
यस पटकको फित्कौली वार्ता प्रा.गोविन्दराज भट्टराईसँग
साहित्यमा डिजिटल माध्यम खुलेपछिको पहिलो इलेक्ट्रोनिक माध्यम प्रयोग गर्ने तत्व नै फित्कौली प्रकाशन हो । पेपर माध्यमको तुलनामा यो अनेक गुणा लोकप्रिय भइसक्यो । सम्पूर्ण रूपले हास्यव्यङ्ग्यमै समर्पित भई यो उपलब्धि सानो होइन । यसले ठूलो हाँकलाई स्वीकार गरेको छ । प्रत्येक दिन नयाँ स्वर उदाएको देख्न पाइन्छ । — प्रा. गाेविन्दराज भट्टराई

नेपाली साहित्यलाई विश्वसाहित्यसँग एकाकार गराउन कष्टसाध्य प्रयत्नमा जुट्नु भएका डा. गोविन्दराज भट्टराईलाई यो फित्कौली वार्ताका लागि निकै पटक झम्टियो । धुम्रलोचन शर्माको छोपुवा नामले तीस चालिसको दशकतिर बाक्लै हास्यव्यङ्ग्य सिर्जना लेख्न जाँगर पोख्ने डा. भट्टराईलाई छेकारो मारेर यसपटक भने फित्कौलीले फुत्किनै दिएन । प्रस्तुत छ- समालोचक प्रा.गोविन्दराज भट्टराईसँग गरिएको फित्कौली वार्ता ।
० त्रि.वि. सेवाबाट निवृत्त हुनु भएको पनि निकै भयो । दिनचर्या कसरी बित्दैछ ?
— धेरै काल किला दाम्लामा बितेको जिन्दगी फुक्का भएपछि भीर, पाखा, चौरी, नागी र मैदानमा कसरी रमाएर नाच्छ- त्यही छ मेरो अहिलेको चाल । कलम, कापी र पुस्तक हामी तीन भएसी अर्को साथी चाहिएको छैन ।
० पाको वयमा देखिने समस्या बाहेक अरु कुनै स्वास्थ्य समस्या पनि झेल्दै हुनुहुन्छ कि ?
—आजका मितिसम्म केहीले दृष्टि लाएको छैन । पाको वय नै मेरो भित्र हो नत्र यो काँधको जुवा झिक्न पाइने थिएन ।
० डा.गोविन्दराज भट्टराईको विचारमा हास्यव्यङ्ग्य के हो ?
—अतिशायोक्ति अलंकार अर्थात् उपहास भाव प्रयोग गरी मानिसको मूर्खता वा दुष्टतालाई ताक्दै आन्द्राभूँडी निकाल्ने कर्म नै हास्यव्यङ्ग्य हो । यसले खासगरी समकालीन र अन्य सान्दर्भिक विषयलाई मट्याङ्ग्रा हान्छ । यस जुक्तिले निर्मित एउटा नाटक वा फिल्म, आख्यान, गीत जुनसुकै विधा हुन सक्छ । बाल्यकालमा सुनेको दार्जेलिङतिरको एउटा गीत छ कहिलेकाहीं गाउँछु;
सिरिमा सोते बाख्रालाई बोते कुखुरालाई अन्डरपेन
कान्छीको पोइ ता भस्मेकै ठुटा नि हौ मै एस्तो जेन्टुरम्यान ।
० यहाँको विचारमा हास्य र व्यङ्ग्य लेखनमा भाषाको खेल भनूँ या भूमिका कस्तो रहेको हुन्छ ?
— त्यो भनेको दुईटा जुक्तिको मिलन हो— हाँसो मात्र उठ्ने कुरा गर्ने कि लक्षितलाई पेच पर्नेगरी छड्के पनि हान्ने । एउटा हास्य हो अर्को व्यंग्य । त्यहाँ मिसिने अर्को भँगालो छ विडम्बना (आइरोनी) । यसलाई नेपालीमा ‘मर्लान्त’ भनिन्छ ।
० नेपाली हास्यव्यङ्ग्यका पाठकहरूले यहाँका एक समयका हास्यव्यङ्ग्य कविता र निबन्धहरू सम्झिरहेका छन् । यहाँले चाहिँ भुसुक्कै बिर्सनु भएको हो ?
— म उद्युम गर्थें भाइ । २०२९ सालदेखि काठमाडौं पसें, जिन्दगी हास्य र व्यंग्य दुवै थियो र त्यसबेला लेख्ता धेरै कविता र लेख पनि बने । पछि साँइलो भाइ (लक्ष्मण गाम्नागे) आयो, अरु सदस्य पनि थपिए, कमल घिमिरे जस्ता । माधवा, खगेन्द्र, भोला— हामी हास्यव्यंग्य नाटक लेख्ने, खेल्ने समेत भयौं । भाइहरू पत्रिका निकाल्न थाले रकेट नामक । निकै अघि बढ्यौं । मैले नेतृत्व गरें, भाइहरूले सिके । तिनमा पनि साइँलाले बाटो पक्रियो । त्यसपछि उसले मलाई छोडेर हिंड्यो र म एक्लो भएं । अनि मन मर्यो । पछि धनकुटा बसेर लेखें, काठमाडौं फर्केर झन् लेखेँ । ती रचना खोजेर पुस्तक निकालौं भन्छु— साइत जुर्या होइन । एक संग्रह कविता एक संग्रह लेख होलान् ।
मेरा त्यसपछिका निबन्ध र आख्यानमा त्यो शिल्पलाई मसलाको रूपमा नजानी प्रयोग गर्दैछु तर साइँलाको जस्तो त्यसैको दाल तिहुन बनाएर छाकै टार्ने गरेको चाहिँ छैन ।
० तपाईंको पहिलो प्रकाशित हास्य वा व्यङ्ग्य रचना कुन हो, त्यो केमा कहिले छापिएको थियो ?
— कति कुराको मैले फुस राखिन; त्यो पनि मेरो साइँला भाइलाई साेध्नु होला । ऊ मेरो डिट्ठा र विचारी दुवै हो ।
० आफ्ना हास्यव्यङ्ग्य सिर्जनाबारे आफैले भन्नुपर्दा यहाँ के भन्नुहुन्छ ?
—परिचय स्थापित हुने गरी संग्रह निकाल्न नभ्याउनु ठूलो कमजोरी हो । एउटा स्वतन्त्र पुस्तक त्यस शिल्पमा ननिकाली के भन्नु र ? अघि भनें; दुई किताब पुग्ने माल होलान्— कोही लुकेका, छरिएका र कुनै धमिराले चाटेका गरी ।
० नेपाली हास्यव्यङ्ग्यको ऐतिहासिक विरासतबारेमा केही प्रकाश पारिदिनु न ?
— भानुभक्तको लामखुट्टे, उयिाँ, उडुस कविता हेरौं । नेपाली साहित्यको प्रारम्भिक कालदेखि आजसम्म यो कुनै कालमा छुटेको छैन । हास्य भाव वा रस संस्कृत परम्पराबाट आएकाले नेपालीमा यसको बीउ शुरुमै पस्यो । प्रत्येक युगले त्यसलाई मलजल गरेकै छ ।
यो निशुल्क गरेको खेताला कर्ममा योभन्दा बढी कुरा खोल्दिन । फित्कौलीले मलाई लेखाएर कसैको एम फिलका थेसिस लेख्ने सामग्री बटुल्ने जिम्मा लिएको पनि हुनसक्छ । सबै कुरा गोप्य रूपले हिजोआज सेटिङमा चल्ने जमाना छ ।
० यहाँ समालोचक व्यक्तित्व पनि हुनुहुन्छ । नेपाली हास्यव्यङ्ग्यको वर्तमान कस्तो देख्दै हुनुहुन्छ ?
— नवै रस सालाखाला मिसिएरै उत्पन्न हुन्छन, प्रत्येक युगमा । तर महान् स्रष्टाका हातले मात्रै युगान्तकारी कृति रच्न सक्छ । उनै लुइँटेल, अर्याल, पिँडालीको युग सम्झौं । हाम्रामा भएका वर्तमानकाहरूमा अमर साहित्यभित्र यो शिल्प घुसाउने त्यो उचाइका जन्मेका छैनन् ।
० हास्यव्यङ्ग्य लेखनमा देखिएको नवपुस्तालाई यहाँ कस्तो सल्लाह दिनुहुन्छ ?
— त्यस्तो विशेष पठनमा म पसेको छुइन । फित्कौलीमा आएका गायत्री परिरोशनी, चिरञ्जीवी दाहाल, काशीनाथ मिश्रित, अप्सरा सुनार, नगिता लेप्चा र राजेन्द्र कार्की जस्ता स्रष्टा पढ्दा आश लाग्छ । तर हाम्रो भाषाले सानैदेखि हुर्किएका कति शब्द, पद, बिम्ब, उखान, टुक्का समयका नयाँ पहरामा त्यो तत्व पहिले झैं रसाउँदैन । मुखमुखमा आउन धेरै लाग्छ । नवपुस्ताका स्रष्टालाई एउटा सल्लाह दिन्छु— “भरसक यता नलाग, यो क्षेत्र डेन्जर छ ।” “लाग” भनेर फकाउँदा टेर्दैनन् बरु यसरी “नलाग” भन्दा के के न रछ भनी ओइरिन्छन् कि ?
हेर्नोस न— हगाईभन्दा पदाई ठूलो, हिस्स बुढी खिस्स हरिया दाँत, नानीभन्दा आची ठूलो….. कति विम्बात्मक अभिव्यक्ति समयले फ्याँक्तै लग्यो । धार्नी न बिसौली दुई हातले उचाली, बाहुनलाई खाइ जाडो, धोतीका जुम्रो टुप्पीमा, सिन्की खाँदे जसरी विकाश नामको राच्छेस समयको आगमनमा नाच्न थालेसी भाषाको पनि एकपत्र काँचुली खुस्काइदिन्छन् । नयाँ पुस्ता ती प्रयोग सुन्न पढ्न असमर्थ हुन्छ । फेरि नयाँ हतियार बनाउनु पर्छ के गर्नु ? पुस्तान्तरण छैन ।
० अघिल्लो पुस्ताको हास्यव्यङ्ग्य लेखन र अहिलेको लेखनमा के भिन्नता देख्नुहुन्छ ?
— कुुरो गारो छ । एक समयमा जुन शब्द र पदले हास्यभाव उत्पन्न गर्थे ती आफैं हराएर गए । नयाँ खोज्न र तिनले स्थापित हुन समय लाग्छ फेरि । नवरसमा एक मात्र हो यो । त्यस्तो केन्द्रीय स्थान कुनै कुराले ओगट्न सक्तैन । आदर्शवाद गयो, यथार्थववाद गयो, मनोविज्ञान गयो, प्रयोगमा छ कुरो त्यसलाई पनि ऐले साइबर पसेर सारा डिलिट हान्दैछ । त्यस्तै हो जुन भाका, शैली, विचार, सिद्धान्त पनि छालका छाल आरहन्छन, नवीकरण भइरहन्छ । सबै चाहिं खुस्काएका छैनन त्यसैले “लम्पी स्किन” ले भेटेको वस्तुभाउ भएर पनि बाँचेको छ यो तत्व । एक शहरमा पाँच सौ साहित्यकार हुन्छन् परन्तु शहरको एक हास्यव्यंग्यको पुजारी भेट्नुहुन्छ ? तपाई बरु कसरी झुक्किएर फँस्नुभो यो पासामा ?
० अहिलेको अवस्थामा हास्यव्यङ्ग्य लेखनले उधिन्नुपर्ने बेथितिहरू कुन कुन होलान् ?
मुख्यगरी जहाँ पनि राजनीतिकर्मी नै, राननैतिक समूह (दल), राजनैतिक निर्णय, कतिपय दर्शन/मान्यता र लोकप्रिय संस्कृति नै व्यङ्ग्यका तारा हुन्छन् । सबभन्दा ठूलो तारो यहाँ पनि सरकार हुन्छ, त्यसले गरेका वा बिगारेका काम हुन्छन् । यस्ता कुरा नित्य जन्मिरहन्छन् । सिपालुले गुलेली मटेंग्रा सधैं तयार राख्नु पर्छ । अझ अब ता धनुकाँण नताकी हुन्न है ।
महान् अंग्रेजी कवि लर्ड बाइरोनले भनेका छन्— “मूर्खहरू मेरा विषय हुन्, व्यङ्ग्य मेरो गीत बनोस् ।” ।
० नेपाली हास्यव्यङ्ग्यले विश्वस्तरमा प्रतिष्पर्धा गर्न के के गर्नु पर्ला ?
— सर्वप्रथम विश्वसाहित्यको हास्यव्यङ्ग्य शैली पढ्नुपर्छ । त्यस अनुकुल हाम्रो उठाउने प्रयत्न गर्नु पर्दछ । तर यो एक असम्भव सल्लाह हो । तिनको अनुवाद छैन, कैले आएर कैले पढ्नु ? हास्यव्यङ्ग्य भन्ने कुरा भाषा संस्कृति र परम्पराको गहिरो अभ्यासमा बनेको हुन्छ । त्यसको अनुवाद असम्भव प्राय हुन्छ । मैले सेलेक्टेड नेपाली एसेजको लागि भैरव अर्यालका दुई निबन्ध दर्फर्याएर अनुवाद गरें तर त्यस होडले मलाई तीन महीना विरामी पार्यो । विश्व नताकौं फकाएर आफ्नै लेखक बढाऔं । पाठक बढाऔं ।
० नेपाली साहित्यको इतिहाससँग जोडिएको हास्यव्यङ्ग्यको समग्र मूल्याङ्कन किन नभएको होला ?
—उत्पादन थोरै छ तर यस्तै हो विस्तारै संग्रह बढ्दै जान्छ । मूल्याङ्कन पनि । मूल्याङ्कन भएको छैन भन्न हुँदैन ।
० नेपाली हास्यव्यङ्ग्यको प्रवर्धनका निम्ति फित्कौलीले थालेको हास्यव्यङ्ग्य अभियानलाई यहाँका सुझावहरू के के छन् ?
— साहित्यमा डिजिटल माध्यम खुलेपछिको पहिलो इलेक्ट्रोनिक माध्यम प्रयोग गर्ने तत्व नै फित्कौली प्रकाशन हो । पेपर माध्यमको तुलनामा यो अनेक गुणा लोकप्रिय भइसक्यो । सम्पूर्ण रूपले हास्यव्यङ्ग्यमै समर्पित भई यो उपलब्धि सानो होइन । यसले ठूलो हाँकलाई स्वीकार गरेको छ । प्रत्येक दिन नयाँ स्वर उदाएको देख्न पाइन्छ ।
० फित्कौलीले यो चाहिँ कुरो सोधिदिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग छ कि ?
— “तपाईंको हास्यव्यंग्य निबन्ध वा कविताको एक पुस्तक हामी आफ्नै खर्चमा छापिदिन्छौं; कहिलेसम्म हाम्लाई पाण्डुलिपि दिनुहुन्छ ?” भनेर सोध्ला कि लागेको थियो, सोधेन ।
०००
२६ साउन २०८०
सुकर्मटोल, कीर्तिपुर