सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सक्कलीदेखि सावधान !

समयले कस्तो फड्को मारेको  छ। यतिखेर दुनियाँमा सक्कली अल्पमतमा र नक्कली बहुमतमा छ । हामीले फेर्ने सास र हाम्रा नशाका रगतसमेत सक्कली रहेनन् । हाम्रा आन्द्राभुँडी, लादी र गिदी मात्र होइन, सोचाइ समेत नक्कली भइसके ।

Nepal Telecom ad

गोविन्द पौडेल

बरू स्यालको सिङ भेटिएला, दाहिने बेरिएको लहरो भेटिएला तर सक्कली सामान पाउन मुस्किलै छ । चाहे गाउँघरका स्थानीय स्रोतसाधन हुन्, चाहे बजारका उत्पादित र आयातित साधन, सक्कलपनको छायाँसमेत पाउन सकिँदैन ।

दुई पाउको ज्यानमा दुई सय मिलिलिटर रगत होला । त्यहाँमाथि लामखुट्टे, उडुस, उपियाँ पनि पाल्नुपर्ने । यस्तो अवस्थामा ती परजीवीले मुटु नै रित्तो बनाइदिए भने हावा मात्र पम्प गर्न थाल्छ कि भन्ने डरले हत्या गर्ने योजना बनाएँ । विषादी किनेर ल्याएँ र छिटेँ । उडुस र लामखुट्टेका टाउको पनि दुखेन ।

भेषचाहिँ युरोपियन भए पनि देशचाहिँ कृषिप्रधान नै हो । माटो सक्कली भए पनि यहाँ फलेका फसलचाहिँ सक्कली होइनन् । बजारमा नक्कली व्यवसायलाई पृष्ठपोषण गर्ने प्रशस्त सक्कली सामानहरू छन् । आजको राजेश हमालको औँलाजत्रो काँक्रोमा एउटा सुई लगाइदिए पछि भोलि सन्नी लियोनीको तिघ्राजस्तो भएर मौलाउँछ । एक थोपा भिटामिनले जर्ज बुसको अण्डकोषजत्रो फर्सी १२ घन्टा नबित्दै लादेनको टाउको जत्रो हुन्छ । ४ गेडा रासायिनिक मलले भेंडाको भुत्लाजत्रो मकैको सुत्ला एकहाते घोगो बन्छ । किर्ते जिन्दगी पाएर ४० दिनमै खेतमा धान पहेँलपुर भएर पाक्छ । तरकारी खेती गर्नेहरू सरकारी कर्मचारीभन्दा पनि बढी बेमतलबी भएका छन् । आज बिष छिट्छन्, भोलि लगेर बजारमा बेचिदिन्छन् । एक पटक श्रीमतीको होइन, आफ्नै छातीमा हात राखेर सोच्नुस् त कहाँनेर हामीले सक्कली जीवन जिएछौं ?

बजारमा हजार सामानहरू छन् । तर, सक्कली एउटा पनि छैनन् । तोरीको तेल होइन, तोरीको गन्ध मात्र भएको तेल हो । बेसार र खुर्सानीको धुलो भनेर बेचिएका वस्तुहरू पेलिएको इट्टाका कण हुन् । नरम र गरम मसला भनेर बेचिएका पदार्थहरू फर्निचरको धुलो हो । ८ रूपियाँको इट्टालाई धुलो बनाएर तुलोमा जोखेपछि बेसार र खुर्सानीजस्तै कलर आउने नयाँ पदार्थ पो बन्छ । केलाई गर्नु सक्कली व्यापार ? अनि यही धुलो घिचेर हुर्केको हाम्रो जिन्दगी पलप्रतिपल लुलो हुँदै गएको हो ।

हाम्रो भोकतिर्खा नै नक्कली भइसक्यो । पहिला पहिलाको जस्तो मूलको पानी पिउने तिर्खा लाग्दैन हामीलाई । अहिलेको तिर्खाले त पेप्सी र कोक खोज्छ । खल्तीमा मकै भटमास बोक्ने र गुन्द्रुक ढिँडो टोक्ने पाराको भोक लाग्दैन । अचेल त चाउचाउ र चाउमिनवाला भोक जाग्छ ।

मानिसको खानाले उसको दिमागमा प्रभाव पार्छ । यस्ता कुपदार्थ छिरेको हाम्रो तनमनले सक्कली विचार र दर्शन बोक्न सक्ला जस्तो लाग्दैन । अब त यस्तो लाग्छ- यो देश अनि यहाँको राजनीति पनि सक्कली हो कि होइन । नेपाल सार्वभौमसम्पन्न देश हो या एउटा प्रान्त मात्र, कुनचाहिँ सक्कली हो प्रश्न उठिरहन्छ । नम्बरी सुनलाई पो कसी लाउन मिल्छ । राष्ट्रियतालाई कहाँ लगेर कसी लाउने ? संविधानसभाभित्र गुप्तचरे डाम्नाहरूको सक्कली छायाँ परेका नक्कली सभासद्हरूले बनाएका संविधानको कुन अक्षर सक्कली होला ? चिन्ताले चित्तामा पुर्‍याउँछ रे । भो चिन्ता नगरौं ।

यहाँ यस्तै छ । डाक्टर भन्छ- औषधी सक्कली थियो, रोगी नक्कली परेछ । त्यसैले मर्‍यो । ड्राइभर भन्छ- गाडी सक्कली थियो, बाटो नक्कली परेछ । त्यसैले घोप्टियो । पाइलट भन्छ- प्लेन सक्कली थियो तर मौसम नक्कली परेछ । त्यसैले पहाडमा ठोक्कियो । विद्यार्थीहरू भन्छन्- पुस्तक सक्कली छ तर प्रश्नपत्र नक्कली परेछ । त्यसैले फेल भइयो । वकिल भन्छ- केस सक्कली हो तर, प्रमाण नक्कली थियो । त्यसैले हारियो । सरकार भन्छ- योजना सक्कली थियो कार्यान्वयन नक्कली परेछ, त्यसैले विकास भएन । त्यसैले कहिलेकाहीँ चिच्याएर भन्न मन लाग्छ – सक्कलीदेखि सावधान !

समयले कस्तो फड्को मारेको  छ। यतिखेर दुनियाँमा सक्कली अल्पमतमा र नक्कली बहुमतमा छ । हामीले फेर्ने सास र हाम्रा नशाका रगतसमेत सक्कली रहेनन् । हाम्रा आन्द्राभुँडी, लादी र गिदी मात्र होइन, सोचाइ समेत नक्कली भइसके । एक पटक तपाइँ घाममा उभिनुस् त । हो, त्यहाँ तपाईंको शरीरचाहिँ नक्कली तर नजिकैको छायाँचाहिँ सक्कली देखिन्छ । अस्तु ।

०००
हेटौँडा
‘गिलासवाद’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल