सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘ओ !’ सम्बोधन

सम्बोधन कसलाई कसरी गर्ने हो ? त्यो बुझेर गर्न सके तीन सय तेत्तिसवटा शब्दद्वारा सभापतिलाई र सात सय सतहत्तरवटा शब्दद्वारा सभा छोडिसकेका प्रमुख अतिथिलाई सम्बोधन गरिरहनु पर्दैन ।

Nepal Telecom ad

काशीनाथ मिश्रित

‘ओ सर ! नमस्कार !!’ मैले आजकल यसरी नमस्कार खान थालेको छु । ‘सर’को अगाडि ‘ओ’ शब्द जोडेर सम्बोधन गर्दा ध्यानाकर्षण हुन्छ भनेर होला । ध्यानाकर्षण गर्न यस्तै कुनै अक्षर, पद वा पदावली जोड्नु आजकलको नौलो चलन भने होइन । यो आधुनिक चलन हो भनेँ भने तपाईंले मलाई मूर्ख भन्ठान्नुहोला । यो त आदिम कालदेखि चल्दै आएको र अझै पनि सुधार हुन नसकेको नेपाली समस्या हो । तपाइँलाई के लाग्छ कुन्नि मलाई भने यो सिमा समस्याभन्दा पनि जटिल र सुकुम्बासी समस्याभन्दा पनि खराब समस्या लागिरहेछ । थुप्रा थुप्रा समस्याहरू समाधान भए । ठुल्ठुला परिवर्तनहरू भए तर यो सम्बोधन गर्दा फुर्का गाँस्ने रुढीवादी चलन भने गोरुका घाँटीमा किर्नो झुन्डिए झैँ झुन्डिएको झुन्डियै छ । वाक्क दिक्क लागेर आउँछ मलाई त । होइन ! यतिका परिवर्तन गरेका छौँ भन्ने बुज्रुकहरूले यति सानो फिस्टे कुरालाई किन हटाउन नसकेका हुन् कुन्नि ! छक्क पर्छु बा !!

हुन त मान्छे लोभी जात हो । आफूलाई सम्बोधित हुन कसलाई पो रहर नलाग्ला र ! अरुले तपाईं भनोस् नभनोस् आफै मपाइँ त मान्छे मात्रको विशेषता हो । यो लोभ चाँडै मर्ने देखिन्न । सबै कुराले छलाङ मार्न सक्ने तर सम्बोधनले भने सक्दै नसक्ने किन होला ? आफ्नै खप्परमा हिर्काउँछु एक पटक । यी मान्छेहरूले ओ भन्ने गरेकामा मलाई उदेक लाग्न थालेको छ आजकल । राणातन्त्र गयो । राजतन्त्र हट्यो । प्रजातन्त्र, लोकतन्त्र, भोकतन्त्र सबै सुलुलुलु बग्दै गए । अझै नभएर रणतन्त्र पनि गएर गणतन्त्रको जमाना आइसक्यो तर जे जे तन्त्र गए आए पनि यो सम्बोधनको सुलसुले भने हट्दैहटेन । अरु पुराना मूल्य मान्यता, धर्म, संस्कार, संस्कृति सबै परिवर्तन गर्न हुने यै पाजी सम्बोधनलाई चाहिँ पछ्याइरहनुपर्ने हँ ? पुरातनपन्थी नबन्न भनेर होइन र यत्रो सङ्घर्ष र बलिदान गरेर अहिलेको युग निम्त्याएको ! त्यसो हो भने राजाकै पालाको जस्तो स्वस्ती र सम्बोधन गर्नुपर्ने प्रथा कायम राखेर हामीले आफैमाथि मजाक उडाइरहेका छौँ किन ?

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवन प्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद… … बाफ रे ! उन्पचास शब्दको फुर्को गाँसेर राजालाई सम्बोधन गरिन्थ्यो । त्यो युग गयो भनेर मख्ख पर्नु पनि व्यर्थ लाग्न थाल्यो । आजकलका उपमहाराजहरूलाई त झन् कस्ता कस्ता विशेषण गाँस्नुपर्छ कुरै छोडौँ ।राजाको छोरो राजा बन्ने परम्परा फ्याँक्दैमा राजतन्त्र गयो भन्नु हामी जस्ता मुर्खहरूलाई महामुर्ख बनाउनुबाहेक केही होइन । जनताको छोरो राजा बन्ने तन्त्र कसरी गणतन्त्र?ढलीमली, शैली र आनीबानी राजाको गर्ने दुहाइ जनताको दिने बडो गजबको तन्त्र पो हो गणतन्त्र ! के बेफ्वाँकको कुरा गर्छ यो भन्नुहोला तपाईं । मैले धेरै ठाउँमा देखेको भोगेको र सुनेको भएर म यो सम्बोधनप्रति आकर्षित भएको हुँ । जाबो एउटा अक्षरको ओ सम्बोधनप्रति पनि किन आकर्षित भयो होला यो भन्ने लाग्न सक्छ । कुरा अक्षर र शब्दको मात्र होइन प्रवृत्तिको भएर पो म तानिएको हुँ बुझ्नु भो !

बुझे बुझ्नोस् नबुझे नबुझ्नोस् देश उँभो नलागेको भने यहीऔपचारिक सम्बोधनले नै हो भन्ने ठोकुवा गर्छु मैले । म उपस्थित भएका दुईचारओटा कार्यक्रमहरूमा मैले यस्तै देखेको छु । सम्बोधन हुनुपर्ने र गर्नुपर्ने वर्ग कुन हो ? नजानेका होइनन् । यहाँ कसले पो दिनको अठार घन्टा काम गरेर पनि हातमुख जोर्न नसक्नेलाई सम्बोधन गरेको छ र ? दसैँका बेला बैँकमा पैसा साट्न र बसको टिकट काट्न त सोर्स चाहिन्छ अरुको के कुरा गर्नु ! पहुँच नहुनेको सम्बोधन कसले गरेको छ मलाई बताइदिनुहोस् त । बताउन सक्नुहुन्न भने अब लाग्नोस् सभा समारोहतिर !।

विद्यालयको वार्षिकोत्सव होस् कि सहकारीको साधारण सभा । गैरसरकारी संस्थाको अधिवेसन होस् या सरकारी संस्थाको भेला । पार्टीको महाधिवेसन होस् वा राजनैतिक दलको चुनावी सभा । औपचारिक कार्यक्रमको लम्बाइ पाँच घन्टाभन्दा कमको हुँदैन । त्यस अघिको दिक्दार लाग्दो पर्खाइको त कुरै नगरौँ । प्रमुख अतिथि नआई कार्यक्रम सुरु हुने कुरो भएन । प्रमुख अतिथिले कति ठाउँमा प्रमुख आतिथ्यता दिएका हुन्छन् सबैलाई थाहा हुँदैन । प्रमुख अतिथिको विशेषता नै सबभन्दा ढीलो आउने र सबभन्दा छिटो जाने हुन्छ ।अन्य गण्यमान्य अतिथिगणहरू पनि टन्नै हुन्छन् । यतिसम्म कि कुनै संस्थाको मृत्यु भएपछि पनि सोही संस्थाको अध्यक्ष भनेर उसलाई कार्यक्रममा आतिथ्यता चाहिन्छ । अझै कुनै व्यक्तित्व त बहुमुखी व्यक्तित्व पनि हुन्छन् । अमुक पार्टीको अध्यक्ष, पालिकाको अध्यक्ष, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र आमा समूह वा बाबु समूहको समेत अध्यक्ष पनि एउटै व्यक्ति परिदियो भने त चारचोटि अतिथिको आसन ग्रहण गर्ने सौभाग्य प्राप्त हुन्छ । फेरि नेपाली समय ग्रिनविचको समयभन्दा पो पौने छ घन्टा छिटो छ र यस्ता कार्यक्रमहरूमा मात्र हैन हरेक काममा डेढ दुई घन्टा ढीलो छ भन्ने सबैलाई थाहा नै छ । सम्भवतः नेपाली संस्कृति, नेपाली कला र नेपालको सगरमाथा अनि लुम्बिनीले जत्तिकै पहिचान कायम गरेको छ नेपाली समयले पनि । ‘आ, नेपाली समय त हो नि ! भन्ने मन्त्र सबैको मुखबाट सुन्दा नेपाल त स्वर्गै हो जस्तो लाग्छ । त्यसैले आफ्ना कैयौ महत्त्वपूर्ण काम थाति राखेर आएका मान्छेहरू कार्यक्रम नथाल्दै हिँड्न थालिसकेका हुन्छन् ।

लौ कार्यक्रम सुरु भैहालेछ रे ! बोलाइएको अतिथि कारणवश ढीलो उपस्थित भयो भने प्रमुख अतिथि विदा भैसकेपछि पनि आसन ग्रहण गराइन्छ । यी त सामान्यै कुरा भए । भाषणबाजी सुरु भएपछि पो रमाइलो हुन्छ । समयको पाबन्दीले गर्दा मैले धेरै समय लिन्न भन्दै माइकको ठेट्नो समाएको वक्ताले हत्तपत्त ठेट्नो छोड्दैन । उद्घोषकले छोटो मन्तव्यका लागि भन्दै बोलाएको हुन्छ तर कति छोटो हो कुनै सीमा हुँदैन । यहाँनेर आएर पो उदेक लाग्न थाल्छ । सनातन वैदिक कालदेखि चल्दै आएको सम्बोधन सुरु हुन्छ सभापतिबाट । उनको पद, योगदान आदिलाई जोडेर अगाडि कति शब्दको विशेषण लगाउने हो त्यसको पनि कुनै सीमा हुँदैन । लगत्तै पालो आउँछ प्रमुख अतिथिको !

प्रमुख अतिथि भनेपछि त्यहाँ उपस्थित हुनेमध्ये सबैभन्दा वरिष्ठ हुन्छ भनेर सिधासादा जनताले त बुझ्छन् भने तपाईंले नबुझ्ने कुरै भएन । अब उनलाई सम्बोधन गर्दा अगाडि कति शब्दको बेलिविस्तार लाग्ने हो ? सकेसम्म र क्षमताले भ्याएसम्मका फुर्का गाँसेर; विशेषता जोडेर उनलाई सम्बोधन हुन्छ । त्यसपछि विशेष अतिथिको पालो, उस्तै फुर्काफुर्की ! अन्य अतिथि गणहरू सबैलाई नाम र पदलेसम्म त सम्बोधन गर्नै परिहाल्यो । फेरि अतिथिको आसनमा बोलाइएका महानुभावहरूलाई सम्बोधन गरिएन भने म जत्तिकालाई पनि यसले सम्बोधन नगर्ने ! भन्ने भान पर्न सक्छ र अपमान भएको ठानिन्छ । कतिपय अतिथि त बिचमै उठेर हि.डिदिएको पनि मैले देखेको छु । अनि वक्ताले मुन्टो घुमाई घुमाई कतिखेर दायाँ त कतिखेर बायाँ हेर्दै फलानो संस्थाको अध्यक्ष फलानोज्यू ! ढिस्कानो पार्टीको प्रतिनिधि ढिस्कानोज्यू !! भन्दै एक एक अतिथिको सम्बोधन गर्छ । उसको संस्था मरिसकेको चारपाँच वर्ष भएको भए पनि अध्यक्षका हैसियतले आसन ग्रहण गरेको व्यक्तिलाई छोड्न मिल्ने कुरै भएन ।

मन्तव्य दिने तीन चौथाइ समय सम्बोधनले नै खाइदिन्छ । अनि पुर्ववक्ता मित्रले भनेको कुरा म दोहोर्याउन चाहन्न भन्दै पूर्ववक्ताकै मन्तव्यको सारांश ओकल्न थाल्छ । आफूले भन्नुपर्ने कुरा के हो सुरु नहुँदै उद्घोषकले कोट्याउने बेला भैसक्छ । अनि अन्त्यमा दुई हजारभन्दा बढी शब्दको पुराण सुनाइसकेको भए पनि ‘मेरा दुईचार शब्द यहीँ अन्त्य गर्न चाहन्छु ।‘ भन्दै माइकको ठेट्नो छोड्छ ।

कतिपय नेपाली प्रचलनहरू अनौठा अनौठाका छन् । मृत्युपर्यन्त सम्मान तथा पुरस्कार दिने प्रचलन जस्तै अनुपस्थितिमा पनि सम्बोधन गर्ने गजबको प्रचलन पनि संस्कारकै रूपमा विकसित भैरहेको छ । म सामेल भएका धेरैजसो कार्यक्रमहरूमा विदा भएर गैसकेका प्रमुख अतिथिलाई पटक पटक सम्बोधन गरेको पाएको छु । ‘विदा भएर गैसकेका प्रमुख अतिथि फलानाज्यू !’ यो कति जरुरी हो तपाईँले नै भन्नोस् । प्रमुख अतिथिको समय कम हुने भएकाले चाँडै भाषण गरेर विदा हुनुलाई अनौठो मान्नु नपर्ला तर उनी गईसकेपछि पनि बाँकी सबै वक्ताले उनलाई सम्बोधन गर्नै पर्ने हो र ? यसो हो भने त यो राजतन्त्र भन्दा अझै विकसित अराजतन्त्र भएन र ! श्रोता तथा दर्शकदीर्घामा बसेका सामान्य मानिसहरूको सम्बोधन कसैले गरेकै हुँदैन । उनीहरूलाई त जबरजस्ती सुनाउन बोलाइएको हुन्छ । पुछारे काइलो भिडको पछिल्तिर रुझ्दै उभिएको हुन्छ । उसलाई सम्बोधन गरिएको हुँदैन । आरुखर्के बिर्खे फाटेको चप्पल लगाएर भाषण सुनिरहेको छ । त्यसको सम्बोधन कोही गर्दैन । हाम्रा लागि पनि केही बोलिन्छ कि भनेर कान ठाडो पारेका मान्छेहरू हजारौँ छन् । अँहँ, उनीहरूको निम्ति त्यहाँ कुनै कुरा गरिँदैन । त्यसैले होला जनतालाई टिकाइराख्न आजकल हास्य कलाकार वा गायकलाई निम्त्याएर कार्यक्रमलाई मनोरञ्जक बनाउनुपर्ने बाध्यता छ । नत्र आफू सम्बोधित नहुने जाबो कार्यक्रममा को बसिरहन्छ र !!

