
डाक्टरसा’पको जय !
जे मागेको छ त्यो दिनका लागि डाक्टर आवश्यक भएको हुँदा तुरुन्तै औतार लिन बिरामीहरू अनुनय विनय गरिरहेका छन् । हुन त देशभरि यत्रतत्र डाक्डरै डाक्डर छन्, बिरामीको कमी पनि छैन । पाइलैपिच्छे औषधी घरैपिच्छे डाक्डर !

ह्यारी’- ८० :
घरैपिच्छे डाक्टर भएको कुनै मुलुक छ भने त्यो हो नेपाल । तपाईं जन्मेको, लडेको, हुर्केको, बढेको, पढेकोे ठाउँ जहाँ अधिकांश पढेर भन्दा बढेर, गरेर भन्दा परेर डाक्टर भएका छन् । हामीले धेरै महामारी पार लगाएका पनि छौँ, डाक्डर धेरै भएकाले नै बाँचेका जति सबै जोगिएका हौँ । मुलासनमा बसेकाले बेसार खाए कोरोना ठिक हुन्छ भन्नेबित्तिक्कै एक कानले सुनेर अर्को कानले उडाउन सकेनौँ बुझ्नुभो ? खाए बेसार परे लम्पसार ! हिसाब किताबै रहेन । जे होस् कोरोनालाई दुर्दुहाइ गरेरै छाड्यौँ । हुन त हामीले बिफर, मलेरिया, औलो, हैजा, बाढी पहिरो, भूकम्प साराका सारा चनौटोमा निम घोटेर, चट्याङे ढुङ्गो घोटेर, जरायोको सिङ घोटेर, जनाई पोल्दै लेप लगाएर, आगाको खली खाई काँचो वायु उतारेर के गरेनौँ सबै रोग निदान गर्दै आयौँ र पो अहिले घरैपिच्छे अस्पताल खोल्न सक्ने स्थितिमा पुगेका छौँ ।
अहिलेको युगमा डाक्टरी प्रथा सुधारिएर डाक्डरी चलन बन्न पुगेको छ । दाउरा, कोइला, गुइँठा बालेर, मट्टीतेलको स्टोभ बालेर, ग्याँस बालेर, इन्डक्सन बालेर जे होस् आगै बालेर खान पकाइन्छ तर चुलो सुधारिएको छ ! हिजो ख्याकको पुत्ला दहन गरिन्थ्यो, भूत मन्छाइन्थ्यो आज कुनेता मन्छाउन पुत्ला दहन गर्दा पनि पन्छिएको छैन । हिजोका भूतप्रेत, मसान, डोबाटेहरू अवतार फेर्दै पाँच पाँच वर्षमा दुःख दिन आइरहेका छन् । यिनलाई दाल गाल, भेटीघाटी केही दिँदा नि भएन, हाम्रा नाना, खाना र छाना हजम पार्दै छन्, अझै शरणार्थी बनाउँदै बेच्दै छन् । कठै कति निरीह हामी ? हुन त यी भूतलाई हाम्रा घरेलु डाक्टरहरूले पहिचान गरे रे भन्ने गाइँगुइँ पनि सुनिएको छ तर यी पन्छन त, शङ्कै छ । कोही कोही अवतार लिँदै छन् तर ती भगवान् हुन् वा होइनन् भनी हाम्रा डाक्टरहरू कसीमा जाँच्तै छन् । कालो मोसो लगाउँदा, मन्छाउँदा, पन्छाउँदा जे गर्दा पनि यी मनुक्खे टोकुवाहरू आँ गरेर निल्नेहरू डाक्टरका नाममा कुखुरा खाने बाहना गर्दै हामीलाई निलिरहेछन् । बजेट, योजना झ्वाम पारिरहेछन् र हामीलाई पलपलमा हरिकङ्गाल बनाइरहेछन् ।
डाक्टरले जे बोल्यो त्यो अवश्यमेव सत्य ठहरिन्छ नै । अपवादमा डाक्डरले यो मर्यो है भनेपछि पनि कोही त बाँचेका पनि छन् भन्नुहोला तर … ? डाक्टर पढ्न सबैको औकात पनि कहाँ छ र ? बरु त्यसै जान्ने बनेर यसो गर्नुपर्च र उसो गर्नुपर्च भनेर अर्ती बुद्धि दिँदै टिकटकमा भाइरल भइहाल्नुभा’छ, भइहाल्यो नि । फाइँफुट्टी लगाउने र ताइँफाइँ गर्ने यी डाक्डर साँप भएका नाताले डस्न अघि सरिहाल्छन् । अर्कातिर एकपटक सम्झनुस् त भात नखानुस्, मासु नखानुस्, यसो गर्नुस्, उसो नगर्नुस् भनेर कतिलाई सुझाउ दिनुभएको छ, गन्नुहोस् त लामै लिस्ट बन्छ होला । बिहान दुध चिया खान हुँदैन, फिका खानुस्, होइन होइन ग्रिन टी पिउनुस् । के के हो के के ! नपत्याए चियो गर्नुस् न ।
मलाई ग्यास्ट्रिक भयो कि क्या हो भन्ने शब्द चुहाउनेबित्तिक्कै वरपर बसेका इष्टमित्र, भाइभतिजा, साथीसँगी तँछाडमछाड गर्दै भटभट्याउन सुरु गरिहाल्छन् । खाली पेटमा लसुन पानी, बिरे नुन हालेर तातो पानी पिउनुपर्छ, बिहान उठ्नेबित्तिक्कै खाली पेट राख्नै हुन्न पानी भए नि पिउनुपर्छ, आयुर्वेदका चूणर् र धुलो जे छ खानुपर्छ, यस्ता त कति सिफारिस हुन्छन् कति । ए बाबा, आफ्नै पेट ग्यास्ट्रिकले कटकटी खाएको हुन्छ तर यी अनुभवी डाक्डर सा’पहरूले अरूलाई उपचार गर्ने तरिका मुखैमा झुन्डाएर बस्छन् बा । आफैँ धामी भए पनि परेपछि चाहिँ अरूलाई हारगुहार गर्छन् नै !
बिरामी भएको पोस्ट गर्नेबित्तिक्कै गेट वेल सुन भन्दै फेसबुकेको ओइरो लाग्छ वालभरि । होइन टाउको खुट्टा पेट, हात, मुख, जे दुखे पनि दुख्न खोजे पनि फेसबुकमा हालेदेखि रोगै निको हुन्छ भन्ने ठानिहाल्छन् बा । अनि त एउटाले जमराको रस पिउनु भन्छ, अर्काले कागती पानीे, अर्कोले चिनी हालेको चिया नखानु रे, अर्को टिम्मुर हालेर खाँदा राम्रो हुन्छ भन्छ । एउटा आएर फलाक्छ, सोर घण्टा भोकै बसेर मासु मात्र खानु पर्छ रे, अनि त मोटोपन घट्छ भन्छन् । बेला बेला आइरहनु, मकहाँ धाइरहनु, पैसा दिइरहनु, औषधी लिइरहनु भन्छन् र विश्वास गर्दै त्यतै धुइरिन्छौँ । यता घिउकुमारी नियमित खानु, पारिजातका पात खानु, नुन कम खानु वा नखानु भन्दै घरघरमा डाक्टरसा’ब भन्दै हुन्छन् । केही डाक्टरहरू त चुरोटको सर्को तान्दै धुम्रपान नगर्नु भन्दै सचेत गराउँछन् र केटाकेटीलाई चाहिँ पाएसम्म हकार्छन् ।
तुलसीको पात्, नीमको झोल, दूवो कुटेर झोल् खानुस्, यो भए त्यो खानुस्, त्यो भए यो नखानुस् । घरेलु डाक्टर बोलिहाल्छन् । यिनका पनि आफ्नै ब्रान्ड छन् । डाक्टर पढेर बनेका, किनिएका, बेचिएका, पी एच डी गरेका, घरमै अनर्स गरेका, पशुका के केका डाक्टर के केका । धेरै वर्गका डाक्टर छन् हाम्रा मुलुकाँ । स्वयंसेवी डाक्टरहरूको सङ्ख्या त बग्रेल्ती छन् । प्रमाण पत्र, डाक्टरको बोर्ड सब किनेर स्टेथेस्कोप लगाएर, सेतो लुगा बेरेर डाक्डर बनेका ज्यानमारा डाक्डरदेखि भगवान्का औतारीसमेत एकै ठाउँमा खिचडी बन्दा भेष बदलेका भगवान्का पालामा सतीत्व लुट्नेहरूलाई नचिने जस्तै जनताले यिनलाई चिन्न नसक्ता हामी बिलखबन्दमा परेका छौँ ।
पेट दुखेको ठिक हुने औषधी दिनका लागि रगत, दिसा, पिसाब, खकार चेक गर्ने, एक्स रे, इन्डोस्कोपी, बायोप्सी गर्ने नाममा व्यापार गर्ने काम आधुनिक डाक्टरले गरेका हुन्छन् । यी पैसा सोहोर्न सिपालु पढेका डाक्टरहरूभन्दा एक तह मुन्तिरका फाकफुके धामी, झाँक्रीहरूभन्दा घरेलु डाक्टर नै सर्वेसर्वा हुन्छन् । रामदेवदेखि कामदेवसम्मका यी ज्ञाताहरू टुथपेस्टदेखि डाइजिनसम्म सबै प्रयोग गर्न सुझाउ दिन्छन् । उनीहरू यो ब्रान्डको खानुपर्छ त्यो चाहिँ खानुहुँदैन भन्दै भजिरहन्छन् । रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिकामा पनि उपचारका लागि सुझाउँछन् । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धिका डाक्डर पनि थरीथरीका छन् । दाँत हाल्न गए फुकालेर पठाउने, स्तन क्यान्सर भएका बिरामीको पाठेघर काटेर पठाउने यी दुई आना जग्गा बेचेर वा मिटर ब्याज खाएर होस् वा जन्मजात पैसाले डकारेका साहु डाक्डर बनेकाहरूको सिफारिस नमाने भोलि बीमाबाट रकम पाइँदैन, मान्नुपरिहाल्यो हेर्नुस् । एउटाबाट फोन काट्न पाएको हुँदैन, अर्को टिर्र बजिहाल्छ । आवाज आउँछ बाफ लिनुभयो, भिक्स दल्नुभयो ? चाकडीबाजले चिल्लो घसे झैँ डाक्डर सा’बले पनि चेपारो घस्न खोज्छन्, उफ् कतिलाई उत्तर दिनु !
२१ औँ शताब्दीको बबुरो बिरामीले एलियोप्याथी, होमियोप्याथी, घरेलुप्याथी योगप्याथी जे भने पनि सबैतिरको मान्नुपरेकै हुन्छ । रोग त निको पार्नैपर्यो । सबै अनुभवी डाक्डर । सबै डाक्टर बनेको देख्ता कसैलाई पनि रोगै नलाग्ने पो रहेछ क्यारे भनेर यसो अस्पताल गयो त्यहीँ भिड, झाँक्रीकहाँ गयो त्यहीँ भिड, वैद्यकहाँ त्यस्तै । सोर घन्टा भोकै बस्नुपर्छ भन्ने डाक्डर, भाकल माग्ने डाक्डर अनि पहाडै बोकेर उपचार गराउन सहयोग गर्ने हनुमान्देखि नेताका आशीर्वादले डाक्डरसम्मका खोस्टे डाक्डर भन्दा त स्वघोषित घरेलु डाक्डरको अनुभवले निकै काम गर्छ बा । सबै डाक्डर बन्दा कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा भएको फतुरे पर्सादले नसुनेको पनि होइन । एउटा विषयमा डाक्टर बन्नुहोस् त सबै रोगका बिरामी तपाइँकहाँ हाजीर हुन्छन् नै अनि त पैसा कुम्ल्याउन किन अमेरिका जानुपर्यो र ? बिरामी भएपछि के गर्नु, विडम्बना ! मर्न लागेकालाई त्यान्द्राको सहारा हुने रै’च जुन डाक्डरको नि कुरा मान्नै पर्छ । होइन गुरु शब्द डाइबरमा परिणत भएजस्तै डाक्टर शब्द फेरिएर घरैपिच्छे डाक्डर भए बा । डाक् र डर मिलेर डाक्डर बनेको भएर होला यीदेखि सधैँ डरै डर । तामाको भाँडोमा पानी अनि चरेसका थालमा खानी भन्दै थुतुनो चलाउने अस्पतालका नर्स र एउटै बिरामीबाट डकारेका डाक्डरका पर्सको पनि के दोष । थाह छ त पैसा भए डाक्डरको ऐसा, सोर्सफोर्स भए डाक्डरले लिन पाउँछन् कोर्स ।
यता देश बिरामी छ, उस्तादेखि लेकसम्म फ्याक्चर भएकाले उपचारका लागि डाक्टरको आवश्यकता छ ! अखण्ड अखण्ड, ग्रेटर ग्रेटर भन्दै औषधी माग्दै बर्बराउने बिरामीलाई जे मागेको छ त्यो दिनका लागि डाक्टर आवश्यक भएको हुँदा तुरुन्तै औतार लिन बिरामीहरू अनुनय विनय गरिरहेका छन् । हुन त देशभरि यत्रतत्र डाक्डरै डाक्डर छन्, बिरामीको कमी पनि छैन । पाइलैपिच्छे औषधी घरैपिच्छे डाक्डर ! तर एउटा मूल डाक्टर पाए हाइसन्चो मान्थे नत्र त चेट हुन बेर छैन । फतुरेले खोजेको डाक्डरसाँपको होइन, डाक्टरसा’पको जय !
०००
२०८० /०३/ ०१
गोकर्णेश्वर- ५, जोरपाटी, काठमाडौँ