बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

देखाउने रोग

यो रोगले औषधि त माग्दैन नि तर तपाईं हामीलाई आफू हुँ कि होइन चिन्न नसक्नेचाहिँ बनाउँछ है । यसले गु र गोबर उस्तै देखाउँछ । कालोलाई सेतो र सेतोलाई कालो देखाइदिन्छ ।

Nepal Telecom Spring Offer

हरि खनाल :

सृष्टि रहुञ्जेल दृष्टि रहन्छ । दृष्टि रहुञ्जेल धेरै कुरा देखिन्छ रे । सुनेको भन्दा देखेको जाती देखेको भन्दा भोगेको जाती भन्छन् । देख्न पाइएको छ र लेख्न पनि पाइएको छ । लेखिएकै कारण मनको तिर्खा मेटिएको छ । तपाईँहरू अनुमान गर्दै हुनुहोला यसले के लेख्दैछ ? आज त्यो मिल्नेवाला छैन । म भोग लेख्दैछैन रोग लेख्दैछु । यस्तो रोग जुन सङ्क्रमणको हिसाबले कोभिड १९ भन्दा गतिशील छ तर ढुक्क हुनुहोस् मैले लेखेकै कारणले सर्दैन किनभने यो तपाईँहामीलाई सरिसकेको छ । म कुरा गर्दैछु लुकाउने रोगको होइन देखाउने रोगको । आउनुहोस् यो देखाउने रोगका व्यवहारिक लक्षणहरूको कुरा गरौँ ।

नीति बनाउने ठाउँमा देखाउने रोग स्वभाविक कुरा भयो । यो त त्यहाँको पारम्परिक रोग नै हो । बजारमा एक दिनमा हजार भाउ बढ्दा नियमन गर्नेको निद्रा खुल्दैन किन थाहा छ ? भाउ बढाउनेले दिएको ओभर डोजले । तेलको मूल्य अन्तर्राष्ट्रिय रूपमा पाँच पटक घट्दा पनि यातायातमा भाडा घट्दैन किन थाहा छ ? दलका कार्यालय बन्द गर्नुछ र ? तर देखाउने रोगले नीति बनाउने ठाउँमा चर्काचर्की गराउँछ क्यामरा मिलाएपछि । त्यहाँको ढोकाबाट निस्किएपछि झगडा गरेकाहरूले हात मिलाउँदै भन्छन् आजको नाटक अलि बढी भयो कि कसो ?

चोट दिएर भोट साट्नेहरूमा त यो रोग झनै चर्को देखिन्छ । आधा मन कताको आधा मन यताको भएका भोट प्रापकहरूले त आँखामा ग्लिसरिन हालेर भए पनि दुखी गरिवसँगै रोएको दृश्य देखाउँछन् । के मात्रै गर्दैनन् र उनीहरू ? यो देखाउने रोग नभए सेकाउने रोग हो त ? अलि फरक कुरा गरौँ । हेर्दाहेर्दै सादा स्वरुपमा तप गर्ने देवाधि देवमाथि सुन चढ्यो । सुनमा त कली र बली हुन्छन् । सुन चढेदेखि आशुतोषकै तप भङ्ग भएको छ । त्यो सुन चढ्ने र झर्ने गर्दै छ । लौ हेर्नुस् देखाउने रोगको करामत । अलि माथिल्ला टपरटुइँयाका कुरा गर्दा तपाईँले नाक थुन्नुभयो होला । म देखाउन गरिएको ठूलाको गिरफ्तारी र फाइलको कुरा गर्नेवाला छैन ।

एकातिर खाडल देखियो भनेर मान्छे कराउन थालेपछि त्यसलाई पुर्ने भनेको माटो हालेर होइन अर्को ठाउँमा त्यस्तै खाडल खन्ने हो । रमिते आँखा पहिलो खाडलबाट अर्कै खाडलमा बसाइँ सर्छ । अनि त्यही बेलामा पहिलो खाडलको मकसद् पूरा । देखाउने रोगको योचाहिँ करामत हो । भो त्यतातिर नहेरौँ तपाईंहरूलाई चक्कर लाग्न सक्छ । चक्कर लागेपछि ठक्कर लाग्न सक्छ । त्यसैले त्यो मञ्चबाट सडक र बजारतिर डुल्न जाऊँ । मान्छे ठम ठम बिकिनी र ब्रा मा । कहिलेकाहीँ त आफैँलाइ शङ्का गर्नुपर्ने म फेसन टिभिको स्क्रिनभित्र छु कि रत्नपार्क वा नयाँ सडकमा ? अब त बिकिनी पनि दुब्लाएर फूलमा घुम्ने पुतली जत्रै पो भएछ । पेन्टी पनि खिएर बराजुको लगौँटीको पनि पनातिजस्तो भएछ । किन यस्तो भएको हँ भनेर एकजना व्यपारीसँग सोधेको त गजब जवाफ आयो । पहिले पहिले यी कुरा भूमिगत हुन्थे र पो मोटाघाटा हुन्थे अहिले यिनीहरू निष्फिक्री बाहिर निस्कने भए अनि स्लिम बनेका हुन् दुब्लाएका हैनन् रे । विचराहरूको अस्तित्व कतिबेला समाप्त हुने हो थाहा छैन । मेरो विचारमा त पेन्टी र बिकिनीले कुनै दिन संयुक्तमोर्चा बनाउनु पर्ने दिन आउन पनि सक्छ ।