झनक्क रिस उठ्ने कुरा त अर्को पो छ । नेपाली भाषा, सभ्यता र मौलिक संस्कृतिलाई लत्याएर अङ्ग्रेजी पढाउन र सभ्य बनाउन भनेर खोलिएका बोडिङ स्कुलका प्रफेक्ट इङ्लिस बोल्ने विद्यार्थीले गरेको सम्बोधन सुन्दा पो आन्द्रैदेखि झोँक चल्न थाल्छ । सुगा रटाइ गरिएको अङ्ग्रेजी भाषणको सुरुमा सम्बोधन हुन्छ ‘रेस्पेक्टेड् चेयरम्यान, चिफ गेस्ट … … प्रिन्सिपल, भाइस प्रिन्सिपल, टिचिङ एन्ड ननटिचिङ स्टाफ … … अनि नेपालीमा जस्तै थुप्रै थुप्रै नामहरू ।‘ बाबुलाई ड्याडी भन्न, आमालाई मम्मी भन्न र पश्चिमी संस्कृतिको अनुकरण गर्न सिकाउने हाईहाई अङ्ग्रेजीले सम्बोधन चाहिँ किन नसिकाएको ? उतातिर त लेडिज एन्ड जेन्टिलमेन भनेपछि पुग्दैन र ? अरु सबै कुरा उताका सिक्न हुने सम्बोधन भने हाम्रै सिक्नुपर्ने ! किन ? सम्बोधन त साउदी, कतार, मलेसिया जानुपर्ने युवाहरूको हुनुपर्ने हो । उनीहरूलाई अरबी वा मले भाषा सिकाउने विद्यालय खुलेका भए पो !बिचराहरू अङ्ग्रेजी पढेको खोस्टो लिएर कोरियन र जापानि भाषा सिक्न बाध्य छन् ।

‘ओ सर !’ भनेर मेरो लागि गरिएको सम्बोधन कति हार्दिक छ ! आत्मीयताले गरियो भने ओए सर भने पनि केही छैन ।‘उपस्थित भद्र महिला तथा सज्जनवृन्द !’ यत्ति सम्बोधन गरेर आफ्नो कुरा राखे भैहाल्छ नि । फेरि आधुनिक उपमहाराजहरूलाई चाकडी नपुग्न सक्छ । निगाहा नबक्सन सक्छ । कार्यक्रमको उद्देश्य नै पूरा नहुने पो हो कि ! आखिर यही झुत्रे सम्बोधनकै कारण दुई घन्टामा सकिने कार्यक्रमलाई पाँच घन्टा लागेको पत्तो हामीले पाएका छैनौँ । टेबुल ठोकी ठोकी घोक्रो सुकाई सुकाई जति भाषण छाँटे पनि काम नगरेपछि देश उँभो लाग्दैन । सम्बोधन कसलाई कसरी गर्ने हो ? त्यो बुझेर गर्न सके तीन सय तेत्तिसवटा शब्दद्वारा सभापतिलाई र सात सय सतहत्तरवटा शब्दद्वारा सभा छोडिसकेका प्रमुख अतिथिलाई सम्बोधन गरिरहनु पर्दैन । नेपाललाई सिङ्गापुर बनाइदिन्छौँ भनेर गफ गर्नुभन्दा नेपाल नै बनाइदिए हुन्थ्यो भन्ने विचार राखेको छ क्या तल्लारे माइलाले ।

०००

फोक्सिङ, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का
इमानदारदेखि सावधान !

इमानदारदेखि सावधान !

सुरेशकुमार पाण्डे
हो त नि !

हो त नि !

हरि खनाल
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु