई व्यङ्ग्य गरिएको छ । ‘पुच्छरको चमत्कार’ एक/दुई निबन्धले पुच्छर लाग्नेको चमत्कार, महत्त्वलाई यसले प्रस्ट्याएको छ भने ‘जय सत्ता जय नेता’ शीर्षकमा सत्ताका लागि लुछाचँडी गर्ने सत्तासीन व्यक्तित्वको सन्दर्भमा व्यङ्ग्य गरिएको छ भने ‘चिन्तन ममभित्रको’ निबन्धमा खाद्य पदार्थलाई विम्ब बनाएर भित्र भित्र अनेक किसिमको स्थिति भएको कुरा गरिएको छ । अर्थात् चिन्तन नमः भन्दा मम सुन्ने प्रवृत्तिलाई प्रहार गरिएको छ । ‘लङ्का ट्राभल ह्वेन हनुमान्’ शीर्षकले चम्चेहरूको बिगबिगी र तिनैबाट हुने भ्रष्टाचारलाई व्यक्त गरिएको छ ।

‘प्रको प्रपञ्च’ले आफ्नै प्रशंसामा बाँच्ने मानिसहरूको ऐतिहासिकतालाई र कलिकालको विषय केलाउँदै मानिसको करामतलाई वर्णन गरेको छ – ‘कलि त कलि नै हो बा !’ले । यस्तै भ्रष्ट व्यक्तिहरूको सन्दर्भ रहेको छ ‘अचम्मको पोको’ निबन्धमा । ‘राम्रो म’ मान्छे आफैले राम्रो मान्ने प्रवृत्तिलाई उजागर गरेको छ । ‘प्रजातन्त्र दिवस’मा प्रजातन्त्रको विषयलाई लिएर त्यसमा भएका विसङ्गत कुरालाई देखाइएको छ । ‘बन्ने हो कि राष्ट्रपति !’ पदको ह्रासलाई व्यङ्ग्य गर्ने हिसाबबाट लेखिएको निबन्ध हो भने ‘आत्मकथा रक्सीको’ यो मादक पदार्थले मानिसलाई कहाँसम्म पुर्‍याउँछ ? भन्ने धारणा व्यक्त छ । ‘अचम्मको उल्लू’मा अघोरी रोगले सताएको समयमा सोझो बोले पनि उल्टो हुने कुरा गर्दै आफै उल्लू भएको सन्दर्भ आएको छ, भने ‘प्रचारको अचार’ले समय नै प्रचारको छ, जति हल्ला गर्न सक्यो त्यति फाइदा हुने कुरालाई व्यङ्ग्य गरिएको छ ।

‘छिर्काछिर्की’ले डालाभरि पैसा दिएर आफूले सम्मान-माला लिने परिपाटीलाई व्यङ्ग्य गरिएको छ भने संसारको गतिविधि हेर्दा धनको पछि लाग्नुपर्ने कुरालाई पुष्टि गरिएको छ -‘कृष्ण धनम् सर्व धनम् प्रधानम्’मा । ‘सम्भवामि युगे युगे’ कलायोजनाद्वारा पुरुषार्थको समयलाई सङ्केत गर्ने निबन्ध हो भने ‘नाम’ शीर्षकले यो समाजमा नाम नै ठूलो कुरा हो भनिएको छ । ‘घुम्रिएको चाउचाउ’को निबन्धले समाजको विकृतिलाई व्यङ्ग्य कसेको छ, त्यस सन्दर्भमा भनिएका वाक्यांशलाई हेरौँ निबन्धकारका शब्दमा : अहिले गणतन्त्रको उपहार पाएपछि झनै लोकतान्त्रिक, गणतान्त्रिक स्वरूपमा हरेक कुरामा उपहारै उपहार बर्सिएको देख्नुभएन । राजाले जनतालाई श्री ५ मात्र हैन, श्रीपेचै उपहार दिएपछि त झन् देशै उपहारमय बनेको छ । (पृष्ठ १००)