बजारको चक्कर र ठक्करबाट बचेर घर पुगेपछि के गर्ने ? उही त हो नि मोबाइलको भाँडो खोल्ने । देखाउने रोगको पराकाष्टा त त्यहीँ पो भेटिन्छ । बाबा सानोतिनो मुटु भएकालाई त ठाउँको ठाउँ बेहोश बनाइदिन्छ । भाँडो समात्यो कि देखाउने रोगले करामत देखाइहाल्यो । भान्सामा कुनै चिज पकाउन बसाउनुभएको छ भने त्यो अँगार हुने पक्का । खाना खाँदै हुनुहुन्छ भने तपाईंको खानाले सिङ जुरो हाल्ने र घरि नाकले घरि गालाले दुख पाउने पक्का । चम्चाले खानुहुन्छ भने दाँतले ठक्कर पाउने पक्का । स्कुल कलेज जाने बालबालिकाको समय मोबाइलभित्रै स्वाहा । दश बजे कार्यालय पुग्नुपर्ने कर्मचारी र शिक्षक देखाउने रोग लाग्नाले पुग्दा समय बाह्र ।

तपाईं हाम्रो आफ्नै परिवारका सदस्यहरूले नाना फालेर बाना प्रदर्शन गर्दै टिकटक बनाएको दृश्य कतिबेला मोबाइलले देखाउँछ हामीलाई के थाहा ? यो त यस्तो अवस्था हो कि कसैलाई देखाउने रोग लाग्दा तपाईं हामीलाई देख्ने रोग लाग्छ । सुन्नुभएको छ देखाउने रोगले स्कुलको एकजना हेडमास्टर साहेबलाई चर्चित बनाएको ? यो देखाउने रोगको भाइरल भनूँ कि भाइरस भनूँ बेसरी फैलिएको छ । देखाउने रोग तपाईं हामीलाई पनि कम्ता छ र ?

लेखकले पाँच वर्ष अघि प्रकाशित पुस्तकलाई हप्ता हप्तामा सामाजिक सञ्जालमा राखेर देखाउँछ । दश वर्ष अघि प्राप्त गरेको प्रमाणपत्र राखेर बधाई थाप्छ । छिमेकीले कार देखाउनका लागि वर्षौँदेखि नबोलेको भएपनि एकछिनका लागि साख्खै भएको देखाउँछ । तपाईंलाई थाहा छ यो रोग लागिसकेपछि एक व्यक्तिले वर्षमा तीनपटक भन्दा बढी जन्मदिन मनाउँछ । घरमा घस्रिएर एक गाँस खान सङ्घर्ष गरिरहेकी आमाको तस्विरलाई सहरको तीनतारेमा लञ्च डिनर खाने छोराले ह्यापी बर्थ डे मेरी प्यारी आमा भनेर पोष्ट गर्छ । नजिक पर्दा लोरो, सिलौटो, ढुङ्ग्रो, कैँची, चिम्टा, खुकुरी, चक्कु, सल, कट्टु, तकिया, टोपी आदि जे नजिक पायो त्यसैले एक अर्कालाई प्रहार गर्ने जोडीले सामाजिक सञ्जालमा जुनी जुनी तिम्रो साथ पाऊँ प्यारा प्यारी भन्दै पुरानो तस्बिर पोष्ट गर्छ । आशिर्वाद लिएर प्रिपेड र पोष्टपेड विधिबाट हाकिम भएको कर्मचारीले कुर्सीमा बसेको फोटो राख्दै मेरो क्षमता र योग्यताको कदर गर्दै ‘…ज्यूले यो महान् जिम्मेवारी दिनुभएकोमा हार्दिक धन्यवाद’ भनेर स्ट्याटस ठोक्छ ।

कुर्सीमा बसेदेखि सुको नभई फुको काम गर्न सकिन्न भन्ने नेता र कर्मचारीले आफ्नो ढोकामा भ्रष्टाचारीलाई प्रवेश निषेध भनेर आफैँलाई जिस्काउने गरी देखाउँछ । स्कुल कलेजमा विद्यार्थीका लागि शैक्षिक सामग्री र प्रयोगात्मक सामग्रीचाहिँ नराख्ने तर हाम्रो स्कुल कलेज बहुत सम्पन्न छ भनेर देखाउनेले बजारको सो रुममा पुगेर भए पनि सामग्रीको फोटो खिच्छ र वाह हाम्रो स्कुल कलेज भनेर विज्ञापन ठोक्छ ।

यो रोगले औषधि त माग्दैन नि तर तपाईं हामीलाई आफू हुँ कि होइन चिन्न नसक्नेचाहिँ बनाउँछ है । यसले गु र गोबर उस्तै देखाउँछ । कालोलाई सेतो र सेतोलाई कालो देखाइदिन्छ । यसबाट टाढा बसे गुमनाम यसैसँग प्रेम गरे भाइरलधाम बनिन्छ । के गर्ने आगे निर्णय तपाईं हाम्रै । देखाउने रोग हाम्रो भोग ।

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी