
भन्नै नहुने कुरा !
कोही आएर केही भएन सतीले सरापेको यो देशमा । कुकर्मीले दाइँ गर्नाले कर्म गर्दा पनि ऋणले थिचिएका सोझा फतुरे काका बर्बराउँदै थिए, “बाबु, बोतल फेरे, रक्सी फेरेनन्, जुन तन्त्र पनि बोकाको मुखमा कुभिन्डो भयो ।

ह्यारी- ८० :
अरूलाई भन्नै नहुने कुरा हो भनेपछि किन भन्न लाग्या होला भन्ने तपाईंलाई लाग्न सक्छ । म जे भन्दै छु त्यो अरूलाई नभन्ने भए मात्र यहाँ भन्छु तर कसैलाई सुनाउने भए कृपया यो नपढिदिन अनुरोध छ । मैले खासमा भन्न खोजेको कुरा के भने नि यस वर्ष जुन पुरस्कार मैले पाएको थिएँ, त्यो नाम मात्रै मेरो राखिएको हो क्या । त्यो धनराशि चाहिँ खुसुक्क उसैलाई फिर्ता गर्ने सर्तमा । पुरस्कृत साथीले गत वर्ष आफैँले स्पन्सर गरेर पुरस्कार हात पारेका थिए । मेडल पनि आफैँ किनेर पुरस्कार दिने संस्था खोज्दै हिँडेका थिएँ, फेला पारिहाले धुरन्धर लेखन पुरस्कार गुठीको कुरा हो यो । डिल गरिएको थियो सबैका अगाडि नगद पुरस्कार तथा पदक हात थाप्ने अनि एक्लै आएर नगद जति फिर्ता गर्नुपर्ने । कुरा नमिलेपछि नगद पुरस्कार त आधा आधा बाँडेर हजम गरेकै हौँ, हामीले पनि भन्दै थियो साथी । अनि म चाहिँ कसरी टुलुटुलु हेरेर बस्न सक्छु हँ ? एअरपोर्टको सुनमा पनि… होइन होइन नक्कली भुटानी, ललिता निवास, सुनका हात्ती सबका सब अनुसन्धान हुँदै छ, हो, नपत्याको अनुसन्धान हुँदै छ । पत्ता लागे पनि भन्नै नहुने कुरा भन्न हुँदैन क्यारे !
यो कुरा कसैलाई नभन्नु नि ! कसैलाई सन्धिमा हस्ताक्षर गरिदिएर विशेष पदको पुरस्कार पाएका घटना कति छन् कति, इतिहास साक्षी छ । उनी गण्डक नहर- बने बहर, कोसी- खोसी ब्यारेज, महाकाली- क्या जाली सम्झौता, पञ्चेश्वर- गएश्वर आ योजना, टनकपुर- टनक टनक पुर सन्धि, सुस्ता- गयो पुस्ता काण्ड, एमसिसी- खाली बोतल बना सिसी आ योजना यस्ता धेरै यो जना र त्यो जनाले नेपाल खोक्रिएको कुरा अन्त कतै गएर नभन्नु भन्थे फतुरे काका । आफ्नो आङ कन्याएर छारो उडाउनुहुन्न भनेर चिप्राबाजेले भनेको सुन्नुभएकै होला । बिर्सनुभएको भए हजुरबाको दिव्योपदेश पल्टाएर हेर्नुहोला तर आएर कुरा नफेर्नुहोला नेताजस्तो ।
भान्छाको आलुजस्तो जता नि मिल्ने जोसँग नि मिल्ने आलु नेता भएको यो देशका जनता नै आलु भएकाले छत्तिस साले, छयालिस साले, त्रिसट्टी साले यति साले र उति साले जनता सबै जसो उही ड्याङका मुलाजस्ता भए । नगर प्रहरी आउँदा भागाभाग भएका सडक छापे व्यापारीहरूले मौका छोपेर व्यापार गरी पेट पाले झैँ असारे बजेट सिध्याउने ठेकेदारहरूलार्ई बिनाकाम पुरस्कार दिने असारे मन्त्रालयको कुरा पनि अरूलार्ई नभन्नुहोला । केही गरी यस्ता कुरा गरे तपाईलाई पनि आउँदो वर्ष ठेक्का पर्र्र्दैन । यो त सेटिङको पुरस्कार हो ठेक्कापट्टाको, कसैलाई नभन्नुहोला ।
यस्तो राजन्िितक दाउपेच देशमा चलिरहन्छ, फतुरे काका खालि अन्यत्र कुरा मोड्छ भन्नुहोला, साँच्चेै तपाईले सोचेजस्तै राजनीतिक भागवण्डा पनि यतितिर छ कि कुनै पनि अड्डाअदालत, बैङ्क, आयो जना, गयो जना, विश्वविद्यालय, विद्यालय, सुरक्षा असुरक्षा निकाय सबैमा सिधादेखि बाङ्गोसम्म नियुक्ति भाग लाग्छ । कोटा निर्धारण गरी सरकार गठनदेखि विघटनसम्म राजनीति गर्ने यो देशको स्थिरता बोराको आलुजस्तो कुन चाहिँ कुहिएर सबै कुहाउने हो भन्ने छान्नुपर्दैन । प्रायः सबै नै अर्को पालिका लागि बिउ पनि नहुने यी आलु नेतालाई पुरस्कार बाँड्न राखेको एउटा कार्यक्रममा म पनि टुप्लुक्क पुगेँ । भाषण रासन हत्याउनेबाहेक जहाँ पनि कुरा आँ गर्ने यी नेता निस्वार्थी भन्दा म त बेहोसै भएँछु रिसले । कहिलेकाहीँ मलाई लाटो रिस उठ्छ । भन्सार त सुनैसुनको संसार भइसकेको बुझेर म हिजोआज सिनामङ्गलतिर लहसिँदा सुनापुर किन गएको हँ, भुरा माछा बन्न किन आएको हँ भनेरर फ्राइ गरिदेलान् कि भन्ने डर लाग्छ । थाहा पाए त पुस्कार थमाउलान् फेरि कसैलाई नभन्नुहोला ।