मानिसले कामभन्दा कुरामा अल्झिएर समय बिताएको सन्दर्भ र समाजमा गरिएका कामहरू जनतालाई भन्दा नेतालाई वा भ्रष्टाचारीलाई मात्र फाइदा हुने कुरालाई – ‘कुरैकुराको पुच्छर’ ‘हैन के कस्तो छ ?’ ‘आत्मतत्त्वाय स्वाहा’ ‘मान्छे मात्र मान्छे’ ‘यमराज सन्मुखे नेता उवाच’ ‘जनताको नाममा स्वाहा’ ‘सत्य र ज्ञानको शत्रुता’ शीर्षकका निबन्धहरूले व्यक्त गरेका छन् । अर्थात् समाजमा जता हेर्‍यो, खाली कुरा गर्‍यो, एकले अर्कोलाई उडायो, न आफू बन्यो न अरूलाई बन्न दियो यसैमा समय बर्बाद भएको छ । जता पनि भ्रष्टाचार छ जनताको नाममा सबै स्वाहा पारेका छन् । नेताको गति पनि समाप्त भएको छ सत्य कुरा होस् वा ज्ञानलाई कसैले लिँदैन भन्दै राजनीतिक सन्दर्भ उठाएर देश वा समाज अवनतितिर गएको स्थितिलाई उजागर गरिएको छ ।

देशको यथार्थलाई मनन गरेर अन्तमा भनिएको छ : मैले प्रजातन्त्रका निम्ति लेखेका कैयौँ पुस्तक पढेँ । अमेरिकाका हन्टिङटनदेखि नेपालका लोकराज बरालसम्मका विचारहरूमा म चुर्लुम्म डुब्न थालेँ । यस क्रममा मैले कालमाक्र्स पढेँ, गान्धी पढेँ, मण्डेलाको जीवनचरित्र सबै पढेँ, अनि आप्mनो देशका राजनेताहरूको अनुहारमा उनीहरूको अनुहार खोज्न थालेँ तर यसले झन् खतराको स्थिति पो निम्त्यायो किनभने अब झन् म पहिले भन्दा बढी तिर्खाउन थालेँ । (पृष्ठ १३६)

यसरी हरेक निबन्धमा गहन विषयलाई उठाइएको छ । नेपालको राजनीतिले यतिसम्म घिनलाग्दो स्थिति उत्पन्न गरेको छ कि कुनै पनि सच्चा लेखकको मन भाँडिएको छ, कतै पनि राम्रो हुने अवस्था देखिएको छैन, यसै सन्दर्भलाई लिएर विकृति र विसङ्गतिलाई हास्यव्यङ्ग्यको रूपमा निबन्धकारले राम्रोसँग व्यक्त गरेका छन् ।

५. हास्यव्यङ्ग्यनिबन्धका केही बुँदागत धारणा
(क) हास्यव्यङ्ग्य निबन्धभित्र प्रत्येकको प्रारम्भमा निर्मित चित्रहरूले सामाजिक अवधारणाप्रति ठूलो व्यङ्ग्य गरेका छन् । भावगत दृष्टिकोणबाट मान्छे भएर पनि पशुतुल्य व्यवहार गरिने हुँदा तदनुरूप चित्रहरू बनाइएको छ, जसले गर्दा निबन्धको तात्पर्य बुभ्mन पाठकलाई सजिलो भएको छ । कतै ज्वाला निस्केको, सिङ, बाँदर, पुच्छरमा झुन्ड्याइएका धन-पोका, महिलासँगको सान्निध्य, टुप्पी राखेको ब्रह्मचारी, मन्दिर, उल्लू, भुँडे-चुच्चेहरू आदिले निबन्धभित्रको व्यङ्ग्य वा दृष्टिकोणलाई उजागर गरेका छन्, यो निबन्धलेखनको पहिलो विशेषता हो ।

(ख) यसमा वाक्यांश छोटा, मीठा छन् तर हास्यको पुटभन्दा व्यङ्ग्यको पुट अत्यधिक रहेको छ । निबन्ध सरल छन्, सुबोध्य छन् । शब्दशक्तिमा लक्षणाभन्दा अभिव्यञ्जना शक्तिको अत्यधिक प्रयोगले गर्दा जति पढ्यो त्यति लेखकीय सामाजिक धारणा बुझ्न सकिन्छ । श्लील प्रयोगले पनि निबन्धमा शिष्टता आएको छ, प्रायशः हँसाउने नाउँमा शिष्टता नाघेको देखिन्छ तर त्यो यहाँ कमै पाइन्छ, यो दोस्रो विशेषता हो ।

(ग) नेपाली भाषाको विशेषता भनेको अनेक किसिमका उखान-टुक्का, अनुकरणात्मक शब्दको बहुलता हो । यहाँ कतै कतै उखान र टुक्काले पनि स्थान पाएका छन् । जस्तै उदाहरण स्वरूप : कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको (पृ. २४), एक थुकी सुकी सय थुकी नदी । (पृ. ८३) यसले व्यङ्ग्यनिबन्धलाई सहायता गरेको देखिन्छ । यस्ता अनेक ठाउँमा प्रयोग गरिएको छ ।

(घ) कतिपय निबन्धहरूको शैली कवितात्मक पनि देखिन्छ – भृकुटीलाई दिएर आफ्नो संस्कृति फैलाउने नेपाली/आफ्नो रगत बगाएर मित्रको भूमि रक्षा गर्ने नेपाली/वीर नेपाली/बहादुर नेपाली/नक्कले नेपाली/झिल्के नेपाली/राष्ट्रसंघमा आफ्नो सदस्यता पाउन छिमेकी दाजुका पाउमा विन्ती बिसाउने नेपाली/नदीहरू, बत्तीहरू, केटीहरू टुर्क्याउने  नेपाली । (पृष्ठ ५) ‘आत्मकथा रक्सीको’ निबन्धमा चारवटा कवितांश आएका छन् समसामयिक सन्दर्भमा । आफैले कविता लेखेर प्रयोग भएको पनि छ । (पृष्ठ ७१)

(ङ) वस्तुतः भ्रष्टाचारको न सिङ न पुच्छर तर निबन्धकारले यहाँ भ्रष्टाचारको समग्र स्थितिलाई उजागर गरेका छन् । उनको ‘भ्रष्टाचारको भाङ’ निबन्धले नै समग्रतालाई समेटेको छ । त्यहाँ भनिएको – उपहारको भ्रष्टाचार, बलशालीको भ्रष्टाचार, धर्मको भ्रष्टाचार, मायाजालको भ्रष्टाचार आदि समाजमा देखिने सबै कुरालाई राम्रोसँग दिइएको छ, जसले सम्पूणर् निबन्धको प्रतिनिधित्व गर्छ ।

(च) हास्यव्यङ्ग्यको सन्दर्भ यहाँ चर्चा गर्दा सर्जकको दृष्टि लेखनको समय, गति, अवस्था, वातावरण, धारणा (सकारात्मक वा नकारात्मक), उमेर अनुसार पनि फरक पर्ने अवश्य हुन्छ र पाठक पनि कुन अवस्थामा छ, त्यसै अनुरूप हास्य-व्यङ्ग्यलाई बुभ्mने सामथ्र्य राख्छ वा लेखनको सामथ्र्य पहिल्याउने गर्छ । अर्थात् सर्जकले आफ्नो अनुभवको आधारमा शब्द, भाव दिँदा आफ्नो अनुभवलाई प्रकट गर्छ, प्राकट्य विषय, वस्तुको निर्धारण अनुकूल वा प्रतिकूलको ठम्याइ तदनुरूप हुने गर्छ । प्रस्तुत कृति ‘भ्रष्टाचारको भाङ’ शीर्षकले पनि व्यङ्ग्यको मूल स्वरूपलाई द्योतन गर्छ । यहाँभित्रका प्रत्येक निबन्धमा हास्य छ रमरम । तिनलाई पनि शाब्दिक अर्थ भ्रष्टाचारले थिचेको छ, हास्य हुँदाहुँदै पनि अत्यधिक निबन्धहरूले व्यङ्ग्यको अवधारणालाई व्यक्त गर्दछन् तथापि हास्यको पुट चाहिँ पाइन्छ ।

(छ) जीवन र जगत्लाई दृष्टि दिँदा पनि मानिसको स्वार्थले बढी काम गर्ने हुनाले यहाँ चेतनाको गतिलाई र मानवीय अन्धतालाई हेर्न खोजिएको निबन्धहरूमार्फत । लेखनकला उत्कृष्ट छ, अनुभूति र विद्रोहात्मक स्वर गुन्जिएको छ, जसले मार्ग प्रशस्त गर्छ, यो निबन्धहरूको विशेषता हो, पठनप्राप्ति हो । निबन्धहरूले पाठकलाई सजग गराउने औषधी प्रदान गरेका छन्, यसमा सफल छन् निबन्धहरू । विषयको विविधताले गर्दा लाग्छ – निबन्धकारले कुन विषय छोएका छैनन् र ! भन्ने अनुभूति हुन्छ । शब्द खेलाउने क्षमता निबन्धकारमा प्रशस्त रहेको देखिन्छ । कतिपय निबन्धहरूले पाठकलाई जुरुक्क उठाउने सामथ्र्य पनि राख्छन्, यसमा मैनाली सफल हास्यव्यङ्ग्य निबन्धकारको रूपमा देखिएका छन् ।

६. अन्तमा कवितात्मक अवधारणा
‘भ्रष्टाचारको भाङ’ कृतिमा रहेका अठतीसवटा निबन्धहरू मूलतः समाजपरक र मानवीय प्रवृत्तिपरक छन् । प्रत्येक निबन्धको विषयवस्तु समाजकीय विकृति हो, मानवीय विकृति हो, मानसिक विसङ्गति हो, अनेक किसिमका परिवर्तनले पनि मानवीय विकृत अवस्थालाई हटाउनुभन्दा पनि विकराल हुँदै गएको परिस्थिति हो । नेपाली युवाहरूको वा जन-जनको चिन्तनीय विषय हो । यहाँका मानिसहरूले बाहिर गएर काम गर्नुपरेको छ, उनीप्रति कसैको ध्यान छैन, यसले आज देशको अवस्था खस्कँदो छ भन्ने धारणाबाट अभिव्यक्त विषय हो ‘भ्रष्टाचारको भाङ’ । यस सङ्ग्रहभित्रका हरेक निबन्धमा हास्यमिश्रित व्यङ्ग्यको प्रचुरता छ, अत्यन्त परिष्कृत भाषा-शैलीमा आएका छन् निबन्धहरू । यस सन्दर्भमा मनमा उठेका भावनालाई कवितामा उतार्दै यो समीक्षात्मक दृष्टिकोणबाट बिदा लिन्छु ।

यो साहित्य विधा खुला हृदय हो आनन्द बर्साउने
चामत्कारिक साधना-गतिसँगै व्यक्तित्व दर्शाउने
स्रष्टा यी ‘युवराज’को कृति-सुधा निर्बन्धको साधना
यो सामाजिक चेतना सँगसँगै खुल्छन् यहाँ वेदना ।१।

मान्छेका मनका प्रपञ्च कति हुन् राम्रा नराम्रा कुरा
सत्यासत्य बुझाउने विविधता व्यङ्ग्यार्थमा छन् छुरा
सारा साधकको प्रबुद्ध धन हो सौन्दर्य भर्छन् यहाँ
स्रष्टा हे युवराज ! भावगतिमा शब्दार्थ खुल्छन् जहाँ ।२।

मान्छे यो कलिको प्रभावसँगमा बग्ने गरेको हुँदा
भन्छन् स्वार्थ घुस्यो सबैतिर यहाँ अन्धत्वले नै छुँदा
मान्छे मात्र भयो विसङ्गति दिने भन्ने कुरा छन् कति
जागौँ, जाग्न सकौँ भनाइ मनको देखाउँछन् सम्मति ।३।

भ्रष्टाचार भए समाज-रचना बिग्रिन्छ भन्छन् यहाँ
सारा संस्कृति-सभ्यता-जनमुखी देखिन्न भन्छन् जहाँ
यस्तो लेख्य-कला सुधार-पथको भाका मिलेको भई
स्रष्टा-दृष्टि समाजको विविधता व्यङ्ग्यात्मको माधुरी ।४।

आशाका नवरङ्ग छन् विविधता निबन्धको साधना
राम्रा छन् युवराजका सरसिला जीवन्त छन् सिर्जना
यस्तो सुन्दरता सुधार-पथको सत्कर्मको नाद हो
छन् स्रष्टा गतिमान् विचारसँगमा साहित्य-सत्प्रेम हो ।५।

०००
२०८० वैशाख १६ गते ।
धुम्बाराही, काठमाडौँ ।

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
जुकाहरू

जुकाहरू

दिव्य गिरी
केही उखानका बखान

केही उखानका बखान

अशोककुमार शिवा
हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

हास्य र व्यङ्ग्यबीच पारस्परिक...

प्रा.डा. गंगाप्रसाद अधिकारी
माछो माछो भ्यागुतो

माछो माछो भ्यागुतो

नरेन्द्रराज पौडेल
ट्वाँट एण्ड म

ट्वाँट एण्ड म

स्व. विष्णु नवीन