
जय सत्ता, जय नेता !
वाद, नाद, भाषण, सिद्धान्त सब मिसमास भएर पाचक घोल बन्दछ अनि त के, ऋणं कृत्वा घृतं पिवेत्, देशं जन सर्व अलपत्र-अलपत्र, सत्ता बनाम राजनीति, राजनीति बनाम इष्टकोटमा दिल्ली !

युवराज मैनाली
धन्न मान्छे अन्डाजनित भएन । यदि अन्डाजनित हुँदो हो त अझ कति डिम्बै पट्ट फुटेर फुटाएर अझ कति कुँडिन्थे । मान्छे अन्डाजनित नभएरै सत्ताको सेरोफेरोमा दाई गर्दो छ र श्रेष्ठताको पराल कुल्चेर सभ्यताको दाना झार्दो छ । सत्ता एउटा मेही हो, जसको वरिपरी मान्छे घुमिरहन चाहन्छ । सिर्जनाशक्ति शून्य भए पनि हुन्छ । रोगीमा दीर्घरोगी, खोरन्डोमा वैशाखी नभए पनि जतातिरबाट पनि शक्तिसञ्चय हुँदो नै रहेछ । दौडमा तेजिलो बन्दो नै रहेछ । अरू अरू पुरुषार्थ कटुवाको पैतालामुनि यसको उत्साह चल्दाको वेग हुरीभन्दा बेगिलो छ त नि । यो शक्ति कहाँबाट आउँछ ? यो अनुसन्धान गर्न लागेका पनि पोकापन्तरो एकातिर राखेर आफूलाई फाल्ने गर्दछन् । यसैले अनुसन्धान सधैँ अधुरो अपुरो नै तर एउटा कुराचाहिँ के थाहा भइसक्यो भने सत्ताको हत्ता समाउन पुगियो भने फाइदाचाहिँ हुने रहेछ बेपत्ता नै । ती फाइदा के-के हुन्- सोझै भन्न मिल्दैमिल्दैन । बाङ्गोटिङ्गो रूपमा थाहा पाउँदा त यो हाल छ भने सोझो रूपमा थाहा पाइयो भने बिनालगानीका व्यापारी मान्नेदेखि लिएर टपक्क अरुको सामान टिपेर भाग्नेसम्म पनि यही हुलमा ओर्लने छन् । सत्ताको बाटो सर्वहारापथबाट हुँदाहुँदा सन्डमुन्डपथ भर्सेज प्रचण्डपथ बन्न पुग्नेछन् ।
यसो त सत्ते नभए पनि सत्ताको वरिपरि आफ्नो मान्छे गनाउन, भनाउन मनाउन, कुन बुद्धिजीवी, कुन प्राध्यापक, कुन ज्ञाता, कुन सिद्ध, कुन पण्डित सबका सब सत्ता शक्तिसञ्चय केन्द्र शिविरका अलखकार छन् । के वकिल, के कर्मचारी, के व्यापारी, के तस्करी सबका सब वर्तमान सत्तावाला, भावी सत्तावाला आदि-आदि सामयिक-असामयिक सङ्गठनमा आबद्ध भई रङ्गीन प्रतिबद्धतामा चोपिएका छन् । दाह्री काट्ने हजाम होस् अथवा खल्ती काट्ने पाकेटमार सङ्गठनमा आबद्ध हुन पुगेका छन् । अगाडि अगाडि वर्गीय, पेसाहित मन्तरमा पार्टी-पार्टीको असारेगीत झ्याउँकीरीको ताल-सुरको शङ्खनाद भ्यागुताको मेलोडियस घन्कने पनि त आखिर नदेखिने तर सुनिने नै हुन् त ?