एउटा घाउ लागेको ठाउँमा दुखेको बिर्साउन अर्को ठुलो घाउ लगाउनुपर्छ । दोस्रो ठुलो घाउले पहिलो घाउ कति दुख्छ थाहै हुँदैन भनेर फतुरे काका फलाक्तै थिए । नभन्दै भुटानी शरणार्थी काण्डमा लुटानी गर्नेको नाम लिँदै गर्दा जलहरी काण्डले थरहरी भएका लाउकेहरू फेरि क्विन्टलका क्विन्टल सुनका बिस्कुट चोबेर खान थाले कता चाहिँ के चाहिँ गर्नु इदं भ्रष्ट उदं भ्रष्ट, जनतालाई प्रस्ट । पछि चुनाउका बेलाँ यसो तात्तातो मःम चखाइदिएपछि भोट दिइहाल्छन्, अहिलेको बर्सिहाल्छन् केको टनटन ।
यस्तो थाह हुँदाहुँदै पशुपतिप्रसाद लुट्न सके लुट् कान्छा भन्दै किन गीत गाउँछन् बा, पशुपतिप्रसाद मात्र होइन पशुपति नै जलहरीको जालोमा बेरिएको देशमा तपााँलाई भन्न नहुने कुरा भन् न भन् भन्नुहुन्छ । मैलै कसैलाई नभन्नुहोस् है भन्दा मलाई यति दिने भए भन्दिनँ नत्र एक क्विन्टल सुन जस्तै ल सुन् भनेर सुनाइदिन्छु भनेर नधम्क्याउनुहोला है । आफ्नै छोरीको परीक्षा राम्रो बनाउन अर्को परीक्षार्थीको उत्तरपुस्तिका साटेको कुरा पनि नसुनाइदिनु न भन्दा नि टेरेनन् । मान्छेले मझेरीमा पैसा गाडेर के डराउँथे भन्या, घरमुनि खोला लुकाएको त दशकौँ भइसक्यो त कसैलाई अत्तोपत्तो केही छैन, पत्तो पाएर पनि के नै नापेका छन् र भनेर उत्ताउलिएका बा खोक्तै छन् दुई घुँडाका बिचमा टाउको घुसारेर ।
अझै बा तेरा घरमा आङ्गे्रस पसोस् भन्दै सराप्छन्, फतौरी काकी म्युनिष्ट सबै दुष्ट हुन् आओवादी खाओवादी हुन्, आप्रपा चिप्रा खा, भन्दै नयाँ मनुख्खेलाई विश्वास गर्दै गएकाले एउटा न एउटा वितण्डा मच्चाउँदै जनतालाई के के न गर्छु भन्थिस् नि ? यी खा भन्ने बनाउन लागेका छन्, अब सतर्क हुनपर्छ है भन्नलाई के खोजेका थिए टुप्लुक्क फतुरे काका आइपुगे । त्यही भएर यो कुरा चाहिँ नभन्नु है भनेको मात्र हुँ । अनि तपाई पनि ठेकेहरूले हाँसले हिलो निले झैँ असारे बजेट झ्वाम्म पारेको कुरा कसैलाई नभन्नु ल ।
नेपालेश्वरको एअरपोर्ट पनि कति भाग्यमानी छ बाबै, सुनैसुनका हात्ती खुरुखुरु भरियाले डोर्याउँछन्, सबै यतै नेपाल खाल्डाँ । लम्केका छन् बा, यी हात्ती कहाँ जाँदा हुन् ? होइन अनि यी हात्ती पाल्ने चाहिँ को होलान् भन्नुहोला तैँ चुप मै चुप भनेकाले यो नभन्नुहोला है भनेको रे क्या ! हिजो आलीमा उभिएर कुटुलीकोसा खाँदै छाता ओढेकाहरूले भिजेर लुथ्रुक्क परेका लाठे र रोपाहारलाई गाली गर्नेहरू नै आज पनि विधायक बनी डाडुपनिउँ हातमा लिई भत्ता लुँड्याइरहेको कुरा थाहा पाउलान् नभन् है भनेका छन् । ब्रह्मलुट गर्नेकै हालीमुहाली भएकाले अरूले तैँ चुप मै चुप भएर बस्नुपर्ने नै रहेछ ।
सोझा औँलाले घिउ आउँदैन भन्ने थाहा पाउनेले नै यो युगौँदेखि देश दुहेर खाइरहेको कुरा थाहा छ तर कोही आएर केही भएन सतीले सरापेको यो देशमा । कुकर्मीले दाइँ गर्नाले कर्म गर्दा पनि ऋणले थिचिएका सोझा फतुरे काका बर्बराउँदै थिए, “बाबु, बोतल फेरे, रक्सी फेरेनन्, जुन तन्त्र पनि बोकाको मुखमा कुभिन्डो भयो । मलाई अझ कत्ति भन्नु थियो पुरस्कार पाएका कुरा बाबु, तर …. भन्नै नहुने कुरा मैले के के भनेँ हुँला, कसैलाई नभन्नु है बाबु हरिशरणम् !”
ह्यारी-८० महात्मे, २०८० साल अधिक मास श्रावण महिना १० गते, बुधबार रोज शुभम् ।
०००
जोरपाटी, गोकर्णेश्वर- ५, काठमाडौँ