
अफिस
अफिसमा सैकडौं यस्ता विभीषण छन् जो ठीक समयमा अफिसमा आउने र ठीक समयमा जाने गर्छन् । दिनभर काममा जोतिन्छन्, घुस लिँदैनन् । तपाईं आफैँ सोच्नुहोस् त यदि यस्ता विश्वासघाती अफिसर र कर्मचारी नहुने हो भने सरकारी कार्यालय कसरी चल्ला ?

रवीन्द्रनाथ त्यागी
व्यङ्ग्यानुवाद : आर.सी. रिजाल
रातको समय श्रीमान् श्रीमती एकै ठाउँमा सुतेर बिताउँछन् । यो हाम्रो परम्परा नै हो । रातीको यो थकानबाट छुटकारा पाउन सुकिलो कपडा लगाएर जुन स्थानमा ऊ पिकनिक मनाउन जान्छ त्यस स्थानलाई अफिस भनिन्छ ।
खासगरी अफिस बिहान १० बजे खुल्छ र साँझ ५ बजे बन्द हुन्छ । तर जहाँसम्म हाकिमहरूको कुरा छ, उनीहरू ११ बजेसम्ममा अफिस आइपुग्छन् र चार बजेसम्म मात्र बस्दछन् । चाल्र्स ल्याम्ब लन्डनमा इस्ट इन्डिया कम्पनीको कार्यालयमा कारिन्दा थिए । उनी पनि त्यस्तै गर्थे । मेरो एकजना मित्र यो स्थितिको परिमार्जित संस्करण थिए । उनी दिनमा घन्टा वा आधा घन्टाको लागि मात्र अफिस जान्थे । उनी नभएको समयमा उनको कोट कुर्सीमा टाँगिएको हुन्थ्यो । त्यो कोट नै उनको उपस्थितिको प्रमाण हुन्थ्यो । यदि उनको शाखामा कुनै बेला कार्यालय प्रमुख वा अन्य कुनै छड्के आएमा सबै साथीले भन्थे-
“यतै रेर्कड रुम वा अन्य कुनै कोठामा जानुभएको होला । उहाँ अफिस नआएको भन्ने त प्रश्नै छैन, यसको ज्वलन्त उदाहरण उहाँको कोट यहीं कुर्सीमा टाँगिएको छ ।”
बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सरकारी काम पूरा निष्ठापूर्वक गरिन्छ । चेस खेल्छन्, रेडियो खोल्छन्, कुकुरको जस्तो बोली बोल्छन्, हाकिम र उनकी सुन्दरी पिएको प्रेम कथा बयान गर्छन् । चिया पिउँछन्, पत्रिका पढ्छन् र एउटा फाइल अर्को टेबलमा पुर्याउन घुस लिन्छन् ।
कुनै सरकारी कार्यालय यस्तो पनि छ जहाँ पुलिसले समेत नजराना चढाउनुपर्छ । मेरी पत्नीका नातेदार उच्च न्यायालयका न्यायाधीश थिए । उनी रिटाएर भएपछि पेन्सन, सञ्चय कोष झिक्न म उहाँको लागि स्वयम् महालेखा नियन्त्रकसँग भेट्न पुगेँ । अब तपाईं सोच्नुस् त मामुली मान्छेको के दशा होला ।
क्रिकेट म्याचको दिन त सारा कर्मचारी कार्यालयबाहिर बरन्डामा जम्मा हुन्छन् र कमेन्ट्री सुन्छन् । अफिसरहरूचाहिँ आफ्नै कोठामा सुन्ने गर्छन् । क्रिकेटको कारण जुन सरकारी समय बर्वाद गरिन्छ त्यसको मूल्य करोडौं हुन्छ होला । मेरो त यस सन्दर्भमा नम्र सुझाव छ- यस्तो टेस्ट म्याच रातीमात्र खेल्ने व्यवस्था मिलाइयोस् ।
अफिसमा यदि कुनै अनुशासनप्रिय, इमान्दार र कडा मिजासको हाकिम सरुवा भै आएमा उसको विरुद्ध नाराबाजी गर्ने, पोस्टर छाप्ने, कहिलेकाहीँ त उसलाई घेराउसमेत गरिन्छ । मलाई यो भन्नु पर्दा कुनै सङ्कोच छैन, किनकि म पनि यसै श्रेणीको अफिसर हुँ र मप्रति पनि यस्तै खाले व्यवहार भएको थियो ।
एकपटक स्थिति यस्तोसम्म आयो कि अनुशासनहीन कर्मचारीहरू जसको पहुँच मन्त्रीसम्म थियो, केही झूटा आरोप लगाएर मलाई एक हप्ता सस्पेन्ड गरे । विभागको सचिवले हस्तक्षेप गरेर स्थिति सम्हालियो । यो घटना त्यतिबेलाको हो जुनबेला म उपसचिव थिएँ ।
मैले माथि जुन स्थिति वर्णन गरेँ, यो एकदमै अतिरञ्जित छ । अफिसमा सैकडौं यस्ता विभीषण छन् जो ठीक समयमा अफिसमा आउने र ठीक समयमा जाने गर्छन् । दिनभर काममा जोतिन्छन्, घुस लिँदैनन् । तपाईं आफैँ सोच्नुहोस् त यदि यस्ता विश्वासघाती अफिसर र कर्मचारी नहुने हो भने सरकारी कार्यालय कसरी चल्ला ?
०००
‘भोलारामको आत्मा’ (२०६६)