अन्तको के कुरा गर्नु प्रजातन्त्रका स्वघोषित ठेकेदार मानवीय स्वतन्त्रताको पहरेदार मानवअधिकारवादी पनि एकातिर हतियारको व्यापारद्वारा आफ्नो ढुकुटी भर्दछन् र त्यसको व्याजले प्रभावको बीउ छर्दछन् । त्यस्तो गर्ने मुलुकमा बाबुको सपना पूरा गर्नमात्र छोरा सत्ताको हत्ता समात्छ र बाबुको तगारोलाई के निहुँ पाऊँ कनिका बुकाउँसरि पानी पिलाएरै छाड्ने अठोट बोक्दछ । यही अठोटको प्रत्यक्ष जैविक रासायनिक नाम दिएर के के न भेट्टाउने निहुँमा मुसा त के कमिला निस्केको त छर्लङ्गै छ । भन्नुको अर्थ सत्ताको हत्ता पाएपछि बूढोपना पनि लट्टै उचालेर अरूको देशैको पुर्पुरोमा दच्काउन सक्दछ । जापानको लगाम कोरिया, बेलायतको अडेस अमृका, धुरी चढ्न खोज्नेलाई छुरी हान्न खोज्नेलाई दोहोरो हुन्डरी कन्चटमा सोचाइको सवारी छ । थाहा नपाउनेलाई भगवान्का लीलाभन्दा भारी रहेकै छ भन्नेदेखि हामीकहाँ भने त्यस्तो तिकडम बकडम चल्नै सक्दैन । यसैले जे-जति हत्ताको कट्टा सेरोफेरोमै चल्दछन् । अरू त हत्ताको मियो अदृश्य चलखेलले नै गर्दछन् । हात्तीको खाने दाँत र देखाउने दाँतको सेरोफेरोमा संसार चलेको छ भने अपवाद हामीकहाँको हामीभित्र त्यसै अलपत्र पर्नलाई हो त ? पक्कै पनि होइन ।
सत्ता बनाम पत्तासाफ, विशेषगरी यहाँको चलन हो । आफ्नो बनाउन र आफू बन्न अरूको पत्तासाफ नगरी भत्ता नपाक्ने मात्र होइन, कि आफ्नै हत्ता पनि खुस्कने ऐतिहासिक संस्कारप्रति एउटा बाहुनको दुईटी स्वास्नी तानातानको सूत्र नबुझ्ने न त उहिले थिए, न त अहिले नै छन् । यसैले आफू बाँदर भनेर भए पनि हनुमानै रहेर पनि सत्ताको हत्ता नचिप्लिने गरी कस्सिएर समात्न र हत्ताबाट तेल निकालेर मत्ता हात्तीको मत्ताइमा झुम्मिनु हाम्रो आफ्नै देश, काल, परिस्थिति, संस्कृति, विकृति, स्वीकृति, आकृति, प्रकृतिले ठ्याम्मै जोडिएको छ । पार्टी उही, सत्ताको हातले हात
तान्ने चलखेल ओई ओई धोबीको पाठ धोई चलाउने अरू न कोई, न त पराइ, सब आफन्त । आफन्तको पछाडि लागेका हात धोईका गुरुको सिंगेजोताइमा कमायत डाडु चोपल्ने कुनै छुइमुइ होइन, पर्यो भाइ नै भाइ ।
आखिर नहोस् पनि किन देउडाको लड़ाईं दिमागको चिलाइले कौशल कुसुलेको बाजाको सिकाइ प्रयोगात्मक चलन चलाइमा हात्तीकाने हम्काइको एक से एक बढ्याइँमा पढ्याइँ नदेखाई राजनीतिको राग अलप्याई खेर फाले नै कसरी ? आहा चइचइ बाहमहिने पिङ्मा पालो पर्खने धैर्य कसलाई कहाँ छ र ? धकेल्यो, पछार्यो, हत्ता पक्ड्यो, आफैलाई माकुरे जालोमा जेल्यो, संसार झेल्यो, यही नै हो कमाल ।
भिज्या भए पनि रूमालले पुछ्नुपर्दैन । गिर्या पनि हिलोले छुँदैन गाईलाई नहाउनुपर्दैन । भैँसी त होइन, आहालै खोजिरहनुपर्ने । मालामाल हत्ता त कल्पवृक्ष हो । झुप्रो नभए पनि एक्कासि अलाउद्दिनले महल र रोपनी रोपनी खेतबारी पनि जुराइदिइहाल्ने । हत्ता-हातमा त बोल्नेको ? चलखेलको कुरा परैको रह्यो । मूलतः यही मियोदौडको कारक हो, साँच्चै नै सिद्धान्त, प्रतिबद्धता आदि-इत्यादि त मात्र सोकेसको मोडेल प्रदर्शन भइदिएको छ ।
मोडेल प्रदर्शनमा जो जानियो, त्यसको व्यापार चम्कियो । चम्केकोमा चम्चा मात्र होइन, डाडु, पन्यू पनि खुरुखुरु जोडजाम भइहाल्छन् । मियो हत्ताको चुम्बकीय सत्ता यसरी नै सबैको प्यारो भइरहेछ, भइरहनेछ । वाद, नाद, भाषण, सिद्धान्त सब मिसमास भएर पाचक घोल बन्दछ अनि त के, ऋणं कृत्वा घृतं पिवेत्, देशं जन सर्व अलपत्र-अलपत्र, सत्ता बनाम राजनीति, राजनीति बनाम इष्टकोटमा दिल्ली ! समाधानको साँचोको दावी सुराहीदार सुमधुर ध्वनिवालाको त्यसपछि चौमुखी तालाको ! यो मुलुकको भावी खुल्ने भो यहीबाट साराका सारा लालाबालाको । अतःभनौँ, जय सत्ता ! सन्मुख नेताको कुण्डली मार भत्ताको ।
०००
‘भ्रष्टाचारको भाङ’ (२०६५)